इरानमाथि इजरायलको मिसाइल प्रहार, जवाफी हमलाको डरले इमर्जेन्सी लागू

काठमाडौं : इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। इरानबाट बदलास्वरुप थप आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै इजरायलले देशभर आपतकालीन अवस्था लागू गरेको छ।
रक्षामन्त्री काट्जले आपतकाल घोषणा गर्दै भनेका छन्, ‘इरानमा इजरायलको आक्रमणपछि हाम्रो जनसंख्यामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस अवस्थामा अत्यावश्यक क्षेत्र बाहेक शैक्षिक गतिविधि, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ।’
एक इजरायली सैन्य अधिकारीका अनुसार, इरानमाथि धेरै स्थानमा आक्रमण गरिएको छ। ती आक्रमणहरू 'इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यहरू लक्षित' रहेको ती अधिकारीले बताएका छन्।
सीबीएस समाचारका अनुसार, अमेरिकी अधिकारीहरूलाई इरानमाथि हुने आक्रमणबारे पूर्वजानकारी थियो। यही कारणले गर्दा अमेरिकाले आफ्ना केही नागरिकहरूलाई सम्बन्धित क्षेत्रबाट फिर्ता बोलाएको थियो। अमेरिकालाई इरानले इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि बदला लिन सक्ने डर थियो।
अर्कोतर्फ, इरानी सरकारी समाचार संस्था नूर न्यूजका अनुसार, तेहरानको उत्तर-पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ। बीबीसी संवाददाताहरू र तेहरानका स्थानीय बासिन्दाहरूले पनि विस्फोट भएको पुष्टि गरेका छन्।
इरानमाथिको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणमा इरानको आणविक संवर्धन कार्यक्रमको मुख्य केन्द्रलाई निशाना बनाइएको बताएका छन्।
प्रधानमन्त्री नेतान्याहूले आक्रमण तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको इरानी शहर नातान्जमा अवस्थित इरानको मुख्य संवर्धन केन्द्रमा गरिएको पुष्टि गरे। साथै, इरानी बम बनाउन काम गरिरहेका वैज्ञानिकहरूलाई पनि निशाना बनाइएको उनको भनाइ छ। उनले आवश्यक परे जति लामो समयसम्म पनि आक्रमण जारी रहने चेतावनी दिए।
नेतान्याहूले इजरायलको अस्तित्वमा इरानी खतरा कम गर्न लक्षित ‘अपरेशन राइजिङ लायन’ नामक सैन्य कारबाही सुरु गरिएको बताए। उनले हालैका महिनाहरूमा इरानले समृद्ध युरेनियमबाट हतियार बनाउन तीव्र गतिमा काम गरिरहेको आरोप लगाए।
उनले थपे, ‘यदि यो नरोकिएमा, इरानले धेरै छोटो समयमा, केही महिना वा एक वर्षभन्दा कममा, आणविक हतियार विकास गर्न सक्छ। यो इजरायलको अस्तित्वका लागि स्पष्ट र वर्तमान खतरा हो।’
प्रधानमन्त्री नेतान्याहूले आणविक वार्तामा नेतृत्व गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् र ट्रम्पले इरानले आणविक संवर्धन कार्यक्रम अगाडि बढाउन नसक्ने स्पष्ट पारेको स्मरण गराए।
जेठ ३०, २०८२ शुक्रबार ०७:४६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।