लिग-२ : पहिले ब्याटिङ गर्दै नेपालको कीर्तिमानी स्कोर, अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

लिग-२ : पहिले ब्याटिङ गर्दै नेपालको कीर्तिमानी स्कोर, अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै अमेरिकाविरुद्ध ३१७ रनको योगफल खडा गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो।

यो स्कोरसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) इतिहासमा पहिले ब्याटिङ गर्दाको नयाँ कीर्तिमान कायम भएको छ। यसका अलावा त्रिवि क्रिकेट मैदानमा बनाएको उसको यो सबैभन्दा ठूलो स्कोर पनि हो।

यसअघि पहिले ब्याटिङ गर्दा नेपालको उच्च स्कोर ओमान विरुद्ध ३१० रन थियो। यो स्कोर पनि नेपाली टोलीले त्रिवि क्रिकेट मैदानमै बनाएको थियो।

यद्यपि, समग्र ओडिआई इतिहासकै सबैभन्दा बढी टिम स्कोरको रेकर्ड भने अझै पनि ८ जुन २०२५ मा स्कटल्यान्ड विरुद्ध बनाएको ३२१ रन नै कायम छ, जुन नेपालले लक्ष्य पछ्याउने क्रममा दोस्रो इनिङ्समा बनाएको थियो।

नेपाललाई विशाल स्कोरतर्फ डोर्याउन मध्यक्रमका ब्याटर ईशान पाण्डे र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट इनिङ्स खेले। उत्कृष्ट लयमा देखिएका ईशानले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान दिए।

त्यस्तै, क्रिजमा विष्फोटक रूपमा प्रस्तुत भएका दीपेन्द्र सिंह ऐरीले मात्र ३६ बलमा ५९ रन बनाए। उनले मात्र २९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए।

यसअघि ओपनर कुशल भुर्तेल २९ रनमा आउट भए भने आशिफ शेखले ५७ बलमा ६ चौका प्रहार गर्दै ४३ रन जोडे। कप्तान रोहित पौडेलले संयमित ब्याटिङ गर्दै ५९ बलमा ४६ रन बनाए।

खेलको अन्तिम ओभरतिर आरिफ शेखले १० बलमा २ छक्कासहित अविजित १८ रन जोड्दै नेपालको स्कोर ३१७ सम्म पुर्याए। गुल्सन झा १५ रन र सोमपाल कामी ५ रनमा आउट भए।

बलिङतर्फ अमेरिकाका शुभम रञ्जनेले १० ओभरमा ६१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै रुशिल उगार्कर र मिलिन्द कुमारले समान १-१ विकेट हात पारे।

अमेरिकाका अन्य बलरहरू विकेटविहीन रहे भने रुशिल उगार्कर निकै महँगो साबित हुँदै ९ ओभरमा ८१ रन खर्चिए।

नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याउँदै अब केही बेरमा अमेरिकाले जवाफी ब्याटिङ सुरु गर्नेछ।

जेठ ८, २०८३ शुक्रबार १३:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।