बोक्सीको घर : निर्देशकको नजरमा बोक्सी भ्रम कि यथार्थ !; ‘बुझिन मैले, बुझाइदेऊ कसैले !’

बोक्सीको घर : निर्देशकको नजरमा बोक्सी भ्रम कि यथार्थ !; ‘बुझिन मैले, बुझाइदेऊ कसैले !’

रङ्गमञ्च सामान्यतया अलि ठुलो स्वरमा संवाद बोल्नु सामान्य नै हो, अनि दृश्यभन्दा संवादबाट दर्शकलाई परिस्थिति बुझाउने प्रयास गर्नु पनि सामान्य। ऐया खुकुरीले मेरो हात काट्यो भन्ने संवाद पात्रमार्फत बोलाएर हातमा एक्कासि पट्टी लगाएको नाटकमा देखिनु अस्वाभाविक हैन।

तर फिल्ममा संवाद हैन दृश्यको राज चल्छ। हात काट्यो भन्ने संवाद हैन फिल्मले दृश्य खोज्छ। गाउँमा भोकमरी छ भन्ने संवादले मात्र फिल्मका दर्शकलाई भोकमरीको अवस्था महसुस गराउने प्रयास गर्नु फिल्म निर्देशकको सबैभन्दा ठुलो कमजोरी हो। तर नाटकमा यो स्वाभाविक हुनसक्छ।

बालविवाह, बिधुवा अनि बोक्सीको त्रिपक्षीय कथामा निर्माण भएको फिल्म बोक्सीको घरमा निर्देशक सुलक्षण भारतीले यही गल्ती गरेका छन्।

नाटकका रूपमा मञ्चन भइसकेको 'बोक्सीको घर' को कथालाई फिल्महलसम्म ल्याउन उनले मिहिनेत गरेका छन्। तर नाटक र फिल्मको भिज्योल ग्रामरको कमजोरीले फिल्म बलियो बन्न सकेन।

फिल्मको सबैभन्दा सकारात्मक पक्ष बाल कलाकार सुपला सापकोटाको अभिनय हो। जुनु अधिकारीको पात्र निभाएकी उनको यो डेब्यु फिल्म हो भनेर पत्याउन मुस्किल पर्छ।

पात्रको उमेर अनुसारको संवाद चयनमा चुक्दा केही दृश्य बिझाउँछ। तर सुपलाको अभिनय पोख्त कलाकार समान प्राकृतिक देखिन्छ।

बाल्यकालमै विवाह भएको एक महिला जब बिधुवा हुन्छिन् अनि समाजले उनलाई कसरी बोक्सी बनाउँछ? फिल्मको कथा यही नै हो।

यौन हिंसा, बलात्कार, आमाछोरीको सम्बन्ध सबैतिर छुने प्रयास गरेका छन् निर्देशकले। आमाछोरीको सम्बन्ध दर्शकलाई बुझाउन निर्देशक सफल देखिन्छन्।

डोकोले छोपेको पाठाहरू छाडेको र उनीहरूले दूध खाइरहेको दृश्य हेरिरहेकी जुनुकी आमाको दृश्यले दर्शक भावुक बन्न सक्छन्। फिल्ममा यस्ता दृश्यहरू सजगताका साथ प्रयोग गरेका छन् निर्देशकले।

पत्रकार बन्ने सपना बुनेकी बालिकाको बाल्यकालमै विवाह हुँदा तुहिएको सपना अनि बोक्सीको उपमा पाएकी जुनुको कथा खोतल्न पत्रकारकै प्रयोग जायज देखिन्छ। बाल्यकालमै टुसाउने प्रेमलाई समेत छुने प्रयास गरेका छन् निर्देशकले।

जुँगे केटाको भूमिकामा निर्देशक सुलक्षण आफैँले अभिनय गरेका छन्। शारीरिक रूपमा पूर्ण विकसित युवाले कलिली बालिकालाई श्रीमती बनाउँदै यौन चाहना पुरा गरेपछिको शारिरिक र मानसिक अवस्थालाई आमा-छोरीको संवादमार्फत करुणरुपमा प्रस्तुत गरिएको छ।

माइत जान चाहेकी श्रीमतीलाई पिपलबोटसम्म छाडेर फर्कँदा श्रीमानको मृत्यु भएपछि बदलिएको परिस्थितिसँगै पिपलको बोटमै बोक्सीको उपमा पाएकी जुनुको बास गराएका छन् निर्देशकले।

