साम्यवादको धङधङी चिर्न खोजिरहेकी मानुषी

साम्यवादको धङधङी चिर्न खोजिरहेकी मानुषी

केही समयअघि काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले फुटपाथ व्यवसायी हटाउने निर्देशन दिएसँगै आन्दोलनरत फुटपाथ व्यवसायीमाथि नगर प्रहरीको अमानवीय दमन शुरू भयो।

त्यतिबेला मानुषी यमी भट्टराईलाई लाग्यो यदि बालेनमा राजनीतिक विचार हुन्थ्यो भने उनी यो हदसम्म पुग्ने थिएनन्। अहिलेको पुस्ताले ‘राजनीतिक विचारमात्रै व्यक्ति छनौटको आधार हैन’ भन्दै नयाँ पुस्तालाई त छान्यो, तर राजनीतिक विचारहीन। 

मानुषीलाई खट्किरहेको रहेछ- ‘काम गर्ने हुटहुटीसँगै उनमा राजनीतिक विचार पनि भएको भए!’

बालेन एकातिर संघीयताको विपक्षमा छन्। मतदान समेत गर्दैनन्। तर, शहरको अस्तव्यस्तता हटाउने हुटहुटी देखिन्छ उनमा। उनका यी दुवै व्यवहारबीच मेलै नभएको तर्क गर्छिन् उनी।

विचारविहीनताको राजनीतिले निकास दिँदैन भन्नेमा उनी दृढ देखिइन्।

बालेनको हकमा उनको विचार धेरै हदसम्म लागू हुन्छ। त्यसका लागि उनी नगर प्रमुख हुनुअघि उनका अभिव्यक्ति अनि प्रमुख भइसकेपछिको उनको व्यवहार नै काफी छ तुलनाका लागि।

नगर प्रमुख हुनुअघि राजनीतिक र्यापमा ‘गरिबको चमेली बोल्दिने कोही छैन’ लय मिसाएर उनी काठमाडौं महानगरका मतदाताको नजरमा परेका थिए। काठमाडौंको फुटपाथ अनि सुकुम्बासी समस्या समाधानबारे उनले रोचक र व्यवहारमुखी धारणा सार्वजनिक गरेका थिए। तर जब निर्वाचित भए, उनको व्यवहार बदलियो।

शहरी गरिबसहितको काठमाडौं महानगर हैन, उनको प्राथमिकतामा शहरी गरिबरहित महानगर हावी भयो। दैनिक छाक टार्न सडकमा ठेला अनि साइकलमा केही खिच्रिङमिच्रिङ सामान लिएर निस्केकाहरूमाथि निर्मम धरपकडका दृश्य आम बने।

विचारविहीनताले कसरी यस्ता घटना घट्छन्?
मानुषी भन्छिन्, ‘सत्तामा नपुगिन्जेल सबैको चित्त बुझाउन सकिन्छ तर सत्तामा पुगेपछि सकिँदैन। एउटा न एउटा हाँगो समाउनै पर्छ, कि धनीको कि गरिबको। विचारविहीनता भयो भने कुन काम प्रधान हो थाहै हुन्न।’

बालेन एकातिर संघीयताको विपक्षमा छन्। मतदान समेत गर्दैनन्। तर, शहरको अस्तव्यस्तता हटाउने हुटहुटी देखिन्छ उनमा। उनका यी दुवै व्यवहारबीच मेलै नभएको तर्क गर्छिन् उनी।

‘संघीयताले केन्द्रिकृत शासन खोज्दैन। अहिले व्यावहारिक रूपमा संघीयता कार्यान्वयन भएन अनि अवसर जति यतै(काठमाडौंमा) भयो। मान्छे यहीँ थुप्रिए। अनि कसरी हट्छ शहरको अस्तव्यस्तता?’, उनको प्रश्न छ।

संघीयता व्यावहारिक रूपमा कार्यान्वयनमा आए सुकुम्बासी बस्ती, फुटपाथ व्यवसायीले जो जहाँको हो, त्यही रोजगारीको अवसर पाउन सक्छन्। जब घर-आँगनमा अवसर हुन्छ अनि कोही किन दुःख पाउन बिरानो शहर पस्छ र! मानुषीको विचारमा समस्या एकातिर छ, सामाधान अर्कोतिर खोजिरहेका छन् बालेन।

‘सत्तामा गएपछि हिजो आफैँले गरेको वाचाअनुसार काम नगरेपछि नागरिकले कसरी पत्याउँछन्? आफ्नै सन्तान, नाता गोतालाई पोस्ने, सुशासनको काम फिटिक्कै नगर्ने अनि अरुलाई मात्र गाली गरेर हुन्छ?’

