चौथो अंग : सम्पादकहरूले काठमाडौं सांस्कृतिक राजधानी हो भन्ने बुझ्नै चाहेनन्, रिपोर्टरले जे मन लाग्यो त्यही लेखिदिन्छन्

चौथो अंग : सम्पादकहरूले काठमाडौं सांस्कृतिक राजधानी हो भन्ने बुझ्नै चाहेनन्, रिपोर्टरले जे मन लाग्यो त्यही लेखिदिन्छन्

केही दिनअघि इन्द्र जात्रा मनाइयो। मूलधारकै मिडियामा राष्ट्र प्रमुखलाई कुमारीले टीका लगाइदिन्छिन् र खड्ग साट्छिन् भनेको समाचार प्रकाशित भएको थियो। के बुझेर लेखेको होला भन्दै दिक्क लाग्यो।

खास खड्ग साट्ने कुमारीले हैन भैरवले हो नि। अब भैरवले साट्ने खड्ग कुमारीले साट्ने लेखिदिएपछि बर्बाद भएन !  सबै पक्षबारे जानकारी नभएका पाठकहरुका हकमा त उनीहरुले थाहा पाउँदैनन्। तर जो संस्कृतीसँग जोडिएका हुन्छन् उनीहरुलाई त कुमारीसँग साट्ने कि भैरवसँग भन्ने थाहा हुन्छ। जब उनीहरुले त्यो समाचार पढ्छन् त्यो लेख्ने अनि छाप्ने मिडियाप्रति उनीहरुको दृष्टिकोण कस्तो बन्छ? 

संस्कृति रिपोर्टिङ गर्नेले कहिले पनि इन्द्र जात्राको मूल दिन पूर्णिमाको दिन बिदा नदिएर सरकारले किन अघिल्लो दिन बिदा दिन्छ भनेर खोजेको समेत पाइँदैन। खास इन्द्रजात्राको मुख्य दिन त पूर्णिमा हो।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेको भएर त्यो दिन बिदा दिइयो। विजयको उत्सव पो भयो इन्द्र जात्रा। खास इन्द्र जात्रा मनाउनुको कारण इन्द्रलाई स्वर्गको भगवान मानेर, राजा मानेर र पानी पारिदिने भएर हो। कोही विजयी भएर हैन। 

जात्रामा महिलाका फोहोहरु आउन थालेका त छन्, तर सांस्कृतीक पक्षको कमै फोटो स्टोरी आउँछन्। महिलाको तस्बिर खिच्नै हुन्न भनेको हैन। तर इन्द्र जात्राको शुरुको दिनदेखि अन्त्यसम्मको फोटो खिच्ने हो भने राम्रो फोटो स्टोरी आउने थियो। तर यति महत्वको जात्राको पनि न राम्रो रिपोर्टिङ भएको छ, न त राम्रो फोटो/भिडियो स्टोरी नै आउँछ।

यो एक उदाहरण मात्र दिएको  हो। यति महत्वको जात्राको मिडिया कभरेजको अवस्था त यस्तो छ भने अन्यको कस्तो होला?  

अर्काे कुरा १२ वर्षमा भद्रकाली मन्दिरमा पूजा हुन्छ, त्यतिबेला राजासँग भैरवले खड्ग साट्ने चलन छ। अघिल्लो पटक रामवरण यादव राष्ट्रपति हुँदा राजासँग साट्ने खड्ग राष्ट्रपतिसँग नसाट्ने भनेर साट्न मानेनन्। खड्ग साट्नेले जात, लिङ्ग हेरेको देखियो। जात्रा अनि परम्परामा केही पुरातन सोचाइ नभएको होइन। तर यस्ता विषयले मिडियामा स्थानै पाउँदैन। 

डाक्टरको भेषमा अस्पतालमा गणेशमान सिंहसँग भेट
एसएलसी दिएपछि नै हो मैले पत्रकारिता सुरू गरेको। सुरूवातमा त म कम्पोजिटर थिएँ। नेपाल भाषाकै पत्रिकामा काम गरेँ। कम्पोजिटर हुँदै लेख्न पो थालियो। ‘इनाप’ साप्ताहिकमा काम गरियो। त्यहाँ काम गर्दा मैले धेरै सिक्न पाएँ।

