चौथो अंग : समस्या  देखाउने पत्रकारिता धेरै भयो, अब समाधान पनि देखाउन सक्नुपर्छ

चौथो अंग : समस्या  देखाउने पत्रकारिता धेरै भयो, अब समाधान पनि देखाउन सक्नुपर्छ

९ वर्ष अघि उपत्यकाका कृषकले तरकारीमा प्रयोग गर्ने विषादीबारे मैले अनुसन्धान गरेको थिएँ। ८५ जना कृषकमा गरिएको अनुसन्धानले नै डरलाग्दो अवस्था देखायो। अनुसन्धान गरिएकोमध्ये ९० प्रतिशत कृषकले तरकारीमा विषादी प्रयोग गर्ने गरेको, ६५ प्रतिशत कृषकहरूलाई तरकारीमा कति मात्रा विषादी प्रयोग गर्नुपर्छ भन्ने ज्ञान नभएको, ९८ प्रतिशतलाई विषादी प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक भएको थाहा  भए पनि प्रयोग गरिरहेको देखियो।

बढी विषादी प्रयोग भएको तरकारीले मानवीय स्वास्थ्यमा दीर्घकालीन हानी गर्ने मात्रै होइन दीर्घरोगी समेत बनाउने अनुसन्धानले नै देखाएको थियो। यसबारे नेपाली टाइम्समा निरन्तर रिपोर्टिङ भयो। 

त्यसको तीन महिनापछि सरकारले कालीमाटी तरकारी बजारमा विषादी जाँच गर्ने प्रविधि राख्यो। आलु, गोलभेँडा, भेडे खुर्सानी लगायतका तरकारीको केही नमुना लिएर जाँच गर्दा १५ प्रतिशत तरकारीमा विषादी प्रयोग भएको देखियो। यसले ठुलै हल्लाखल्ला भयो। जथाभाबी विषादी तरकारीमा प्रयोग भएकोबारे अन्य मिडियामा पनि बहस हुन थाल्यो। मिडियाले एजेन्डा सेट गरेर परिणाम नआउन्जेल निरन्तर रिपोर्टिङ गर्दाको नतिजा थियो हो। एकै विषयमा परिणाम नआएसम्म रिपोर्टिङ गर्ने हो भने परिणाम आउँछ भन्ने उदाहरण बन्यो यो समाचार।

बढी विषादी प्रयोग हुनु समस्या हो। सरकारले विषादी जाँच कसरी गर्न सक्छ, कृषकले कसरी विषादी कम प्रयोग गर्ने भन्ने पक्षबारे समेत लेख्ने हो भने समाधान पनि देखिन्छ। यसबारे यी तीन पक्षबारे छलफल भएको थियो।

सबै रिपोर्टिङको प्रभाव यसरी नै पर्छ भन्ने हुन्न। रिपोर्टिङको प्रभाव नपर्नुको एक कारण समस्या देखाउने तर समाधानको उपाय नदेखिनु पनि हो। त्यसैले हामीले पत्रकारिता गर्दा समस्या त देखाउँछौँ साथै कसरी समाधान गर्न सकिन्छ भनेर पनि लेख्ने हो भने प्रभाव पर्छ।

परम्परागत पत्रकारितामा समस्या देखाइदिने दायित्व हो भनेर पढाइन्छ। तर अब समस्या मात्रै देखाउने होइन। समाधानका उपाय देखाउने दायित्व पनि पत्रकारकै हो।

‘समाधानमुखी पत्रकारिता’

सन् २०१४ मा मैले पत्रकारिता सुरु गरेको हुँ। मैले नेपाली टाइम्सबाटै काम गर्न थालेँ। केही समय हंकङमा स्नातकोत्तर तह पढ्न गए पनि भ्याएको बेलामा रिपोर्टिङ पनि गरिरहेँ।

सानैदेखि पुस्तकहरू पढ्ने बानी थियो मेरो। पत्रकारितामा लागेपछि त्यो बानीले विषयवस्तु बुझ्न सहयोग गर्यो मलाई। ७ वर्ष रिपोर्टिङ गरेपछि नेपाली टाइम्सको कार्यकारी सम्पादक भएँ।

कार्यकारी सम्पादक भएपछि सुरुमा त डर लाग्यो। रिपोर्टर हुँदा आफ्नो स्टोरीको चिन्ता चिन्तन गरे भयो। सम्पादक नै भइसकेपछि त सबै स्टोरीमा ध्यान दिनुपर्यो। तर सहयोगी समूह भएकाले गाह्रो भएन।