बालेन केन्द्रीत विश्लेषणले स्वतन्त्र उम्मेदवारमा मात्रै विचारविहीनता रहेको अर्थ लाग्न सक्छ। तर, मानुषीको दृष्टिकोण त्यो देखिएन। उनको दृष्टिमा स्थापित हुन् या नयाँ सबै तहका राजनीतिक दलमा पनि उनी विचारविहीनता देख्छिन्।

‘अघिल्लो पुस्ताले जार्गनमा विचार थोपर्दा त्यसले आर्थिक विकासको आधार तय गर्न सकेन अनि अहिलेका पुस्तालाई लाग्यो विचारको कामै छैन। त्यसको परिणाम पछिल्लो समय राजनीतिक दलका कार्यकर्तामा न विचार छ, न त आचार’, उनी भन्छिन्।

प्रश्नदेखि डराएको नेतृत्व
दश वर्षे सशस्त्र सघंर्ष हुँदै २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलनसम्म कुनै न कुनै राजनीतिक दलले व्यवस्था फेर्न आ-आफ्नो विचार बोकेर हिँडे। पञ्चायतबाट संवैधानिक राजतन्त्र अनि त्यसबाट पनि समस्या समाधान हुने नदेखिएपछि लोकतान्त्रिक गणतन्त्रसम्म पुग्यो नेपालको शासन प्रणाली।

राजनीतिक व्यवस्था फेरियो तर व्यवस्थासँगै विचार, व्यवस्थामा रहेकाहरूको शैली अनि आम नागरिकको अवस्था बदलिएन। दलहरूले समाजमा जे जस्ता समस्याहरू छन्, त्यसको कारक व्यवस्थामा देखाए। त्यो केही हदसम्म सत्य पनि थियो।

देशको, समाजको अनि नागरिकको अवस्था नबदलिनुमा व्यवस्था नै कारक हो भन्नेमा सहमत भएर नागरिक बन्दुक बोक्ने तहसम्मका लागि राजी भए, बोके पनि। व्यवस्था बदलिए अवस्था बदलिनेमा उनीहरू ढुक्न थिए। तर, त्यसो भएन।

गणतन्त्र घोषणाको १५ वर्ष भइसक्दा पनि विकासको गतिले सामान्य लय समात्न सकेन। राजनीतिक दल र राज्यका अंगप्रति नागरिकको विश्वास बढ्न सकेन।

व्यवस्थाले सत्ता बदल्यो। तर, सत्ताले देश, समाज अनि नागरिकको अवस्था बदलेन। स्वतन्त्रता नदिएको हैन नागरिकलाई। निरंकुश राज्य र लोकतान्त्रिक राज्यबीचको भिन्नताबारे आम नागरिक जानकार छन्। तर, भोको पेट स्वतन्त्रताले मात्र भरिँदैन। आम नागरिक भोको पेट भर्ने विकल्पको खोजीमा भौतिरिन थाले। विकल्पको खोज्दा कतै बालेनको उदय भयो, कतै रवि लामिछानेको।

‘हिजो नेताहरूले भनेपछि गोली थाप्न तयार हुने नागरिक, हिजो नेताहरूले बोलेको कुरा अक्षरश पालना गर्ने कार्यकर्ता आज को बाँकी रह्यो?,’ मानुषी प्रश्न गर्छिन्, ‘सत्तामा गएपछि हिजो आफैँले गरेको वाचाअनुसार काम नगरेपछि नागरिकले कसरी पत्याउँछन्? आफ्नै सन्तान, नाता गोतालाई पोस्ने, सुशासनको काम फिटिक्कै नगर्ने अनि अरुलाई मात्र गाली गरेर हुन्छ?’

माओवादी विद्रोहलाई नजिकबाट नियालेकी मानुषीले वर्तमान राजनीति र नेतृत्वप्रतिको यो तहको विचलनको कल्पना समेत गरेको देखिएन उनीसँगको भलाकुसारीमा।

लोकतन्त्रको सबैभन्दा सुन्दर उपहारै प्रश्न गर्ने अधिकार आम नागरिकमा हस्तान्तरण हुनु हो। जसलाई पनि प्रश्न गर्नसक्ने अधिकार सार्वभौम नागरिकमा पुग्नु हो। तर, मानुषी अहिले राजनीतिक दलहरूलाई पढ्ने, लेख्ने अनि प्रश्न सोध्ने नागरिक मनै नपर्ने र नचाहिएको धारणा राख्छिन्।

दलहरू सत्ता शक्तिप्रति लोभिएका छन्। सत्ताकै वरपर डुबिरहन चाहन्छन्। ‘हिजो यस्तो बोलेको हैन? खै त आज गरेको?’ भनेर प्रश्न सोध्नेहरू उनीहरूका लागि दुश्मन समान भएका छन्।

