एकपछि अर्को आर्थिक विवादमा क्यान, सचिव पारसपछि अध्यक्ष चन्द र कोषाध्यक्ष खड्कामाथि आर्थिक अपचलन‍को गम्भीर आरोप

एकपछि अर्को आर्थिक विवादमा क्यान, सचिव पारसपछि अध्यक्ष चन्द र कोषाध्यक्ष खड्कामाथि आर्थिक अपचलन‍को गम्भीर आरोप

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का शीर्ष पदाधिकारीहरूमाथि राज्य स्रोत र संघको कोष व्यापक रूपमा अपचलन गरेको गम्भीर आरोप लागेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा अनियमितता गरेको विषयमा सचिव पारस खड्का छानबिनमै छन्। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदमबहादुर खड्कासहितका पदाधिकारी समेत आर्थिक अनियमितता र पदको दुरुपयोगमा तानिएका छन्।

दुई साता अगाडि एनपिएल सम्बन्धी सबै कागजपत्र उपलब्ध गराउन भन्दै पत्र पठाएको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अध्यक्ष चन्द र कोषाध्यक्ष खड्काबारे समेत छानबिन अघि बढाउँदै पत्र पठाएर कागजपत्र मागेको छ। राखेपले क्यानलाई पत्र काट्दै लागेका आरोपबारे सत्यतथ्य राय-प्रतिक्रिया र प्रमाणित कागजात बुझाउन निर्देशन दिएको खुलेको छ। सो अवधि पार भइसकेको छ।

क्यान नेतृत्व विरुद्ध गत वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अपचलन र पदको दुरुपयोगसम्बन्धी उजुरी दर्ता भएको थियो। सोही उजुरीका आधारमा अख्तियारले वैशाख २९ गते तत्कालीन  युवा तथा खेलकुद मन्त्रालयलाई अनुसन्धानका लागि पत्र पठाएको थियो। मन्त्रालयले वैशाख ३१ गते राखेपलाई १० दिनभित्र छानबिन गरी रायसहितको प्रमाणित कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो।

सोही निर्देशनानुसार राखेपको सदस्य-सचिवस्तरीय जेठ ७ गतेको निर्णयानुसार क्यानलाई पत्र पठाई ५ दिनभित्र बुँदागत रूपमा स्पष्टीकरण र प्रमाणित कागजात बुझाउन भनिएको हो। राखेपले क्यानलाई पठाएको पत्रमा उल्लेखित आरोपहरू अनुसार, क्यान अध्यक्ष चन्दले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट रकम उठाएर व्यक्तिगत गाडी खरिद गरेका थिए।

उक्त निजी सवारी साधन क्यानलाई नै भाडामा दिई सोको इन्धन र चालकको खर्चसमेत क्यानकै कोषबाट बेहोर्दै आएको आरोप छ। गाडी भाडामा लिएर खर्च उठाइरहेकै अवस्थामा पनि अध्यक्षले हवाई यात्रा गर्ने गरेको र सोको टिकट खर्च तथा दैनिक भत्ता (टीए/डीए) समेत दोहोरो रूपमा क्यानबाटै असुल गर्ने गरेको उजुरीमा उल्लेख छ।

उजुरीमा काठमाडौंको अनामनगरस्थित आफन्तको स्वामित्वमा रहेको ‘कार्निभल रेस्टुरेन्ट’मा अध्यक्षसहितका व्यक्तिहरूले खाजा, खाना र मद्यपान गरेको खर्चको बिल क्यानको नाममा भुक्तानी गराइएको, विभिन्न आपूर्तिकर्ताहरूसँग आर्थिक लेनदेन गर्ने गरेको विषय उल्लेख छ।

यसका अलावा फ्लेक्स प्रिन्टिङ लगायतका सामग्रीहरूको बजार मूल्यभन्दा अत्यधिक बढीको बिल बनाएर भुक्तानी लिने गरेको र पेटीक्यास खातामा अनावश्यक बिलहरू पेस गरी कोषको दुरुपयोग गरेको तथा अनावश्यक रूपमा वैदेशिक भ्रमण गरी कोषबाट ठुलो रकम भत्ता बुझ्ने गरेको र यस प्रक्रियामा कोषाध्यक्ष पदमबहादुर खड्कालाई समेत सँगै लाने गरी संस्थालाई दोहोरो आर्थिक भार पारेको समेत आरोप लगाइएको छ।

सन् २०२४ मा अमेरिकामा सम्पन्न टी-२० विश्वकपका दौरान क्यान नेतृत्वले संस्थागत साख र आर्थिक मर्यादाको धज्जी उडाएको आरोप उजुरीमा छ।

अध्यक्ष चन्द र कोषाध्यक्ष खड्काले आफ्ना श्रीमतीहरूलाई क्यानकै खर्चमा अमेरिका भ्रमणमा लगेको, अध्यक्षले आफूलाई ‘डाक्टर’ कोटामा ओसारपसार गरी राष्ट्रिय खेलकुदकै बदनाम गरेको, अन्य असम्बन्धित व्यक्तिहरूलाई भिसा दिलाएर अनुचित आर्थिक लाभ लिएको र सोही प्रकरणमा तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक कर्मचारीलाई निलम्बन गरेको घटनाले समेत यसलाई पुष्टि गर्ने दाबी गरिएको छ।