मैले पत्रकारिता सुरु गरेकैताका भूकम्प गयो। भूकम्पले धेरै क्षति गर्यो। तर त्यहिबेला हामीले विपद् पत्रकारिता कसरी गर्ने भन्ने सिक्न पायौँ। काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक दोलखा र सिन्धुपाल्चोक गएँ। त्यतिबेला कति जनाको मृत्यु भयो अनि धनजनको कति क्षति भयो भन्ने विवरण त आइरहेकै थियो। हामीले हाम्रा स्वास्थ्य संरचना कस्ता छन्, शैक्षिक संरचनाहरू कस्तो छन् भन्ने रिपोर्टिङ गर्यौ।

अनुसन्धानहरूले हाम्रो देश प्राकृतिक जोखिमको उच्च स्थानमा रहेको देखाउँछ। प्राकृतिक जोखिमले धनजनको क्षति त गराउँछ नै तर घटना हुनुअघि नै सचेत हुने हो भने क्षति कम गराउन सकिन्छ। तर यो पाटोमा निकै काम काम भएका छन्। अनि रिपोर्टिङ पनि उस्तै कम छ।

मूलधारका मिडियामा राजनीतिक कुराले भरिन्छन् तर प्राकृतिक विपत्ति पनि राजनीति भन्दा कम सानो विषय चाहिँ होइन। भूगोल अनुसार हाम्रो रिर्पोटिङको केन्द्रमा विपद् रिपोर्टिङ हुनुपर्छ तर विपद् आएपछि लेख्ने तर पूर्व तयारीबारे एकदमै न्यून समाचार लेख्ने भयौँ हामी नै। कता कता लाग्छ त्यसैले पो सानो दुर्घटनाले पनि ठुलो जनधनको क्षति हुने गरेको हो की!

भूकम्पको केही समय पछि सन् २०१९ मा कोभिडको महामारी फैलियो। त्यो बेलामा बन्दाबन्दीमा कसरी काम गर्ने भनेर सिकियो। यसले पनि पत्रकारितालाई नयाँ ढङ्गले सोच्न बाध्य बनायो।

महामारी, प्राकृतिक विपद्, वातावरण प्रदूषण, जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ उठाउने, विज्ञसँग कुराकानी गरेर समाधानको उपाय समेत देखाउन सक्ने हुनुपर्छ भन्ने लाग्छ मलाई।

अनुसन्धाताले गरेका रिसर्च रिर्पोटहरु बुझ्ने भाषामा लेख्ने दायित्व हाम्रो नै हो। तर नेपाली मिडियामा अनुसन्धान भएका रिर्पोटमा आधारित भएर समाचार लेख्ने भन्दा पनि केही विज्ञसँग छोटो कुरा गरेर समाचार लेख्ने चलन बढी छ। यो त पूर्ण भएन नि।

उदाहरणका लागि जलवायु परिवर्तनले कुनै स्थानमा असर गरेको छ भने स्थलगत रिपोर्टिङ गरेर प्रभावित भएको समुदायसँग कुराकानी गर्ने, उनीहरूले समाधानका लागि गरेका प्रयासबारे लेख्ने, त्यसपछि जलवायु परिवर्तन सम्बन्धी भएको अनुसन्धानहरूलाई रेफ्रेन्स लिने, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भएका प्रतिवद्धताहरु पढ्ने अनि सरकारले चालेका कदमहरूबारे खोजेर लेख्नु पर्ने हो।

तर हामी जलवायु परिवर्तनले यस्तो भएन उस्तो भएन भनेर केन्द्रमै बसेर रिपोर्टिङ गरिरहेका छौँ। न फिल्ड, न अनुसन्धानका रिर्पोट। न त सरकारले चालेको कदम नै समाचारमा उल्लेख हुन्छ। यस्तो पत्रकारिताले समस्याको समाधान दिँदैन।

समाधानमुखी पत्रकारिताको लागि पत्रकारहरूलाई सिकाउने जिम्मा न्युज रुमकै हो। न्युजरुमहरुले सिक्न कति प्रेरित गर्छन् त्यसमा भर पर्छ।

न्युज रुम विश्वविद्यालयको कक्षा कोठा हो

मैले काम गरेको न्युज रुम नै मेरो लागि विश्वविद्यालयको कक्षा कोठा हो। यसरी नै हरेक न्युज रुम पत्रकारका लागि ज्ञानको कक्षाकोठा हुन जरुरी छ।

अहिले ख्वार्र समाचार लेखेर हिँडेर पुग्दैन। यो त परम्परागत शैली भइहाल्यो नि। समाचार अनुसार कसरी पाठकले सहज तरीकाले बुझ्न सक्छन् त्यही अनुसार प्रस्तुति दिन सक्ने हुनु पनि पर्यो। 

