चौथो अंग : सहजै पाइने सूचनाको भूलभुलैयामा नेपाली पत्रकारिता
कोभिड महामारीको बेला एक विद्यालयले ठूलो कार्यक्रम गर्यो। जोखिम मोलेर गरिएको त्यो कार्यक्रमबारे समाचार लेखेँ। विद्यार्थीलाई कोभिड लागे के हुन्छ भन्ने आशयको समाचार थियो त्यो। समाचार कक्ष र सामाजिक सञ्जालमा त्यो समाचारको सकारात्मकै टिप्पणी भइरहेको थियो। तर, भोलिपल्ट बिहान हेर्दा त पूरै गाली नै गालीसहितका सय भन्दा धेरै प्रतिक्रियाहरू आइसकेका रहेछन्।
हेर्दै जाँदा थाहा भयो, विद्यालयले ४/५ जना विद्यार्थीको ४/५ वटा आइडी बनाएर नकरात्मक टिप्पणी लेखाइरहेको रहेछ। संगठित रुपमा नै बुलिङ गरिएको थियो। यो त एउटा सानो उदाहरण हो, यस्तो धेरै हुन्छ।
पहिले, आफूले लेखेको समाचार सम्पादकले मन पराए भने आफ्नो सर्कलले त यसै वाह भनिहाल्थ्यो, उति धेरै नकारात्मक प्रतिक्रिया सुन्नु पर्दैनथ्यो। पाठक प्रतिक्रियासमेत कस्तो छाप्ने, मिडियाको हातमा हुन्थ्यो। अहिले लेखिएको समाचारको प्रतिक्रिया तुरुन्तै आउँछ।
यसको फाइदा पनि छन् अनि बेफाइदा पनि। फाइदाको कुरा गरौँ, तुरुन्तै प्रतिक्रिया पाउने हुनाले अरूको धारणा बुझ्न सकिन्छ, धेरै पाठककोमा जान्छ। बेफाइदा भनेको न्युज कन्टेन्ट माथि आलोचना भन्दा पनि रिपोर्टर अथवा मिडियालाई यस्तो किन लेखिस्, फलानोको किन लेखिस् लगायत पढ्नै अप्ठ्यारो लाग्नेसम्मका प्रतिक्रिया आउँछन्।
आफूले दिएको सामाग्री तथ्यमा आधारित छ भने आत्मविश्वास राख्न सक्नुपर्छ। कुनै दिन त पुष्टि भइनैहाल्छ भनेर धैर्यता हुनुपर्छ। नव पुस्ताले हामीले भन्दा छिटो प्रतिक्रिया पनि पाउँछन्। ट्रोलिङ हुन्छु की भन्ने डरले अथवा अरूले नराम्रो भन्ने हुन् की भन्ने डरले तथ्यमा आधारित भएर लेख्न डराउनु हुन्न।
तर पत्रकारिताका नयाँ पुस्ताले गाली खाने डरले आफैंलाई सेन्सर पो गर्ने हुन् की भन्ने डर भने लाग्छ मलाई। हामी त कहिलेकाँही विचलित हुन्छौं भने नयाँ पुस्तामा त्यसको नकारात्मक प्रभाव पर्नु स्वभाविक पनि हो।
आत्तिने र प्रलोभनबाट टाढा
मैले पत्रकारिता गरेको २०५७ सालदेखि हो। एसएलसी सकेपछि रेडियोबाट पत्रकारिता शुरू गरेँ। त्यसपछि म्यागेजिन हुँदै अनलाइनमा काम गरिरहेको छु।
सत्य लेख्दा बोल्दा पनि गाली खाइन्छ, पत्रकारिता यस्तै पेशा हो। प्राय पत्रकारले दुई कुरा भोग्छन्- धम्कि र प्रलोभन। जो यो दुबै कुराबाट आत्तिने र प्रलोभनमा पर्दैन, बल्ल उ पत्रकार बन्छ।
तुलनात्मक रुपमा हेर्ने हो भने एसियामै नेपालको पत्रकारिता राम्रो छ। नेपाली मिडियामा सत्ताप्रतिको निरन्तर खबरदारी र आलोचनात्मक चेत भएकैले पनि नेपाली पत्रकारिता राम्रो भएको हो। संविधानले प्रत्योजित गरेको अधिकार हामीले प्रयोग गरिरहेका छौँ।
