बोलपत्र खोल्ने ठाउँ नसच्याउँदा खुल्यो कोशी सिटी स्क्यान खरिदको पोल, प्रदेश स्वास्थ्य सचिवसहितको मिलेमतोमा साढे तीन करोड कमिसनको खेल

बोलपत्र खोल्ने ठाउँ नसच्याउँदा खुल्यो कोशी सिटी स्क्यान खरिदको पोल, प्रदेश स्वास्थ्य सचिवसहितको मिलेमतोमा साढे तीन करोड कमिसनको खेल

काठमाडौँ : कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिनको टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस नौ गते (डिसेम्बर, २५) १२ बजेलाई तोक्यो। सोही दिन दुई बजेलाई टेन्डर खुल्ने मिति तोकियो।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्ने सिटी स्क्यान मेसिनको टेन्डर कागजातमा टेन्डर खुल्ने स्थान काठमाडौँको नरदेवी अस्पताल उल्लेख थियो। टेन्डर कागजातमा लेखिएको थियो,‘मिटिङ हल अफ नरदेवी अस्पताल, काठमाडौँ।’

सिटीको टेन्डर खुल्ने स्थान कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने ठाउँमा काठमाडौँको नरदेवी अस्पताल लेखिनुको कारण बढ रोचक छ।

मेसिन उत्पादक कम्पनी निओसफ्टको नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजीज प्रालि’ले काठमाडौँको नरदेवी अस्पतालमा सिटी खरिदको टेन्डर पाएको थियो।

नरदेवी अस्पतालले २०८० असार १८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै दुई लाख ८५ हजार (मूल्य अभिवृद्धि कर बाहेक) अमेरिकी डलर (यूएसडी)मा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी निओसफ्टको नेपाली सप्लायर्स (हिमालय मेडिकल टेक्नोलोजीज प्रालि)लाई टेन्डर दिएको थियो।

नरदेवी अस्पतालका तत्कालीन निर्देशक डा. प्रदीप केसीले सिटीको सो टेन्डर दिएका थिए। नरदेवीमा ६४ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भयो। नरदेवीको सिटी स्क्यान मेसिन जडान भइरहेको छ।

कोशीले किन्न लागेको सिटी स्क्यानको टेन्डर कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेकाले टेन्डर खुल्ने स्थान कोशीको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने थियो। तर निओसफ्टको नेपाली एजेन्टको सेटिङमा नरदेवीकै स्पेशिफिकेशन लगायतका कागजपत्र कोशीमा पुग्यो। उनीहरूले हेर्दै नहेरी सार्वजनिक गर्दा टेन्डर खुल्ने स्थान काठमाडौँको नरदेवी अस्पताल नै प्रकाशित भयो।

यसले नरदेवीमा किनिएको सिटीमा समेत मिलेमतो गरेर निश्चित कम्पनीलाई दिएको पुष्टि त भयो नै त्यही अनुसार कोशीमा पनि मिलेमतोमा खरिद गर्न लागिएको खुल्यो।

सप्लायर्सले स्पेशिफिकेशनमा भएका अन्य बुँदाहरू सच्याए पनि सिटी स्क्यान मेसिनको टेन्डर कागजात (बिड डकुमेन्ट) मा टेन्डर खुल्ने स्थान सच्याउन भुलेको प्रस्टै देखिन्छ।

यो तथ्यबाट कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मिलेमतो गरेर निओसफ्टले दिएको टेन्डरको स्पेशिफिकेशन नै सार्वजनिक गरेको देखियो।

नियम अनुसार खरिद समिति गठन गरेर सिटी स्क्यान मेसिन खरिदका लागि कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्पेशिफिकेशन बनाउने समिति पनि गठन गर्नु पर्ने हो। तर, स्पेशिफिकेशन बनाउन गठन भएको समितिले निओसफ्टकै नेपाली सप्लायर्सले दिएको स्पेशफिकेशनलाई अनुमोदन गर्यो।

कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहालले निओसफ्टले नै पठाएको स्पेशिफिकेशनलाई हस्ताक्षर गर्दै अनुमोदन गरेको देखियो।

