सर्लाहीका ‘दबङ’ मेयर भरतविरुद्ध जताततै भ्रष्टाचारको उजुरी, तर ‘डर’ले गर्दैनन् छानबिन

सर्लाहीका ‘दबङ’ मेयर भरतविरुद्ध जताततै भ्रष्टाचारको उजुरी, तर ‘डर’ले गर्दैनन् छानबिन

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकामा रहेको तालको सक्कली नाम बागमती माछा पोखरी भए पनि यो भरत तालको रूपमा चर्चामा आयो। तालको नाम भरत ताल राख्न मेयर भरत थापाले बढो चलाखी गरे।

बागमती नगरपालिकाको दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित उनले सरकारी साधन स्रोतको प्रयोग गरेर निर्माण गरेको तालसँग आफ्नो नाम त जोडे नै सँगै अनियमितता पनि जोडिएर आयो।

उनीमाथि कृत्रिम ताल बनाउँदा बनको जग्गा मिचेको आरोप त लाग्यो नै सँगै निकालिएका खनिजको विक्रीबाट १६ करोड बढीको भ्रष्टाचार गरेको, मधेस प्रदेश सरकारबाट ताल क्षेत्रमा हरितकरण लगायतको शीर्षकमा लिएको करोडौं रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ।

६५ करोड खर्च भएको ताल निर्माणमा केन्द्रदेखि प्रदेशसम्मका सरकारले बजेट दिएका थिए। मधेस सरकारले दिएको ३० करोडमा भ्रष्टाचार भएको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मधेस प्रदेशको सार्वजनिक लेखा समितिमा समेत गम्भीर आरोपहरू सहित उजुरी परेको छ। छानबिनको निर्णय त भएको छ तर छानबिन भएको छैन।

उनीमाथि अवैध क्रसर उद्योग चलाएको, सार्वजनिक निर्माणमा आफ्नो समूह बाहेक अन्यलाई काम गर्नै नदिएको जस्ता आर्थिक पक्ष जोडिने दर्जनौँ आरोपहरू छन्। सँगै उनीमाथि ब्यक्ती हत्यामा संलग्न भएको भन्दै जाहेरी समेत परेको छ।

उकेराको खोजमा थापाविरुद्ध अख्तियारमा मात्र नौ भन्दा बढी उजुरी परेको खुल्यो। ती अधिकांश उजुरीहरू आर्थिक अनियमिततासँगै जोडिएका छन्।

कृतिम तालमा नाममा भएको खेल

थापा सर्लाही बागमती नगरपालिकामा दोस्रो पटक मेयरमा निर्वाचित भएपछि झन्डै एक सय २१ बिघा क्षेत्रफलमा सरकारी रकम खर्च गरेर कृत्रिम ताल बनाए।

तालको सक्कली नाम बागमती पोखरी भए पनि आफ्नै नाममा ‘भरत ताल’ को रूपमा चलाखीसाथ प्रचार गराए। उनले कृत्रिम तालको निर्माणमा जोडदिनुको कारण त्यहाँबाट निस्किने ढुंगा/गिटी अनि बालुवाको अवैध व्यापारको लोभ देखियो। भयो पनि त्यस्तै।

६५ करोडमा ताल निर्माण गर्ने योजना बनाए। २०७८ मा पोखरीको सौन्दर्यीकरणबारे, रिफ्रेस सेन्टर, प्रतीक्षालय र पार्क निर्माणका लागि भन्दै मधेस प्रदेश मात्र ३० करोड रूपैयाँ दिएको थियो।  सो रकम खर्च भएको भन्दै बुझाएको विवरण शङ्कास्पद रहेको भन्दै प्रदेश सभामा विरोध सुरु भएपछि लेखा समितिले छानबिन सुरु गर्यो।

सार्वजनिक लेखा समितिले प्रारम्भिक छानबिन गरेर अनियमितता भएको हुनसक्ने भन्दै अर्थ मन्त्रालयबाट फाइलहरू मगाउन २०७९ साउन ५ मा निर्णय गर्यो। समितिले भरत तालसँगै मुख्यमन्त्री स्वच्छता अभियानमा भएको खर्चमाथि शङ्का गरेको थियो। तर छानबिन त्यत्तिकै रोकियो। 

अनियमितता लुकाउन इन्काउन्टर !

