चौथो अंग : नेपालमा प्रेस स्वतन्त्र छ, पत्रकार स्वतन्त्र छैनन्
भारतमा १२ तरिकाबाट व्यक्तिहरूको ‘वान टाइम पासवर्ड’ ओटिपीको चोरी हुने गरेको समाचार हेरेको थिएँ। नेपालमा पनि आएको कल उठाएर फोनमा बोलुन्जेल खाताको पैसा नै गायब भएको समाचार बाहिरिइरहेका छन्। तपाईंले यो-यो गर्नुभयो भने सजिलै पैसा कमाउन सकिन्छ भनेर मिथ्या सूचनाहरू मोबाइलमा म्यासेज आइरहेका हुन्छन्।
अर्को एआईको दूरुपयोग गरेर मिथ्या र भ्रामक समाचार फैलिने सम्भावना उत्तिकै छ। अहिलेका पत्रकारको प्रमुख चुनौती भनेकै यही मिथ्या र भ्रामक समाचार चिर्नु अनि एआईको दुरुपयोगबाट बन्ने समाचार कसरी रोक्ने भन्ने नै हो।
पत्रकार समाजको ‘वाच डग’ भनिन्छ। अहिले अवस्था बदलियो। अहिले पत्रकारको पनि ‘वाच डग’सोसल मिडिया भएको छ। पत्रकारले खोजेर, भेरिफाइ गरेर प्रकाशित गरेको समाचार समेत पाठकले नपत्याउने स्थिति सिर्जना भएको छ अहिले। गलत समाचार फैलिएका छन् भने चिर्न सक्ने खुबी अहिलेका पत्रकारमा हुन जरुरी छ। यति खुबी भएन भने पत्रकारितामा टिक्न गाह्रो हुन्छ जस्तो लाग्छ।
साज सज्जामा अनलाइन झुर
२०५५ सालमा हो मैले एसएलसी दिएको। २०५६ मा त म पत्रकार नै भएँ। दाङमा युगबोध दैनिक पत्रिका थियो। त्यो पत्रिकाको म नियमित पाठक थिएँ। केही घटना घट्यो भने म त्यहाँ हातले लेखेको समाचार पुर्याउन जान्थेँ।
एक दिन पुर्याउन गएकै बेला त्यस पत्रिकाका सम्पादक प्रताप रेग्मीले ‘पत्रकारिता गर्छौँ भाइ’ भन्नुभयो। मैले गर्दिनँ भन्ने कुरै थिएन। ‘हुन्छ’ भनेँ। भोलिपल्टदेखि नै मेरो काम शुरू भयो। दिउँसो प्लस टु पढ्यो साँझ अस्पताल र प्रहरी कार्यालय पुग्यो के-के भएको छ रिपोर्टिङ गर्यो, लेख्यो।
त्यतिबेला सात सय ५० रुपैयाँ तलब पाउँदा निकै ठूलो रकम लागेको थियो। ६ वर्षपछि मात्रै मास्टर्स पढ्न काठमाडौं आएँ।
कीर्तिपुरको बसाइ अनि २०६२/०६३ सालको जनआन्दोलनको उभार। मिडियालाई काम गर्न निकै गाह्रो थियो। नेपाल एफएममा काम गरेँ। डेस्कमै हो मैले काम गरेको। पत्रिका, रेडियो, फेरि पत्रिका, अनलाइन अनि टीभी हुँदै अहिले म दुई वर्षदेखि समाचारकक्षमा छैन।
धेरै समय डेस्कमा बसेकाले पत्रिका कसरी चल्छ, यसको व्यवस्थापन कसरी हुन्छ भन्ने बुझ्न पाएँ। अर्थ पत्रकारिताबारे खास केही थाहा थिएन। कारोबार दैनिकमा डेस्क हेर्न थालेपछि सिक्दै-सिकाउँदै गर्न पाइयो।
रिपोर्टरले सम्पादन पनि सिक्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले मैले कुनै पनि समाचार सम्पादन गर्दा रिपोर्टरलाई सम्पादनको समयमा मेरै छेउमा बसाउँथे, नत्र सम्पर्कमै रहन सुझाउँथे। कारण, नबुझिएका जार्गन बुझिने होस्।
