उमेरै नपुगी नागरिकता !, २०१९ सालमा जन्मिएको व्यक्ति २०३४ मा कसरी १८ वर्ष?

उमेरै नपुगी नागरिकता !, २०१९ सालमा जन्मिएको व्यक्ति २०३४ मा कसरी १८ वर्ष?
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरी र उनले सोमबार सार्वजनिक गरेको ध्यानाकर्षण पत्र।

काठमाडौं : कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाले उनको नागरिकताबारे जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीबारे प्रतिक्रिया सार्वजनिक गर्दै २०३३/३४ मा लिएको नागरिकताबाहेक अन्य नागरिकता नलिएको र २०५७ मा प्रतिलिपि मात्र निकालेको दाबी गरेका छन्।

‘नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति मेरो ध्यानाकर्षण भएको लेख्दै उनले लेखेका छन्,’ २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ।

जसमा '२०३३/३४ को प्रतिलिपिअनुसार' भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन।'

उनले २०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने त्यसमा आफ्नो जिम्मेवारीको विषय नहुने भन्दै उनले हिमालयन रि- इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले जानकारी दिएको र प्रबन्ध पत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा आफ्नो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैँ स्थापित हुने उल्लेख गरेका छन्।

‘राज्यलाई शङ्का लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु,’ उनले लेखेका छन्, 'कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले 'स्टन्टबाजी' गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुनेछ।'

२०१९ सालमा जन्मिएको व्यक्ति २०३४ मा कसरी १८ वर्ष?

सिरोहियाले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा उनले आफूले २०३३/०३४ मा नागरिकता लिएको स्वीकार गरेका छन्। उकेराले प्राप्त गरेको उनको नागरिकताको प्रतिलिपिमा पनि नागरिकता जारी भएको मिति २०३३/०३४ नै उल्लेख छ।

उनको नागरिकतामा प्रस्टै उमेर १८ वर्ष उल्लेख छ। उमेरसँगै नागरिकतामा उनको जन्ममिती २०१९ मंसिर उल्लेख छ। उनको नाममा जारी भएको नागरिकता नागरिकता ऐन २०२० संशोधन सहित उल्लेख छ।

यो पनि :

नागरिकता ऐन २०२० मा १६ वर्ष उमेर नपुगेको व्यक्ति नाबालक हुने उल्लेख छ। सिरोहियाले नागरिकता लिएको भनेर स्वीकार गरेको मिति र उनको नागरिकतामा उल्लेख जन्ममिती आर्थिक वर्ष २०३३/०३४ मा उनले नागरिकता लिएको देखिन्छ।

आर्थिक वर्षको गणना अनुसार २०३३ साउन १  गतेदेखि २०३४ असार मसान्तसम्म मान्दा पनि उनको उमेर १५ वर्षको मात्रै देखिन्छ। तत्कालीन कानुन अनुसार नागरिकता बनाउन आवश्यक उमेर १६ वर्ष पार नगरेको उनले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेखित मिति र नागरिकतामा उल्लेखित मितिले नै पुष्टि गरेको छ।

दर्ता भएको जाहेरी पत्र।यस विषयमा उनको प्रतिक्रियाका लागि उकेराकर्मीले कल गर्दा फोन उठेन। कल गर्नुको प्रयोजन खुलाएर मेसेज गर्दा समेत प्रतिक्रिया आएन।

सिरोहियाको नागरिकताबारे जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भइसकेको छ। धनुषाका एसपी  भुवनेश्वर तिवारीले जाहेरी अनुसार आवश्यक कागजपत्र झिकाउने लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएका छन्। 

सिरोहियाले सार्वजनिक गरेको ध्यानाकर्षण पत्र।

१७ बैशाख, २०८१, १९:५६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।