यसमा खरिद शाखा प्रमुख र केन्द्रका निर्देशक समेत चुकेको प्रस्टै देखिन्छ। तर, केही दिनअघि उकेरासँगको कुराकानीमा दाहालले निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी सिटीको प्राविधिक स्पेशिफिकेशन लक्ड नगरेका उनले दाबी गरेका थिए। तर उनको दाबी झुटो थियो।

निओसफ्ट चिनिया उत्पादक कम्पनीको मेसिन हो। यो कम्पनीका नेपाली सप्लायर्स हिमालय मेडिकल टेक्नोलोजीज् प्रालि र निदान्त मेडिशोलुशन हुन्। हिमालयका मालिक अमर श्रेष्ठ हुन् भने निदानका मालिक चन्द्र बुढा हुन्।

उकेराको खोजका क्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. वीरेन्द्र कुमार मण्डल, केन्द्रका खरिद प्रमुख शम्भु साह र बायोमेडिकल इन्जिनियर दाहालको मिलेमतोमा महँगोमा सिटी खरिद गर्न लागेको प्रस्ट देखियो।

कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर सिटीको खरिद प्रक्रिया अगाडि बढाइएको भन्ने विषयमा आफूलाई जानकारी नभएको दाबी गरिन्।

उनले टेन्डर खुल्ने ठाउँ कोशी प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र हुनुपर्नेमा काठमाडौँको नरदेवी अस्पताल कसरी भयो भन्ने विषयमा पनि अनभिज्ञता जनाइन्। उनले यो विषयमा आफूलाई जानकारी नभएकाले बुझ्ने दाबी गरिन्।

‘यो बारेमा मलाई जानकारी भएन म बुझ्छु,’उकेरासँगको कुराकानीमा कोशीकी स्वास्थ्य सचिव डा. देवकोटाले भनिन्।

पहिल्यैबाट भएको थियो मिलेमतो

कोशी प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो।

यो मेसिनको करिब साढे चार करोडमा जडान हुने भए पनि कोशीले सिटी स्क्यान मेसिन करिब सात करोड ७४ लाख ६० हजारमा किन्न लागेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सो सिटी स्क्यान मेसिन मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि खरिद गरिदिन लागेको हो।

उकेराको प्रारम्भिक खोजका क्रममा मेसिन उत्पादक चिनिया कम्पनी निओसफ्टको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी केन्द्रले सिटीको खरिद प्रक्रिया अगाडि बढाएको देखिएको थियो।

कोशीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब सात करोड ४३ लाख ६० हजारमा खरिद गर्ने गरी बोलपत्र आह्वान गरिसकेको छ।

टेन्डर आह्वान अनुसार सप्लायर्स कम्पनीले पुस १७ गते मंगलबार (हिजो) सम्ममा टेन्डर प्रस्ताव समेत गरिसकेको छ। मंगलबार नै टेन्डर समेत खुलिसकेको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई वटा सप्लायर्स कम्पनीले सिटी खरिदका लागि टेन्डर प्रस्ताव गरेका थिए। पूरा नाम याद नभए पनि ‘एक्सीस’ नाम गरेको सप्लायर्स कम्पनी मेसिन खरिदका लागि प्राविधिक तथा आर्थिक मूल्याङ्कनमा छनोट समेत भएको स्रोतले जानकारी दियो।

‘मलाई पूरै नाम यदा भएन। एक्सिस भन्ने छ,’स्रोतले भन्यो।

टेन्डर प्रस्ताव गर्नेमध्ये दुईमध्ये एउटा सप्लायर्स कम्पनीको कागजातमा नै समस्या भएकाले त्यो सप्लायर्स टेन्डर प्रक्रियाबाट बाहिरिएको अनि एउटा सप्लायर्स कम्पनी मात्रै टेन्डर प्रक्रियामा छनोट भएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र स्रोतले जानकारी दियो।

‘सिंगल हो। एक जनाले बैँक ग्यारेन्टी फिर्ता लिन आयो,’प्रदेश आपूर्ति केन्द्र स्रोतले भन्यो,‘एउटा सक्सेस भयो, अर्कोको सक्सेस भएन।’

