चौथो अंग : पत्रकारको हतियार नै प्रश्न हो तर, हतियारै भुत्ते भयो

चौथो अंग : पत्रकारको हतियार नै प्रश्न हो तर, हतियारै भुत्ते भयो

बहुदल आएपछि इलाममा ‘सूत्रधार’ साप्ताहिक शुरू गरेका थियौं। ४८ सालमा त्यो पत्रिका १ हजार २ सय प्रति निस्कन्थ्यो। गाउँ-गाउँमा पत्रिका पुग्थ्यो। एक दिन ढिला भयो भने किन पत्रिका आएन भनेर सोधीखोजी हुन्थ्यो। इलाममा पठन संस्कृतिको जग पत्रिकाहरू नै बसालेको हो। गाउँ-गाउँमा पत्रिका पुर्याउनु सानो चुनौतीको समय थिएन त्यो बेला।

अहिले सञ्चारमाध्यमका साधनहरू बदलिए। परम्परागत मिडियालाई डिजिटल मिडियाले चुनौती दिएका छन्। चुनौती त दिए, तर के पठन संस्कृति बढ्यो त? पहिले केही नयाँ कुरा लेख्यो भने चोक-चोकमा बहस हुन्थ्यो, अहिले हुन्छ र? हेडलाइन मात्रै पढिरहेका छन् की भित्रैसम्म पढिरहेका छन् पाठकले?

इन्टरनेट सुविधा गाउँ-गाउँमा पुग्यो तर मूलधार मिडियाको प्रभाव गाउँ-गाउँमा पुग्यो कि पुगेनन्? पहिले मिडिया भनेको रेडियो, पत्रिका, टेलिभिजनलाई बुझ्थे। विश्वसनियता उस्तै थियो। पहुँच पुगे तापनि फेरिएको मिडिया साधनले विश्वास आर्जन गर्न सकेका छन् की छैनन्? मूलधारका मिडियाले बेलैमा सोच्नुपर्छ।

पत्रकार पार्टीको कार्यकर्ता हुने होइन
विद्यार्थी जीवनबाटै राजनीतिमा लागेको हो म। त्यस्तै २४ सालतिर हुनुपर्छ। एसएलसी दिएर दुई वर्ष पढेपछि मविरुद्ध पक्राउ पुर्जी जारी भयो २९ सालमा। प्रजातन्त्रको पक्षधर भएको नाताले म नेपाली कांग्रेसको कार्यकर्ता थिएँ। नेताहरूसँगको सल्लाहमा जेल नबस्ने भारत बस्ने सल्लाह भएपछि म भारत हानिएँ।

संगठन गर्दै पढ्ने काम धेरै गरियो। भारतमा संकटकाल लागेको थियो, प्रधानमन्त्री थिइन् इन्दिरा गान्धी। भारतमा ‘फ्यामीली प्लानिङ’को कुरा सरकारले लागू गर्न खोज्दै थियो। दुई सन्तान जन्माउने तेस्रो सन्तान जन्माउनेलाई कारबाही नै भनेको थियो। मलाई बडो खुलदुली लाग्यो अनि सम्पादकलाई चिठी लेखेँ- ‘दोस्रो पटक जुम्ल्याहा भए कसलाई कारबाही गर्ने?’ भनेर।

यो पत्र एक जना भारतीय, जो नेपाली कांग्रेसका नेताहरूसँग नजिक थिए, उनले पढेछन्। उनले तिम्रो अंग्रेजी राम्रो रहेछ भनेर बम्बइको ‘इन्सिच्यूट आफ जर्नालिजम’मा भर्ना गरिदिए। त्यहाँ केही समय पढेँ। सैद्धान्तिक शिक्षा पनि भयो। बीबीसी सधैँ सुनिन्थ्यो। गोली बारुद भएको स्थानमा रिपोर्टरले समाचार भनेको सुन्दा यस्तै काम गर्न पाए हुन्थ्यो भन्ने पनि लाग्थ्यो।

त्यहाँको स्पट लाइट भन्ने पत्रिकामा केही लेखहरू लेखिन्थ्यो। नेपाली कांग्रेससँग आबद्ध भएका कारण नेपाली कांग्रेसको राम्रो नराम्रो पक्षलाई केलाएर २६ पाना जतिको जर्नल पनि लेख्यौँ। यो प्रकाशनको तयारी हुँदै थियो। ३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल जाने तयारी भयो। शुरूमा बासु कोइराला, केबी गुरुङ र म नेपाल आयौँ। जेल पनि परियो। यता र उता गर्दा कता हरायो त्यो थाहा भएन।

जनमत संग्रह हारेपछि म शिक्षा तथा सामाजिक काममा बढी लागेँ। इलामबाट मेची टाइम्स भन्ने पत्रिका निस्कन्थ्यो। त्यो पञ्चायत पक्षधरको थियो। मैले त्यतिबेलाका सम्पादकलाई पत्रिका खोल्नुभएकोमा बधाई भनेँ। मलाई लेख्न आग्रह गरियो। राजनीतिक विचार मिल्दैन भनेँ मैले। तर उहाँले राजनीति बाहेक अन्य लेख्दा हुन्छ भनेपछि ‘अध्यारो पाटो’ नामक कोलम लेख्न थाले।

