को भन्दा को कम : दर्शक ढुङ्गा र बोत्तल हुत्याउँछन्, कलाकार माइककै झटारो हान्छन्

को भन्दा को कम : दर्शक ढुङ्गा र बोत्तल हुत्याउँछन्, कलाकार माइककै झटारो हान्छन्

काठमाडौं : नेपालका चर्चित गायक गायिकाहरूलाई मेला महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिन भ्याइनभ्याइ छ। हिउँदमा त्यस्ता मेलामहोत्सव र कार्यक्रमहरू देशमा मान भएर विदेशमा पनि भए। उनीहरूलाई हेर्न हजारौं दर्शक ती कार्यक्रमहरूमा पुगे।

आफूलाई मनपर्ने कलाकारहरू आउँदा उनीहरू उत्साहित हुनु स्वभाविकै हो। कलाकारहरू आफ्नो प्रस्तुतिले दर्शक झुमाउँछन्। यसरी आफ्नो प्रस्तुति दिन आएका केही विवादित कलाकारलाई दर्शकले ढुङ्गा, बोत्तल र अण्डासमेत प्रहार गरेका छन्।

यसरी दर्शकदिर्घाबाट ढुङ्गा, बोतल र अण्डा प्रहार हुँदा कार्यक्रम नै केहिबेर रोकिएका थुप्रै उदाहरण छन्। यसरी दर्शकबाट झटारो खाने कलाकारहरूमा गायक राजेश पायल राई, प्रकाश सपुत, ज्योति मगर, दुर्गेश थापा, र्यापर भिटेनदेखि पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीसम्म पछिन्।

दोहोरी गायक तथा अभिनेता प्रकाश सपुतमाथि गत असार ९ गते रोमानियामा दर्शकदीर्घाबाट बियरको बोतल प्रहार भयो। एकसुरमा गीत गाइरहेका प्रकाशले प्रहार भएको बोतल छल्न नसक्दा उनको अनुहारमै लागेको थियो। उनलाई बोतल प्रहार गर्ने व्यक्तिलाई आयोजकले तत्काल समातेका थिए। उनीमाथि बोतल प्रहार भएको भिडियो तत्कालै सामाजिक सञ्जालमा भाइरल भयो।

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न न्युयोर्कमा सांगीतिक कार्यक्रम दिन पुगेका गायक राजेश पायल राईलाई एक युवाले स्टेजमै  पुगेर पछाडिबाट मुक्का हाने। उनलाई मुक्का प्रहार भएपछि गायक राईले प्रस्तुति नै केहि समय रोकेका थिए। आफूमाथि मुक्का प्रहार भएपछि गायक राईले अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने र पछाडिबाट आएको अंगालो झनै स्वीकार्ने भनेर दर्शक हौस्याएका थिए।

आफूलाई गायिका कम र मोडल ज्यादा भन्न रुचाउने ज्योति मगरमाथि पनि पटक-पटक दर्शकदिर्घाबाट ढुङ्गा प्रहार भएको छ। पाँच वर्षअघि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवं व्यापार मेलामा ज्योती मगरमाथि ढुङ्गा प्रहार भएको थियो। उत्ताउलो पाराा गीत गाइरहेको बेला उनीमाथि ढुङ्गा प्रहार भएको हो। ढुङ्गा प्रहारपछि पनि उनले गीत गाउन छाडिनन्।

उनैले गायिका मगरलाई गत वर्ष बाँकेको प्रादेशिक महोत्सवमा पनि ढुङ्गा प्रहार भयो। उक्त कार्यक्रममा ढुङ्गा प्रहार भएपछि आक्रोशित बनेकी ज्योतिले ठ्ट्यौली पारामा रिसै उठेको होटल म्याक्सको ४०१ नम्बर रुममा कुट्न आउनुस्, म त्यहिँ बसेको छु भनेकी थिइन्। त्यसपछि उनले त्यहाँ थप गीत गाइन्।

युवापुस्तामा चर्चित मोडल हुँदै गायक बनेका दुर्गेश थापालाई गत वर्ष आठौं वालिङ महोत्सवमा दर्शकले जुत्ता हानेका थिए। कार्यक्रमको नवौं दिनको बेलुकी प्रस्तुति दिन वालिङ महोत्सव पुगेका थापालाई जुत्ता प्रहार भएको थियो। उनलाई जुत्ता प्रहार गर्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पछि उनीहरूबीच मिलापत्र भएको थियो।