रिपोर्टरले स्टोरी सम्पादनको कला त सिक्नुपर्छ नै आफ्नो स्टोरी कसरी प्ले हुन्छ भन्नेमा पनि ख्याल गर्नुपर्छ। कन्टेन्ट मात्रै राम्ररी लेख्न जानेर हुँदैन, त्यसको प्रस्तुति युनिक हुनैपर्छ।
अहिले हाम्रो अनलाइनको प्रस्तुति झुर छ। एउटा अनलाइनले ठूलो हेडलाइन राख्ने, तल फोटो राख्ने। यो शैली धेरैले कपी गरे। अहिले पनि नेपालका प्राय सबै अनलाइनको फर्म्याट एकै छ। जब की सामान्य खर्चमा फरक/फरक काम गर्न सकिन्छ।
ग्राफिक्समा अहिले पनि मिडियाले काम गर्न सकेका छैनन्। अनलाइनहरूको प्रस्तुति त झन् झुर छ, ग्राफिक्स नै छैन। जब की कतिपय काम एआईले गर्छ।
माध्यम अनुसार कन्टेन्टका काम कमजोर
प्राय मिडियाको युनिक सेलिङ पोइन्ट हुन्छ। कुनैको फिल्म समीक्षा, कुनैको लङ फर्मको स्टोरी, खोजी पत्रकारिता, फिचर स्टोरी आदि। हाम्रोमा केही अनलाइनले फरक प्रस्तुति गर्न खोजिरहेका छन्। तर अधिकांशको कन्टेन्टमा युनिक सेलिङ पोइन्ट भेटिन्न।
म बाह्रखरी अनलाइनमा काम गर्दा शनिबारको विशेष स्टोरीहरू दिएका थियौँ। यसले बाह्रखरीलाई अरुभन्दा एक्स्ट्रा बनाएको थियो।
मिडियाले आफूलाई परिवर्तन गर्न समय अनुसार प्याकेज स्टोरी दिनै पर्छ। मनोटोनस भयो भने काम गर्ने मान्छेलाई रमाइलो हुँदैन। समय अनुसार नयाँ-नयाँ काम गर्न सक्नुपर्छ।
ग्यालेक्सी फोरके टेलिभिजनमा हुँदा न्यूज डकुमेन्ट्री बनाउने भनेर काम गर्यौँ। 'नदेखेको नेपाल' नामक कार्यक्रम खुबै चर्चित पनि भएको थियो।
खासमा सञ्चारमाध्यम अनुसार समाचार फरक-फरक आउनुपर्ने हो। तर आउन सकेको छैन। प्रधानमन्त्रीको सामान्य भाषण, कुनै नेताको सामान्य भ्रमण सबै मिडियाले कभरेज किन गर्नुपर्छ? जसको भाषण विभिन्न माध्यमबाट आम मान्छेकोमा पुगेकै हुन्छ। उसले नयाँ कुरा केही पनि बोलेको छैन भने पनि त्यो सबै माध्यममा प्राथमकिताको साथ प्रकाशसन/प्रशारण हुन्छ।
यसमा परिवर्तन हुनुपर्ने होइन र? हाम्रो मिडियाले सामाजिक इश्युलाई अझै प्रमुख प्राथमिकताको साथ प्रकाशसन/प्रशारण गर्न जरुरी छ, न की सधैँ आउने अनुहारको उही पुरानो कानै खाने भाषण।
अर्को, प्रत्येक समाचार कक्षको समाचार नीति हुन जरुरी छ। प्रत्यक्ष कुनै पार्टीको भातृ संगठनमा लागेका पत्रकारलाई सकेसम्म समाचारकक्षमा ल्याउँदै नल्याउने हो। दाइ र कमरेड भनेर रिपोर्टिङ गर्नेले आलोचनात्मक लेख्नै सक्दैनन्। दाइ र कमरेड भनेर नातै जोडेका कारण हो आलोचनात्मक राजनीति समाचार आउन छाडेका।
हाम्रो मिडियाको अर्को गल्ती भनेको आरोप लागेका व्यक्तिलाई अपराधीलाई नै जसरी लेख्नु। यसो गर्न हुँदैन। कसैलाई लागेको आरोप, आरोपमा मात्रै सीमित भयो भने उसको बेइज्जतीको क्षतिपूर्ति कसले दिन्छ?