यसो भन्दै गर्दा, नेपाली समाज एकदमै प्रेस स्वतन्त्रतामैत्री छ अथवा राज्यले अंकुश नै लगाउने प्रयास गरेको छैन अनि पत्रकारहरू पनि प्रश्नबाट बाहिर छन् भनेको भने हैन। समस्या हाम्रोमा पनि छन्। यद्यपि नेपाली पत्रकारिता एसियामा नै उत्कृष्ट रहेको तथ्य भने साँचो हो।
पत्रकारहरूलाई धम्क्याउने र प्रलोभनमा पार्ने बारेको एउटा उदाहरण- ललितपुरमा रहेको युनिटी नेटवर्किङ व्यवसायबारे समाचार लेखेँ। समाचार लेख्नुअघि त्यहाँका सञ्चालकहरूलाई भेट्न नखोजेको होइन। उहाँहरूले समय दिन धेरै समय लगाउनु भयो। उहाँहरूले त 'तपाईं घर बनाउनुस् तर समाचार नलेख्नुस्' सम्म भन्नुभयो।
समाचार प्रकाशित भइसकेपछि ज्यान मार्ने धम्किसम्म आयो। त्यसको केही समयसम्म त एक्लै हिँड्न नसकेर भाइलाई साथी लिएर हिँडे। युनिटी नेटवर्किङ कुनै पिँध भएको व्यवसाय थिएन। यसले नागरिकको अर्बौँ पैसा डुबाउँथ्यो। पछि यसबारे छानबिन भयो। र कार्वाही पनि भयो।
अर्को उदाहरण- कालिमाटीतिरको एक इन्स्टिच्युटले ३० जना विद्यार्थीलाई एसएलसी पास भएको भनेर नक्कली सर्टिफिकेट बनाएछ। कलेजकोसमेत मिलेमतोमा ति विद्यार्थी भर्ना भएर पढ्दै थिए। त्यो बारे समाचार लेखेपछि त्यहाँका विद्यार्थी हाम्रो कार्यालय घेर्न आइपुगे। त्यहाँका प्रिन्सिपलले लेख्नुअघि भनेको भए, 'म मिलाउँथे नी' भनेछन्।
मैले यो उदाहरण दिनुको कारण हामीले जे समाचार लेख्न लागेका छौँ, त्यो गल्ती हुने पक्षले धाकधम्की प्रलोभन सबै देखाउँछ भनेर अर्थ्याउन खोजेको हो। आफ्नो बदमासी कसले रोक्न खोज्दैन र! तर समाचार कक्षमा छिरिसकेपछि तथ्य जे हो त्यही लेख्ने हो, कुनै पक्षबाट प्रभावित हुने हैन।
केही पत्रकारहरू आत्तिएर पत्रकारिता नै छाड्ने या पत्रकारिताको नाउँमा प्रलोभनमा पर्ने पनि हुन्छन्। मेरो दृष्टिकोणमा प्रलोभनमा पर्नु भन्दा त पत्रकारिता नै छाड्नु उपयुक्त विकल्प हो।
प्यासन र प्रश्न बिना पत्रकार भइँदैन
०६४/६५ सालको कुरा हो, नेपाल टेलिकमले सिआरबिटी सेवा शुरू गरेको थियो। त्यो बेला अरूको मोबाइलमासमेत सिआरबिटी गरिदिन मिल्ने व्यवस्था थियो। पैसा चाहिँ जसको मोबाइलमा सिआरबिटी (रिङ ब्याक टोन) राख्यो, उसैको काट्थ्यो। कसैले राख्नै चाहेको छैन भने पनि अर्काले राखिदिन सक्ने सिस्टम थियो। यो सिस्टम उपयुक्त थिएन।
मैले त्यतिबेला तत्कालीन शिक्षामन्त्री रेणु यादवको मोबाइलबाट माओवादी नेता मोहन वैद्य किरणको मोबाइलमा धार्मिक गीत र अन्य धार्मिक नेताको मोबाइलमा रक्त क्रान्ति जस्तो क्रान्तिकारी गीत राखिदिएँ। पछि उहाँलाई योबारे जानकारी पनि दिएँ।
