ह्वाइट हाउसकी प्रेस सचिवलाई इरानको व्यंग्यात्मक बधाई- ‘आफ्नो बच्चालाई चुम्दा ट्रम्पले मारेका १६८ बालबालिकालाई सम्झिनू’
एजेन्सी : ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेविट आमा बनेकोमा इरानले उनलाई बधाई दिएको छ। तर, यो बधाईसँगै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा प्रहार पनि गरेको छ।
गत मे ७ तारिखमा क्यारोलाइनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफूले छोरीलाई जन्म दिएको जानकारी गराएकी थिइन्। उनको उक्त पोस्टमा विभिन्न देशमा रहेका इरानी दूतावासहरूले प्रतिक्रिया जनाएका छन्।
आर्मेनियामा रहेको इरानी दूतावासले क्यारोलाइनको पोस्ट सेयर गर्दै लेखेको छ, ‘तपाईंलाई बधाई छ। बालबालिकाहरू निर्दोष र प्यारा हुन्छन्। तर, तपाईंका बोस (डोनाल्ड ट्रम्प) ले मिनाबको स्कुलमा मारेका र तपाईंले समर्थन गरेका ती १६८ जना पनि बालबालिका नै थिए।’
दूतावासले अगाडि लेखेको छ, ‘जब तपाईं आफ्नो बच्चालाई चुम्बन गर्नुहुन्छ, त्यतिबेला ती मारिएका बालबालिकाका आमाहरूलाई पनि सम्झिनुहोला।’
यसै वर्षको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण गरेका थिए। उक्त आक्रमणका क्रममा मिनाब सहरको एउटा विद्यालयलाई पनि निशाना बनाइएको थियो, जसमा परी १६८ जना निर्दोष बालबालिकाको ज्यान गएको थियो।
वैशाख २८, २०८३ सोमबार ०९:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।