‘नागरिकहरूको आधारभूत आवश्यकता पूरा नभएपछि नेताकोमा धाउनुपर्छ, सामान्य भन्दा पनि सामान्य काममा पनि नेताकै साथ चाहिन्छ। सार्वभौमसत्ता सम्पन्न भनिएका नागरिक दास समान बने। नेताहरूले अधिकांश नागरिकलाई आर्थिक रूपमा गरिब र मानसिक रुपमा दरिद्र बनाउनमै सक्रिय भए’, उनी थप्छिन्।

कसरी त?
यो प्रश्नको उनीसँग आफ्नै शैलीको जवाफ छ।

‘नागरिक गरिबीको भूमरीबाट निस्किए अनि रोजगार भए भने उनीहरूले प्रश्न सोध्छन्, अहिलेका अधिकांश नेताहरूलाई प्रश्नदेखि डर छ। प्रश्नदेखि डराउने भाग्ने नेतृत्वले छलकपट बाहेक केही गर्दैन।’
प्रश्नदेखि किन डराउँछन् नेता?

‘प्रश्नले जवाफदेहिता र सुशासन खोज्छ। अहिलेका नेतृत्वसँग यी दुवै छैन। जब कसैले नभएको विषयमा प्रश्न सोध्छन् त्यसले त रिसै ल्याउँछ, भगौडा बनाउँछ। तर्किने, उम्किने स्वभावको विकास गराउँछ’, उनले भनिन्।

मानुषी, राजनीतिमा सक्रिय युवा पुस्ताकी प्रतिनिधि पात्र त हुन् नै। सँगै उनी १० वर्ष सशस्त्र संघर्षको नेतृत्वकर्तामध्येका प्रमुख नेता डा.बाबुराम भट्टराई र हिसिला यमीकी सन्तान पनि हुन्। माओवादी विद्रोहलाई नजिकबाट नियालेकी मानुषीले वर्तमान राजनीति र नेतृत्वप्रतिको यो तहको विचलनको कल्पना समेत गरेको देखिएन उनीसँगको भलाकुसारीमा।

‘हिजो माओवादी ‘जनयुद्ध’मा लाग्नेका सन्तान यस्ता थिए र? मसँगै खेलेका हुर्केका हैनन्? आज सहकारी ठगीमा यिनकै नाम, सुन तस्करीमा यिनकै नाम, चन्दा असुलीमा यिनकै नाम जोडिने। यस्तो पनि हुन्छ? बाबुहरू सत्तामा भुल्ने अनि सन्तान ठगीमा, अनि आम नागरिक कसरी आशावादी हुन सक्छन्?’, अली आक्रोशित सुनिइन् उनी।

पक्कै पनि सुन तस्करी गर्न अनि सहकारी ठग्न हिजो सशस्त्र संघर्ष भएको थिएन। नेताहरू स्वतन्त्रता माग्दै जेल यातनाका लागि राजी हुनुको कारण सत्ताको सुखभोगको लालसा थिएन। तर, भयो यस्तै। देखियो यस्तै।

‘नागरिकलाई रोजगारी चाहिएको, गरिबीको अन्त्य हुनुपरेको छ। तर, नेताहरू क्रान्तिकालीन कम्युनिष्ट दस्ताबेज पल्टाएर कसैले नबुझ्ने भाषामा विचार फैलाइरहेका छन्।’

उनले यस्तो हुनुभित्रको कारणहरू पनि पहिल्याइरहेकी रहिछिन्। उनी विशेष २०६२/०६३ को राजनीतिक परिवर्तनपछिको अवस्थामा केन्द्रित भइन्।

शान्ति प्रक्रियामा आएपछि के गर्ने वा के नगर्ने भनेर नेतृत्वबाट विचार प्रवाह हुन सकेन, कोही कुन सिद्धान्तमा के छ भन्ने जार्गन रट्नमै केन्द्रित भए। कोही पुन क्रान्तिको भुलभुलैयामा केन्द्रित भए। अबको बाटो विकासको हो, जुन परम्परागत पद्धतिबाट पूरा हुन सक्दैन भन्नेहरू पछाडि परे।

उनको विश्लेषणमा अहिलेको चरम असन्तुष्टिको निर्माणको कारकहरू यी नै हुन् र देखिन्छ पनि त्यस्तै।

२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनले सशस्त्र विद्रोहको नेतृत्व गरेको माओवादी शक्ति शान्तिपूर्ण राजनीतिमा आयो। जनताले सत्ता बदल्न साथ दिए जस्तै सत्तामा गएर अवस्था बदल्न जनमत पनि दिए।

तर, एकाध वर्षमै पानीमा नुन घुलेर सराबर भएजस्तै माओवादी शक्ति पनि नेपाली कांग्रेस अनि एमाले लगायतका दलसँग घुलमिल भयो र उस्तै देखियो एकाध वर्षमै।

