राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गर्दा संसदमा हाँसोको फोहरा

राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गर्दा संसदमा हाँसोको फोहरा

काठमाडौं : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

नीति तथा कार्यक्रम पढ्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरे। उनले यो कार्यक्रमको बारेमा पढ्दै गर्दा अलमलमा परेर दोहोर्याएर उच्चारण गरे।

उनले भने, ‘महिलालाई आर्थिक रुपमा सक्षम, सवल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम..... (एकछिन रोकिएर) प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ।’

जब राष्ट्रपतिले यो नीति तथा कार्यक्रम पढे, त्यसपछि संसदमा हाँसोको फोहरा छुट्यो। केही सांसदले भने के भएको चालै  पाएनन्। कांग्रेस सांसद रामहरि खतिवडाका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आफैँ हाँसे।

प्रधानमन्त्री दाहाल छोरीहरू गंगा दाहाल र रेनु दाहालका कारण चर्चामा आइरहन्छन्। यसअघि एनसेल कम्पनीले छोडेर आजियाटा कम्पनी नेपालबाट बाहिरिँदा एनसेलसँग साँठगाँठ गरेको आरोप गंगा दाहालमाथि लागेको थियो।

गंगा प्रधानमन्त्रीको स्वकीय सचिवको रुपमा छिन् भने रेनु भरतपुर महानगरपालिकाकी प्रमुख हुन्।

नीति तथ कार्यक्रममा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गरिने उल्लेख छ।

मानव विकास सुचकाङ्कमा पछाडि परेका जिल्लामा वडा केन्द्रीत विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रमलाई पुन संरचना गरी थप प्रभावकारी बनाइने नीति पनि सरकारले लिएको छ।

जेठ १, २०८१ मंगलबार १६:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।