इरानसँगको सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिहरूलाई ट्रम्पको निर्देशन
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषयमा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्।
यसअघि इरानसँगको सम्झौता सहमति नजिक पुगेको खबरहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो।
ट्रम्पले आफूले इरानसँग एउटा राम्रो सम्झौता गर्ने दाबी गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘ओबामाको सम्झौताले इरानलाई ठूलो रकम दियो र परमाणु हतियार बनाउने बाटो खोलिदियो। तर मैले गर्ने सम्झौता ओबामाको भन्दा बिल्कुल फरक र सही हुनेछ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार हाल छलफल भइरहेको सम्झौतामा ६० दिनको युद्धविराम थप गर्ने, होर्मुज स्ट्रेट जलमार्ग पुनः खोल्ने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढाउने विषयहरू समावेश छन्।
आफूभन्दा अघिल्ला शासकहरूले यो समस्या वर्षौँ पहिले नै सुल्झाउनुपर्ने उल्लेख गर्दै ट्रम्पले आफूले खराब सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यस विषयमा इरान र अमेरिकाबीच हुने दोस्रो चरणको वार्ताको आतिथ्यता गर्ने इच्छा व्यक्त गरेका छन्।
जेठ ११, २०८३ सोमबार ०७:२८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।