आम नागरिकमा उकुसमुकुस बढायो। २०७९ मंसिर ४ को निर्वाचनमा विकल्पको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी अनि नागरिक उन्मुक्ति पार्टीको सशक्त उदय भयो।

डेढ वर्ष भयो नयाँ दलका नयाँ नेताहरूको परीक्षण शुरू भएको। डेढ वर्षमा केन्द्र अनि प्रदेशमा तीन पटक सत्ता बदलियो। हरेक पटक सत्ता बदल्न भएको खेलमा नयाँ दलका नयाँ नेताहरू कुनै न कुनै रूपमा संलग्न भए। उनीहरूले चाहेको भए रोक्नसक्ने विकृति पनि रोक्न चासो देखाएनन्। बरु त्यही खेलमा सहभागी भएर रमाउन थाले।

जसरी माओवादी सहजै पुराना दलहरूसँग छुट्याउनै नसक्नेगरी घुल्यो, अहिलेका नयाँ दलहरू पनि सत्ताका लागि ‘नुन’ बनेर त्यसैगरी छुट्याउनै मुस्किल पर्नेगरी घुल्ने बाटोमै देख्छिन् मानुषी।

‘जुनसुकै राजनीतिक दल पनि क्रान्तिताका गौरवपूर्ण गाथा लिएर सत्ता शक्तिमा आए, तर सत्तामा आएपछि तिनले देश र समाजलाई गति दिन सकेनन्। पछिल्लो समय आएको माओवादीले त्यसै गर्यो। अहिले आएका नयाँ दलमा पुरानो विरासत त छैन नै, नयाँ भिजन पनि देखिँदैन। यसले समाज राजनीतिक शून्यतातिर बढ्ने जोखिम पो देखिन्छ’, उनले भनिन्।

जड विचारले मात्रै निकास दिँदैन
केही महिनाअघि कम्युनिष्ट पार्टीका अधिकांश नेतृत्व सहभागी कार्यक्रममा मानुषीले कम्युनिष्ट पार्टीहरूले अप्ठ्यारा जार्गन र साम्यवादको सपना बाँड्न छाड्नुपर्ने भन्दै भाषण गरिन्।

उनको भाषणको सार, नेपालमा पुँजीवाद नभएको, समाजवादमा पनि अहिले पुग्न नसकिने, समाजवाद उन्मुखका लागि उत्पादनमा जोड दिनुपर्ने र साम्यवादको धङ्धङी नेताहरूले छाड्नुपर्ने थियो।

उनले भनेकी थिइन्, ‘तपाईंहरूले लेख्नुभएको देश विकासको आधार अहिले क्याम्पस पढ्ने कुन विद्यार्थीले बुझ्छ? नागरिकलाई रोजगारी चाहिएको, गरिबीको अन्त्य हुनुपरेको छ। तर, नेताहरू क्रान्तिकालीन कम्युनिष्ट दस्ताबेज पल्टाएर कसैले नबुझ्ने भाषामा विचार फैलाइरहेका छन्।’

उदारवादको केही राम्रा कुरा र समाजवादको केही राम्रा कुरा लिएर देश विकासको खाका बनाउनुपर्ने मानुषीको धारणा थियो।

के तपाईंले साम्यवादीको धङ्धङी चिर्न खोज्नुभएको हो?

मानुषी केही समय मौन रहिन् र भनिन्, ‘अहिले नेताहरूले समाजवादमा जाने भनेर झुट बोलिरहेका छन्। नेपालमा कहाँ छ पुँजीवाद? पुँजी खोइ? दुई-चार जना व्यापारमा लागेका व्यक्ति पुँजीपति हुन्? झुट बोल्नु हुँदैन।

संविधानमा समाजवाद उन्मुख यसै लेखेको हो र? हाम्रो यथार्थ स्थिति के हो नागरिकलाई बुझाउनु पर्दैन? हुनै नसक्ने कुरा गरेर सपना बाँडेपछि निराशा बढ्छ। जड विचारले देश विकास हुँदैन। त्यसैले कम्युनिष्ट पार्टीहरूले जडसूत्रवादी धारणाबाट माथि उठ्न जरुरी छ।’

‘अहिले महिनाको ६ हजार पनि नकमाउने २० प्रतिशत नागरिक छन् अर्थात झण्डै ६० लाख। ६ हजारले अहिले के आउँछ? बच्चाबच्ची पढाउन पुग्छ?, खान पुग्छ?, आधारभूत आवश्यकता समेत पूरा नहुने गरिबीको रेखामुनि रहेका नागरिक यति धेरै छन्, यसको लागि काम गर्नुपर्दैन? अनि निराशा नआए के आउँछ?’

