राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै रहेका बेला गोलीबारी, गोली चलाउने संदिग्ध मारिए

राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै रहेका बेला गोलीबारी, गोली चलाउने संदिग्ध मारिए

एजेन्सी : अमेरिकाको राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ नजिकै शनिबार साँझ भएको गोलीबारीमा एक संदिग्ध व्यक्ति मारिएका छन्। अमेरिकी सुरक्षा संयन्त्र ‘सेक्रेट सर्भिस’को जवाफी कारबाहीमा ती व्यक्ति मारिएका हुन् भने गोलीबारीमा एक जना घाइते भएका छन्।

घटना स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस परिसरको १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै भएको हो। सेक्रेट सर्भिसले जारी गरेको आधिकारिक बयान अनुसार, एक अज्ञात व्यक्तिले आफ्नो झोलाबाट हतियार निकाली अचानक गोली चलाउन सुरु गरेका थिए।

ती व्यक्तिले सुरक्षा एजेन्टहरूलाई नै लक्षित गरी प्रहार गरेपछि सुरक्षाकर्मीले जवाफी फायर गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। उक्त घटनामा एक व्यक्तिलाई समेत गोली लागेको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सुरक्षा अधिकारीहरू भने यस घटनामा सुरक्षित रहेका छन्।

गोलीबारीको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। सुरक्षा निकायका अनुसार यस घटनाबाट राष्ट्रपतिको सुरक्षा र ह्वाइट हाउसको नियमित कार्यसम्पादनमा कुनै असर परेन। घटनाको प्रत्यक्षदर्शीका घटनास्थलमा १५ देखि ३० राउण्ड गोली चलेको थियो।

एफबीआई निर्देशक कास पटेलले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सेक्रेट सर्भिसले यसबारे विस्तृत छानबिन सुरु गरिसकेको जानकारी दिएका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पको तर्फबाट यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

ह्वाइट हाउस आसपास सुरक्षा संवेदनशीलता बढेको यो पहिलो घटना भने होइन। यसअघि एक महिना पहिले पनि 'ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर'का क्रममा यस्तै प्रकृतिको गोलीबारी भएको थियो, जसमा संलग्न संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जेठ १०, २०८३ आइतबार ०७:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।