पुँजी बजारमा सीमित समूहको कब्जा, १५–१६ अर्ब दुरुपयोग भएको अर्थमन्त्रीको दाबी
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सीमित व्यक्तिको समूहले करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन्।
मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे ।
अर्थमन्त्री वाग्लेले यस्ता अवैध गतिविधिले आर्थिक क्षेत्रमा मात्र नभई मुलुकको राजनीतिक संस्थाहरूमा समेत गम्भीर संकट निम्त्याएको टिप्पणी गरे।
"विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ," उनले भने, "१५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरिएको अवस्था थियो।"
उनका अनुसार यस्ता स्वार्थ समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गर्दै आएका छन्, जसले गर्दा देशका आर्थिक र राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे।
मुलुकको पछिल्लो राजनीतिक परिवर्तनलाई 'जेन–जी आन्दोलन' को परिणामका रूपमा व्याख्या गर्दै मन्त्री वाग्लेले यसले देशलाई थप दुर्घटना हुनबाट जोगाएको दाबी गरे। वर्तमान सरकारले अब सुशासनलाई नै पहिलो प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।
"प्रधानमन्त्रीज्यूको स्पष्ट दृष्टिकोण छ-पहिलो वर्ष सुशासन, त्यसपछि विकास निर्माण स्वतः अघि बढ्ने आधार तयार गर्ने सरकारको रणनीति हो", मन्त्री वाग्लेले बैठकमा भने।
अर्थमन्त्री डा.वाग्लेले नेपालका पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे।
उनले स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए। सरकारले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस रूपमा अघि बढाउने तयारी गरेको पनि उनले बताए।
वैशाख २९, २०८३ मंगलबार १३:४८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।