उनी पनि दर्शकको बेला–बेलामा तारो बन्दै आएका छन्। यसअघि कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा ढुङ्गा प्रहार गरिएको थियो। ७९ साल पुष १६ गते आफ्नो सांगितिक प्रस्तुति दिने क्रममा स्टेजमै उनीमाथि ढुङ्गा प्रहार भएको थियो। त्यसपछि उनले केहि छिन् आफ्नो प्रस्तुति रोकेका थिए।

महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारेपछि उनले पुनः प्रस्तुति दिएका थिए। नाबालिका बलात्कार आरोपमा पल शाह जेललमा परेपछि शाहलाई फसाउन दुर्गेसले चाल चलेको भन्दै उनीमाथि ठाउँ–ठाउँमा ढुङ्गा र जुत्ता प्रहार भएको थियो।

फिल्म ‘नाई नभन्नु ल’को सिक्वेलमा समावेश गीत ‘बालापनको उमेर’ बोलको गीत गाएपछि एकाएक चर्चामा आएकी गायिका समीक्षा अधिकारीमाथि पनि दर्शकले ढुङ्गा तथा बोत्तल प्रहार गरेका छन्।

दुई वर्षअघि कार्तिक १८ गते सांगितिक प्रस्तुति दिन संखुवासभाको खाँदबारी पुगेकी उनीमाथि दर्शकदीर्घाबाट अश्लील गाली गर्दै ढुङ्गा र अण्डा प्रहार भएको थियो। प्रहार गरिएका ढुङ्गा तथा अण्डाले उनलाई लागेन। ढुङ्गा तथा अण्डा प्रहार हुँदा पनि गायिका अधिकारीले प्रस्तुति दिन भने छाडिनन्।

कलाकार पनि कम्ती छैनन्, दर्शकलाई माइकको झटारो 
दर्शकहरूले मात्र बोत्तल, ढुङ्गा र अण्डाको झटारो हानेका हैनन्। हाम्रा कलाकारहरू पनि दर्शकभन्दा कम्ती छैनन्। किनकी हामी सबै यहि वातावरणमै हुर्किएका न हौँ। कलाकारले पनि दर्शक तथा सहयोगीलाई माइकको झटारो हान्नुका साथै किक पनि चलाएका छन्।

गत कात्र्तिकमा सांगितिक कार्यक्रमका लागि अस्ट्रेलियाको एडिलेडमा पुगेका गायक सुगम पोखरेलले दर्शकलाई माइकको झटारो हाने। नेपालको जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु हुनेका लागि मौन धारण गर्न पटक अनुरोध गर्दा बेवास्ता गरिएपछि उनी आक्रोशित हुँदै स्टेजबाट ओर्लिएर एक दर्शकलाई माइकको झटारो हानेका थिए। जुन भिडियो सामाजिक सञ्जालमा अहिले पनि हेर्न सकिन्छ।

कन्सर्टमा दर्शकमाथि माइक प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले माफी नै माग्नु परेको थियो। आफ्नो आलोचना बढेपछि उनले भनेका थिए, ‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु। जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु।’

राजेश पायल राई विवादमा आएनन् भने तरकारीमा नुन नपुगेको जस्तो लाग्ने जमात धेरै भइसक्यो सांगीतिक क्षेत्रमा। राई र विवाद एकअर्काकाका पर्याय भइसके। राईले स्टेजमै एक व्यक्तिलाई ‘ब्याक किक’ हानेको भिडियो गत वर्ष माघ ५ गते भाइरल बनेको थियो। घटना दुई वर्ष पुरानो भए पनि गत वर्षमात्र समाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनेको थियो।

राईको ‘ब्याक किक’ खाने युवा थिए राजेश दर्नाल। प्रायजसो कलाकारसँग हिँड्ने, फोटो खिच्ने र सामजिक सञ्जालमा भ्युज बटुल्दै आएका दर्नालले स्टेजमा नै पुगेर राजेशसँग गफ गर्न खोजेका थिए। तर, राजेश कुन मुडमा थिए कुन्नी, उनले ब्याक किक हानिदिए।

यसबारे दर्नालले स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भनेका थिए, ‘आयोजकले समय सकिएको जानकारी गराएका थिए। त्यो उहाँलाई जानकारी गराउन भन्नको लागि पछाडिबाट कानमा सुटुक्क भन्दै थिएँ। उहाँले किक हान्नुभयो। त्यसपछि म हिँडे।’

भिडियो भाइरल भएर आलोचित बनेपछि गायक राईले ‘गीत गाइरहेको बेला हल्ला नगरन भनेको’ बताएका थिए। उनले एक अन्तरवार्तामा ‘हामीले खुट्टा उचाल्नै नहुने हो र?’ समेत भनेका छन्।

१५ बैशाख, २०८१, १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।