पछि ‘विश्व दैनिक’मा काम गरेँ। त्यहाँ म सम्पादक नै भएँ। सानै थियो उमेर। सम्पादक को हुनुहुन्छ भनेर सोध्दै आउँथे केही व्यक्तिहरू। मैले बाहिर जानुभएको छ भनिदिन्थे। २०४६ सालको आन्दोलन ताका विश्वभूमि दैनिकमा काम गरियो। ४ पेजको थियो पत्रिका।

नेपाल भाषामा नै छापिन्थ्यो समाचार। बहुदलको लागि सबै राजनीतिक दल आन्दोलनमा होमिएको समय थियो। त्यतिबेला राजाले आन्दोलन साम्य होस् भन्न तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई बनाएका थिए।

त्यसपछि आन्दोलन कता जान्छ भनेर आन्दोलनका कमाण्डर गणेशमान सिंहसँग ‘कोट’ लिनुपर्ने भो। सम्पादकले त्यो काम हामीलाई अह्राउनुभयो। गणेशमान सिंह प्रहरीको उच्च निगरानीमा वीर अस्पताल हुनुहुन्थ्यो। एकजना नर्सलाई भेटेर गणेशमान सिंहसँग भेट्नुपर्ने कुरा बताएँ। त्यहाँ नर्सहरूको पनि आन्दोलन चलिरहेको थियो।

ती नर्सले मलाई पूरै डाक्टरको भेषमा जान र ५/७ मिनेटमा कुरा सक्न भनिन्। म डाक्टरको भेषमा गणेशमान सिंह बसेको क्याबिनमा गएँ। बाहिर प्रहरी थिए। मसँग नर्सहरू पनि थिए। नर्सहरूले इन्टर्नको डाक्टर हो भन्दै भित्र छिराएका थिए। 

मिथक अनुसार कुमारीको अपमान गर्नेले रगत छाँदेर मर्छन् भन्थे। विद्या भण्डारीले ब्लड क्यान्सर भएर उपचार गर्न जानुअघि विशेष पूजा गराउनुभएको थियो। सायद उहाँलाई बेक्कारमा बोलिएछ भन्ने भएछ।

मैले गणेशमान सिंहलाई पत्रकार भएको जानकारी दिए अनि राजाको कदमलाई कसरी हेर्नुभएको छ भनेर कुराकानी सुरू गरेँ। कुराकानी सकेर बाहिरिएर अफिस पुगेँ।

नेपाल भाषामा त्यतिबेला असनमा मात्रै १ सय जना ग्राहक हुन्थे। अहिले नेपाल भाषामा पत्रिकाहरू त छापिन्छ तर पहिलेको जस्तो चार्म छैन। गोरखापत्रले ३९ वटा भाषामा विभिन्न दिन बिराएर समाचार त लेख्छ तर त्यो पनि पूर्ण छैन।

लोप भइसकेका भाषालाई त यसले फाइदा गरेको छ। तर, सुरूवातमा यो अवधारणा थिएन। गोरखापत्रबाटै म्यागेजिन जसरी नेपाल भाषामा निकालौँ भन्ने प्रस्ताव पनि लगेको थिएँ तर पूरा हुन सकेन।

नेपाल बहुभाषी, बहु सांस्कृतिक मुलुक हो। लिपि जोगाउनकै लागि भए पनि विभिन्न भाषामा समाचार प्रकाशित हुनु। कुनै भाषा बाहुल्यता भएको क्षेत्रमा पाठ्यक्रम राखिनु राम्रो हो। केही स्थानीयले लिपि देवनागरी भए पनि अन्य भाषाका पुस्तकहरू पाठ्यक्रम समावेश गरेका छन्। यो राम्रो सुरूवात हो।

पछि कसैले इतिहास सम्बन्धी अध्ययन गर्न चाह्यो भने त्यो भाषाले सहयोग नै गर्छ। कला, साहित्य तथा संस्कृतिको रिर्पार्टिङ गर्न पनि सामान्य भाषाको ज्ञान भए राम्रो।

सम्पादकले काठमाडौंको संस्कृति बुझेनन्
नेपाल पत्रकार महासंघको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै पत्रकार काठमाडौंका नै छन्। तर, उपत्यकाकै रैथाने पत्रकार खोज्ने हो भने निकै थोरै। त्यसमा पनि संस्कृति सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार त झन् दुर्लभै छन्।