आपूर्ति स्रोतका अनुसार छनोट भएको एउटा सप्लायर्सको कागजात मूल्यांकनको चरणमा गएको छ। प्राविधिक र आर्थिक मूल्यांकनपछि सस्तोमा गुणस्तरीय मेसिन दिने सप्लायर्सको मेसिन छनोट गरी उसैलाई टेन्डर दिइन्छ। तर, दुई वटा सप्लायर्समध्ये एउटा सो सिटी खरिदका लागि अयोग्य भइसकेकाले यो सिटी खरिद प्रक्रियामा प्रतिस्पर्धा हुने सम्भावना रहेन।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८० कात्तिक २४ गते (२०२३, नोभेम्बर १०) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

प्रदेश व्यवस्थापन केन्द्रले किन्न लागेको सिटी स्क्यान मेसिनको करिब साढे चार करोड रूपैयाँ लागत पर्ने जानकार स्रोतले बतायो। यसरी हेर्दा करिब तीन करोड कमिसनको खेलका लागि निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा १८ लाख ५९ हजार बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ।

सो जमानत रकमको आधारमा हेर्दा केन्द्रले औसतमा करिब सात करोड ४३ लाख ६० हजारमा खरिद गर्ने गरी सिटी स्क्यान मेसिनको टेन्डर (बोलपत्र) आह्वान गरेको देखिन्छ ।

सामान्यतः टेन्डर आह्वान गर्नु अघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ।

सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित रकमको लागत अनुमान तयार गर्छ। सामान्यतः कम्तीमा तीन वटा कम्पनीसँग दर रेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

कर्मकाण्डी प्री–बिड मिटिङ

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेन्डर आव्हानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति मंसिर २४ गते (डिसेम्बर १०) दिउँसो एक बजेलाई तोकिएको थियो। तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ।

टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने हो।

प्रि–बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन्।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले पनि खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग समेत गरेका थिए।

प्रि–बिड मिटिङपछि टेन्डर आह्वान गर्ने संस्थाले सप्लायर्सबाट प्रि–बिड मिटिङकाक्रममा आएका माग अनुसार स्पेशिफिकेशनमा आवश्यकता अनुसार संशोधन गर्छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले निओसफ्टलाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय अन्य सप्लायर्सहरुलाई थाहा हुने नै भयो।

संशोधनको माग गरेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पुस तीन गते मंगलबार (डिसेम्बर, १९) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गर्दै सूचना प्रकाशित गर्यो। तर, प्रमुख बुँदाहरूमा भने संशोधन गरेको देखिँदैन।

प्रारम्भिक रूपमा हेर्दा सो संशोधनले चाहेको  कम्पनीको मेसिन (निओसफ्ट) सँग मिल्नेगरी बनाएको स्पेशिफिकेशनमा फरक पर्दैन र उसैलाई टेन्डर दिने नै रणनीति देखिन्छ।

प्रि–बीड मिटिङमा निओसफ्ट, क्यानन–तोसिबा, फिलिप्स, सिमेन्स, युनाइटेड लइमेजिङ लगायत ५–७ वटा सप्लायर्सहरुले खरिद हुन लागेको सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन संशोधनका लागि प्रस्ताव गरेको स्रोतले जानकारी दियो।

संशोधनमा नै त्रुटि

अर्को यसको रोचक पक्ष त कोशीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर प्रस्ताव गर्ने मिति संशोधन गर्दै पुस १७ गते (२०२४, जनवरी २) १२ बजेसम्मलाई तोकेको देखिन्छ।

खरिद अनुगमन कार्यालय (पीपीएमओ)को वेबसाइटमा पाइए अनुसार पुस दुई गते (२०२३, डिसेम्बर १८)मा संशोधित टेन्डर कागजात प्रकाशित गरेको देखिन्छ। तर, पीपीएमओको बाहिरी सूचनामा पुस १७ गते १२ बजेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नु पर्ने अन्तिम मिति तोकिए पनि संशोधित कागजातमा भने टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस नौ गते (डिसेम्बर, २५) नै उल्लेख छ। र, सोही दिन दुई बजे टेन्डर खुल्ने मिति उल्लेख छ।

यसबाट टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस नौ गतेबाट सारेर पुस १७ गते पुर्याइएको देखिन्छ। तर, टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति संशोधन हुँदा समेत त्यो संशोधित मिति सिटीको टेन्डर प्रस्तावका लागि सार्वजनिक भएको कागजातमा किन सच्याएर सार्वजनिक गरिएन भन्ने अर्को प्रश्न उब्जिएको छ। तर, पत्रिकामा भने सच्याइएको मिति सार्वजनिक भएको केन्द्रले जनाएको छ।

