चौथो अंग : मिडियाको आम्दानी जग्गामा लगानी गरेर प्रकाशक दलाल बने, पत्रकार निकालिँदा पनि सम्पादक निरीह भए
पछिल्लो समय अमेरिकी र चिनियाँ दुई प्रोजेक्टको कुरा गरौँ, अमेरिकाले बनाउने भनेको विद्युत् प्रसारण लाइन बनाउने (एमसीसी) र चीनको प्रोजेक्ट बेल्ट रोड इनिसिएटिभ (बीआरआई)मा हाम्रा सञ्चार माध्यम विभाजित देखिए।
एमसीसी आउनैपर्छ भनेर ठेक्का लिए झैँ हिँड्ने अनि हुँदै हुँदैन भन्ने दुई पक्ष भए। यही विभाजित मनोदशा बीआरआईमा पनि देखियो। विभाजन त देखियो नै, बाइलाइन सहितको समाचार पनि कच्चा आए। हतारमा समाचार दिँदा अघिल्लो दिन बीआरआई सम्झौता हुन नसक्ने भयो भनेका मिडियाले अर्को दिन बीआरआई सम्झौता भयो भनेर लेख्नुपर्यो। यति हतार किन?
चीनको ऋणको सवालमा लिनै हुँदैन भनेर कुनै दलले भन्छ भने कारण खोतल्नपर्यो। अन्य निकाय र देशसँग ऋण लिँदा हामीले मानेका सर्त र चीनको सवालमा कस्ता सर्त भए नमान्ने भन्ने कुरा गहिराइमा पुगेर लेख्दा कसैको पक्षधरता लिनैपर्दैन। तथ्य पो बोलाउने होला त पत्रकारले, विना तथ्य कुन देशबाट के लिनुहुन्छ वा हुँदैन भनेर बोल्दै हिँड्न त भएन नि!
मिडियाले दुई कुरा गर्नु हुँदैन, एउटा- एकपक्षीय कुरा लेखेर पक्षधरता लिने र अर्को- हतारमा सूचना प्रवाह गर्ने। हामीले जे गर्न हुँदैन त्यही गरिरहेका छौँ। यो कच्चा पत्रकारिता हो। हामी सच्चिन जरुरी छ।
०००
अपडेटले किचेका अनलाइन
०४६ सालदेखि हो मलाई पत्रकार बन्नुपर्छ भन्ने लागेको। फागुन १ गतेदेखि पञ्चायत विरुद्धको आन्दोलनमा म पनि लागेको थिएँ। म पक्राउ परेँ। भैरहवाकै हिरासतमा राखियो। १३ दिनसम्म यातना पनि भोगियो। तर, त्यहाँ केही नेताहरु भेट भए। एसएलसी दिइसकेको थिएँ। तिमी पत्रकार बन भन्ने उहाँहरूको सल्लाह थियो।
घरमा भारतीय पत्रिका, म्यागेजिन, नेपाली गोरखापत्र, देशान्तर, मातृभूमि लगायत जान्थे। पत्रकारिता बन्ने सपना बोकेर काठमाडौं आएँ। धेरै समय काम पाइएन। कसो-कसो किशोर नेपालको सम्पर्कमा पुगेँ। उहाँले सम्पादन गर्नुभएको पत्रिकामा काम गर्न थाले। त्यो पत्रिका नेपाली कांग्रेसको कृष्णप्रसाद भट्टराई निकटको थियो।
केही वर्ष काम गरेपछि किशोर दाइसँगै कान्तिपुर मिडियामा गएँ। त्यहाँ कान्तिपुर साप्ताहिक, नारी म्यागेजिन र नेपाल साप्ताहिकमा काम गरेँ २०७७ सालसम्म। कोभिडको कारणले पत्रिका नै बन्द भएपछि भने अनलाइन पत्रकारितामा जोडिएको छु। मेरो पुस्ताले हातले लेखेर सम्पादकलाई दिनेदेखि मल्टीमिडियासम्मको अभ्यास गरिररहेको छ। अहिले पत्रकारिता प्रविधिमा निकै अघि भए पनि कन्टेन्टको हिसाबले कच्चा भएको जस्तो लाग्छ मलाई।
