कांग्रेसको मेलमिलाप दिवस : सबै दललाई बोलाउँदा रास्वपा किन ‘बाइपास’?

कांग्रेसको मेलमिलाप दिवस : सबै दललाई बोलाउँदा रास्वपा किन ‘बाइपास’?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरू भेला पारेर मनाउने भएको छ।

सधाझैं कांग्रेसले यसवर्ष पनि १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ।

यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ।

सबै दलहरूको उपस्थितिमा मनाइने मिलमिलाप दिवसमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने आमन्त्रण गरिएको छैन।

सोमबार हुने मिलमिलाप दिवसको कार्यक्रमका लागि संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरूलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलल जानकारी दिए।

यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो। साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको बताए।

निर्वासनमा रहेका कांग्रेस संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए। मेलमिलापको नीति लिएर फर्केको हुनाले कांग्रेसले त्यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ।

त्यस्तै, कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि कार्यक्रममा निम्तो दिएको छैन।

१५ पुस, २०८०, १६:२३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।