चौथो अंग : मिडियाले तलब पनि दिँदैन रैछ भनेर युवा पुस्ता निराश देखिन्छन्, तर आत्तिने अवस्था छैन, पत्रकारिताको भविष्य राम्रो छ

चौथो अंग : मिडियाले तलब पनि दिँदैन रैछ भनेर युवा पुस्ता निराश देखिन्छन्, तर आत्तिने अवस्था छैन, पत्रकारिताको भविष्य राम्रो छ

एक दशक अघि कान्तिपुरको हेल्लो शुक्रवारमा आउट र्सोसिङ व्यवसायबारे एउटा फिचर लेखेँ। त्यो नेपाली युवा उद्यमीले सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी कामहरू बाहिरको लागि कसरी गर्छन् भन्ने केन्द्रित थियो।

उनीहरूले गरेको कामको रकम रेमिटेन्सको रूपमा भित्रिन्थ्यो। त्यतिबेला आउटर्सोसिङ व्यवसायको लागि कुनै प्रस्ट कानुन पनि थिएन। धेरैजसो उद्यमीहरु मिडियामा बोल्न चाहनु भएको थिएन। जति बोल्नुभयो उहाँहरूको स्टोरी गरियो।

यो समाचार आएपछि निकै चर्चा भयो। यस्ता व्यवसायको भारत र फिलिपिन्समा चर्चा त थियो तर नेपालमा पनि व्यापक भन्ने कुरा त्यो समाचारले फैलाउन सहयोग गर्यो।

अहिले त आउटसोर्सीङबाट वार्षिक ६६ अर्ब आम्दानी हुन्छ भनेर पछिल्लो एक अध्ययनले नै देखाएको छ। जे कुरा पनि आयत गर्ने हामीले सूचना प्रविधि सम्बन्धी सेवाको निर्यात गर्नु राम्रो पक्ष हो।

अहिले सरकारले आउटसोर्सीङ व्यवसायको लागि प्रोत्साहन गरेको छ। निर्यात गर्दा एक प्रतिशत मात्रै कर लिने सरकारको नीतिले युवा उद्यमीलाई उत्साहित गरेको पनि छ।

त्यो बेलामा सूचना प्रविधि सहायक बिट थियो। अन्य विषय लेख्नेलाई मन लागे लेख्ने। अर्थसँग जोडिन्थ्यो यो। तर अहिले यो विषय सहायक बिटबाट मूल बिट बनिसक्यो।

सूचना प्रविधिको विषयमा मात्र लेख्ने पत्रकारहरू बढेका छन्। विधागत रूपमा सूचना प्रविधिबारे मात्र समाचार प्रकाशित गर्ने अनलाइन न्युज पोर्टलहरू पनि बढेका छन्।

प्रविधि मूल बिट

हेटौंडामा हुर्केको हो म। विद्यालय तह पढ्दा नै बाल क्लबमा आबद्ध थिएँ। त्यही बाल क्लबबाटै ५८-५९ सालतिर बाल कार्यक्रम उत्पादनमा सहभागी भइयो। मनकामना एफएम र वीरगन्ज एफएममा त्यो कार्यक्रम बज्थ्यो।

विद्यालय तहदेखि नै मिडियामा लागेर हुन सक्छ एसएलसी पछि मैले पत्रकारिता नै पढेँ। हेटौंडाबाट प्रकाशित हुने हेटौंडा राष्ट्रिय दैनिकबाट औपचारिक पत्रकारिता यात्रा सुरु भयो। पछि साझा कुरा राष्ट्रिय दैनिकमा पनि आबद्ध भएँ।

त्यहाँ धेरै विषयमा लेखियो। पछि ई कान्तिपुरमा आबद्ध भएँ। साढे ९ वर्ष कान्तिपुरमा काम गरेपछि साथीहरू मिलेर आफ्नै बिट सूचना प्रविधि सम्बन्धी अनलाइन सुरु गर्यौँ। अहिले म समाचार लेखन भन्दा पनि व्यवस्थापकीय भूमिकामा बढी सक्रिय छु।