यस्तो गर्नुको उद्देश्य अर्काले राखिदिन मिल्ने प्रणाली किन गलत छ भनेर देखाउनु थियो। तर, मैले त्यति गर्नासाथ नेपाल टेलिकमले म काम गर्ने मिडियामा विज्ञापन रोक्यो। तर पछि अर्काले सिआरबिटी राखिदिन मिल्ने व्यवस्था हटायो। त्यो गलत पद्धति थियो र त उनीहरुले हटाए नि। त्यसैले पत्रकारले सधैँ नयाँ एंगलबाट समाचार सोचिरहनुपर्छ।
हामी सबैलाई थाहा छ, पत्रकारिता भनेको ९ देखि ५ को जागिर हैन। जहाँ जतिबेला पनि समाचार हुन सक्छ। करिब ४ वर्षअघि दिनभरी लेख्न खोजेका समाचारहरू लेख्न अपुग भएपछि घर जाँदै थिए। नाक पिरो-पिरो भयो। आँखा पनि पोल्यो। के भएछ भनेर सोच्दै थिएँ, दिमागमा फ्याट्ट आयो प्रदूषण पो बढेछ!
त्यसपछि बाटैबाट फर्केर अफिस आएँ, वायु गुणस्तर सुचांक हेर्दा काठमाडौँ त विश्वकै प्रदूषित शहर भएको रहेछ। त्यो दिनको काठमाडौँको एयर क्वालीटी इन्डेक्स ४ सय ८७ थियो। यो भनेको त जनस्वास्थ्यको संकटकालै लगाउनुपर्ने अवस्था थियो। योबारे समाचार लेखियो। प्रतिक्रिया राम्रै आयो।
हामी जहिले पनि ठूला-ठूला इश्यु खोज्दै हिँड्छौँ। तर, सधैं ठूला-ठूला इश्यु भेटिँदैनन्। सानो घटनालाई पनि किन भयो भनेर सोच्दा समाचार बन्न सक्छ। मुख्य कुरा पत्रकारमा सामाग्री तयार पार्ने प्यासन र हर कुरामा प्रश्न गर्ने क्षमता चाहिँ हुनुपर्यो।
नेपाली पत्रकारिता अन्यत्र भन्दा राम्रो हुनुको कारण हाम्रा अग्रज पत्रकार र अहिले पत्रकारितामा सक्रिय रहेकाहरुमा रहेको प्रश्न र प्यासन गर्ने क्षमताकै कारण त हो।
फास्टफुड जस्तो समाचारमा ढल्किँदै नेपाली पत्रकारिता
स्वतन्त्रताको हिसाबले र हामीले दिने गरेका सामग्रीका हिसाबले एसियामा हामी अगाडि त छौँ तर, हाम्रा कमजोरी हुँदै नभएका हैनन्। अहिले हाम्रा मिडियामा देखिएको समस्या भनेको अप्डेट गरिहाल्नुपर्ने बाध्यता अनि विश्लेषण र टिप्पणी एकदमै कम आउनु हो।
पहिले-पहिले म्यागेजिन हुँदा अलि विश्लेषणात्मक समाचार आउँथ्यो, अहिले आउँदैन। अहिले हामी सहजै प्राप्त गर्न सकिने सूचनालाई समाचार बनाएर अप्डेट गर्नमै केन्द्रित भएका छौँ। सहजै वेबसाइटमा पाइने प्रेस विज्ञप्ति अनि नेताहरु अथवा कुनै निकायले सामाजिक सञ्जालमा राखेका कुरालाई समाचार बनाएका छौँ।
तर यो अल्झिने मेसो मात्रै हो, पत्रकारिता हैन। अप्डेटले अल्झाउँछ, अपग्रेड गराउँदैन। सहजै पाइने सूचनाको भुलभलैयामा नेपालका मिडिया छन्।
यसको अर्थ प्राप्त सूचनालाई समाचार नै नबनाउने भनेको होइन। तर सञ्जाल वा विज्ञप्तीमा जे आयो त्यो लेख्ने हो भने समाचार हैन सूचना मात्र हुन्छ। अनि सूचना दिएर समाचार हो भन्न त पाइएन नि।
