चौथो अंग : विभेद भोगेका वर्गबारे नेपाली मिडियाले काम गर्नै बाँकी छ

चौथो अंग : विभेद भोगेका वर्गबारे नेपाली मिडियाले काम गर्नै बाँकी छ

शक्तिमा भएकाले कुनै घटना कसरी लुकाउँछन्, त्यहाँबाट शुरू गरौँ। घटना २७ वर्षअघिको हो। दोलखाको दुर्गम ठाउँमा माओवादी परिवार भएकैले २०५४ कात्तिक ११  मा देवी खड्कालाई नेपाल प्रहरीले गिरफ्तार गर्यो। प्रहरी हिरासतमा रहँदा डीएसपी सहितका प्रहरीहरूले उनलाई सामूहिक बलात्कार गरे। चरम यातना दिए, २८ दिन त बेपत्ता नै बनाए। उनलाई तीन जिल्लाको हिरासतमा पुर्याइयो।

माओवादी पक्षले राज्य पक्षले गरेको दुर्व्यवहारको घटना नाम र तस्बिर सहित सार्वजनिक गरिदियो। कतिले त यो घटना भएकै हैन, माओवादीले सरकारको विरोध गर्नलाई पात्र खडा गरेको समेत भने।

घटना घटेको २३ वर्ष अनि माओवादी शान्ति प्रक्रियामा आएको १४ वर्षपछि देवी आफैंले यो घटना बाहिर ल्याइन्। युद्धताका माओवादीले ‘फेक’ क्यारेक्टरको रूपमा चित्रित गरेकी पात्रले जब युद्धका बेला यौन हिंसा तथा बलात्कारमा परेका महिलाहरूको लागि आवाज उठाइन् सबै छक्कै परे।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा बलात्कारको कुरा उठेकै थिएन। उनी लगायतका समूहको निरन्तर दबाबले द्वन्द्वकालमा महिलामाथि भएको यौन हिंसा पनि समावेश भयो।

यो घटनालाई मैले सूक्ष्म तरिकाले हेरिरहेको थिएँ। डकुमेन्ट्रीमा काम गर्ने गरेकाले योबारे डकुमेन्ट्री बनाउनुपर्छ भन्ने लाग्यो। मैले नगरे कसले गर्छ त भन्ने पनि महसुस भयो। देवीजीलाई अनुरोध गरेँ। शुरूवातमा मान्नु भएन। तर, पछि उहाँ कन्भिन्स्ड हुनुभयो।

द्वन्द्वका बेला पत्रकारले रिपोर्टिङ गर्दा होस् वा शान्ति प्रक्रियामा आएपछि नै किन नहोस्, राज्य र पत्रकारिता क्षेत्र दुवैले सतहमा आएका द्वन्द्वकालीन घटनाबारे मात्रै कुरा गरे।

कुनै पनि विपत्तिका बेला, चाहे त्यो प्राकृतिक विपद् होस् वा मानव सिर्जित, यस्तो अवस्थामा महिलाहरूमाथि दोहोरो हिंसा हुन्छ। यो बारे खासै रिपोर्टिङ भएको थिएन। जब मैले योबारे सुनेँ अनि काम गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि नै हो ‘देवी’ डकुमेन्ट्री बनेको।

भन्न खोजेको के भने, सतहमा देखिने घटना मात्रै होइन, सतहमा नदेखिएको अनि मान्छेले भोगिरहेको हिंसाबारे पनि पत्रकारले लेख्नुपर्छ।

हुन त हाम्रोमा महिलाले भोगेको दु:ख हिंसा महिलाले बाहेक कसैले बुझ्दैन। अझ भनौँ बुझ्न खोजिँदैन। पहिलाको तुलनामा समय केही फेरिए पनि शक्तिमा रहेकाहरूले महिलालाई दोस्रो दर्जाकै रूपमा हेर्छन्।

यसो भन्दैगर्दा यो पनि नबिर्सौं कि, मिडिया पनि शक्ति नै हो। पहिले भन्दा हाम्रो मिडिया परिवर्तन हुँदै त गएको छ। तर, महिलाका इश्युलाई गहिरो गरी उठाइएको छैन अझै।