समाचार लेखेपछि त्यो समाचारमा कस्तो भिडियो बन्न सक्छ, कस्तो फोटो प्रयोग गर्न सकिन्छ, तथ्याङ्क छ भने कसरी भिज्योलाइजेशन गर्ने भन्नेमा रिर्पोटरले नै सिक्न जरुरी छ।

दायरा बढाऔँ

पत्रकारिता समूहमा गर्ने काम हो। अन्तर्देशीय सहकार्य गरेर पनि रिपोर्टिङ गर्न सकिन्छ। केही समय अघि १५ देशका ४० जना पत्रकारको सहकार्यमा सालक तस्करीबारे रिपोर्टिङ भएको थियो। त्यो समूहमा म पनि सम्मिलित थिएँ। आ-आफ्नो देशमा भएको तस्करीबारे संयुक्त रिपोर्टिङ छापिएको थियो।

हाम्रो नेपाली मिडियामा कोरा राजनीति  र घटनामा आधारित सामाजिक इस्युले बढी प्राथमिकता पाएको हो की जस्तो लाग्छ। अब भने दायरा बढाउने बेला भइसक्यो।

वातावरणको इश्यु पनि राजनीतिक हो, वन्यजन्तुको विषय पनि राजनीतिक हो। यस्तोमा पनि राजनीतिक कनेक्सन जोडिएका हुन्छन्। बसाईंसराईंबारे सकारात्मक नकारात्मक दुवै तरीकाबाट रिपोर्टिङ गर्न सकिन्छ। तर हाम्रोमा कुनै विषयको उठान भयो भने एकोहोरो बढी हुन्छ। दुवै पक्ष हेर्ने गरिन्न।

गाउँ रित्तियो भनेर समाचार लेख्दा किन रित्तियो भनेर पनि लेख्नुपर्छ। चरम राजनीतिक निराशा छ मात्र भनेर हुन्छ र! गाउँ रित्तिनुको कारण पहिल्याउन सकियो भने समाधानको पक्ष पनि देखिन्छ नि। कारणसम्म पुग्न बढी मिहिनेत लाग्छ। सिधै दलको व्यवहारले बढेको निराशाका कारण युवा पलायन भए भन्यो सक्कियो।

यस्ता धेरै इश्यु छन् रिपोर्टिङ गर्नलाई। तर हामी साँघुरो घेरामा बसेका हौँ की जस्तो लाग्छ। सबै काम एकै मिडियाले गर्न नसक्न सक्छन्। हरेक मिडिया हाउसले एक-एक विषयलाई प्राथमिकता दिएर डेफ्थ स्टोरी त गर्न सकिन्छ नि।

अझ धेरै गर्न सकिन्छ

भूकम्प, त्यसपछि कोभिडको कहर। त्यसको असर नेपालको अर्थतन्त्रमा पर्यो नै। अर्थतन्त्रमा असर परेपछि त्यसको असर मिडियामा पनि पर्ने नै भयो। परेको पनि छ।

आर्थिक सङ्कटको अवस्थामा पनि केही गतिलो खोजी पत्रकारिता भइरहेकै छन्। त्यो प्रशंसनीय काम हो। नेपालका रिपोर्टरहरूले जति सुविधा पाउँछन् त्यसको आधारमा उनीहरूले लेख्ने समाचार हेर्ने हो भने प्रशंसनीय छ। तर यतिले मात्र पुगेन अब। अझ धेरै गर्नुपर्ने विषय छन्।नेपालमा अनलाइनका न्युज पोर्टलका सबै सामाग्री सित्तैमा हो भन्ने सोचाई देखिन्छ। तर नेपाल बाहिरको अवस्था अलि भिन्न छ। अन्य देशमा पैसा तिर्नुपर्ने सब्सक्रीप्सन मोडल सफल भइरहेका छन्।

नेपालमा पनि कस्ता समाचार किनेर पढ्ने अनि कस्ता समाचार सित्तैमा पढ्ने भनेर पाठकलाई बुझाउने दायित्व मिडियाकै हो। 

हिजो पत्रिका किनेर पढ्ने पाठक थिए। अहिले अनलाइनमा पैसा तिरेर पढ्ने पाठक पनि छन्। यो पनि आर्थिक सङ्कट व्यवस्थापनको एउटा मोडल हो। 

(नेपाली टाइम्सकी कार्यकारी सम्पादक अवालेसँग प्रजु पन्तले परिणाममुखी पत्रकारितामा केन्द्रित भएर गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

१४ कात्तिक, २०८०, १८:४६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।