विप्लव माओवादीका नेता कुमार पौडेलको इन्काउन्टरमा समेत उनको नाम जोडियो। पीडित परिवारका सदस्यले दायर गरेको जाहेरीमा उनको नाम समेत छ।

सरकारी वकिलको कार्यालय, सर्लाहीमा पुगेको जाहेरीमा भरत थापासहित सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश २ प्रहरी प्रमुख तत्कालीन डीआइजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर किरणप्रसाद न्यौपाने लगायतको नाम छ। यसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेत जोडिएका छन्।

मृतकका परिवारका सदस्य मेयर थापाको बदमासीबारे कुमार जानकार रहेको र त्यही सार्वजनिक हुने डरले आइजीपी खनालको प्रयोग गरेर उनलाई नक्कली इन्काउन्टरमा मारेको दाबी गर्छन्।

कुमार पौडेलका भाइ कृष्ण पौडेलले पत्रकार सम्मेलनै गरेर तत्कालीन आइजीपीले 'मेयर भरत थापालाई चन्दा मागेको, टर्चर दिएको भनेर भनेको' सार्वजनिक गरेका थिए।

उकेराको खोजबिनमा मृतक पौडेल र मेयर थापाबीच दुस्मनी रहेको भने देखियो। थापा र पौडेल पहिला एकै दल माओवादीमा थिए। पौडेल विप्लव समूहतिर लागे भने थापा माओवादीमै बसे।

पौडेल सर्लाहीको जिल्ला इन्चार्ज थिए। विप्लवको जिल्ला नेतृत्वले थापामाथि द्वन्द्वकालमा उठाएको पैसा विभिन्न पेसा र व्यवसायीमा लगाएको आरोप लगाइरहेको थियो। ‘जनताको पैसा फिर्ता गर’ भन्दै पौडेलले विज्ञप्ति नै निकालेका थिए।

पौडेलले दुख दिएको भन्दै थापासहितको समूह केन्द्रमा आएर गृहमन्त्री रामबहादुर थापा बादलसँग समेत भेटेका थिए। एक्कासि पौडेल प्रहरी इन्काउन्टरमा मारिए।

२०७६ असार ५ मा पौडेल प्रहरीको इन्काउन्टरमा मरिएपछि निकै विवाद भयो। योजनाबद्ध रूपमा उनलाई मारेको दाबी गर्दै परिवारले छानबिनको माग गरिरहे।

गृहमन्त्री बादलले २०७६ असारमा संसदमा पौडेल इन्काउन्टरबारे जवाफदिँदा ‘स्थानीय जनप्रतिनिधिहरूको अनुरोधको आधारमा गरिएको प्रहरी कारबाहीमा मारिएको’ बताएर थापासहितको टोली पौडेलविरुद्ध गृहमन्त्री बादलसम्म पुगेको पुष्टि भयो।

सो घटना विवादित भएपछि राष्ट्रिय मानवअधिकार आयोगले समेत घटनाको छानबिन गर्यो। आयोगले पौडेल हत्या प्रकरण प्रहरीले दाबी गरेजस्तो असल मनसायबाट उत्पन्न भएको घटनाको रूपमा स्वीकार गरेन। हत्या भएको ठहर्याउँदै संलग्नहरूमाथि कारबाही गर्न मागै गर्यो आयोगले।

आयोगले अनुगमन र अनुसन्धानमा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकाल्दै संलग्नहरूमाथि विभिन्न प्रकृतिको अनुसन्धान गर्न सिफारिस गरेको थियो।

