चौथो अंग : दिल्लीमा बसेर रिपोर्टिङ गर्दा भारतीय प्रशासनले कहाँ-कहाँ जान्छन् बुझ्न गुप्तचर खटाउँथे

चौथो अंग : दिल्लीमा बसेर रिपोर्टिङ गर्दा भारतीय प्रशासनले कहाँ-कहाँ जान्छन् बुझ्न गुप्तचर खटाउँथे

२०२० सालतिर राजा महेन्द्र भारत भ्रमणमा गएका थिए। अल इण्डिया रेडियोको नेपाल युनिटले यसलाई राम्रोसँग कभर गरेको थियो। सम्माननिय अतिथिका रूपमा राजा महेन्द्र बस्ने व्यवस्था राष्ट्रपति भवनमा गरिएको थियो। समाचारवाचकले ‘श्री ५ महेन्द्र राष्ट्रपति भवनमा राज गरिबक्सेको छु’ भनि वाचन गरे।

नेपाली भाषाको ज्ञान भएका भारतीय त्यहाँ थिएनन्। हिन्दी भाषी अधिकारीले आपत्तिजनक शब्द ठानेछन्। ‘नेपालका राजा भारतको राष्ट्रपति निवासमा कसरी राज्य गरेर बस्न सक्छ’ भनेर हाम्रो युनिटलाइ झपारे। शीर्ष अधिकारीले उनीहरूकै कार्यकक्षमा हामीलाई बोलाएका थिए। ‘शाही परिवारको लागि नेपालमा यस्तै भाषा प्रयोग गरिन्छ। यसको अर्थ राज्य गरेर बस्नु भनेको होइन’ भन्दा पनि उनीहरू टसको मस भएनन्।

समाचारवाचक गणेश नरसिंह राणालाई लिखित माफी माग्न भनियो। उहाँले माफी नमाग्ने बरु राजीनामा दिने बताउनुभयो। रेडियोका शीर्ष अधिकारीले घटनाले राजनीतिक रूप लिने भयो भन्ने ठानेछन् क्यारे। राजाको भ्रमणभर राणाले समाचार नभन्ने सहमति भयो।

भारतमा काम गर्दा कतिपय शब्दले उनीहरूलाई बिझाउँथ्यो। चर्का-चर्कीकै रूप लिन्थ्यो। मलाई त्यतिबेला लाग्यो शब्दको शक्ति ठूलो छ।त्यसैले पत्रकारले शब्द खेलाउँदा गम्भीर भएर खेलाउनुपर्ने रहेछ। साथै आफू गलत नभए जागिर गए जाओस् झुक्न नहुने रहेछ। अहिले हामीले शब्द खेलाउँदा कति ख्याल गरेका छौँ यो नै महत्वपूर्ण कुरा हो।

नेपाली गीत बज्दा भारतीलाई तनाव
सन् १९५८ मा एसएलसी पास भएपछि कहाँ पढ्ने भन्ने भयो। मेरो काका हरिप्रसाद शर्मा नयाँ दिल्लीमा गोरखाली समाचारको समाचारवाचक हुनुहुन्थ्यो। उतै जाने कुरा भयो। म नयाँ दिल्ली पढ्न गएँ। भारतमै केही काम गर्न पाए हुन्थ्यो भन्ने त थियो नै तर भारतमै ४२ वर्ष काम गरौँला भन्ने चाहिँ थिएन।

सन् १९६२ मा अल इण्डिया रेडियोको नेपाल युनिटमा काम गर्ने भएँ। शुरूमा उनीहरूले मासिक करार दिए। काम गर्दै पढ्दै गरेँ केही वर्ष। विहान ४ बजे हिँडेपछि एकै पटक राती ११ बजे फर्कन्थेँ। काममा खुब खटेर बस्नुपर्दथ्यो।