नेपालमा सबै राजनीतिक दल समाजवादी भएको भन्ने तर समाजवादको नारा मात्रै बेच्ने गरेको मानुषीको बुझाइ छ। उनको बुझाइ गलत पनि देखिन्न।

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै समाजवादलाई छाडेको छैन। माओवाद, लेलिनवाद लगायतका क्रान्तिकारी राजनीतिक धार समातेका कम्युनिष्ट पार्टीहरू समेत पछिल्लो समय समाजवाद शब्दसँग लोभिएका छन्। त्यसको प्रमाण पछिल्लो समय समाजवाद शब्द जोडिएका दलहरूको बढ्दो संख्या नै हो। तर व्यवहारमा न समाजवादी नीति आउन सकेको छ, न त कार्यक्रम नै।

त्यसैले त उनी दलहरूले अब समाजवादको नारा बेच्न छाड्नुपर्ने र गर्नसकिने काम मात्र नागरिकलाई भन्नुपर्ने पक्षमा छिन्। विचार केवल भन्ने विषय मात्रै हुन् भन्ने कोणमा पनि छलफल हुने गरेका छन्। तर, नीतिका लागि विचार अनिवार्य देखिन्छ।

सडकमा छँदा सबैको चित्त बुझाउन सहज हुन्छ। जब सत्तामा पुगिन्छ, त्यसपछि पक्षधरता लिनैपर्छ। निजी शिक्षालाई प्राथामिकता दिने की सार्वजनिक शिक्षालाई, ऐन बनाउने बेला प्रष्ट अडान लिनैपर्छ। त्यही बेलामा हो विचारको आवश्यकता र परीक्षण।

राज्यका अंगको पुनःसंरचना नभइ परिवर्तन सम्भव छैन
संघीयतालाई एक पक्षले ठूलो राजनीतिक उपलब्धिको रूपमा चर्चा गरिरहँदा विपक्षमा चर्को आवाज बढ्दो छ। खारेजै गर्ने पक्षमा समेत आवाज बढ्दो छ। परिमार्जन पक्षधरको संख्या पनि बढिरहेको छ।

सामाजिक र राजनीतिक परिवर्तनको नारा बोकेका राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो नयाँ दल र बालेन शाह जस्ता प्रभाव बढाउँदै लगेका स्वतन्त्र मेयरहरूले प्रदेश सभाको निर्वाचनमा समेत भाग लिएका छैनन्। यसले कुनै न कुनै रूपमा संघीय संरचनालाई अलोकप्रिय बनाउँदै लगेको छ नै।

के प्रदेश संरचना काम नलाग्ने नै भएको हो त? संघीयता पुनर्विचारको चरणमा प्रवेश गरिसकेको हो?

मानुषीको दृष्टिकोणमा यो तर्क तथ्यमा आधारित छैन। समस्या अहिले पनि केन्द्रिकृत संरचना हावी हुनु नै हो।

‘संघले ७० प्रतिशत बजेट राख्छ। ३० प्रतिशत बजेट बाँकी रह्यो, त्यसमा पनि स्थानीय सरकारको भाग धेरै छ। संघीय सरकारको हात बाँधेर संघीयताले काम गरेन भन्ने?’, उनले उल्टो प्रश्न गरिन्।

संघीय संसदले शिक्षा ऐन, निजामती कर्मचारी ऐन, प्रहरी ऐन जस्ता महत्वपूर्ण दीर्घकालिन प्रभाव पार्ने ऐन नबनाउँदा प्रदेशलाई प्रत्यक्ष प्रभाव परेको मानुषीको बुझाइ छ। त्यतिमात्रै होइन प्राकृतिक स्रोत तथा वित्त आयोग, निजामती कर्मचारीको केन्द्रमै थुप्रिने, न्यायालयको पुर्नसंरचना नहुनुले नै संघीयतालाई विद्रुप पारेको उनलाई लाग्छ।

नागरिकमा देखिएको चरम निरासाको कारण गरिबी रहेको र संघीयताले प्रभावकारी रूपमा काम गर्न पाएको भए यो प्रकारको निराशा नआउने उनको तर्क छ।

‘अहिले महिनाको ६ हजार पनि नकमाउने २० प्रतिशत नागरिक छन् अर्थात झण्डै ६० लाख। ६ हजारले अहिले के आउँछ? बच्चाबच्ची पढाउन पुग्छ?, खान पुग्छ?, आधारभूत आवश्यकता समेत पूरा नहुने गरिबीको रेखामुनि रहेका नागरिक यति धेरै छन्, यसको लागि काम गर्नुपर्दैन? अनि निराशा नआए के आउँछ?’, उनले भनिन्।

निकास के त?
मानुषीलाई लाग्छ अहिलेको निवार्चन शैली नै समस्याको जड हो। निर्वाचन प्रणालीमा उनी आफ्ना बाबु डा. बाबुराम भट्टराईप्रति सहमत देखिइन्।