अहिले पत्रकारको लेखनमा पनि कमजोरी देख्छु।अलि गहिराइमा पुगेर समाचार लेख्न पत्रकारले आख्यान र गैरआख्यान दुबै पढ्नुपर्छ। गैरआख्यानले तथ्य कसरी प्रस्तुत गर्ने सिकाउँछ भने आख्यानले भाषा कसरी मीठो बनाउने भनेर सिकाउँछ।
पढ्ने पत्रकार नपढ्ने पत्रकार उसको लेखाइले नै थाहा भइहाल्छ। पढ्ने पत्रकारले लेखेको कुरा गुदीसम्मै पुग्छ। सतही विश्लेषण गर्दैन। बिआरआइकै कुरा गरौँ न, कतै बिआरआइका सतही विश्लेषण आए। कतै यो कहिलेदेखि शुरू भएकोदेखि भुराजनीतिसम्मका कुरा पनि आए। पढ्नेले अरू भन्दा फरक त गर्छ नै।
मिडियालाई लाग्ने अर्को आरोप भनेको, एकै व्यक्तिको कोड लिने अनि एकै प्रकारको धारणा राख्छन् भन्ने पनि हो। विज्ञहरू फेर्न नसक्नु मिडियाको कमजोरी हो। यो हामीले सच्याउनै पर्छ।
अहिले सूचनाको ओभरफ्लो छ। तर समाचारको कमी छ। पाठकहरूले नेपाली मिडियाबाट फरक समाचारहरू खोजिरहेका छन्। तर हामी सूचनाको संख्या बढाइरहेका छौँ।
कतिले मिडियाप्रति अविश्वास बढ्यो भन्ने पनि हुनुहुन्छ तर, पूरापूर विश्वास त पहिले पनि थिएन। फरक यति हो, अहिले सामाजिक सञ्जालबाट छिटो प्रतिक्रिया आउँछ। पहिला ढिला आउथ्यो वा आएको पनि सार्वजनिक गर्ने कि नगर्ने मिडियामै भर पर्थ्यो।
तर प्रतिक्रियाकै आधारमा अविश्वास भनिहाल्न मिल्दैन। अविश्वासै गरेको भए कोही किन प्रतिक्रिया दिएर बस्थे र। विश्वास छ। भएको कमजोरी सुधारियोस् भनेर प्रतिक्रिया आएको त हो।
सामाजिक सञ्जालले मिडियालाई चुनौती थपिएको भन्ने पनि खुब सुनिन्छ। तर यो पनि सत्य हैन। मिडियाको लागि सोसल मिडिया साधक हुन्, बाधक होइनन्।
पहिले आलोचना गरेर आएका सामाग्री वा समाचार खण्डन गरेर आएका सामग्रीहरू, कुन छाप्ने/नछाप्ने भन्ने निर्णय मिडियाको हातमा हुन्थ्यो, अहिले छैन। सीमित घेरामा रहेर 'ओहो केके न लेखियो' भन्ने हुन्थ्यो, अहिले त्यो छैन। आफूले लेखेको समाचारमा भएको कमजोरी तत्काल थाहा पाइन्छ। अनि सेन्सर गर्न नि सम्भव हुन्न। यसले बढि नै आलोचना भए झैँ देखाएको मात्र हो। आलोचना त पहिले पनि नहुने होइन तर लुक्थे वा आलोचनाको प्रभाव सिमित क्षेत्रमा मात्र हुन्थ्यो। त्यो अहिले बढेको मात्र हो।
कन्टेन्टमा फरक गर्नैपर्छ
नेपाली मिडिया मनोटोनस देखिनुको कारण कन्टेन्ट एकैखाले भएर पनि हो। हाम्रो मिडियाको एउटा नराम्रो पक्ष भनेको एउटै इश्युमा सबै मिडिया कुद्ने पनि हो। अहिले पूर्वगृहमन्त्री रवि लामिछानेका समाचार प्राय सबै मिडियाको प्रमुख प्राथमिकतामा परेका छन्। यसले गर्दा अन्य इश्यु छुटिरहेका छन्।