हाम्रा मिडियामा प्रविधिको रिपोर्टिङ भन्ने बित्तिकै टेलिकम र इन्टरनेट सेवा प्रदायकको विषयमा बढी भएको देखिन्छ। प्रत्यक्ष रूपमा ठूलो सङ्ख्यामा उपभोक्ता जोडिने भएर पनि यस्तो भएको हुन सक्छ।

मैले प्रविधिको रिपोर्टिङ गर्दा पनि यिनै क्षेत्रमा बढी सक्रिय भएको थिएँ। एउटा रिपोर्टिङ थियो, टेलिकम कम्पनीले उपभोक्ताले एक पटक गेमिङको प्याकेज लियो भने अर्को पटक उनीहरूलाई थाहै नदिई स्वतः रकम काटिदिने। यस्तो गर्न पाइँदैन। उपभोक्ताले चाह्यो भने लिने हो टेलिकम कम्पनीले स्वतः दिने होइन। यो विषयबारे समाचार निरन्तर लेखियो। पछि अदालतमा मुद्दा पनि पर्यो।

त्यो बेलामा सूचना प्रविधिका समाचारलाई प्रमुख समाचार मान्ने चलनै थिएन। युवालाई चासो हुने र साइडको समाचार हो भन्ने सोचाइ थियो। तर समय फेरियो। प्रविधि त अविस्कार दैनिक जीवनमा अति आवश्यक भयो। धेरै उपभोक्ताको सरोकारको विषय भएपछि मिडियाले पनि सोही अनुसार प्राथमिकता दिने नै भए। प्रविधि बिटको रूपमा विकास भयो।

पहिले प्रविधिको रिपोर्टिङ अघि भनेको जस्तै टेलिकम र इन्टरनेट सेवा सम्बन्धी विषयले बढी प्राथमिकता पाउने अनि स्टार्टअप र ग्याजेट लन्चका समाचारहरू जान्थे।

अहिले सवारी साधनको अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचय पत्रदेखि धेरै सरकारी सेवाहरू समेत सूचना प्रविधिसँग सम्बन्धित भइसकेका छन्।

सरकारी कामहरू कागजी ढड्डाबाट अनलाइन ढड्डामा परिणत भएका छन्। सरकारी सर्भर डाउन हुँदा कामै नहुने अवस्था सिर्जना भएको छ। हिजो प्रमुख समाचार होइन की जस्तो लागेको प्रविधि आज हरेकखाले समाचारको अभिन्न अंग भएको छ। त्यसले प्रविधि क्षेत्रको रिर्पोटिङको दायरा पनि फराकिलो हुँदै गयो।

उदाहरणका लागि नेपाल टेलिकमले केही वर्ष अघि १८-२० अर्बमा फोर जी सेवा सुरु गर्यो। अर्को कम्पनीले  फोरजी सेवा ५-६ अर्ब लगानीमै सुरु गरेको भनिन्थ्यो।

नेपाल टेलिकमले त्यति महँगो ल्याउन किन आवश्यक पर्यो? अर्को कम्पनीले किन सस्तो ल्यायो ? यस्ता खालका विषयमा पर्याप्त छलफल हुन सकेको छैन। यो त भ्रष्टाचारसँग पनि जोडिन सक्छ।

अहिले सरकारी निकायमा पनि प्रविधि सम्बन्धी जस्ता सामान र सेवाहरू खरिद हुन्छन् ती के हामीलाई चाहिएकै हुन्? चाहिएको हो भने कुन-कुन कामको लागि चाहिएको हो? जतिमा ल्यायो त्यति नै हो त त्यसको मूल्य? यसतर्फ हामीले अझ विस्तृतमा रिपोर्टिङ गर्न सकेका छैनौँ।

यसमा मूल समस्या विज्ञहरूको अभाव हो। जसरी सूचना प्रविधि क्षेत्रको विस्तार भयो त्यो रूपमा विज्ञ र जानकार पाउन कठिन छ। अनि भएका विज्ञहरू पनि तटस्थ नभएर विभाजित देखिँदा पत्रकारलाई अझ रिपोर्टिङ गर्न सकस भएको हो की जस्तो लाग्छ।