कुनै पनि दलको बहुमत नआउने अहिलेको निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण समानुपातिक निवार्चन र प्रत्यक्ष कार्यकारी नेतृत्व हुनुपर्ने उनको धारणा देखियो।

पछिल्लो समय निर्वाचन प्रणालीमा सुधारबारे नेपाली कांग्रेस, एमाले अनि माओवादी केन्द्रभित्र पनि बहसको प्रवेश भएको छ। ती दलका नेताहरू संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताउन थालेका छन्। तर, संशोधन गरेर कुन प्रणालीमा जाने भन्ने प्रष्ट पार्न सकेका छैनन्।

अहिले दलहीन स्वतन्त्र उम्मेदवारहरूको प्रभाव समेत बढ्दो छ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदा दलको प्रतिनिधित्व हुन्छ। तर, स्वतन्त्र व्यक्तिको प्रतिनिधित्व कसरी?

मानुषीले त्यसको पनि व्यवस्था गर्न सकिने बताए पनि कसरी भन्ने प्रष्ट खुलाउन भने सकिनन्।

‘हिजो बुवाले शान्ति प्रक्रियामा जाउँ भन्दा बन्दी हुनुभयो। तै पनि आफ्नो लाइन छाड्नुभएन। आखिर पार्टी त्यही लाइनमा आयो। नेतृत्वले समय अनुसार विचार बदल्नैपर्छ। त्यसैले उहाँ जहाँ हुनुहुन्छ म त्यहाँ छु।’

प्रत्यक्ष कार्यकारीको विपक्षमा रहेकाहरूले यसबाट नेतृत्व निरंकुश हुनसक्ने तर्क गर्ने गरेका छन्। उनको भनाइमा निरंकुश भएको अवस्थामा के कारबाही हुने, संविधानभन्दा बाहिर गएको अवस्थामा कसरी बर्खास्त गर्ने भन्ने संविधानमै उल्लेख गर्न सकिने उनले धारणा राखिन्।

‘जहिले पनि सरकार बनाउने र गिराउने खेलमा लाग्ने तर परिणाममुखी केही काम नगरेर कतिन्जेल बस्न सकिन्छ?’, उनको प्रश्न छ। 

पछिल्लो समय उनका बुवा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत साम्यवाद असम्भव रहेको बताइरहेका छन्। के बुवासँगै हिजो बाबुराम माओवादीमा हुँदा उनी माओवादी भइन्, नयाँ शक्ति गठन गर्दा त्यता लागिन्, मधेसवादी दलसँग मिल्दा उनी त्यतै लागिन् अहिले नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी समितिको सदस्य तथा प्रविधि प्रमुख छिन्।

बुवासँगै उनी किन बदलिइरहेकी छिन्? के उनमा स्वतन्त्र विचार छैन?

मानुषी बाबुराम भट्टराइलाई आफ्नो बुवा मात्रै नभएर राजनीतिक गुरु पनि मान्छिन्। उनी बाबुसँगै दल र विचार बदलिनुमा समय अनुसार परिवर्तन हुन बाबु तथा राजनीतिक गुरुले सिकाएको तर्क गर्छिन्।

‘बाको विचार बदलिएर म बदलिएको होइन, बदलिएको विचार मलाई मन परेर उहाँलाई फलो गरेकी हुँ’, उनी भन्छिन्।

आफ्नो बुवाको पालामा लगानी बोर्ड गठन हुनु, भारतसँग बिप्पा सम्झौताको लागि तयार हुनु जस्ता कुराले कम्युनिष्ट धङधङीबाट माथि उठेको देखिने उनको तर्क छ।

‘हिजो बुवाले शान्ति प्रक्रियामा जाउँ भन्दा बन्दी हुनुभयो। तै पनि आफ्नो लाइन छाड्नुभएन। आखिर पार्टी त्यही लाइनमा आयो। नेतृत्वले समय अनुसार विचार बदल्नैपर्छ। त्यसैले उहाँ जहाँ हुनुहुन्छ म त्यहाँ छु। उहाँकै विचारलाई साथ दिन्छु, बुलन्द बनाउँछु भनेर चुनावमा उठेको पनि त हो’, उनले भनिन्।

उनले चुनावको प्रसङ्ग ल्याइहालिन्। उनी २०७९ मंसिर ४ को निर्वाचनमा काठमाडौं-७ बाट माओवादी केन्द्रको निर्वाचन चिन्ह लिएर उम्मेदवार बनेकी थिइन्। काठमाडौं-७ उनकी आमा तथा पूर्वमन्त्री हिसिला यमी जन्मेको ठाउँ। मानुषी पनि त्यहीँ हुर्किइन्।