समाचार कक्ष पनि सानो हुँदै जाने अनि सबै पक्ष समेट्न खोजेर हुँदैन। केमा काम गर्ने मिडिया प्रष्ट हुनुपर्छ। राम्रो खोजमुलक समाचार आउने कि अन्तर्वार्तामा आउने, कि फिचरमा आउने हो? मिडियाले कुनै न कुनै विधामा आफूलाई अब्बल साबित गर्नु पर्यो। यसका लागि अल्पकालीन र दीर्घकालिन योजनाहरू बन्नु पर्छ।
समाचार कक्षमा आएका समाचारमा नअल्झिकन आफैँ समाचार खोज्ने नयाँ-नयाँ विज्ञहरू खोज्न सक्नु अहिले हाम्रो चुनौती हो। रिपोर्टर हुन् या सम्पादक आफ्नो काममा अझ तिखारिनु पर्यो। हाम्रो पेशाको सुन्दर पक्ष भनेको, आफूले नबुझेको विषयमा सहजै विषय विज्ञसँग भेट्न सक्नु पनि हो।
अहिलेका रिपोर्टर स्मार्ट त छन् तर सुविधा अनुसार स्टोरीमा कम मिहिनेत भएको हो की जस्तो देखिन्छ। सबै पत्रकारलाई भनेको हैन, केहीमा अति प्यासन पनि देखिन्छ तर, केहीमा जागिर त हो भन्ने धारणा पनि देखिन्छ। फेरि पनि बुझ्नुपर्ने कुरा- पत्रकारिता जागिर हैन, काम हो। यो जुनसुकै बेला पनि गर्न सक्नु पर्छ।
कर्पोरेटको प्रभाव
नेपाली मिडियामा कर्पोरेट हस्तक्षेप बढ्दै गयो भन्ने कुरा पनि छ। यसमा चाहि प्रकाशकहरू कुन पृष्ठभूमिका छन् भन्नेले फरक पार्छ जस्तो लाग्छ। हामीकहाँ व्यवसायी राजनीतिज्ञदेखि पत्रकारसम्म प्रकाशक छन्। कुनै-कुनै इश्युमा प्रकाशकले हस्तक्षेप गर्न सक्छन्, यसमा सम्पादकले सन्तुलन मिलाउन सक्नुपर्छ।
मूल कुरा पत्रकारिता इथिक्स जोगाउने नै सम्पादकले हो। ठूला मिडियाले कुनै इश्यु उठाएनन् भने पनि साना मिडियाले लेखेका छन्। जसले गर्दा स्टोरी किल हुन पाएको छैन।
अहिलेको मुख्य चुनौती भनेको कन्टेन्ट सेलिङ हो। पहिले-पहिले ग्राहकले पत्रिका पैसा तिरेर किन्थे। अहिले प्राय निःशुल्क छन् स्टोरी। तर, सधैं मिडिया यसरी चल्न सक्दैन। न्युज सेलिङको लागि छुट्टै तरिका मिडियाले अपनाउनै पर्छ।
केही मिडियाले सोसल मिडिया ह्याण्लिङ गर्ने शाखा पनि चलाएका छन्। अन्य मिडियाले पनि यसबारे सोच्नुपर्छ। डिजिटल युगमा सोही अनुसार कन्टेन्ट बेच्न सक्नुपर्छ। अघि भनें नि, सामाजिक सञ्जाल हाम्रो लागि साधक हुन्, बाधक होइनन्। यसलाई हामी पत्रकारले मनन गर्नैपर्छ।
(नयॉ राजसत्ता साप्ताहिक, रेडियो लुम्बिनी, गोर्खा एफएम, मेट्रो एफएम ,अनलाइनखबरमा काम गरेका मगर अहिले हिमालखबर डटकमका सम्पादक छन्। उनीसँग डिजिटल युगमा नेपाली पत्रकारिताको चुनौती विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित :)
चौथो अंगका पुराना श्रृंखला :
पुष ९, २०८१ मंगलबार २१:५१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।