अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

काठमाडौं : आइसिसी पुरुष  विश्वकप क्रिकेट  लिग-२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो। 

अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए। साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे।

अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए। साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनाएको थियो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए। 

उनले  ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे। 

अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक-एक विकेट लिए। शुक्रबारको जितसँगै नेपाल अङ्क तालिकामा २८ खेलपछि ११ जित, १५ हार र दुई वटा अनिर्णितसहित २४ अङ्क जोडेको छ।

जेठ ८, २०८३ शुक्रबार १८:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।