अब रिर्पोटिङको पुरानो शैली काम छैन

प्रविधि अभिन्न अंग भयो पनि भनेका छौँ अनि प्रविधिबारे नकारात्मक तरिकाले पनि लेखिरहेका हुन्छौं। केही समय अघि सरकारले टिकटक बन्द गराउँदा केही व्यक्तिहरूले टिकटकले समाज बिगारेको थियो अब सुध्रिन्छ जसरी लेखे।

चाहिने भन्दा बढी आफू चलाउने अनि दोष प्रविधिलाई दिने? अनि मिडियाले पनि प्रविधिलाई नै दोष दिने गरी समाचार प्रकाशन/प्रसारण गर्ने। यो त गलत भयो।

प्रविधि आफैंले कसैलाई बिगार्ने या सपार्ने होइन। सप्रने कि बिग्रने त्यो प्रविधिको प्रयोग गर्नेमा भर पर्छ। बालबालिका मात्रै होइन ठुलै मान्छे पनि मोबाइलको कुलत भएको देखेको छु। सडक दुर्घटना हुन्छ भनेर बाटो नै नबनाउने त? गाडी पनि दुर्घटना हुन्छ भनेर गाडी नै नकिन्ने? टिकटक बन्दको समर्थन गर्नेहरूको तर्क हेर्ने हो भने त यही देखियो।

कसरी सुरक्षित भएर सूचना प्रविधिको प्रयोग गर्ने, इन्टरनेटमा आफ्नो व्यक्तित्व विकासदेखि अवसरहरू कसरी देखाउँछ लगायतका सामग्रीहरू उत्पादन गर्नुपर्ने भने देखिन्छ।

प्रविधि अति चलाउँदा हुने हानिबारे पनि लेखौँ। सँगै कसरी चलाउने त भनेर पनि लेखौँ जसले पाठकहरूलाई जागरूक गराउन सकिन्छ। तर बन्द गर्यो आनन्द भयो भन्ने पाराको नलेखौँ। त्यो समस्या समाधानको उत्तम विकल्प हैन।

इन्टरनेट, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, इन्टरनेट फ्रडबाट सुरक्षित हुने तरिकाहरूबारे सचेतना अहिले एकदमै धेरै चाहिएको छ। यस्ता खालको सचेतना फैलाउन मिडियाले भूमिका खेल्न सक्नुपर्छ।

प्रविधिमा चुनौतीसँगै अवसर पनि

प्रविधिमा रिपोर्टिङ गर्न केही चुनौती भने छन्। प्रमुख चुनौती भाषाको हो।  प्राविधिक शब्दका  जार्गनहरु छन्। ती जार्गनहरु कसरी नेपालीमा लेख्ने अहिलेको ठूलो समस्या हो। पहिलेको  तुलनामा धेरै सजिलो त भइसक्यो तर अझै पनि कठिन छ भाषा। सरल बनाउन आवश्यक छ।

प्रविधि रिर्पोटिङमा दक्षता हासिल गर्न पनि अलि गाह्रो छ। अन्य बिटमा सिनियर रिपोर्टर हुनुहुन्छ तर यो क्षेत्रमा भेट्न मुस्किल पर्छ। मूल विषय सूचना प्रविधि बनेको भर्खरै हो नि।

अर्को प्रविधिको विज्ञ भेट्न झनै गाह्रो छ। समस्या भए पनि प्रविधि रिर्पोटिङमा धेरै अवसर छ है।  प्रविधि यसरी फैलिइरहेको छ कि अब सूचना प्रविधिभित्रै पनि सहयोगी बिटहरू हुन थालिसक्यो। टेकपाना सुरु गर्दा हामी नयाँ-नयाँ प्रविधिका वस्तुहरूको लन्चदेखि टेलिकम, इन्टरनेट सेवा प्रदायकमा केन्द्रित थियौँ। हामीले गर्ने रिपोर्टिङको दायरा पनि सीमित थियो होला, तर अहिले यसको दायरा फैलियो।

हरेक काम र सेवामा सूचना प्रविधि जोडियो। हरेक समाचार सूचना प्रविधि सम्बन्धी हुन थाले।

सामाजिक सञ्जाल, ग्याजेट, नीति, इन्टरनेट, स्टार्टअप, साइबर सुरक्षा लगाएका विषयहरू छन्। भन्न खोजेको बिट फैलियो, तर प्रविधिको रिपोर्टिङ गर्ने कम हुनुहुन्छ। यो भनेको अवसर हो।  नयाँ पुस्ताले प्रविधिलाई आफ्नो बिट बनाउन सक्छन्।

