नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने
काठमाडौं : नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम लिन चाहने ग्राहकका लागि अनलाइनबाटै सिम प्राप्त गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
यो सुविधासँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहक स्वयं उपस्थित भएर टेलिकमको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
नयाँ प्रिपेड ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको वेबसाइट esim.ntc.net.np मा लगइन गर्नुपर्नेछ। त्यहाँ रहेको ‘Get New Prepaid eSIM’ मा क्लिक गरी निर्देशनअनुसार आफ्नो विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।
विवरण भरेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गरेलगत्तै ई-सिमको क्यूआर कोड प्राप्त हुनेछ। उक्त क्यूआर कोडलाई मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि ई-सिम सक्रिय हुने टेलिकमले जनाएको छ।
यसअघि नै प्रयोगमा रहेको भौतिक सिमलाई ई-सिममा रूपान्तरण गर्ने सुविधा उपलब्ध गराइरहेको टेलिकमले हाल नयाँ प्रिपेड सिमका लागि पनि यो पोर्टल विस्तार गरेको हो।
यसका साथै, नयाँ फिजिकल सिम लिन चाहनेले अनलाइन फारम भर्न र ग्राहक विवरण दर्ता वा अद्यावधिक गर्नका लागि पनि सोही पोर्टलमा अनलाइन केवाईसी सुविधा उपलब्ध रहेको सह-प्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जानकारी दिए।
वैशाख २९, २०८३ मंगलबार १०:०४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।