अहिले डिजिटल युग हो। नेपालमा लामो विश्लेषणात्मक समाचार पढ्न म्यागेजिनको अभाव छ। लामो समय म्यागेजिनमा काम गरेकाले पनि होला, म्यागेजिनको अभाव महसुस हुन्छ मलाई। दैनिक मिडियालाई पहिले जस्तो सूचना मात्रै प्रवाह गर्न दबाब त छैन। तर, दैनिक मिडियाका समाचार पनि उत्कृष्ट छैनन्। वैकल्पिक मिडिया युट्युबले लय समाउन सकेको देखिँदैन।
अनलाइन म्यागेजिन गर्न नसकिने हैन। तर, अनलाइन मिडिया अपडेट दिनैपर्ने बाध्यताबाट किचिएका छन्। इश्यू उठाएर गरिने विश्लेषणको अभाव देखिन्छ, त्यसैले त प्रभाव पनि कम छ समाचारको। विश्वसनियता पनि हतारको पछि लाग्दा गुम्दै गएको छ। यद्यपि हामीले हाम्रा समाचारकक्षहरू भाइब्रेन्ट गराएर कन्टेन्ट पस्कन भने निकै अवसरहरू छन्।
समावेशीताले भाइब्रेन्ट गराउँछन् समाचारकक्ष
लामो समय अरुकै नेतृत्वमा काम गरेको मैले केही मिडियामा नेतृत्व गरेँ। आफूले नेतृत्व गर्ने भएपछि आफ्नो समूह त बनाउनैपर्यो। यही क्रममा केही महिला पत्रकारले नै ‘महिलालाई चाहि रिपोर्टर नराख्नु है। केही न केही बहाना बनाएर काम गर्दैनन्। काम लिनै सक्नुहुन्न। महिनाको तीन दिन त कामै लिन सक्नुहुन्न!’ भन्नुभयो।
महिला रिपोर्टरले कतै रातको समयमा जानपर्यो भने अनेक बहाना बनाउँछन् भन्ने उहाँको तर्क थियो। कहिलेकहीँ हुने घटनालाई जेनरलाइज्ड गरेर गरिएको यो टिप्पणी मलाई मन परेन। सानै भए पनि आफ्नो टिम समावेशी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
पहिले मूलधारका मिडियाले छाउपडी जस्तो कु प्रथालाई एनजीओको मुद्दा ठान्थे। दलितका विषयलाई पनि एनजीओको विषय ठानेर कुनै प्राथामिकता पाउँदैनथे। जबकी देशै विविधतापूर्ण छ त कुनै वर्ग, समुदाय लिङ्ग अनि क्षेत्रलाई बायस गरेर नेपाली पत्रकारिता अघि बढ्न सक्दैन। पुरातन धारणा कम हुँदै गएको छ। मधेशप्रतिको एकपक्षीय बुझाइ मधेशका पत्रकार बढ्न थालेपछि कम हुँदै गएको छ। महिलाको मुद्दाहरू समाचारकक्षले सिरियस रूपमा लिन थालेको समाचारकक्षमा महिलाहरू बढेपछि नै हो।
जुन समुदायको प्रतिनिधित्व समाचारकक्षमा हुन्छ, त्यस समुदायलाई बुझ्न सकिन्छ अनि तिनका समाचारले स्थान पाउने हुन्। मूलधारका मिडियामा छाउपडि प्रथा होस् या महिला माथि हुने कुनै पनि प्रकारका हिंसा प्रमुख समाचार बन्न थालेका छन्। जातीय विभेद एनजीओको मात्रै हैन, हाम्रो पनि मुद्दा रहेछ भन्ने मिडियालाई परेको छ। यसो हुनुमा मिडिया बढ्दै गएको समावेशीताले त हुँदै हो, नेपाली समाजमा आएको परिवर्तित चेतनाको उपज पनि हो।