विश्वकपबाट फर्केपछि अध्यक्षले आफ्नो भ्रमण भत्ता आफैँले निर्धारण गरी बुझेको, अमेरिकामा खेलाडीहरूलाई विभिन्न होटलमा लगेर कार्यक्रमहरू आयोजना गरी संकलन गरिएको डोनर फन्ड (रकम) को कुनै हिसाब सार्वजनिक नगरिएको आरोप समेत क्यान नेतृत्वमाथि छ।

विश्वकपको जर्सी र टिकट बिक्रीबाट संकलन भएको ठूलो परिमाणको रकम क्यानको आधिकारिक बैंक खातामा जम्मा नगरी आर्थिक अभिलेखमा आम्दानी लुकाइएको, क्रिकेटसँग असम्बन्धित व्यक्ति दीपक विष्टलाई समेत क्यानकै खर्चमा अमेरिका पुर्याएर कोषको चरम दुरुपयोग गरिएको विषय पनि उजुरीमा समेटिएको छ।

क्यान प्रशासनभित्र योग्यता र प्रतिस्पर्धालाई पाखा लगाउँदै अध्यक्षले आफ्नै गृह जिल्लाका व्यक्तिहरूलाई लेखा, प्रशासन र मैदान (ग्राउण्ड स्टाफ) का पदहरूमा भर्ती गरेको आरोप छ।

अध्यक्षका स्वकीय सचिव ज्याक धामी क्यानको नियमित तलब बुझ्ने कर्मचारी भए तापनि गत संघीय निर्वाचनमा पार्टीको चुनावी प्रचारप्रसारमा खुलेर लागेका थिए।

नियमविपरीत टोली व्यवस्थापक (म्यानेजर) र अन्य अफिसियलहरू नियुक्त गरी आर्थिक भार थपिएको तथा क्यानको वार्षिक साधारणसभामा विधानविपरीतका असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराई गणपूरक संख्या पुर्याउने र संस्थाको खर्च बढाउने काम गरिएको आरोप समेच अध्यक्ष चन्दमाथि छ।

अध्यक्ष आफैँले अपाङ्गताको झुटो दाबी गरी सरकारी पेन्सन बुझिरहेको र अर्कोतर्फ राजनीति र खेलकुद प्रशासनमा सक्रिय रहेर राज्यलाई ठगेको आरोप समेत उजुरीमा छ।

पारसको छानबिन अलपत्र
एनपिएलमा भएको अनियमितताबारे यसरी नै अख्तियार हुँदै मन्त्रालयमा पत्र गएपछि राखेपले अनुसन्धान गर्न समिति नै गठन गरेको थियो। तर समितिले एनपीएलबारे मागेको कागजपत्र नदिँदा अनुसन्धान पूरा भएन। समितिको म्याद सकिएपछि पुन: अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सिफारिससहितको प्रतिवेदन बुझाएको थियो।

यो छानबिन अलपत्र परेपछि राखेपले केही साता अगाडि निलम्बनसहितको चेतावनी दिएर पत्र पठाएपछि भने क्यानले एनपीएलबारे कागजपत्र बुझाएको राखेप स्रोतले बतायो। यसबारे छानबिन भइरहेको र यसको संयोजन  खेलमन्त्री सस्मित पोखरेलको सचिवालयका सदस्यले गरिरहेको स्रोतले बतायो।

‘राखेपबाट निलम्बनको चेतावनीसहित पत्र गएपछि क्यानले एनपीएलसँग सम्बन्धित कागजपत्रहरू बुझाएको छ। त्यसबारे समूह नै बनाएर छानबिन भइरहेको छ,’ राखेप स्रोतले भन्यो, ‘अध्यक्ष र कोषाध्यक्षबारे समेत अख्तियारमा परेको उजुरी आएपछि त्यसबारे समेत जानकारी मागेका हौँ।’

दोस्रो उजुरीमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र उपाध्यक्ष रोशन सिंहको मात्र नाम उल्लेख छ। तर पत्रमा राखेपले क्यान अन्तर्गतको एनपीएलको गभर्निङ काउन्सिललाई समेत अनौपचारिक रूपमा जवाफ दिन भनेको छ।

आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय सहभागिता, प्रवेश पास, टेण्डर, विज्ञापन, आर्थिक अनियमितता, लेखापरीक्षण लगायतको विषय उनीहरूसहित सचिव पारस खड्का र कोषाध्यक्ष पदम बहादुर खड्काको पनि प्रत्यक्ष संलग्नता रहन्छ।

क्यानको लेखा परीक्षण प्रतिवेदनमै ब्रान्ड लजिकको जिम्मेवारीमा रहेको साढे ३ करोड क्यानले तिरेको, नेपाल टेलिकमसहितबाट आएको ६० लाख बढी रकम के आधारमा आएको सम्झौता समेत नभएको, भ्याटमा दर्ता नभई कर छलेको, सार्वजनिक खरिद ऐन बिपरित ठेक्का लगाएको लगायतका गम्भीर अनियमितता उल्लेख छ।

जेठ ११, २०८३ सोमबार ०९:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।