नेपालमा रिपोर्टिङको अवसरै अवसर
कान्तिपुर रेडियो खुलेपछि हो म मिडियामा जोडिएको। त्यतिबेला सिंहदरबारमा नै कार्यक्रम चलाउन जान पाइन्थ्यो।  त्यहाँ धेरै समय काम गरिन। हाइस्कुल पढ्न अमेरिका गएँ। अमेरिकाबाट फर्केपछि भारतको मुम्बईमा पढेँ। त्यहाँ सोसल वर्क र पत्रकारिता सँगै पढि भ्याएँ।

भारतमै छँदा बम्बैको कोठीमा प्राध्यापकको अनुसन्धानको लागि जानुपर्ने भयो। त्यहाँ नेपाली महिलाहरू टन्नै थिए। उनीहरूको व्यथा सुनेर त म अवाक् भए। २० वर्ष नकटेका युवतीले पाँचपटक गर्भपतन गराएको घटना सुनेँ। एचआईभी एड्स भएर बिरामी भएका महिलाहरू पनि थिए।

यो घटना आफ्नै आँखाले देखेपछि सामाजिक विषयमा किन लेख्न जरुरी छ भन्ने बुझेँ। अनि सोसल इश्यु नै उठाउन थालेँ। ‘काठमाण्डु पोष्ट’मा एक वर्ष काम गरेँ। दी गार्जियन, न्युयोर्क टाइम्स अनि टाइम्स अफ इण्डियामा बाइलाइन आयो।

तर, विशेष गरी म न्युज डकुमेन्ट्रीमा नै केन्द्रीत भएँ। जहिले पनि अरुले नगरेको काम गरौँ भन्ने हुटहुटीले सताइरह्यो। केही वर्षअघि म्यानमारमा सामुद्रिक आँधीले हजारौंको ज्यान गयो। समयमै सूचना नपुग्दा धेरै गाउँलेले ज्यान गुमाएका थिए। त्यहाँ अन्तर्राष्ट्रिय पत्रकारलाई जान दिइएको थिएन। म आफ्नो परिचय लुकाएर जाने भएँ।

त्यहीको साथीसँग बाइकको पछि बस्ने अनि रिपोर्टिङ गर्ने। म्यानमारीकै जस्तो फेस देखिने हुनाले मलाई अप्ठ्यारो भएन। त्यहाँ लाश सुकेका थिए। दुर्गन्धित थियो। माछाले खाइहाल्छ भनेर सरकारले शव व्यवस्थापन गरेको थिएन। अवस्था निकै भयावह थियो।

शुरूमा डकुमेन्ट्री बनाउने भनेर गए तापनि समाचारको लागि पनि काम गरेँ। यहिँबाट ग्लोबल रिपोर्टर बन्ने सोच आएको थियो। तर, म सामाजिक विषयमा नै केन्द्रीत भएँ।

पत्रकारले जोखिम मोल्न अनि नयाँ-नयाँ स्टोरीको एंगल सोच्नुपर्छ भन्ने लाग्छ। आफूलाई जति फराकिलो बनायो उति नै हो स्टोरी गर्न सकिने। सानो घेराभन्दा बाहिर निस्केर रिपोर्टिङ गर्न जरुरी छ। कम्फर्ट जोनबाट बाहिर निस्केपछि मात्र एक्स्ट्रा काम गर्न सकिन्छ।

समाचारकक्ष मिडियाको लागि अपरिहार्य हुँदै हो। तर, समाजमा नभिजी सत्तालाई प्रतिपक्षीको रूपमा हेर्न सकिँदैन। त्यसैले होला मलाई समाचारकक्षमा बस्न एकदमै सकस हुन्छ। समाजसँग भिज्ने, फरक-फरक काम गर्न मन लाग्ने भएर नै डकुमेन्ट्रीमा हात हालेको हो।

नेपालमा रिपोर्टिङ गर्न सकिने विषय धेरै छन्। नेपाली मिडियाले गरि रहेका पनि छन्। म मिडियामा भर्खर काम गर्ने बेला र अहिले धेरै फरक भएको छ। तर पनि सन्तुष्ट भएर बस्ने अवस्था भने छैन।

अझ पनि सत्ताको नजर होइन, आम मान्छेको नजरबाट समाजलाई हेर्न जरुरी छ। त्यो रुपमा हेर्ने हो भने नेपाल समाचारको लागि उर्वर भूमि हो।