गठबन्धन गरेर जाने सहमति अनुसार उनी काठमाडौंमा उम्मेदवार बन्दा उनको बाबुले गोर्खाको निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडे। छोरीलाई सांसद बनाउन बाबुरामले निर्वाचन क्षेत्र सट्टापट्टा गरेको आरोप पनि लाग्यो। उनी उम्मेदवार बनिन् र पराजित भइन्।

बुवाले गोरखा-२ छाडेर आफू चुनावमा उठ्ने सोच पटक्कै नभएको उनको तर्क छ। बाबुरामले गोरखा-२ छाड्ने अनि काठमाडौं-७ मा गठबन्धनबाट उनी उम्मेदवार हुने निर्णय हुँदा उनलाई खिन्न लागेको थियो रे।

‘खासमा मैले बुवाको विचारलाई सहयोग होस् भनेर अन्य तहको चुनाव पनि नलडी सिधै संघमा जान खोजेको थिएँ। तर, गोरखा-२ गुम्यो। बुवा नआउने हुनुभयो। मलाई त्यतिबेला नरमाइलो लाग्यो’, उनले उकेरा म्यागजिनसँग भनिन्।

पूर्वप्रधानमन्त्रीकी छोरी भन्दै गठबन्धनमा रहेका दलहरूले अनावश्यक अपेक्षा राख्दा आफूले पूरा गर्न नसक्दा निर्वाचनमा पराजित भएको उनको आफ्नै विश्लेषण छ।

‘गठबन्धनमा रहेका दलका नेताहरूसँग प्रधानमन्त्रीका सन्तानले चुनाव जित्न पानी जसरी पैसाको खेलो बगाउने अपेक्षा देखियो। तर म त यत्रो पैसा भएको व्यक्ति परिनँ’, उनको खिन्न हुँदै भनिन्।

मानुषी काठमाडौं-७ मा पराजित हुनुको कारण यो मात्र देखिन्न। त्यो क्षेत्रमा सशस्त्र संघर्षताका माओवादीका लखेटिएका कांग्रेस मतदाताको संख्या उल्लेख्य हुनु, स्वतन्त्र पार्टीको ह्वीम आउनु र माओवादीको चुनाब चिन्हले पनि फरक पार्यो। उनी यसमा सहमत पनि देखिन्छिन्। 

‘धेरैले चुनाव चिन्ह त भएन है नानी भनेका थिए’, उनले भनिन्।

‘मञ्चबाट स्वर्णपदक पाउनेमा अस्मिता सिंह भनेर बोलाइयो। म मञ्चमा गएँ। पहिलो पटक साडी लगाएको थिएँ। बुवाले त शुरूमा मलाई चिन्नु भएन। मेरो प्रमाणपत्रहरूमा अस्मिता सिंह नाम थियो। त्यो पनि बिर्सनु भएछ। पछि पो हामी दुवै झसङ्ग भयौँ।’

मानुषीको निर्वाचन यात्रा विश्वविद्यालयको पढाइदेखि नै शुरू भएको हो। २०६५ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनले अखिल क्रान्तिकारीबाट केन्द्रीय क्याम्पसमा अत्याधिक बहुमतका साथ सचिव पदमा विजयी भएकी थिइन्।

त्यतिबेला माहोल नै अर्कै भएको र कतिपयले आफ्नो चुनावी एजेण्डाले मत दिएको उनको आफ्नै विश्लेषण छ।

‘अखिल क्रान्तिकारीले त्रिविमा कार्यक्रम गरेको थियो। सभापति पदका उम्मेदवारले मात्रै बोल्ने कुरा थियो। मलाई पनि बोलाए। मैले खासै धेरै बोलिन, किनभने मेरो बोल्ने बानी थिएन। हाम्रा एजेण्डा यो-यो छन्, सहमत हुनुहुन्छ भने मत दिनुस् भने। यही भनाइले मत दिएको बताउने साथीहरू पछि भेटेँ पनि’, उनले भनिन्।

हुन त मानुषी बोलेर फर्केपछि बाबुरामको छोरी भन्नुमात्रै रहेछ, बोल्न त आउँदो रहेनछ नभनेका हैनन्। मानुषीलाई पनि कतै म नेता हुन फिट पो छैन की भन्ने नलागेको पनि हैन। तर, जसै अर्को संगठनका विद्यार्थीले ‘एजेण्डा मनपर्यो भने मत दिनुस् भन्नु भो यही मन परेर मत दिएको’ भने त्यसपछि उनमा आत्मविश्वास बढ्दै गयो र जितिन् पनि।

उनी स्ववियु सचिव हुँदा उनका बा अर्थमन्त्री अनि आमा पर्यटन मन्त्री थिए। मानुषी त्यो बेलामा राजनीतिशास्त्र स्नातकोत्तर तहकी विद्याथी थिइन्। मानुषी आफ्नो ब्याच टप पनि भइन्। स्वर्णपदक पाइन्।

