इङ्ग्ल्यान्ड ‘सी’ सँग खेल्न किरण लिम्बुको कप्तानीमा नेपाली राष्ट्रिय टिम घोषणा

इङ्ग्ल्यान्ड ‘सी’ सँग खेल्न किरण लिम्बुको कप्तानीमा नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौं : इङ्ग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। 

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक भिसेन्जो एल्बर्टोले किरण लिम्बुको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेका हुन्।

घोषित टिममा गोलरक्षकहरूमा अभिषेक बराल र विशाल सुनार, रक्षकहरूमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् भने मिडफिल्डरहरूमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बू छन्। 

त्यस्तै, स्ट्राइकरहरूमा दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन्।  

राष्ट्रिय टिमलाई सोमबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ पनि गरेको छ।

अध्यक्ष पंकजविक्रम नेम्वाङले कोभिडपछि रोकिएर निकै लामो प्रयासपछि नेपालको टिम इङ्ग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बताए। 

उनले भने, ‘निकै लामो प्रयासका बाबजुद नेपालको टिम इङ्ग्ल्यान्ड ‘सी’ टिमसँग यो मैत्रीपूर्ण खेल हुन लागेको छ। यो प्रयास पहिलेको कार्यसमितिले थालनी गरेको थियो। कोभिड आयो त्यस पछाडि भएन। अब चाँडै सफल हुँदै छ।’

अध्यक्ष नेम्वाङले खेलकुदको माध्यमबाट दुई देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। सहभागी खेलाडीहरूलाई देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नका साथै आफ्नो सम्बन्ध र भाइचाराको निम्ति अगाडि बढ्न आग्रह गरे।  

उनले भने, ‘तपाईहरु जो जो जाँदै हुनुहुन्छ देशको प्रतिनिधित्व गरेर जानु हुनेछ। देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नु हुनेछ थाहा छ। तर, आफ्नो सम्बन्ध भाइचाराको निम्ति पनि आफ्नो व्यवहार बढाएर आउनुहोला।’ 

नेपालले वैशाख २४ मा अल्डरसटमा इङ्ग्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

१७ बैशाख, २०८१, २०:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।