पत्रकारिताको भविष्य सधैं सुरक्षित

पहिले थोरै सूचनाको भर पर्थे व्यक्तिहरू। अहिले धेरै सूचना लिएका छन् र पनि सूचना अझै पुगेको छैन। अझै निष्ठामा आधारित सूचना भएन भनेर व्यक्तिहरू भनिरहेका छन्।

यो भनेको पत्रकारिताको भविष्य अझै सुरक्षित  छ भन्ने हो। केही मिडियामा पारिश्रमिक समयमै नदिएको भनेर भएका आन्दोलनले युवापुस्तालाई केही हदसम्म निराश त बनाएको छ तर आत्तिनु हुँदैन भन्ने लाग्छ। किनभने परम्परागत मिडिया भत्किएर नयाँ  मिडिया पनि त बनिरहेका छन्।

मिडियाका केही कमजोरी नभएका होइनन् तर इण्डीपेण्डेन्ट मिडिया फैलिनु सुखद पक्ष हो।

हाम्रो समूहले टेकपाना खुल्नु अघि अहिले जसरी ‘ग्रोअप’ भइरहेको छ यसरी हुन्छ की हुन्न भन्ने अन्योलमै थियौँ। तर जोखिम उठाइयो। अहिले राम्रै भइरहेको छ।

निरन्तर काम गर्ने र क्षमता अभिवृद्धि गराउने हो भने पत्रकारिता झनै राम्रो पेसा हो भन्ने लाग्छ। जबसम्म व्यक्तिमा सूचना पाउने प्यास रहन्छ तब सम्म पत्रकारिताको भविष्य सुरक्षित नै छ।

व्यवसायमा बदलाव आउन सक्छ तर मिडियाको भविष्य धराशायी हुँदैन। मिडियाको व्यवसाय पनि बजारले निर्धारण गर्ने त हो। मिडिया क्षेत्र परम्परागत व्यावसायिक मोडलबाट नयाँ हुन खोजेको छ। त्यसले पनि उथलपुथल भएको हो। तर भविष्य नै नभएको भनेर आत्तिने अवस्था म देख्दिन।

किनभने हरेक पेसाका व्यक्तिहरूमा निराशा हुन्छ, पद  र वृत्ति विकास भएन भन्ने गुनासो रहन्छ। यस्तै छलफल भएर के गर्ने भनेर नयाँ काम पनि हुन्छ।  पत्रकारिताको आलोचना भइरहेका छ भने यो त हामीलाई अब कस्तो काम गर्ने भन्ने बाटो देखाएको पनि हो नि।

अब पत्रकारले पनि फरक रूपमा सोच्न सक्नुपर्यो। फरक शैलीमा काम गर्ने प्रयास गर्नुपर्यो। अपग्रेड हुनुपर्यो।

अहिले संसारभर एआईको उदय र यसको प्रभावको बारेमा छलफल भइरहेको छ। नेपालमा यस्ता बहस कम छन्। एआईकै चर्चा गर्दा, अब आउने पुस्ताले कस्तो काम पाउन सक्छन्, कसरी शिक्षा लिन्छन् यसमा एआइको भूमिका के रहन्छ भन्नेमा केन्द्रित हुनुपर्ने हो। त्यो हुन सकिरहेको छैन। अन्यत्र भने बहस सुरु भइसकेको छ। हामीले पनि यी र यस्ता धेरै विषयमा बहस गर्न सक्छौँ।

(हेटौंडा सन्देश राष्ट्रिय दैनिक, साझा कुरा राष्ट्रिय दैनिकइकान्तिपुरकान्तिपुर दैनिक,ग्लोबल प्रेस जर्नलमा काम गरेका तिमल्सिना सूचना प्रविधि सम्बन्धी अनलाइन न्यूजपोर्टल टेकपानाका प्रमुख कार्यकारी निर्देशक हुन्। उनीसँग प्रविधि पत्रकारितामा आधारित रहेर उकेराकर्मी प्रजु पन्तले गरेको  कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

३ पुस, २०८०, १९:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।