समाचारकक्ष समाबेशी बन्नुपर्छ, केही समाचारकक्ष समावेशी बन्दै गएका पनि छन्। सम्पादकहरू पनि यस्ता मुद्दामा पहिले भन्दा अलि सिरियस भएको देखिन्छ। संख्यात्मक रूपमा धेरै मिडिया छन्। समावेशी पनि बन्दै गएका छन् तर दिने कन्टेन्ट भने पाठकलाई न्याय गर्ने खालका छैनन्। मलाई लाग्छ- हामी सम्पादकहरू बायस भएका छौँ। पक्षधरता देखाएका छौँ। आफ्नो पक्षधरता रिपोर्टर माथि लादेका छौँ। अहिलेको प्रमुख कुरा सम्पादकले शुद्ध समाचार भन्दा पनि प्लान बी अर्थात पत्रकारिता बाहेक अन्यत्र काम गर्नु अझ भनौँ अरुको स्वार्थमा काम गर्नु हो।
प्रोजेक्टमा पुस्तक लेख्ने, सूचना ‘बेच्ने’
शुरुमै उदाहरण दिएँ- केही सम्पादकहरू खुलेरै कुनै देशको पक्ष र विपक्षमा उभिएका छन्। अलि गहिरोगरी खोतल्दै जाने हो भने ती सम्पादकहरू कि त त्यो देशको प्रोजेक्टमा किताब लेखिरहेका भेटिन्छन् कि त आफ्ना सन्तान त्यही देशमा पढाइरहेका हुन्छन्।
दूतावासमा निरन्तर धाउने, विभिन्न सूचना दिने, त्यसकै बापत पारिश्रामिक कुनै न कुनै निहुँमा लिने। सम्पादकहरूले कसरी विशुद्ध पत्रकारिता गर्ने भनेर सिकाउन छाडे। यो त सिधै चाप्सुली भयो नि! सूचना दिएर प्रोजेक्ट हात पार्ने पत्रकारलाई मैले सूचना बेचेको भन्ने गरेको छु।
किताब लेखेका पत्रकार प्रोजेक्टमा मात्रै किताब लेख्छन् भनेको हैन। केही पत्रकारले कुनै प्रोजेक्टविना किताब लेखिरहेका छन्। तर, अधिकांश पत्रकार भने प्रोजेक्ट बिना केही नै नगर्ने भए।
आफ्ना समाचारकक्षमा भन्दा अन्यत्र समय बिताउने समाचारका इश्युमा भन्दा प्लान दुइमा बढी घोत्लिने सम्पादक अहिले हावी भए। यसले गर्दा पत्रकारितामा नै भविष्य खोजिरहेका प्लान बी बारे केही नसोचेका शुद्ध पत्रकारिता गर्न चाहने रिपोर्टरहरू एक्लिरहेका छन्।
हाम्रा सम्पादकको वैचारिक झुकावले पनि समाचारहरू एक पक्षीय हुँदै गएको देखिन्छ। कुनै विषयमा रिपोर्टरले लेख्दैछ, जेन्युन कुरा भए पनि सम्पादकको पक्षधरता छ भने लेख्नुअघि राय दिएर मनोवैज्ञानिक दबाब सिर्जना गरिदिने गर्छन्। पछि सम्पादन गर्दा पनि आफ्ना विचार घुसाइदिन्छन्। समाचारकक्ष भित्रै पनि रिपोर्टरहरूबीच महसुस हुने गरी नै विभेद गर्ने। यस्ता प्रवृत्ति समाचारकक्षबाट पूरै रुपमा हट्न जरुरी छ।
जसरी राजनीतिक दलका नेतामा नागरिकले वैकल्पिक शक्ति खोजिरहेका छन्, मिडियाको एउटै रटान र एउटै पत्रकारको आग्रह पूर्वाग्रहबाट आम पाठक स्रोताले विकल्प खोजिरहेका छन्। केही कन्टेन्ट छाडेर युट्युबका अधिकांश कन्टेन्ट जुन पत्रकारिताको आचारसंहिता भित्र पर्दैनन् तिनैलाई दर्शकले रुचाइरहेका छन्।
