पुस १८ मा उकेराले खुलाएको मिलेमतोको खेल वैशाखमा पुष्टि, सेटिङमा कोशीको सिटीको टेन्डर हिमालयलाई दिइँदै

पुस १८ मा उकेराले खुलाएको मिलेमतोको खेल वैशाखमा पुष्टि, सेटिङमा कोशीको सिटीको टेन्डर हिमालयलाई दिइँदै

काठमाडौंः कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब आठ करोडको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाको प्राविधिक मूल्याङ्कनमा  ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि’लाई छानेको छ।

सिटी स्क्यान मेसिन खरिदका लागि  छनोट गरेर आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना समेत निकालिसकेको छ। करिब आठ करोडको टेन्डरको प्रारम्भिक चरणमै मिलेमतो देखिएको थियो। तीन करोडको मार्जिनमा टेन्डर प्रक्रिया अगाडि बढेको थियो।

निओसफ्ट चिनिया उत्पादक कम्पनीको मेसिन हो। यो कम्पनीका नेपाली सप्लायर्स हिमालय मेडिकल टेक्नोलोजीज् प्रालि र निदान मेडिशोलुशन हुन्। यी नेपाली सप्लायर्स कम्पनीका मालिक अमर श्रेष्ठ र चन्द्र बुढा हुन्। उनीहरूसहितको मिलेमतोमा सिटीको टेन्डर प्रक्रिया अगाडी बढेको प्रस्टै देखिन्छ।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८० कात्तिक २४ गते (२०२३, नोभेम्बर १०) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो। कमिसनको सेटिङको पोल खुलेपछि त्यो टेन्डर रद्द गरेर पुनः माघ २८ गते आइतबार (फेब्रुअरी ११, २०२४) सो सिटी स्क्यान मेसिनको नयाँ टेन्डर आह्वान भएको थियो।
नरदेवी अस्पतालमा भएको खरिद अनुसारै कोशीमा पनि उहीँ कम्पनीलाई टेन्डर पार्न स्पेशिफिकेशन लगायतका टेन्डरका कागजपत्र कोशीमा लगियो। बोलपत्र निकाल्दा खोल्ने ठाउँ सच्याउन भुलेर यतै नरदेवी उल्लेख गर्दा सिटी स्क्यान खरिदमा भएको मिलेमतोको पोल खुल्यो। उकेराले समाचार प्रकाशित गरेपछि पुन टेन्डरमा त गए तर स्पेशिफिकेशन पुरानै राखियो। ठाउँ मात्र बदलियो।

उकेराको खोजमा खरिदमा  कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, केन्द्रका खरिद प्रमुख शम्भु साह र बायोमेडिकल इन्जिनियर कुशल दाहालको मिलेमतो देखिएको थियो। उकेराले जुन कम्पनीको उपकरण महँगोमा किन्न मिलेमतो भनेर लेखेको थियो दोस्रो पटक टेन्डरको प्राविधिक मूल्याङ्कनमा उहीँ छानियो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८१ वैशाख १६ मा प्रकाशित सूचनामा  सिटी स्क्यान मेसिनको जेठ एक हते ११ बजे बोलपत्रको आर्थिक प्रस्ताव खोल्ने उल्लेख छ।

केन्द्रले सिटी खरिदका लागि प्राविधिक मूल्याङ्कनको चरणमा काठमाडौँको लाजिम्पाट स्थित ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि’लाई मात्रै छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको हो।

प्राविधिक चरणपछि आर्थिक मूल्याङ्कन गरी आर्थिक चरणमा पनि छनोट हुनुपर्ने हुन्छ। आर्थिक मूल्याङ्कनको चरणमा भने सबैभन्दा सस्तोमा सामग्री (सिटी) ल्याइदिने गरी प्रस्ताव गर्ने सप्लायर्स कम्पनी) छनोटमा पर्छ।

आर्थिक प्रस्तावको चरणमा पनि छनोट गरिसकेपछि बोलपत्र स्वीकृत हुन्छ र सम्झौता हुन्छ। अनि निश्चित प्रशासनिक प्रक्रिया पुर्याइ आपूर्तिकर्ताले नेपालमा मेसिन ल्याइदिएर जडान गर्छ।