विभेदको जरामा पुग्न नसकेको मिडिया 
नेपाली मिडियाले गर्नुपर्ने काम धेरै छन्। पहिलो त हामी विभेदको जरामा पुग्न सकेका छैनौँ। नेपालको संविधानमा महिलालाई दोस्रो दर्जाको रूपमा राखेको छ। छोराले विदेशी विवाह गरेर नेपाल बस्दा तिनका सन्तानले वंशजको नागरिकता पाउने अनि छोरीले विदेशी विवाह गरेर नेपालमै बस्दा तिनका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ।

एउटै कोखका सन्तानले एउटै काम गर्दा राज्यले जसरी विभेद गरेको छ यो महिलालाई दोस्रो दर्जा ठानेको हो। कुनै विदेशी पुरुषसँग विवाह गरे पनि नेपाल फर्केपछि देशभक्ति नहुने अनि माइत आको हुने? देशकै प्रधानमन्त्री भइसकेकाले माइत आएकी भनेर अन्डरस्टिमेट गर्ने गरेका छन्।

महिलाको देशभक्तिलाई नेपाली राज्यले किन शंकाको दृष्टिले हेर्छ? सम्पत्तिमाथिको अधिकारदेखि संरचनागत विभेद भोगेका वर्गबारे नेपाली मिडियाले अझ धेरै काम गर्न बाँकी नै छ।

जो दलित भएकैले दोहोरो हिंसा भोगेर आएको छ, सिमान्तकृत समुदाय यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायले संरचनागत विभेद भोगेका छन्। अझै पनि यी समुदायबारे गहिराइमा पुगेर रिपोर्टिङ गर्न बाँकी नै छ।

मधेशको जातप्रथा काठमाडौं बस्ने रिपोर्टरले बुझ्दैन। सुदूरपश्चिमको छाउपडी प्रथा पुरुषले बुझ्दैनन्। आज पनि महिनावारी भएको बेला छोइछिटो गर्ने अनि जातको आधारमा विभेद भइरहेकै छ। तर यस्ता विषयमा जरैमा पुगेर लेख्न बाँकी नै छ।

पत्रकारिता गरिरहेकाले संरचनागत विभेद बुझ्न दलितको स्टोरी सुन्नुपर्छ, लेख्नुपर्छ। महिलाको स्टोरी सुन्नुपर्छ अनि विभेदमा परेको समुदायलाई महसुस गर्न सक्नुपर्छ। नत्र सतहमा विभेद छ भनेर त लेखिन्छ तर के विभेद भनेर बुझिँदैन।

व्यक्तिगत रूपमा म न्युयोर्क टाइम्स, दी गार्जियन , वासिङ्टन पोष्ट फलो गर्छु।  इतिहास नबुझी समाजको संरचना बुझिन्न। पत्रकारले इतिहास बुझ्न जरुरी छ।

नेपालमा मैले काम शुरू गर्दा र अहिले धेरै फरक पाएँ। सम्पादकहरू पहिलेको तुलानामा महिलाका मुद्दालाई सुन्न थालेका छन्। महिलामाथि भएका हिंसाको समाचार बन्न थालेका छन्। दलितमाथि भएको विभेद अमानवीय हो भन्ने धारणा बन्दै गएको छ। तर मिडियाले अझै पनि पर्याप्त काम गर्न सकेको भने छैन।

तर, दक्षिण एसियामा नेपालमा सरकारको आलोचना हुन्छ। अन्त बिरलै हुन्छ यस्तो। तै पनि हामीले धेरै राम्रो गर्न सक्थ्यौँ तर गरिरहेका छैनौँ। नेपाली मिडियाले जरैमा पुगेर काम गरे भविष्य उज्वल छ। समाचारमा लगानी भए यी कामहरू गर्न गाह्रो पनि हैन।

दैनिक हुने घटनाहरू उठिरहन्छन्, त्यसको पनि समाचार लेख्ने हो। त्योसँगै समाजमा जरा गाडेर बसेका विभेदबारे समाचार लेखिनुपर्छ अब। छुवाछुत प्रथा लैंगिक विभेदलाई जरैमा पुग्ने गरी नेपाली मिडियाले लेख्न जरुरी छ।

(न्युयोर्क टाइम्स, दी गार्जियन, बाइलाइन अनि अल्जाजिरामा काम गरेकी श्रेष्ठ अहिले ‘देवी’ डकुमेन्ट्री लिएर आएकी छन्। उनैसँग प्रजु पन्तले ‘नेपाली मिडियाले उठाउनुपर्ने इश्यु’मा आधारित रहेर गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला :

मंसिर ११, २०८१ मंगलबार १२:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।