स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने सरकारको घोषणा

स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक रूपमा पुनर्संरचना गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमा प्रणालीलाई थप प्रभावकारी र सेवामूलक बनाइने घोषणा गरेका हुन्।

लामो समयदेखि प्रभावकारिताको प्रश्न उठ्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई समयसापेक्ष बनाउन सरकारले यसको संरचनागत सुधार गर्न लागेको हो।

राष्ट्रपति पौडेलले भने, ‘नागरिकको स्वास्थ्यमा सहज र सुलभ पहुँच स्थापित गर्न हालको स्वास्थ्य बीमा कार्यक्रमको ढाँचामा आवश्यक पुनर्संरचना गरिनेछ।’

बीमा कार्यक्रममार्फत प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गरी नागरिकले वास्तविक लाभ पाउने वातावरण निर्माण गरिने, बीमा दाबी भुक्तानी र सेवा प्राप्तिमा देखिएका झन्झटहरू हटाई डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई थप चुस्त बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसका अलावा स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई समेट्दै कार्यक्रमलाई दिगो र भरपर्दो बनाउने सरकारको योजना छ भने बीमा कोषको परिचालनमा पारदर्शिता कायम गर्दै सेवा प्रदायक अस्पतालहरूसँगको समन्वयलाई थप सुदृढ गरिने दाबी गरिएको छ।

वैशाख २८, २०८३ सोमबार १६:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।