बाल्यकालमै विवाह हुँदा शारिसँगै मनमा पर्ने प्रभाव, श्रीमान् गुमाउँदै एकल महिलाहुँदाको प्रताडना अनि यौन हिंसाले मानसिक स्वास्थ्यमा पारेको प्रभावको परिणाममा जोड दिएका छन् निर्देशकले। रातो र सेतो रङ्गमा निर्देशकले मज्जाले खेलेका छन्। ब्याक ग्राउन्ड म्युजिकले फिल्मलाई बलियो बनाएको छ।

तीन विषय एकै फिल्ममा समेटे पनि फिल्मलाई निष्कर्षमा पुर्याउन निर्देशक चुकेका छन्। विगत र वर्तमानको दृश्य संयोजन गर्दै अगाडि बढेको फिल्ममा बाल्यकालिन जुनुको अभिनय र संवाद जति बलियो छ हुर्किँदै बोक्सीसम्मको चरणमा पुगेपछिको पात्रको संवाद अनि अभिनय उत्ति कमजोर छ।

केकीको लाउड भ्वाइसले फिल्म किरकिर बनाउँछ। दृश्य भाषामार्फत बोक्सीको आरोपितको चरित्र देखाउनमा भन्दा निर्देशकले नाटकको शैली अपनाउँदै पात्रलाई बारम्बार 'म बोक्सी हुँ' भन्ने संवाद बोलाएर दर्शकलाई' नबिर्सनु है यो बोक्सी हो नि' भन्ने सम्झाउने प्रयास गरेका छन्। यसले झिँजो लाग्दो बनाएको छ फिल्म। जम्पकटहरुले निर्देशकलाई फिल्म सक्काउन हतार भइरहेको सङ्केत गर्छ।

बोक्सी र पवित्र मानेर पूजा गरिने पिपलको रुखको सम्बन्ध के हो? निर्देशक त्यतातिर लागेका छैनन्। बोक्सी र पिपलको रुखको सम्बन्ध पनि छ कि केकीले श्रीमानले त्यही रुख नजिक छाडेर फर्कँदा मृत्यु भएकाले उनले बस्न पिपलको रुख रोजिन कथाले त्यति खुलाउँदैन।

रजस्वला हुनु अगाडि नै छोरीको विवाह गरे पुण्य हुने अन्धविश्वासजस्तै बोक्सी प्रथा पनि अन्धविश्वास हो। समाजको सबैभन्दा कमजोर पात्रले बोक्सीको आरोप खेप्नुले नै यो पुष्टि गर्छ नै।

तर फिल्म बोक्सी कुप्रथा हो भन्ने सन्देश दिन चुकेको छ। मानसिक स्वास्थ्य कमजोर हुँदा व्यक्तिले गर्ने गतिविधि वा समाजको कमजोर पात्रलाई बोक्सीको गतिविधिसँग लगेर जोड्दै यो कुप्रथा र अन्धविश्वासबाहेक केही हैन भन्ने प्रभावकारी सन्देश दिन सक्ने स्थान हुँदाहुँदै निर्देशकले जानाजान अवज्ञा गरेका छन्।

बोक्सी र भूतबिचको भिन्नता के हो? दुवै अन्धविश्वास भए पनि समाजमा गढेको चरित्र त फरक छ नि दुवैको। तर निर्देशक यही चुकेका छन्। केकीमा कतै भूतको चरित्र देखिन्छ त कतै बोक्सीको।

जतिबेला पनि त्यही बर पिपलको बोटमा पात्र घुमाउँदा दर्शक दिक्किने जोखिम छ। बोक्सीलाई मार्न गाउँलेहरू पिपलको बोटमा जाँदा जानकारी पाएर आएका प्रहरी नै भाग्ने दृश्य राखेर निर्देशकले अन्धविश्वासलाई बलियो बनाउने काम गरेका छन्।

यदि अभिनय रहर मात्र नभए वास्तविक जीवनमै पत्रकारिता गरेकी पत्रकार स्वेच्छा राउतले डेब्यु फिल्मबाट अभिनयमा सम्भावना देखाएकी छिन्।

निर्देशकले जसरी फिल्मको अन्त्य गराएका छन् त्यसले निर्देशकले बोक्सी अन्धविश्वास हो भन्न खोजेका हुन् कि बोक्सी अन्धविश्वास हैन सत्य हो भन्ने सन्देश दिन ? दर्शक रनभुल्लमा पर्छन्। अनि दर्शकहरू फिल्म प्रमोसनमा प्रयोग भएको गीत'बुझिन मैले,बुझाइदेऊ कसैले भन्दै हलबाट बाहिरिन्छन्।

१६ बैशाख, २०८१, २१:२८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।