आयोगले सार्वजनिक गरेको प्रेस नोटमा थापाको नाम भने थिएन। परिवारले दिएको जाहेरीमा भने उनको नाम समावेश छ।

ढाटको कर्मचारीदेखि मेयरसम्मको यात्रा

तत्कालीन जिल्ला विकास समितिले आफ्नो जिल्लाबाट बाहिर लगिने प्राकृतिक स्रोतमा निकासी कर उठाउन ठेक्कामा जिम्मेवारी दिन्थ्यो। सर्लाहीमा यस्तो करको ठेक्का पाउँथे सञ्जय साह टकलाले। सर्लाही र रौतहट छुट्याइने बागमती नदीको ढाटमा बस्थे थापा।

उनी त्यहाँको ढाटमा बसेर कर उठाएको देख्नेहरू अहिले पनि बग्रेल्ती भेटिन्छन्। तर थापा अनि टकला दुवैले यो स्वीकार गरेनन्। तर थापाको उदयको विविधपक्षबारे सर्लाही पुगेर उकेराकर्मीले भेटेको विभिन्न व्यक्तिहरूले भने त्यही दाबी गरे।

उनीहरूले थापाको उदयको मूल कारण टकलासँगको सम्बन्ध रहेको ठोकुवा नै गरे।

उकेराले हाल नख्खु जेलमा जेल जीवन बिताइरहेका सञ्जय साहसँग भेटेर थापासँगको उनको सम्बन्धबारे कुराकानी गरेको थियो। उनले थापालाई चिन्ने तर उनीसँग आफ्नो साठगाँठ नभएको दाबी गरे।

‘भरत थापाको उदय हुँदा म राजनीतिमा आइसकेको थिए। थापा त्यो समयमा सर्लाहीको कर्मैयामा गुण्डागर्दी गर्थ्यो। मेरो सर्लाही क्षेत्रको ठेकेदारी गर्ने व्यक्ति मनोज सिंहले भरत थापा भन्ने छ, त्यसले ठेकेदारीमा भाँजो हाल्छ भन्ने सुनाएको थियो' टकलाले उकेरासँग भने।

उनले थापा हप्ता असुली गर्ने, ढाटबाट बढी पैसा लिने लगायतको धन्दामा संलग्न रहेको दाबी गरे।

मनोज र भरतबीच हप्ता असुलीको रकमबारे विवाद हुँदा सर्लाहीमा रहेका तत्कालीन जिल्ला प्रमुख गणेश राईले उनीहरूलाई ४ दिन थुनामा राखेको र पछि आफूले छुटाएको भन्दै उनले जेल परेकै १० वर्ष भएकाले बाँकी कुरा याद नभएको दाबी गरे।

'उसको आर्थिक हैसियत कमजोर थियो। २०५९-०६० सालमा उ ढाटमा काम गर्थ्यो। त्यो समयको तलब भनेको २५ सयको हाराहारी मात्रै थियो। २५ सयको तलब खानेको आर्थिक हैसियत १० वर्षमै  यत्रो भयो' उनले दाबी गरे।

साहसँग उकेराले छेदी राउतसँगको सम्बन्धबारे जिज्ञासा राखेको थियो। उनले छेदीलाई राम्रोसँग चिन्ने र सुरुवाती दिनदेखि नै आफ्नो सहयोगी भएको स्वीकारे।

तिनै छेदी राउतसँग कुरा गर्दा उनले भरत र सञ्जयबीच ठेक्कापट्टामा सहकार्य भएको तर आफूलाई एउटामा मात्रै साझेदारी गरेको थाहा भएको बताए।

‘भरत थापा र सञ्जयबीच जिल्ला विकास समितिको एउटा ठेकेदारी सँगै भएको थियो। यत्ति चाहिँ मलाई थाहा छ’ उनले भने।

सर्लाही, बागमती नगरपालिकाका एक स्थानीय नेताले साहकै आर्शिवादले थापाको प्रभाव अहिलेको अवस्थामा आइपुगेको दाबी गरे।

‘सञ्जय साहले टेन्डर लगाउँथे, थापा ढाटमा पैसा उठाउँथ्यो' ती स्थानीय नेताले भने'कुनै समय ढाटमा काम गर्ने थापाको अहिले साढे ३ तल्लाको मार्बल सहितको घर छ। कहाँबाट आयो?'