सन् १९६२ ताका भारत-चीन युद्ध भयो। नेपाल युनिटमा नेपाली देश भक्त गीत बजिरहन्थ्यो। एउटा गीत ‘हामी हिमाली जनता’ भन्ने थियो। जहाँ, पेरिस र पेकिङ भन्ने शब्द थियो। यो गीत सुन्नासाथ उनीहरूले मलाइ प्रष्टिकरण सोधिहाले। मैले ‘यो गीत एकदमै प्रख्यात हो, त्यसैले बजाएको’ भनेँ। उनीहरूले ठाडो आदेश दिए- ‘अब यो गीत बज्दैन।’

नेपाली कार्यक्रम शुरू नहुँदासम्म नेपाली श्रोतामाझ गोर्खाली समाचार निकै लोकप्रिय थियो। अल इन्डियाले देशका २०/२२ क्षेत्रीय भाषामा समाचार प्रसारित गर्दथ्यो भने अन्य देशका युनिट पनि थियो। चीन, इण्डोनेसिया, इराक लगायतका युनिट थियो। अल इण्डिया रेडियोपछि मात्रै हो पब्लिक लिमिटेड भएको। पब्लिक लिमिटेड भएपछि आकाशवाणी भन्न थालियो।

सरकारी भएका कारण बाहिर देशका पत्रकारहरू राजनीतिक रूपमा नजिक भएको रुचाउँदैनथेँ। परिवार नै दिल्ली बस्न थालेपछि आफू काम गरेको संस्थाको नियम मान्नैपर्योा।

भुमिगत रहेका केही नेताहरुसँग भेट हुन्थ्यो तर भारतीय प्रशासनले हामी कहाँ जान्छौ भनेर बुझ्न हाम्रो पछाडि गुप्तचर खटाएका हुन्थे। त्यसैले मैले नेपाली भूमिगत नेताहरूको अन्तर्वार्ता भने लिइनँ।

मैले नभेट्नुको कारण के पनि हो भने विदेशी पत्रकारको परिवारको लागि आवास छुट्टै थियो। इण्डोनेशियाको परिवार बस्थ्यो। उनीहरूको पनि कार्यक्रम बज्थ्यो। उनीहरू हिन्दी खासै नबुझ्ने। उनीहरू दूतावास गएर त्यहाँ आउने पत्रिका हेरेर आउँथे। दूतावासबाट पनि कर्मचारी पनि आउँथे। त्यो रेडियोका अधिकारीले देखेछन्, त्यहाँ काम गर्ने दुई जनालाई नै दूतावास धाउने गरेको भनेर निकालिदिए।

भव्य रेडियो
आन्तरिक प्रसारणका लागि अल इन्डियाको प्रसारण भवनमा विभिन्न प्रभाग थियो। दिल्ली केन्द्र, विविध भारती केन्द्र, ट्रान्सक्रिप्सन सर्भिस, समाचार प्रभाग थिए। यी सबैका बेग्ला-बेग्लै निर्देशक, प्रशासकीय विभाग र स्टुडियो थिए।

समाचार स्टुडियोका अतिरिक्त वार्ता, गीतसङ्गीत र नाटक रेकर्ड गर्न बेग्ला-बेग्लै स्टुडियो हुन्थे भने अन्य एकांशका कार्यक्रमलाई पनि छुट्टै थिए। यस्ता स्टुडियो २३-२४ वटा थिए।

भेटवार्ता, वार्ता, सङ्गीत र नाटक रेकर्ड गर्न ३-४ वटा स्टुडियो छुट्टै छन्। बेलाबखत हिन्दी फिल्मी जगत्‌का नामुद अभिनेता- अभिनेत्री बलराज साहनी, हेमा मालिनी, बी. सरोजादेवी, जलाल आगा, जावेद अख्तर, हिन्दीका प्रख्यात साहित्यकार, अङ्ग्रेजीका नामुद लेखक, भारतीय क्रिकेट टिमका कप्तान पनि आउँथे।

हामीले नाटक, रूपक, बालकार्यक्रम, समाचारदर्शन, पत्रोत्तर कार्यक्रम र नेपाली अतिथिसँग भेटवार्ता गर्ने गर्दथ्यौँ। कार्यक्रम प्रसारणपछि पनि ड्युटी सकिँदैनथ्यो। भोलिको कार्यक्रम तयारी अघिल्लो दिनमै गर्नुपर्दथ्यो। वार्ता अनुवाद, पत्रोत्तर, बालकार्यक्रम, नाटक, रूपक तयार पार्ने वा लाइब्रेरीबाट रेकर्ड ल्याएर ठिक्क पारिराख्ने काम हुन्थे। ४२ वर्ष दिनचर्या यसरी नै बित्यो। सबै कार्यक्रमको लेखन, निर्देशन, रेकर्डिङ गरिन्थ्यो।