एक मात्र कम्पनी प्राविधिक मूल्याङ्कनमा छानिएकाले बजेट सिलिङ ननाघी जति प्रस्ताव गरे पनि उहीँ छानिने निश्चित छ। स्वतन्त्र प्रतिस्पर्धा भएमा मूल्यमा प्रतिस्पर्धा सम्भव हुन्छ। उहीँ मेसिन सरकारले कम मूल्यमा पाउन सक्छ। तर मिलेमतोमा हुने खरिदमा प्रतिस्पर्धा नहुँदा मेसिनको मूल्यभन्दा उच्च दर प्रस्ताव गर्दा पनि स्वीकृत हुन्छ। जति रेट बढेको हुन्छ त्यो दामासाहीमा बाँडिन्छ।

कोशीमा पनि सिटी खरिदका लागि छुट्टाएको बजेटको सीमा भित्र रहेर सिटी स्क्यान मेसिन ल्याइदिने गरी टेन्डर प्रस्ताव भएमा  ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालिले मूल्यमा प्रतिस्पर्धा नै नगरी टेन्डर पर्ने निश्चित छ।

प्राविधिक स्पेशिफिकेशन नै निओसफ्टसँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएकाले प्राविधिक र आर्थिक दुवै चरणमा ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालिलाई सिटी स्क्यान मेसिनको टेन्डर पार्नेगरि  टेन्डर प्रक्रिया अगाडि बढेको देखिन्छ।


प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका खरिद प्रमुख शम्भु साहले चार वटा नेपाली सप्लायर्स (फर्म)ले टेन्डर प्रस्ताव गरेको बताए। उनले याद भएसम्म हिमालयन मेडिकल टेक्नोलोजीज प्राली, एक्सिस, मिन्ड पाउन्ड, ग्लोबल मेडिटेकले टेन्डर प्रस्ताव गरेको हुनसक्ने जानकारी दिए। तर, टेन्डर प्रस्ताव गर्ने सप्लायर्स कम्पनी कुन कुन हुन् भन्ने एकिन याद नभएको उनले तर्क गरे।
स्रोतका अनुसार सिटी खरिदका लागि टेन्डर प्रस्ताव गर्ने अन्य तीन

प्रतिस्पर्धा भएको कागजी प्रक्रिया पूरा गर्न टेन्डर त हाले तर पुरा कागजात राखेनन्। अनि प्राविधिक मूल्याङ्कनको चरणमा तीन सप्लायर्स कम्पनी अयोग्य ठहरियो। ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालिलाई टेन्डरको बाटो खुल्यो।

एउटाले बिड भर्ने भनेर रसिद पनि काटेको देखिएन। एमाउण्ट नै डिपोजिट गरेर पनि डकुमेन्ट नहालेको देखियो। यसले समेत पूर्व योजनामै कम्पनी तोकेर खरिद अगाडि बढेको देखिन्छ नै।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, केन्द्रका खरिद प्रमुख शम्भु साह र बायोमेडिकल इन्जिनियर दाहालको मिलेमतोमा महँगोमा सिटी खरिद गर्न लागेको देखिएको थियो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. वीरेन्द्र कुमार मण्डललाई थाहै नपाउने गरी उनीहरूले सेटिङ गरेको दाबी समेत आए। तर यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेन। यो टेन्डरमा जोडिएका बायोमेडिकल इन्जिनियर दाहाल त खरिद मिलेमतो भ्रष्टाचार मुद्दाका आरोपी हुन्। उनी लगायतको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
टेन्डरको प्रक्रियामा मिलेमतो देखिएकोबारे जिज्ञासा राख्दा कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. देवकोटाले आफूलाई केही जानकारी नभएको दाबी गरिन्।

‘यस बारेमा मलाई केही जानकारी छैन। अब कुरा आयो। तपाईँले भन्नुभयो। भोली म गएर सोधुँला,’उकेरासँगको कुराकानीमा प्रदेश स्वास्थ्य सचिव देवकोटाले भनिन्,‘केही पनि थाहा छैन। अब तपाईँले भनेपछि म बुझुँला।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. मण्डलले पनि नियम सङ्गत तरिकाले खरिद प्रक्रिया अघि बढेको दाबी गरे। ‘आएको कुरा हामीले एमेण्डमेन्ट गर्यौँ। विभिन्न मोडेलहरू यसमा पास हुने नै हुन्। यो मूल्याङ्कन भइसकेपछि पनि हामीले पुनः पनि मूल्याङ्कन गरायौँ,’निर्देशक डा. मण्डलले भने,‘जति पटक मूल्याङ्कन गर्दा पनि एउटा रिजल्ट आएपछि त हाम्रो त बाध्यता हुन्छ नि स्वीकृत गर्नुपर्ने हुन्छ।’