यहाँ फेरि कुनै सेलिब्रिटीको नलेख्ने भनेको हैन। सन्दीप लामिछाने र पल शाह- जो सार्वजनिक व्यक्ति भए, आफ्नो व्यक्तित्वको दुरुपयोग गरे। उनीहरूलाई जे आरोप लाग्यो उनीहरूको नामै नलेख्ने भनेको हैन। आम मान्छे र सार्वजनिक मान्छेमा फरक हुन्छ। आम मान्छेको नाम राख्दा उसको गोपनीयता जान्छ। फैसला भएपछि दोषी भए लेखे हुन्छ।
त्यस्तै समाचारको प्याकेजिङमा निकै चुकेका छौँ हामी। पीडित पक्ष, विज्ञहरू अनि सरोकार निकायलाई समेटेर सिरिजमा स्टोरी गर्नुपर्छ। केही मिडियाले त गरेका छन् तर पर्याप्त भएन।
काठमाडौं, त्यो पनि चक्रपथभित्रका समाचार मात्रै प्रमुख हुँदैनन्। जिल्ला-जिल्लाका समाचारको महत्व हेरेर प्रमुख समाचार बनाउन जरुरी छ। सबै मिडियाले एउटै फर्म्याटमा ह्वार्र समाचार प्रकाशन गर्ने काम भएको छ। यसले समाचारको प्रदुषण मात्र बढेको छ। अब माध्यम अनुसार समाचार दिने तरिकादेखि प्राथमिकता फरक हुन जरुरी छ।
काम गर्न सजिलो त छैन
नेपालमा प्रेस स्वतन्त्र छ, तर पत्रकार स्वतन्त्र छैनन्। आर्थिक भारले यति थिचिएका छन् की कुनै व्यवसायी घराना होस् या कुनै कम्पनीको आलोचना गरेर लेख्नै सक्दैनन्।
उदाहरणका लागि हाम्रा कुन चाहिँ मिडियाले गाडीबारे समाचार लेख्न सक्छन्? जुनसुकै कम्पनीको गाडी होस्, जेसुकै खराबी होस्, देखेको-नदेखे झैँ गर्छन्। किनभने यसैले खर्च टिकेको छ।
छापा सञ्चारमाध्यममा त झन् समस्या छ। अहिलेकै शैलीको कन्टेन्ट हुने हो भने छापाको औचित्य नै देखिँदैन। लङफर्मको फरक समाचार प्रकाशित गरे भने केही होला, नत्र चल्ने छाँटकाँट देख्दिन म।
विज्ञापन नभई आम्दानी हुँदैन, आम्दानी नभई मिडिया चल्दैन। लङफर्म स्टोरी अनि खोजमुलक समाचार लेख्न लगानी चाहिन्छ, लगानीको लागि विज्ञापन चाहियो।
अहिले मिडियामा जति पनि विज्ञापन आइरहेका छन्, त्यो सम्बन्धले र केही स्वार्थले आएका हुन्। विज्ञापन गर्ने माध्यम र शैली फेरिइसक्यो। कुनै पत्रिका अथवा अनलाइनमा विज्ञापन प्रकाशित गरेर उसको सामग्री बजारमा बिक्री हुन्छ भन्ने भ्रममा कुनै पनि व्यवसायी छैनन्। यसले अहिले मिडिया रेभेन्यु ट्रयापमा परेका छन्।