फुर्सदको बेलामा म पुस्तकहरू अनुवाद गर्ने र पढ्ने गर्दथे। रेडियोमा ठूलो पुस्ताकालय थियो। मलाई के लाग्छ भने पत्रकारलाई आफ्नो देशको इतिहास छिमेकी देशको इतिहास सामान्य भए पनि कुटनीति अनि साहित्य दर्शन जस्ता कुरा जान्न जरुरी छ। मैले पत्रकारिता छाडेकै २० वर्ष भयो तर मैले लेख्न पढ्न छोडेको छैन। शरीरले साथ दिउन्जेल पढिरहनु र लेखिरहनु पत्रकारको धर्म हो। पत्रकारले जागिर खान मात्रै लेख्ने होइन।

हुन त सत्ताले कसरी लिन्छ मिडियालाई भन्ने कुराले पनि मिडियाको भविष्य निर्धारण गर्छ। भारतमा भएका संकटकालको अनुभव गरियो। तर, स्वतन्त्रता राज्यले रोकेर रोकिन्न। पत्रकारले आफ्नो क्षमता बढाउने र सत्तालाइ निरन्तर प्रश्न गर्ने हो।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाइन्। उनका सचिवालयका मान्छेहरू समाचार कक्षमा आउँथे। नेपाली समाचार पनि सेन्सर भएर आउँथ्यो। त्यतिबेला भारतमा संकटकै अवस्था थियो। उनको हत्या भएसँगै संकटकाल हट्यो।

पञ्चायतकालमा नेपालमा पनि मिडिया सेन्सर थिए। एकपटक नेपाल टेलिभिजनमा काम गर्नेकी भन्ने कुरा पनि नभएको होइन। ४०कै दशकमा काम गर्ने कुरा भएको थियो। त्यसपछि किन भएन मलाइ थाहा भएन। आफ्नै देशमा काम गर्ने मौका पाइएको भए राम्रै हुन्थ्यो भन्ने मलाइ पनि लाग्छ।

पत्रकार भएर नै समाज बुझ्ने नयाँ तरिका थाहा पाएँ। जुनसुकै घटनालाई मिहीन ढङ्गले केलाउन अनि तटस्थ भएर विश्लेषण गर्न सिकियो।

मैले काम गर्दाका मिडिया र अहिले धेरै फरक भइसके। प्रविधिले धेरै फड्को मार्योे। रेडियो पहिले जति शक्तिशाली भएन।युग फेरियो, माध्यम फेरियो तर समाचारको महत्व घट्दैन। अहिले पनि म केही भारतीय च्यानल अनि अन्तर्वार्ता हेरिरहन्छु।

युट्युब शक्तिशाली भएर उदाएको छ। पहिले जस्तो सरकारले सेन्सर गर्न व्यक्ति नै नखटाए पनि गोदी मिडिया भन्ने गरिन्छ। पत्रकारले सत्ताको ताबेदारी नगर्ने हो। सत्ताले म्यानुपुलेट गर्न त खोजिहाल्छ नि!

अन्त्यमा म नेपाल बस्न थालेकै २० वर्ष भयो। नेपालका मिडियामा काम नगरे पनि नेपालका मिडियाले आफ्नै हिसाबले संघर्ष गरेका छन्। अझै अनुसन्धानमा अब्बल हुन जरुरी छ। भ्रष्टाचारदेखि दलहरूको विचारविहीनता मिडियाले चिर्न सक्नुपर्छ।

(४२ वर्ष भारतको अल इन्डिया रेडियोको नेपाली युनिटमा काम गरेका उपाध्यायसँग उकेराको कोलम चौथो अङ्गका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

जेठ ८, २०८१ मंगलबार १६:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।