साफ यू-१६ महिला च्याम्पियनसिप भोलिदेखि : घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा आउने नेपालको दाबी

साफ यू-१६ महिला च्याम्पियनसिप भोलिदेखि : घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा आउने नेपालको दाबी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ।

फागुन १८ देखि २७ सम्म हुने खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यु-१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले खेलाडीहरूले एक महिनादेखि तयारी गरेकोले आफ्नो पक्षमा नतिजा आउने दाबी गरे।

गत वर्ष भएको साफ-१५ को उपाधि नेपाली टोलीले जितेको टोलीकी सदस्य अहिलेको कप्तान रहेको भन्दै तामाङले नेपाली टोली पहिलेको भन्दा बलियो भएको दाबी गरे।

उनले भने, ‘अहिलेको प्लेयर अहिले अलि स्ट्रोङ देखेको छुँ, पैलेको प्रतिस्पर्धाहरूभन्दा अहिले प्रशिक्षण गर्ने मौका अलि बेसी नै पायौं। अर्को फाइदा के भने, होम ग्राउण्ड पनि अहिले पाएका छौं। त्यसले गर्दा अहिले अलि सजिलो भएको छ। सातदोबाटोमा अरूभन्दा नेपालले धेरै नै जितेको छ। र कन्फिडेन्स लेभल बढेको छ।’

नेपालको सिनियर टोलीले विभिन्न प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरिरहेको भन्दै तामाङले उक्त प्रदर्शनले जुनियर टोली उत्साहित र खुसी भएको बताए।

शुक्रबारबाट हुने प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश र भारत सहभागी हुँदैछन्। प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार भारत र भुटानबीच हुनेछ।

घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ।

प्रतियोगितामा सहभागी ४ टिमले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।

१७ फागुन, २०८०, १५:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।