बुँदा बुँदामा लक्ड

बोलपत्र कागजातको भाग दुई (सेक्सन–आइआई) ‘बीड डेटा सिट’ को ‘आइटीबी २७.१’ मा लेखिएको थियो,‘दी बीड ओपनिङ स्याल टेक प्लेस एटः मिटिङ हल अफ नरदेवी अस्पताल, काठमाडौँ।’

नरदेवीको कागजात अनुसार डकुमेन्ट बनाउँदा नरदेवी नै उल्लेख भएको खुलेपछि त्यसलाई सच्याएर ‘(दी बीड ओपनिङ स्याल टेक प्लेस एट) प्लेसः प्रोभिन्स हेल्थ लोजिष्टिक म्यानेजमेन्ट सेन्टर, विराटनगर।’ बनाइयो।

त्यसैगरी केन्द्रले प्राविधिक स्पेशिफिकेशनको बुँदा नं.‘भी’ को ‘गेन्ट्री’ मा भएका केही बुँदा पनि संशोधन गरियो। बुँदा नं. ‘भी’ को ‘ए’ मा गेन्ट्री एपाचर  ७२ सेन्टिमिटर वा त्यो भन्दा धेरै हुनुपर्ने प्रावधान थियो। त्यसलाई संशोधन गरेर गेन्ट्रि एपाचर ७० वा त्यो भन्दा बढी हुनुपर्ने प्रावधान राखियो।

त्यसैगरी बुँदा नं ‘४’ को ‘ए’ मा भएका ‘स्क्यान लेन्थ अफ एट लिस्ट ३०० सेकेन्ड कन्टिनियुज’ को ठाउँमा संशोधन गरेर ‘स्क्यान लेन्थ अफ एट लिस्ट १०० सेकेन्ड कन्टिनियुज’ राखियो।

प्राविधिक स्पेशिफिकेशनको स्क्यान टाइम ‘सुड बी ०.३८ सेकेन्ड अर बेटर वीथ टेम्प्रोरल रिशोलुशन डाउन टु ७५ मिलिसेकेण्ड अर बेटर फर कार्डियोभासस्कुलर इमेजिङ’मा भएको जस्तो बुँदा निओसफ्टसँग लक्ड भएको देखिन्छ।

त्यसैगरी प्राविधिक स्पेशफिकेशनमा भएको एक्स–रे जेनरेटरको बुँदा नं. ‘ए’ मा लेखिएको छ,‘दी जेनरेटर सुड बी अफ हाई फ्रिक्वेन्सि टाइप एन्ड ह्याभिङ एट लिस्ट ८० किलोवाड (केडब्लु) आउटपुट वीथ ट्युब करेन्ट इन दी रेन्ज अफ १० एमए अर लेस–६०० एमए अर मोर वीथ दी स्मल फोकसेस फर अल टाइप्स अफ एक्सील एन्ड स्पाइरल स्क्यान्स। मेन्सन केभी सेलेक्शन।’

यो बुँदा पनि निओसफ्ट र फिलिप्ससँग मात्रै मिल्ने देखिन्छ। तर, स्पेशिफिकेशन हेर्दा अन्य बुँदामा फिलिप्सलाई अयोग्य बनाएर निओसफ्टलाई नै टेन्डर पार्ने रणनीति देखिन्छ।

सप्लायर्सको सिन्डिकेट, बाँडिचुँडी कमिसन

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको यो सिटी खरिदको अवस्थालाई हेर्दा सप्लायर्सहरु मिलेर सिन्डिकेट गरी आफूले चाहेको एउटा निश्चित मेसिन उत्पादक कम्पनीको सप्लायर्सलाई टेन्डर पारेर कमिसन बाँडिचुँडी लिने रणनीति बनाएको देखियो।

तर, दुई वटा सप्लायर्स कम्पनीले सिटी खरिदका लागि टेन्डर प्रस्ताव गर्नु अनि एउटा सप्लायर्स भने कागजात नपुगेर टेन्डर प्रक्रियाबाटै आउट हुनुले निओसफ्टकै नेपाली सप्लायर्सको सेटिङमा खरिद प्रक्रिया अगाडि बढेको देखियो।

१८ पुस, २०८०, २१:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।