सरकारले विज्ञापन बोर्ड त राखेको छ तर त्यो पैसाले मोजा समेत लगाउन पुग्दैन। त्यसैले बहुसङ्ख्यक मिडिया कर्पोरेट छायाँमा परेका छन्। कम्पनीहरूले पनि आफ्ना समाचार डिफ्युज गराउन योजना बनाउँछन्। नेपालमा मात्रै हैन यो समस्या। संसारभरका मिडियामा यस्ता प्रस्तावहरू जान्छन् नै।
हाम्रा केही मिडिया केही प्रतिशत शेयर मागेर खुलमखुला बार्गेनिङ गर्ने नत्र ‘ठोक्ने’ भन्ने स्थितिमा पुगे। केही यस्ता दूषित मिडियाले मिडिया क्षेत्रलाई नै प्रदूषित गरिरहेका छन्। हो, काम गर्न साँच्चै गाह्रो छ। तर, नगरी पनि त सुख छैन।
हतारिएका रिपोर्टर, उत्तराधिकारी नबनाउने सम्पादक
केही मिडियाको भाषा त हेरि नसक्नु छन्। अशुद्ध त्यस्तै। सिक्न चाहने हो भने नसिकिने होइन। तर सुधार्न प्रयास नगरेपछि कसरी सिक्नु!
एउटा उदाहरण दिन्छु- म कारोबार दैनिकमा काम गर्थेँ। त्यहाँ एक जना भाइ रिपोर्टरका लागि आवेदन दिन आए। भाषा उस्तै झुर अनि शुद्धाशुद्धि उस्तै। मैले उनलाई १५ दिनभित्र सुधार गरेर आयौ भने राख्ने भनेपछि उनी १५ दिनपछि भाषा सुधारेर आए। पछि किताबसम्म सम्पादन गर्न सक्ने भए उनी।
रिपोर्टरमा नयाँ कुरा सिक्ने प्यासन अनि धैर्यता हुनुपर्छ भने सम्पादकमा सिकाउने जाँगर। यी दुवै कुरा समाचार कक्षमा भयो भने मिडिया हाउसले नसोचेको प्रगति गर्न सक्छ। तर, हाम्रा अधिकांश मिडियामा हतारिएका रिपोर्टर अनि उत्तराधिकारी नबनाउने सम्पादक भए।
पहिलेका सम्पादकहरूले आफूजस्तै पुस्ता जन्माए, तर अहिलेका सम्पादकले उत्तराधिकारी नै बनाएनन्। उनीहरूमा आफ्नो काममै चुनौती दिन्छ कि भन्ने डर लागेको जस्तो देखिन्छ।
कुनै सम्पादकले जागिर छाड्दा त्यही समाचार कक्षबाट अर्को सम्पादक ननिस्कनु भनेको उसले उत्तराधिकारी नबनाएको हो। बहालवाला सम्पादकले आफूपछि सम्पादक हुनेगरि जुनियरलाई ग्रुम नै गरेनन्। जसले गर्दा कन्टेन्ट गेट किपिङ र साजसज्जामा योजना बनाएर मिडिया चलेका छैनन् भन्ने देखाउँछ। रिपोर्टरलाई हतार हुने, सम्पादकले नसिकाउने अनि कसरी काम हुन्छ?