सिटीको खरिद सेटिङ नगरेको खरिद शाखा प्रमुख साहले दाबी गरे।
‘आजसम्म यो त्यो भन्ने कुरै छैन। हामी आफ्नो काम गछौं खरिद एकाइले, हामीलाई स्पेक आउँछ, हामी टेन्डर निकाल्छौँ,’ केन्द्रका खरिद शाखा प्रमुख साहले भने,‘स्पेक जेनेरल भयो। एमेण्डमेन्ट  गरेपछि, त्यसमा ४-५ जना बिडर आउनुभयो। त्यो पास गरेको चिज त पहिला हामीलाई ल्याएर दिनुहुन्छ। हामीले त सूचना निकाल्ने काम हो।’

यसरी खुलेको थियो सिटीको सेटिङको पोल

उकेराले पुस १८ गते ‘बोलपत्र खोल्ने ठाउँ नसच्याउँदा खुल्यो कोशी सिटी स्क्यान खरिदको पोल, प्रदेश स्वास्थ्य सचिवसहितको मिलेमतोमा साढे तीन करोड कमिसनको खेल’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। पछि टेन्डर रद्द भयो।

सिटीको टेन्डर रद्द हुनुले उकेराको समाचारको पुष्टि त भएको थियो नै,जसलाई सिटीको टेन्डर दिन खरिद प्रक्रिया अगाडी बढाएको खुलाएको थियो अहिले उसैलाई टेन्डर पर्ने निश्चित छ।

‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन करिब साढे चार करोडमा जडान हुने भए पनि कोशीले सिटी स्क्यान मेसिन करिब सात करोड ४३ लाख ६० हजारमा किन्न लागेको थियो। अन्तमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पुन टेन्डर गरेको सिटी स्क्यान मेसिन यही मूल्यमा ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि.’सँग खरिद गर्ने गरी टेन्डर प्रक्रिया अन्तिम चरणमा पुर्यायो।

यस अगाडि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेको टेन्डर आव्हानमा टेन्डर खुल्ने ठाउँ नै नरदेवी राखिएको थियो। जसले नरदेवीमा सिटी खरिदका लागि प्रयोग भएको स्पेशिफिकेशन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा लगेर लगेर मिलेमतोमा सिटी किन्न लागेको पुष्टि भएको थियो। सो प्रक्रिया रद्द नगरे अनुसन्धानबाट मिलेमतो पुष्टि हुने भएपछि नयाँ टेन्डर आव्हान गरियो। प्रक्रिया नयाँ त भयो तर रणनीति पुरानै कायम रह्यो।

नरदेवी अस्पतालले २०८० असार १८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै दुई लाख ८५ हजार (मूल्य अभिवृद्धि कर बाहेक) अमेरिकी डलर (यूएसडी)मा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी निओसफ्टको नेपाली सप्लायर्स (हिमालय मेडिकल टेक्नोलोजीज प्रालि)लाई टेन्डर दिएको थियो।

नरदेवीमा ६४ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भयो। नरदेवीको सिटी स्क्यान मेसिन जडान भइरहेको छ। कोशीले किन्न लागेको सिटी स्क्यानको टेन्डर कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेकाले टेन्डर खुल्ने स्थान कोशीको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने थियो। तर, निओसफ्टको नेपाली एजेन्टको सेटिङमा नरदेवीकै स्पेशिफिकेशन लगायतका कागजपत्र कोशीमा पुग्यो। उनीहरूले हेर्दै नहेरी सार्वजनिक गर्दा टेन्डर खुल्ने स्थान काठमाडौँको नरदेवी अस्पताल नै प्रकाशित भएको थियो।

कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर दाहालले निओसफ्टले नै पठाएको स्पेशिफिकेशनलाई हस्ताक्षर गर्दै अनुमोदन गरेको देखिएको थियो। पुन टेन्डर भएको सिटीको स्पेशिफिकेशन पनि उनै दाहालले बनाएको केन्द्रले पुष्टि गरेको छ। हुन त केन्द्रले टेन्डर खुल्ने स्थान बाहेक मुख्य बुँदाहरू संशोधन नगरी सिटीको पुन टेन्डर प्रक्रिया अगाडी बढाएको देखियो।

२७ बैशाख, २०८१, ००:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।