उकेराको सिटीको समाचारमा डा सुधाको खण्डन

उकेराको सिटीको समाचारमा डा सुधाको खण्डन

काठमाडौँ : कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा सुधा देवकोटाले सिटी स्क्यान खरिदमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छिन्। उनले उकेरामा पठाएको खण्डन पत्रमा खरिद प्रक्रियामा प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको कहीँ पनि प्रत्यक्ष संलग्नता नरहने दाबी गरेकी छिन्।

उनले उकेरामा’ बोलपत्र खोल्ने ठाउँ नसच्याउँदा खुल्यो कोशी सिटी स्क्यान खरिदको पोल, प्रदेश स्वास्थ्य सचिवसहितको साढे तीन करोड कमिसनको खेल’ शीर्षकको समाचारले मान प्रतिष्ठा र आत्मसम्मानमा आघात पूर्याएको उल्लेख गरेकी छिन्।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्ने सिटी स्क्यान मेसिनको टेन्डर कागजातमा टेन्डर खुल्ने स्थान कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने ठाउँमा काठमाडौँको नरदेवी अस्पताल लेखिएको थियो।

मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको प्रमाणको आधारमा उकेराले सो समाचार प्रकाशित गरेको थियो। उकेराको खोजमा मेसिन उत्पादक कम्पनी निओसफ्टको नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजीज प्रालि’ले काठमाडौँको नरदेवी अस्पतालमा सिटी खरिदको टेन्डर पाएको र सोही  स्पेशिफिकेशन जस्ताको त्यस्तै कोशीमा लग्दा टेन्डर खुल्ने स्थान समेत नरदेवी भएको खुलेको थियो। यसबारेका सबै आवश्यक प्रमाण उकेरासँग सुरक्षित छ।

नियम अनुसार खरिद समिति गठन गरेर सिटी स्क्यान मेसिन खरिदका लागि कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्पेशिफिकेशन बनाउने समिति पनि गठन गर्नु पर्ने हो। तर, स्पेशिफिकेशन बनाउन गठन भएको समितिले निओसफ्टकै नेपाली सप्लायर्सले दिएको स्पेशफिकेशनलाई अनुमोदन गरेको देखिएको थियो।

५ माघ, २०८०, १५:५१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।