एक पटक पत्रकार भएपछि आजीवन पत्रकारिता गरे पनि नगरे पनि पत्रकार भन्न मन लाग्ने। रिपोर्टिङ पनि नगर्ने, समाचार सम्पादन पनि नगर्ने, पत्रकार पनि भनिराख्नुपर्ने भन्नु चाहिँ लाजकै कुरा हो। सिक्ने हुटहुटी नहुने अनि सिकाउन जाँगर नहुने हो भने करियर सिफ्ट गर्ने बेला भयो भनेर बुझ्न जरुरी छ।
धेरै गर्न सकिने तर फरक तरिकाले काम गर्न बाँकी क्षेत्र भनेको मल्टिमिडिया हो। मल्टिमिडियामा केही मिडियाले काम त गरेका छन् तर प्रभाव निकै कम परेको छ।
आज भन्दा ५/७ वर्षअघि नै मल्टिमिडियामा केन्द्रित हुनुपर्दथ्यो हाम्रो मिडिया। तर, परम्परागत मात्रै काम गर्दा आज वाक स्वतन्त्रताको नाउँमा जताततै वाक्दै हिँड्ने काम भयो। केही माध्यम सोहोर्नै नसक्ने गरी वाकिरहेका छन्। पत्रकारहरू आचारसंहिता भित्र बस्दैनन् भन्ने भएको छ। आचारसंहिता पालना नगर्नेले कन्टेन्ट डेभलपमेन्ट गरेपछि समाजमा विग्रह ल्याउँछ।
शुरूमै भनेँ नि! मलाई एआईको दुरुपयोगले समाजमा विग्रह ल्याउँछ जस्तो लाग्छ। दुरुपयोग बढ्दै गएको छ। एआई दुरुपयोगबाट फैलिएका मिस इन्फरमेशन, डिस इन्फरमेशन कसरी पहिचान गर्ने, कसरी घटाउने भन्नेमा पनि मिडियाले काम गर्नुपर्छ। अन्य फेक समाचारमा पनि हामीले सत्य के हो लेख्नुपर्छ।
अहिले हाम्रोमै माइसंसार ब्लगले मूलधारको मिडियाले लेखेको समाचारबारे फ्याक्ट चेक गरेर ब्लग प्रकाशित गरिरहेको छ। एउटा व्यक्तिले गर्न सक्ने कुरा हामी टिम नै भएकाले गर्न नसक्ने भन्ने हुँदैन।
मिस इनफर्मेशन, डिस इनफर्मेशनबारे काम गर्न ढिला गर्नु हुँदैन नत्र अहिलेसम्म कायम रहेको केही विश्वास पनि गुम्छ। टिममा काम गर्ने हो भने सकिन्छ पनि।
नयाँ गर्न सकिन्छ
अन्त्यमा, पत्रकारले प्रश्न गर्ने हो। प्रश्न भएन भने पत्रकार भइँदैन। म मिडियामा आबद्ध हुँदा एउटा योजना बनाएको थिएँ। २५ शीर्ष भनिएका नेताको रिपोर्ट कार्ड बनाउने। उनीहरूको सम्पत्ति, सिद्धान्तदेखि सबै क्षेत्रको। केहीको आउटलाइन समेत बनेको थियो। कसैले अकस्मात् आर्थिक सुधार गर्छ भने ‘किन?’ भनेर सोच्नुपर्छ।
कुनै नेता, जो हाम्रै करले नीति बनाउने काम गर्छन् तर, खर्च हेर्यो भने अस्वाभाविक देखिन्छ। यस्तो भयो भने शंका गर्नुपर्छ। त्यसैले पत्रकारमा प्रश्न हुन जरुरी छ। प्रश्न बिना योजना बन्दैन। नाम, दाम र कामको भोक हुन जरुरी छ। दाम सीपअनुसार कमाउने हो भन्ने बिर्सनु हुँदैन। पत्रकारले आचारसंहितामा बसेर काम गर्ने र आफूलाई तिखार्दै लैजाने हो भने तीनै कुरा प्राप्त गर्न गाह्रो पनि छैन।
(युगबोध दैनिक, नेपाल एफएम, नेपाली पत्र, कारोबार दैनिक, बाह्रखरी अनि ग्यालेक्सी फोरकेमा काम गरेका बञ्जाडे अहिले मिडियाको कन्टेन्ट एनलाइसिस गर्छन्। उनीसँग नेपाली मिडियाबारे प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला :
माघ ८, २०८१ मंगलबार १३:४३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।