युद्ध अन्त्य गर्ने इरानको प्रस्ताव डोनाल्ड ट्रम्पद्वारा अस्वीकार, के थियो प्रस्तावमा?
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले पठाएको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित 'प्रतिनिधिहरू'को जवाफ पढेँ। मलाई यो मन परेन, यो पूर्ण रूपमा अस्वीकार्य छ।’
इरानको अर्ध-सरकारी समाचार एजेन्सी 'तस्निम'का अनुसार, इरानले पाकिस्तानमार्फत अमेरिकालाई यो प्रस्ताव पठाएको थियो। यस मामिलामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ।
प्रस्तावमा के थियो ?
इरानले पठाएको प्रस्तावमा मुख्य रूपमा तीन कुराको ग्यारेन्टी मागिएको थियो। जसमा सबै क्षेत्रमा तुरुन्तै युद्ध रोक्ने, अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउने र भविष्यमा इरानमाथि कुनै पनि हमला नहुने ग्यारेन्टी गर्ने रहेका छन्।
यसअघि, इरानको एक आधिकारिक स्रोतले टेलिभिजन नेटवर्क 'अल जजिरा'लाई इरानको तर्फबाट पठाइएको यो प्रस्ताव निकै सकारात्मक र व्यावहारिक भएको बताएको थियो।
अहिले इरान र अमेरिकाबीच अस्थायी रूपमा युद्धविराम लागू छ। तर, पूर्ण रूपमा युद्ध अन्त्य गर्ने विषयमा भने दुवै देशबीच अहिलेसम्म कुनै सहमति बन्न सकेको छैन। ट्रम्पको यो पछिल्लो भनाइले युद्ध अन्त्य गर्ने सम्झौता थप अन्योलमा परेको छ।
वैशाख २८, २०८३ सोमबार ०८:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।