काठमाडौं राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रको केन्द्र त हुँदै हो, सँगै सांस्कृतिक राजधानी पनि हो। टोलै पिच्छे साना ठुला मन्दिर, चैत्य, गुम्बा, बिहार छन्। नेवार जातिको बाहुल्यताका कारण नेवारहरूको जात्रा, चाड, पर्व, धर्म, संस्कृतिमा अझै विविधता भएको देख्न सकिन्छ।

काठमाडौं बसेर रिपोर्टिङ गर्नु र उपत्यकाबाहिर बसेर रिपोर्टिङ गर्नु फरक कुरा हो। जुन स्थानमा बसेर रिपोर्टिङ गरिन्छ त्यही स्थानको संस्कृतिमा त रिपोर्टर भिज्नैपर्छ। नत्र आउनुपर्ने सामाजिक समाचार आउँदैनन्। संस्कृति र भूगोल पत्रकारिताको लागि नभइ नहुने कुरा हुन् पनि।

काठमाडौंबाट निस्कने अधिकांश मिडियाका रिपोर्टरलाई असन इन्द्रचोक थाहा भए पनि त्यहीसँग जोडिएको भेडासिंह, बांगेमुढा, ट्यौडाबारे थाहा छैन। बांगेमुढामा घटेको घटना भए पनि असन इन्द्रचोक लेखिदिने गर्छन्। भूगोल फरक छ भनेर त बुझ्नुपर्यो नि रिपोर्टरले।

संस्कृतिको रिपोर्टिङ गर्दा जे पनि ‘जेनरलाइज्ड’ गर्ने चलन बढेको छ। उदाहरणका लागि दशैंमा नेपालीहरूले यसरी पूजा गर्छन् भनेर लेखिन्छ। जब की नेवार र आर्यहरूले गर्ने पूजा विधि नै फरक छ। ब्राह्मण क्षेत्रीले पूजा गर्दा सात्विक पूजा गर्छन् भने नेवारहरूले तामसिक।

हिन्दु नै भएता पनि आर्य हिन्दु र नेवार हिन्दुको विधि नै मिल्दैन। अर्काे मिडियाले जुन प्रथालाई पनि ‘जेनरलाइज्ड’ गर्ने समस्या देखिन्छ।
लाखेको आकार राक्षस जस्तो हुन्छ। लाखे भनेको राक्षस भनेर राखियो भने गलत अर्थ जान्छ। लाखेले भनेको ‘आजु’ हो। यसले नागरिकको रक्षा गर्ने हो। आजु भनेको श्वेत भैरव हो।

 

एक पटक मिडियामा पश्चिमको देउकी प्रथा जस्तै कुमारी प्रथा पनि उन्मूलन गर्नुपर्छ भनेर लेख आयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी प्रथाविरुद्ध बोल्नु पनि भयो। तर भगवानलाई चढाएको सबैले भोग गर्नुपर्छ भनेर दुर्व्यवहार गरेजस्तो होइन कुमारी प्रथा। कुमारीसँग त आँखासमेत जुधाउन हुँदैन भन्ने प्रचलन हो यहाँको। कुमारी देवी हुन्। देउकी या झुमा जस्तो हैन। 

कुमारीलाई भगवान मानेर पूजा गर्ने चलन हो। मिथक अनुसार कुमारीको अपमान गर्नेले रगत छाँदेर मर्छन् भन्थे। सायद कुमारी प्रथा विरुद्द बोलेको आभास भएर को कि विद्या भण्डारी ब्लड क्यान्सरको उपचार गर्न जानुअघि विशेष पूजा गराउनुभएको थियो। सायद उहाँलाई बेकारमा बोलिएछ भन्ने भएछ क्यार।

कुमारीको विपक्षमा बोल्दा क्यान्सर भएको भन्ने त हैन। तर धार्मिक मान्यता र आस्थाको विषय हो यो। उहाँले कुमारीको विपक्षमा बोल्नु भयो। कुमारीको अपमान गरे रगत छादेर मृत्यु हुन्छ भन्ने मान्यता अहिले बनेको हैन। निकै पुरानो हो।

उहाँलाई क्यान्सर पनि रगतकै भयो। संयोग हुनसक्छ। तर उहाँको मनमा मैले त्यस्तो बोलेर पो हो कि भन्ने लागेर नै त पछि विशेष पुजाको सामाग्री पठाउनु भएको होला !