बागमती नगरपालिकाका एक क्रसर सञ्चालकले पनि सञ्जय साह र भरतको घनिष्ठ सम्बन्ध रहेको र पछि पैसामा कुरा नमिलेपछि उनले सञ्जयको साथ छोडेर माओवादी राजनीतिमा लागेको दाबी गरे।

उकेराले दुई महिना मेयर थापाबारे स्थानीय नेता, उद्योगी र क्रसर व्यवसायीसँग बुझ्दा उनको गतिविधि मेयर लायक देखिएन।

पोखरीबाट निकालेको नदीजन्य वस्तु आफू मातहतका ठेकेदारमार्फत विक्री गरेको, गैर कानुनी ढंगले नदीजन्य वस्तु प्रयोग गर्ने गरेको, आफ्नो आलोचना गर्नेलाई गुन्डा लगाएर कुट्ने या विभिन्न बहाना बनाएर व्यवसाय चलाउन दुख दिने गरेको अधिकांशको दाबी थियो।

'हामी त व्यवसायी गरेर खाने मान्छे, आलोचना समेत गर्न पाइँदैन। यति भ्रष्टाचार गरेको छ कि, तपाईँले अनुमान पनि लगाउन सक्नुहुन्न' एक व्यवसायीले उकेरासँग भने' कानुनी रूपमा कर उठाउने हो भने राज्यलाई अर्बौँ जान्छ तर उनले चाहेको व्यक्तिले मात्रै नदीजन्य वस्तु उठाउन पाउँछन्। बागमती नगरपालिकामा कानुन भनेकै भरत थापाको बोली हो।'

बागमती नदीमा थापाकै रजगज

थापाको राजनीतिक पृष्ठभूमि जनमोर्चा देखियो। उनी जनमोर्चाबाट स्थानीय क्याम्पसको स्ववियुको राजनीतिमा सक्रिय थिए। ढाटहुँदै उनको नजर नदीजन्य प्राकृतीकस्रोतमा पुग्यो। पहिलो ढाट चलाए, पछि आफैँ निकासीमा लागे। बागमती नदीको प्राकृतिक स्रोतमा थापाको एकलौटी कब्जा भयो।

त्यहाँको ठेक्कामा सुरु भएको थापा समूहको सिन्डिकेट अहिलेसम्म उस्तै देखियो। पहिला थापा आफैँ संलग्न हुन्थे, अहिले उनको भाइ।

अनुमति लिएर होस् या अनुमति नलिई उनको आशीर्वादविना नदिजन्य स्रोतको कारोबार सम्भव देखिएन।

बूढी बागमतीको प्राकृतीक स्रोतमा पनि उनकै रजगज देखियो। बागमती नगरपालिका अन्तर्गत सबैजसो वडाको सडक पिच छ। उनी ठेक्का आह्वान त गर्छन् तर आफूले चाहेको भन्दा फरक ठेकेदारले पाउन मुस्किल छ। पाए पनि काम सम्पन्न गर्नै कठिन हुने एक ठेकेदारले बताए।

'उनले चाहेको व्यक्तिको सट्टा अन्यले सडक ठेक्का पायो भने विभिन्न बहाना बनाएर पिचै भत्काइदिन्छन् अनि आफू निकटकालाई ठेक्का दिन्छन्' एक निर्माण व्यवसायीले भने' त्यतिसम्मको काम गर्छन् भरत।'