स्वर्णपदक लिँदाको तस्बिर भाइरल भयो। त्यो बेलामा बाबुराम प्रधानमन्त्री भइसकेका थिए। त्रिविको कुलपतिको रूपमा बाबुराम विजेताहरूलाई पदक दिन जाँदा मानुषी पनि लाइनमा थिइन्।

‘मैले स्वर्णपदक पाउँदैछु भन्ने थाहा थिएन। थाहा भएको भए आमा पनि लिएर जान्थे। मञ्चबाट स्वर्णपदक पाउनेमा अस्मिता सिंह भनेर बोलाइयो। म मञ्चमा गएँ। पहिलो पटक साडी लगाएको थिएँ। बुवाले त शुरूमा मलाई चिन्नु भएन। मेरो प्रमाणपत्रहरूमा अस्मिता सिंह नाम थियो। त्यो पनि बिर्सनु भएछ। पछि पो हामी दुवै झसङ्ग भयौँ’, उनले पुरानो क्षण सम्झिइन्।

सानै देखि कम बोल्ने 
विषयवस्तुमा ठ्याक्क कुरा राखे पनि मानुषी अनावश्यक बोल्दिनन्। अन्य नेताको सन्तान जस्तो विवादित पनि होइनन्। बुवा-आमा दुवै मन्त्री भए पनि उनमा त्यो घमण्ड कहिल्यै पलाएन। बुवा-आमा सशस्त्र संघर्षमा लागेपछि उनी मावलीको साथमा रहँदै आइन्।

द्वन्द्वका बेला उनलाई बाआमा दुवैले चिठी लेख्थे। चिठीमा बुवाले के पढ्दैछु, आफू कहाँ छु, के हुँदैछ, सबैलाई समान व्यवहार किन गर्नुपर्छ लेखेर पठाउँथे।

‘हामी नेताका सन्तानले प्रिभिलेज पाएकै हो। नत्र पढ्न कहाँ पाइन्थ्यो! त्यसैले हामी अझ धेरै जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्थ्यो। तर, हिजो मसँगै हिँडेकाहरू आज जेलमा छन्, कोही ठगीमा पक्राउ परेका छन्, कोही तस्करीमा। त्यसै यस्तो हुन्छ र यो देश?’

आमाले पनि पढाइसँगै शारीरिक परिर्वतन, महिनावारी कसरी हुन्छ, यो किन सामान्य हो भनेर लेखेर पठाउँथिन्। वर्षको एकपटक फोनमा कुरा हुन्थ्यो। भारतको दिल्ली पब्लिक हाइस्कुलमा पढेकी मानुषी उमेर बढेसँगै मजदुर संगठनको लागि पनि काम गरिन्।

लामो समय बुवाआमासँग मानुषीको फोनमा कुरा हुन पाएको थिएन। त्यो बेला माओवादीले उनका बाआमा दुवैलाई नजरबन्दमा राखेको थियो।

त्यतिनै बेला माओवादी नेता राम कार्कीले ‘फोन आउने बितिक्कै जे-जे भन्नुहुन्छ त्यो टिप है’ भनेको सम्झिन्छिन् उनी। उनको नाम सानैदेखि मानुषी भए पनि सत्ताबाट डर हुँदा अस्मिता सिंह भनेर परिर्वतन गरिएको थियो। अहिले पनि उनी मानुषीकै रूपमा परिचित भए पनि कानुनी नाम भने अस्मिता सिंह नै छ।

सशस्त्र संघर्षताका कार्यकर्ताका सन्तान लडाइँको मैदानमा तर नेताहरूका सन्तान सुविधासम्पन्न स्थानमा भन्दै अहिले पनि आलोचना हुन्छ। उनी यसलाई स्वीकार्छिन् पनि।

‘हामी नेताका सन्तानले प्रिभिलेज पाएकै हो। नत्र पढ्न कहाँ पाइन्थ्यो! त्यसैले हामी अझ धेरै जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्थ्यो। तर, हिजो मसँगै हिँडेकाहरू आज जेलमा छन्, कोही ठगीमा पक्राउ परेका छन्, कोही तस्करीमा। त्यसै यस्तो हुन्छ र यो देश?’, उनले भनिन्।

विवाह गर्ने सोच नभए पनि उनको प्रेम विवाह भयो। अहिले उनको एउटा छोरा छ। 

आफूले बाल्यकालमा बुवाआमासँग बिताउनु नपाएको क्षण अनि अहिले आफू आमा हुँदाको क्षण सम्झाउँदा मानुषीमा मातृभाव झलक्कै देखियो।

रसिला आँखा लिएर चिया सुरूप्प पार्दै भनिन्, ‘छोरो त साह्रै ठीक समयमा जन्मिएछ। हजुरबा, हजुरआमा, आमा, बुवा उसको साथमा छन्।’

२ जेठ, २०८१, १२:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।