इटहरी अस्पतालको तीन करोड कमिसनको चलखेल रोकियो, मिलेमतो खुलेपछि टेन्डरै रद्द

इटहरी अस्पतालको तीन करोड कमिसनको चलखेल रोकियो, मिलेमतो खुलेपछि टेन्डरै रद्द

काठमाडौँ : मिलेमतोमा चिनिया मेसिन उत्पादक कम्पनी युनाइटेड इमेजिङको सिटी स्क्यान मेसिन महँगोमा किन्ने इटहरी उपमहानगरपालिकाको प्रयास असफल भएको छ।

इटहरी अस्पतालले करिब आठ करोड ४० लाखमा सिटीस्क्यान मेसिनको किन्न टेन्डर गरिसकेको थियो। स्पेशिफिकेशनमा चलखेल गर्दै युनाइटेड इमेजिङको उत्पादनसँग मात्र मिल्ने गरी अगाडि बढेको खरिद प्रक्रियाबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

बढीमा पाँच करोडमा आउने ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन तीन करोड बढी कमिसन बाँडफाँड हुनेगरि हुन लागेको खरिदबारे उकेरामा समाचार प्रकाशित भएपछि अस्पतालले खरिद प्रक्रिया नै रद्द गर्यो।

उकेराले असार २२ गते सिटी खरिदमा भएको मिलेमतोबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। इटहरी अस्पतालले २०८१ असार ३१ मा सिटी स्क्यान मेसिनको टेन्डर रद्द भएको सूचना जारी गर्यो।

अस्पतालले रद्द गरेको सिटी स्क्यान मेसिनको टेन्डर नम्बर ‘आइएच-आइसिबी-०१जी-०८०-०८१’ हो। सो सिटीको टेन्डर  कागजातमा,‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ सिटी स्क्यान मेसिन, इटहरी हस्पिटल, सुनसरी’ उल्लेख थियो।

इटहरी अस्पतालले युनाइटेड इमेजिङसँगमात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर २०८१ जेठ ७ मा सिटी स्क्यान मेसिन खरिदको टेन्डर आह्वान गरेको थियो।

उकेराको खोजमा अस्पतालले करिब पाँच करोडमा आउने सिटी स्क्यान मेसिन तीन करोड बढी मूल्यमा युनाइटेड इमेजिङको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको पुष्टि हुने प्रमाण फेला पारेको थियो।

लक्ड गरिएका बुँदा।इटहरी उपमहानगरपालिकाको बजेटमा अगाडि बढेको मेसिन खरिद प्रक्रिया मिलेमतोमा भएको सार्वजनिक भएपछि इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले उपमहानगरपालिकामा साउन दुई गते पत्र लेख्दै सिटी खरिदमा अनियमितता गर्नेमाथि छानबिन गरी दोषमाथि कारबाहीको माग गरे। तर सो टेन्डर असार ३१ मै खारेज भएको थियो।

सिटी खरिदको विषमा वडाध्यक्षले इटहरी उपमहानगरपालिकालाई लेखेको पत्रमा ‘खरिद प्रक्रियाको स्पेशिफिकेशन कुनै एक मात्र कम्पनीले ठेक्का पार्ने गरी सुनियोजित तरिकाले खुलाएको हुँदा यसको मापदण्ड तय गर्ने कर्मचारी र प्राविधिकमाथि छानबिन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने’ माग गरेका छन्।

वडाध्यक्ष थापा सिटीको खरिद प्रक्रिया रद्द भए पनि कमिसनको सेटिङमा संलग्नमाथि कारबाही हुनुपर्ने बताउँछन्।

‘रद्द गरेर सामसुम पार्ने खेल भइरहेको छ,’ वडाध्यक्ष थापाले भने,‘त्यो प्रक्रियामा संलग्न रहेकालाई यतिकै छाड्ने कुरा त भएन नि। यो प्रक्रियामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

अहिले प्रक्रिया रद्द गरे पनि पुन चाहेकै कम्पनीलाई टेन्डर दिने गरी सिटी स्क्यान मेसिनको टेन्डर गर्ने तयारी रहेको उनको दाबी छ।

‘सिटीको टेन्डर प्रक्रिया रद्द भएको त थाहा पाएँ, तर केही डकुमेन्ट मिलाएर पुनः टेन्डर खेल्ने तयारी छ,’उनले दाबी गरे।

कर्मकाण्डी प्रि-बिड बैठक

खरिद प्रक्रिया अगाडि बढेसँगै अस्पतालले प्रि–बिड बैठक राखेको थियो। यो खरिदको प्रक्रियामै पर्छ। प्रि-बिड बैठकमा स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादनसँग मिल्नेगरि बनाएको भन्दै अन्य सप्लायर्सले विरोध गरेका थिए। तर अस्पतालले स्पेशिफिकेशनको पुनरावलोकनको साटो मेसिन खरिदको टेन्डर प्रस्ताव गर्ने मिति १५ दिन पर सार्दै साउन ४ मा पुर्यायो।

अस्पतालले असार १९ गते सार्वजनिक गरेको सिटी स्क्यान मेसिन बोलपत्रको म्याद थप गर्ने सम्बन्धी सूचनामा ‘स्पेशिफिकेशन रिभ्यु गर्नु पर्ने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मको लागि बोलपत्र पेस गर्ने म्याद साउन चार गते दिनको १२ बजेसम्म थप गरिएको’ उल्लेख थियो। तर तोकिएको अवधि अगाडि नै प्रक्रिया नै रद्द गर्यो।

कर्मकाण्डी संशोधनको सेटिङको खेल तुहियो

इटहरी अस्पतालको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति असार पाँच गते बुधवार एक बजे (जुन, १९, २०२४)  लाई तोकिएको थियो। तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ।

इटहरी अस्पतालको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले पनि खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरेका थिए।

प्राविधिक स्पेशिफिकेशन भनेको कुन मेसिन, कस्तो किसिमको, कुन–कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही आधारमा खरिद गरिने कुन मेसिन गुणस्तरीय र कुन कम गुणस्तरीय भन्ने सुनिश्चित हुनसक्छ।

उकेराले प्राप्त गरेको प्रमाण अनुसार इटहरी अस्पतालले मेसिन उत्पादन चिनिया कम्पनी ‘युनाइटेड इमेजिङ’सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन तयार गरेको थियो।

इटहरी अस्पतालले ‘१२८’ स्लाइसको सिटी खरिदका लागि बनाएको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदा युनाइटेड इमेजिङको उत्पादनसँग मात्रै मिल्नेगरी बनाएको थियो।

स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.६’ लगायतका बुँदामा युनाइटेड इमेजिङको उत्पादन भएको सिटी स्क्यानको प्राविधिक स्पेशिफिकेशनसँग मात्र मिल्ने सर्त राखेर मेसिन खरिद प्रक्रियामा रहेका अस्पतालका अधिकारीहरूले बाँकी कम्पनीलाई प्राविधिक चरणमै अयोग्य ठहर्याएर महँगो दरमा सिटी स्क्यान मेसिन किन्ने चलखेल गरेका थिए। 

यो खरिद उपमहानगरपालिकाको बजेटमा हुन लागेको थियो। इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल छन्। उनी अस्पताल सञ्चालक समितीका अध्यक्ष हुन्। इटहरी  अस्पतालको प्रमुखमा डा मनिष शर्मा छन्। 

स्वास्थ्यमा लुट

साउन ८, २०८१ बुधबार २१:३५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।