बालुवाटार निस्कनुअघि ओलीले भने- ‘प्रधानमन्त्रीज्यूले बोलाउनुभथ्यो, चिया खान बोलाको होला’

बालुवाटार निस्कनुअघि ओलीले भने- ‘प्रधानमन्त्रीज्यूले बोलाउनुभथ्यो, चिया खान बोलाको होला’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलाई मिलाएर लैजानुपर्ने बताएका छन्।

आफ्नै निवासमा सचिवालय बैठक सकेर प्रधानमन्त्री निवास बालुवाटार जानुअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले टीआरसी विधेयकलाई मिलाएर लैजानुपर्ने बताए।

‘प्रधानमन्त्रीसँग तपाईंको भेट बाक्लिएको टिआर र सरकार परिवर्तनको विषयमा हो?’ भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाउनुभथ्यो, चिया खान बोलाको होला। टिआरसीलाई मिलाएर लानुपर्छ।’

उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने भनेर लेखेको फेसबुक पोस्टप्रति अनिविज्ञता प्रकट गर्दै उनले त्यसबारेमा आफूलाई थाहा नभएको उल्लेख गरे।

‘ए उहाँले खै कसरी भन्नुभयो कुन्नी। त्यो उहाँलाई नै सोध्नुपर्छ,’ उनले थपे, ‘सरकार फेरिन्छ वा फेरिँदैन भन्ने सन्दर्भको विषय चाहिँ प्रधानमन्त्रीले जान्ने कुरा हो।’

सत्ता समीकरण फेरबदलका लागि आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

उक्त छलफलमा समझदारी भएको र त्यसलाई पूर्णता दिन सोमबार पुनः छलफल हुँदैछ।

२१ फागुन, २०८०, ०९:५९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।