सरकार नपुगेको ठाउँमा मिडिया पुग्नुपर्छ। मिडियाले जहिले पनि आलोचनात्मक चेत राख्ने हो। सत्ता जो सुकै होस्, प्रतिपक्ष हो मिडिया। बहुदल आएपछि मैले सक्रिय राजनीति गरिनँ। पाँचथर र इलाम मिसाएर पत्रकार संघको स्थपना गरेँ र त्यसको सभापति भएँ। पत्रिका निकालियो। पत्रिकामा कुनै एक पक्षधरको गुणगान गाइएन। पत्रिकाको काम गुणगान गाउने होइन, जे हो त्यही भन्ने हो। जे हो त्यहि भन्दा तीतो पनि लाग्नसक्छ, तर मिडियाको धर्म नै यही हो।

त्यतिबेलाका पत्रकारहरू पार्टीमा आबद्ध हुन्थे। मिसन बहुदल ल्याउने थियो। तर, अहिलेको जस्तो पार्टीपिच्छेका पत्रकार चाहिँ थिएनन्। युनियन, चौतारी, प्रेस सेन्टर यो चाहिने कुरै होइन। महासंघ भएपछि त्यहीँबाट काम भइ हाल्छ नि! पार्टीपिच्छे संगठन खोलेर पार्टीको झण्डा बोक्ने काम पत्रकारको होइन। पत्रकारको विचार जे भएपनि उसले नेतृत्वलाई प्रश्न गर्ने हो। युनियन, चौतारी र सेन्टरमा हुनेले आफ्ना नेतालाई प्रश्न सोध्लान् त! मलाई त शंकै लाग्छ।

अबको मिसन सुशासन
माओवादीको द्वन्द्वकालमा जिल्लाको माहोल अर्कै थियो। पाँचथर जाने बोर्डरमा सेना बम डिस्पोज गरेर फर्कँदा दोहोरो भिडन्त भयो। २१ जना सेनाको ठाउँका ठाउँ मृत्यु भएको थियो। पञ्चायतकालमा राज्य निषेधित पत्रकारिता थियो। सत्तालाई प्रश्न मनपर्ने कुरै भएन। द्वन्द्वकालमा पत्रकारहरूलाई डर नै थियो।

माओवादीले अपहरण नै नगरे पनि उनीहरूका कार्यक्रममा बोलाउँथे। नजान पनि नमिल्ने, जान पनि नमिल्ने। साच्चै भन्दा पत्रकारहरू दोहोरो मार थिए। ४८ सालमा स्थापना भएको ‘सूत्रधार’ पत्रिका केही वर्ष चलाएर बन्द गरियो। काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरूमा कोलम भने म लेखिरहन्थे। त्यस्तै इलाम डेलीको गेष्ट सम्पादक त अहिले पनि छु।

सरकारी संस्थाहरू स्थानीय तहसम्म पुगेपछि सोही अनुसार रिपोर्टिङ हुनुपर्छ। स्थानीय तहमा आलोचनात्मक चेत राखेर कति पत्रकारिता भएको छ मलाई शंकै लाग्छ।

अहिलेका पत्रकारिताको मिसन सुशासन हुनुपर्ने हो। तर, मिसन नै नभएको जसरी बरालिएको हो की जस्तो लाग्छ। यसको अर्थ पत्रकारिता डामाडोल नै भयो भनेको होइन। खोजी अनुसन्धान गरेर मिहिनेत गरेर लेख्ने, त्यसले प्रत्यक्ष प्रभाव पार्ने समाचार पनि आएकै छन्। तर, जति हुनुपर्ने हो त्यति भएन मात्रै भनेको हो।

जति खुला समाज भयो त्यति प्रश्नहरू पेचिला हुनुपर्छ। नेतृत्वलाई निरन्तर प्रश्न सोध्ने हो पत्रकारले। तर, पत्रकारको प्रश्न नै भुत्ते भयो की जस्तो लाग्छ समाचार हेर्दा। पत्रकारको हतियार नै प्रश्न हो। हतियारै भुत्ते भएपछि पत्रकारिता राम्रो हुँदैन। पत्रकारले पढ्नुपर्याे, शंका गर्नुपर्याे, पेचिला प्रश्न सोध्नुपर्याे, किन यस्तो त भनेर घोत्लिनुपर्यो।

पत्रकारहरू बलियो हुन मिडिया हाउसले बढी मिहिनेत गर्नुपर्छ। काठमाडौंमा पत्रकारिता गर्नुछ तलब समयमै नदिने, पुग्दो त परको कुरा। यसले गतिलो स्टोरी खोजेर पाइँदैन। जस्तो दाम उस्तै काम त भइनै हाल्छ।

नेपालमा असाध्यै राम्रो लेख्ने, खट्ने, भाषा मिठो, अनुसन्धानमा विशेष दख्खल भएका पत्रकारहरू धेरै नै छन्। मिडिया हाउसले लगानी गर्न नडराउने र पत्रकारलाई जीवन चलाउनै मुस्किल नहुने हो भने पत्रकारिताले फड्को मार्न सक्छ।

अर्को कुरा, जुनसुकै कामको मिसन हुनुपर्छ। अहिलेको पत्रकारिताको मिसन भनेको सुशासन हुनुपर्छ। सुशासनको लागि निरन्तर लेख्नुपर्छ। परिणाम ढिलो आउला अथवा नआउला। तर, सुशासनलाई नै अहिलेको मिसन सेट गर्नुपर्ने देख्छु।

(तत्कालीन नेपाल पत्रकार संघ इलाम-पाँचथरका संस्थापक सभापति, सूत्रधार साप्ताहिकका पूर्वसम्पादक तथा इलाम डेलीका अतिथि सम्पादक गौतम पूर्वका पाका पत्रकारमा गनिन्छन्। उनैसँग ‘अबको पत्रकारिताको एजेण्डा’ शीर्षकमा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

२० चैत, २०८०, १३:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।