हैदरावादमाथि चेन्नईको ७८ रनको फराकिलो जित

हैदरावादमाथि चेन्नईको ७८ रनको फराकिलो जित

एजेन्सी : इंडियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबा भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले सनसाइजर्स हैदरावादविरुद्ध ७८ रनको फराकिलो जित दर्ता गरेको छ।

चेन्नईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रहन पुग्यो।

यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे। ट्राभिस हेड र नितिश रेड्डीले १५-१५ रन जोडे।

चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए। यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २-२ विकेट लिए भने रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।

त्यसअघि चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो।

चेन्नईका कप्तान रुतुराज गाइक्वाड शतक बनाउनबाट चुकेपनि ५४ बलमा ९८ रनको सानदार इनिङ खेले। डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए। यस्तै शिवम दुवेले ३९ रन जोडे।

हैदरावादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

जितपछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित हैदरावादको पनि ९ खेलमा १० अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ।

१७ बैशाख, २०८१, ०७:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।