उनको राजनीतिक पृष्ठभुमी जनमोर्चा हो। उनी प्रतिनिधि सभाको उम्मेदवार पनि बनेका थिए। तर पराजित भए। नदीजन्य पदार्थको व्यापारबाट उनको आर्थिक हैसियत उकासियो। जनमोर्चा र माओवादीको एकता भयो। नारायणकाजी श्रेष्ठ अनि गिरिराजमणी पोखरेल निकट उनी सांसद बन्न छाडेर मेयर बन्नतिर लागे। नारायणकाजीको कोटामा उनले बागमती नगरपालिकाको मेयरको दुई पटक टिकट पाए र निर्वाचित भए।

प्रदेश लेखा समितिमा उजुरी, तर छानबिन भएन

बागमती नगरपालिकामा बनाइएको बागमती माछा पोखरीको निर्माणका लागि प्रदेशले ४५ करोड अनुदान दिएको देखिन्छ।

वातावरण मूल्याङ्कन प्रतिवेदन-२०७५ अनुसार बागमती माछा पोखरीमा ताल बनाउँदा वार्षिक ७५ हजार घनमिटर ढुंगा/गिटी अनि बालुवा उत्खनन हुने उल्लेख छ।

प्रदेश सरकारले गरेको लगानीमा उत्खनन गरेको नदीजन्य पदार्थमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् मार्फत सम्पूर्ण विवरण प्रमाणित कागजात माग गरेको थियो।

तालमा सौन्दर्यीकरण, रिफ्रेस सेन्टर, प्रतीक्षालय, पार्क निर्माण अनि आँपको बिरुवा रोप्न प्रदेशले ३० करोड दिएको थियो।प्रदेशसभा बैठकमा अनियमितता भएको आवाज उठेपछि सार्वजनिक लेखा समितिले छानबिनको जिम्मा पायो। अहिले समितिको सभापतिमा एमालेकी मन्जुकुमारी थापा मगर छिन्।

‘म प्रदेश लेखा समितिमा आएको असारमा हो। हामीले बागमती नगरपालिकाको मात्रै विषय होइन प्रदेशमा भरीको विषयलाई लिएर लेखा समितिमा जान्छौँ र छलफल गछौं,' लेखा समिति प्रमुखले भनिन्' असार भन्दा अगाडीको समितिमा भरत थापा विरुद्ध कुरा उठेको भन्नेसम्मको जानकारी छ। तर अहिलेसम्म कुनै छलफल भएको छैन।’

थापाको तर्क' घर, पेट्रोल पम्प भाइको हो, मेरो केही छैन'

विवादित गतिविधिबारे उकेराले मेयर थापासँग भेटेर कुराकानी गरेको थियो। उनले अधिकांश आरोपहरू अस्वीकार गरे।

बागमती पोखरीलाई किन भरत तालको रूपमा प्रचार गरेको भन्ने प्रश्नमा उनले 'पोखरीको नाम भरत ताल हुनुमा जनमानसको माया भएको' दाबी गरे।

उनले, सञ्जय साहसँगको सम्बन्धबारे अस्वीकार गरे। उनले साहसँग मिलेर कुनै काम नगरेको तर ३ पटक देखेको दाबी गरे।

कुनै समय ढाटमा काम गर्ने व्यक्ति राजनीतिमा आएको छोटो समयमै कसरी आर्थिक पक्ष यति बलियो भयो भन्ने प्रश्नमा  थापा अक्मकिए।

उनले राजनीतिमा आएर धेरै आरोप खाएको, अख्तियारमा उजुरी परेको दाबी गर्दै आफू बसेको घर समेत आफ्नो नभएर भाइको भएको बताए।

'हामी बसेको घर मेरो होइन मेरो भाइको हो। त्यो अगाडिको पेट्रोल पम्प पनि भाइकै हो। त्यो टिपरहरू सबै अरूको हो। पेट्रोल हाल्छन् यही पार्किङ गर्छन्। यहाँबाट अलि अगाडि एउटा घर मात्रै छ मेरो’ उनले भने।

१७ पुस, २०८०, २१:२१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।