युट्युब सजिलो प्लेटफर्म हो। केही मूलधारमा काम गरेका सम्पादकहरू पहिले युट्युबे भने पनि अहिले युट्युबमै लागेका छन्। आशा गरौँ- केही राम्रा कन्टेन्ट आउला। तर, भ्युजको लोभमा तथ्यलाई तोडमोड गर्ने गरेको देखिन्छ केहीले। यसमा भने ध्यान दिन जरुरी छ। सम्पादकमा दोधारे चरित्र छ नेपाली मिडियाको यो फेरिन जरुरी छ।
दलाल प्रकाशक, निरीह सम्पादक
दुई दशकभन्दा बढी समय काम गरेको सञ्चार गृहबाट निस्कँदा पत्रकार रित्तो हात फिर्नुपर्ने अवस्था आयो नेपाली मिडियामा। रिपोर्टरको हितमा किशोर नेपाल बाहेक अन्य बोलेको मैले सुनिन। प्रकाशकहरू मिडियाको आम्दानी जग्गामा लगानी गरेर जग्गा दलाल बने।
केही महिना मिडियाको आम्दानी नहुँदा पुरानो पैसा झिकेर मिडिया चलाइएन। पत्रकार निकालिए। सम्पादक निरीह भए। कोभिडको बेलामा जति निरीह सम्पादक भएको मैले कहिल्यै देखेको थिइन। मिडियाले आम्दानी गरेको रकम मिडियामा नै लगानी भएको भए केही मिडिया साच्चै नै कुनै विश्वविद्यालय भन्दा कम हुने थिएनन्। तर, प्रकाशकको लगानी अन्यत्र छरिँदा मिडिया धरासयी हुँदै गए।
निरन्तर विज्ञापन दिने संस्थाको क्रिटिकल समाचार छाप्न नसक्ने अवस्थामा सम्पादकहरू पुगे। पहिले समाचार छापिएन भने सम्पादकले राजीनामा दिन्थे। केही गल्ती भयो भने माफी पनि माग्थे। अहिले त सामाजिक सञ्जालमा भिड्ने अनि बरु पत्रकार निस्कुउन् आफ्नो जागिर चाहिँ जोगाउने भए सम्पादक। सम्पादकको जागिर त जोगिएला तर पत्रकारिता?
पहिलेका पत्रकारले आफूपछिको पुस्ता निर्माण गरेका थिए। तर, अहिले आफूपछिको पुस्ता तयार पार्न सम्पादकहरू लागेको देखिँदैन। ठोक्नु र नङ्ग्याउनु छ भने खोजी पत्रकारिता गरेको देखिन्छ नत्र देखिन्न। यसरी जकडिएको मिडियालाई निकाल्नु अहिले मिडिया नेतृत्वको चुनौती हो।
बदलिँदो व्यवसाय अनि फेरिँदो प्रविधि, त्यसमाथि एआईबाट आउन सक्ने गलत सूचना एवं अफवाह। यसबाट जोगिन अनि खँदिलो कन्टेन्ट दिनु अहिलेको मिडियाको चुनौती हो। यसलाई चिर्न गम्भीर रूपमा अध्ययन गर्ने सम्पादक समझदार रिपोर्टर अनि अति व्यावसायिक स्वार्थ नभएको लगानीकर्ता भयो भने नेपाली पत्रकारिता यो भन्दा उन्नत छ। पत्रकारले पत्रकारिता बाहेक केही गर्ने नै हैन। यहाँ त पत्रकारले पत्रकारिता बाहेक सबै काम गर्ने जस्तो भइरहेको छ।
(स्वतन्त्रता, कान्तिपुर साप्ताहिक, नारी, नेपाल साप्ताहिक, शिक्षापत्र, लोकपथमा काम गरिसकेका आचार्य हाल फरकधार डटकमको प्रधानसम्पादक छन्। उनैसँग प्रजु पन्तले गरेको कुराकानी)
चौथो अंगका पुराना श्रृंखला :
पुष २, २०८१ मंगलबार १३:४१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।