शहर भौतिक विकासले मात्रै होइन, त्यहाँको सम्पदाले पनि विकास हुने हो। काठमाडौं उपत्यका सम्पदाले धनी देखिन्छ। सम्पदा काठमाडौँको सम्पत्ती हो।

संस्कृतिमा गहिरो भावना जोडिएको हुन्छ, यसमा दुख्यो भने राम्रो हुँदैन। त्यसैले संस्कृतीबारे लेख्दा या बोल्दा यसको सबै पक्ष बुझेर बोल्दा वा लेख्दा नै राम्रो हुन्छ। 

अर्काे, हाम्रोमा धर्म संस्कृति फरक–फरक हो भन्ने बुझाइ पनि कमजोर देखिन्छ। उदाहरणका लागि नेवार समुदायमा हिन्दु र बौद्ध दुई धर्मलम्बी छन्। बौद्ध धर्म तामाङ र नेवारबीच केही मिल्दैन। जसरी सबै हिन्दु एकै होइनन्, त्यसरी नै बौद्ध धर्म मान्ने सबैको प्रचलन पनि एकै हुँदैन।

तर हिन्दु​​​​​​​ संस्कार होस् या बौद्ध धर्मबारे होस् सोलोडोले लेख्ने प्रचलन छ। यसरी जे कुरा पनि सोलोडोलो दिँदा एक पक्षको संस्कार र संस्कृती मारमा पर्छ। 

अर्को संस्कृती, प्रथा अनि धर्म फरक हो। नेवार समुदायमा हिन्दू र बौद्ध धर्म मान्ने दुबै छन्। तर संस्कृति भने एकै हो। दुबै समुहमा गुथीको नियम छ र मान्छन्। पितृहरूलाई सम्झने श्राद्ध गर्छन्, जात्रा पर्वहरू सँगै मनाउँछन्। यसरी हेर्दा संस्कृति र धर्म एकै हैन फरक छन्। 

मिडियाले बुझ्नुपर्ने कुरा
संस्कृतिको रिपोर्टिङ गर्दा भावना जोडिएको हुन्छ भनेर पत्रकारहरुले अब बुझ्नै पर्छ। समयअनुसार संस्कृति परिर्वतन हुँदै जान्छन्। त्यो त बुझ्नुपर्यो नि।

जसले लेख्ने हो नि उनीहरुले कुन जातको कुन प्रथा, कुन संस्कृति अनि कस्तो भनेर बुझ्न जरुरी छ। सकेसम्म संस्कृतिको विषयमा रिपोर्टिङ गर्दा त्यहीँको स्थानीय रिर्पार्टरलाई दिँदा राम्रो हुन्छ। अन्यत्रबाट आएकाहरुले गर्न हुन्न या गर्न सक्दैनन् भन्ने मेरो दृष्टिकोण हैन। 

स्थानीय नै भएको अवस्थामा संस्कार, संस्कृती र प्रथा मिसिदैन। भ्रामक र गलत सामाग्री कम प्रकाशित हुन्छन्।  सूचनाको स्रोतको संख्या धेरै हुन्छ। अनि अर्को पर्व, परम्परा अनि संस्कृतीमा मिडिया कमै चुक्छ। 

तर अधिकांश रिपोर्टिङ चुकेकै देखिन्छ संस्कृतीबारे। ​​​​​​​लाखेको आकार राक्षस जस्तो हुन्छ। तर लाखे भनेको राक्षस हो भनेर लेखियो भने गलत हो। लाखे भनेको ‘आजु’ हो। यसले नागरिकको रक्षा गर्ने हो। आजु भनेको श्वेत भैरव हो, राक्षस हैन। 

लाखे नाच्नेले मुख बारेर सम्बन्धित मन्दिर गई त्यहि रूप धारण गरेर आएका हुन्छन्। जब नाच सकिन्छ अनि फेरि मन्दिरमा गएर त्यो शक्ति फिर्ता गर्छन्। यति त बुझ्नु पर्यो नि संस्कृतीबारे रिपोर्टिङ गर्ने पत्रकारले।

(नेपाल भाषा टाइम्सका सम्पादक किरणसँग उकेराको चौथो अंग कोलमका लागि ‘नेपाली पत्रकारितामा संस्कृतिको रिपोर्टिङ’ शिर्षकमा प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला 

असोज २३, २०८० मंगलबार १५:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।