लिग-२ : नेपालविरुद्ध अमेरिकाले टस जित्यो, पहिले बलिङ गर्ने निर्णय

लिग-२ : नेपालविरुद्ध अमेरिकाले टस जित्यो, पहिले बलिङ गर्ने निर्णय

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र संयुक्त राज्य अमेरिका (युएसए) बीचको खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

अमेरिकी टोलीका कप्तान साइतेजा मुक्कामाल्लाले टस जितेर घरेलु टोली नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यसअघि शुक्रबार बिहान परेको वर्षाका कारण आउटफिल्ड ओसिलो भएपछि टस हुन ढिलाइ भएको थियो। मैदान निरीक्षणपछि खेलको ओभर र समय केही परिमार्जन गर्दै टस प्रक्रिया अघि बढाइएको हो।

पछिल्लो दुई खेलमा एकदमै राम्रो जित निकालेकाले टोलीमा कुनै पनि परिवर्तन गरिएको छैन। कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गर्ने ब्याटिङको तेस्रो र चौथो नम्बरमा क्रमश: इशान पाण्डे र रोहित पौडेल रहनेछन्।

पाँचौं, छैटौं र सातौं स्थानमा क्रमश: दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्सन झा आउँदा आठौं, नवौं र दशौं स्थानमा सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने आउनेछन्। एघारौं खेलाडीको रूपमा ललित राजवंशी रहेका छन्।

घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले पहिले ब्याटिङ गर्दै बलियो योगफल खडा गर्ने लक्ष्य राख्नेछ। तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका र पाँचौं स्थानमा रहेको नेपालबीचको यो भिडन्त दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

जेठ ८, २०८३ शुक्रबार ०९:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।