जुन स्वास्थ्यमन्त्री आए पनि कमिसनकै दाउ, गेटाको चार करोडको ल्याबको टेन्डरमा मिलेमतो हुँदा मन्त्री प्रदीप भन्छन्- ‘थाहा छैन’

जुन स्वास्थ्यमन्त्री आए पनि कमिसनकै दाउ, गेटाको चार करोडको ल्याबको टेन्डरमा मिलेमतो हुँदा मन्त्री प्रदीप भन्छन्- ‘थाहा छैन’

काठमाडौँ : नयाँ स्वास्थ्यमन्त्री आएपछि पहिलो दाबी हुन्छ’खरिद पारदर्शी बनाउँछु।’ केही दिन यसो निर्देशन पनि दिन्छन्। चर्का दाबी गर्छन्। तर अन्तमा नतिजा उहीँ। उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएपछि मिलेमतोले निरन्तरता पायो। बहाना बनाए'मेरो पालामा भएको टेण्डर हैन। तर उनको पालामा भएको टेण्डरमा झन् चर्को मिलेमतो देखियो।

पार्टी जनता समाजवादी पार्टी नेपाल विभाजन भएर जनता समाजवादी पार्टी  बनेसँगै उपेन्द्रले राजीनामा दिए। स्वास्थ्यमन्त्री बने प्रदीप यादव। यादवले पद बहालीकोक्रममा उस्तै दाबी गर्दै भने’ खरिदमा तमासा नै भएको सुनेको छु। यसलाई नियन्त्रण गर्छ।' तर दाबी कार्यान्वयनमा देखिएन।

प्रदीपले स्वास्थ्य सेवा विभागको खरिद हेर्ने अधिकारीहरूलाई मिलेमतो नगर्न चेतावनी पनि दिए। टेन्डर प्रक्रियामा रहेका अस्पतालका प्रमुखहरूसँग बैठक पनि गरे। तर अन्तमा हिजो जसरी मिलेमतोमा खरिद चलिरहेको थियो उनको कार्यकालमा त्योभन्दा चर्को मिलेमतो देखियो खरिदमा।

उदाहरण कैलालीको गेटा अस्पतालको खरिद प्रक्रिया। पछिल्लो समय गेटाले ८० करोडभन्दा बढी रकमको टेन्डर गरिसकेको छ। अधिकांश टेन्डरको मापदण्ड विवादमा आइरहेका छन्। सार्वजनिक भएका टेन्डरमध्ये उकेराले ल्याबको मेसिन सम्बन्धी ३ करोड ९८ लाख को टेन्डरको अध्ययन गर्दा सिधै निश्चित कम्पनीले उत्पादन गरेको मेसिनको मापदण्डसँग मात्र मिल्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको देखियो।

गेटाले २०८१ वैशाख १० (अप्रिल २२, २०२४) मा दुई वटा प्याकेजका रूपमा दुई वटा लटमा वर्गीकरण गरेर ल्याब सम्बन्धी मेसिन खरिद प्रक्रिया अगाडी बढाएको छ। अस्पतालले निर्माण गरेको स्पेशिफिकेशनमा राखिएका सर्तहरू चिनिया मेसिन उत्पादक कम्पनी ‘माइन्ड-रे’ को उत्पादन गरेको मेसिनसँगमात्रै मिल्छ। अस्पतालस्रोतका अनुसार सो टेन्डरका लागि ल्याबलाइनको नाम लिँदै सुदेश श्रीवास्तव सक्रिय छन्।

ल्याब सम्बन्धी मेसिनको यो टेन्डरमा करिब ३ करोड ९८ लाख  रकममध्ये लट–१ मा  करिब दुई करोड १० लाख ४० हजार र लट–२ मा एक करोड ८८ लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान भएको हो।

ल्याबसम्बन्धी मेसिन खरिदका लागि ‘आइसिबी नम्बर ७’ को ‘लट-१’ र ‘आइसिबी नम्बर ८’ को ‘लट–२’ मा भएको टेन्डर चिनिया उत्पादक कम्पनी ‘माइन्ड-रे’ले उत्पादन गरेको मेसिनसँगमात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उकेराले प्राप्त गरेको तथ्यले देखाउँछ।

गेटा अस्पतालले टेन्डर आह्वानको सूचनामा ल्याब सम्बन्धी मेसिन खरिदका लागि ‘प्रि-बिड मिटिङ’ हुने मिति २०८१ जेठ आठ गते (मे २१, २०२४)लाई तोकेको थियो। ‘प्रि–बिड मिटिङ’मा सप्लायर्सहरुलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।

सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (गेटा अस्पताल)ले स्पेशिफिकेशन संशोधन गर्न सक्थ्यो। प्रि–बिड मिटिङपछि विभिन्न सप्लायर्स कम्पनीहरूले चित्त नबुझेको स्पेशिफिकेशनका बुँदाको संशोधनको माग गरेका पनि थिए। तर अस्पताल प्रशासनले जेठ २२ सम्म संशोधन गरेको छैन। संशोधनको समय जेठ २४ सम्म छ।

‘पहिले नै (खरिद प्रक्रिया)भएको हुनाले मलाई यसमा जानकारी छैन,’मन्त्री यादवले दाबी गरे ,‘यसमा कुनै बदमासी भएछ भने म हेर्छु। पत्ता लगाउँछु।‘

अस्पतालले २०८१ जेठ २४ गते (जुन ६, २०२४) दिउँसो १२ बजेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दुई बजेलाई नै टेन्डर खुल्ने मिति तोकेको छ। तर, गेटा अस्पतालले ल्याबका मेसिन खरिदका लागि टेन्डर आह्वान गरेर ‘प्रि-बिड मिटिङ’को औपचारिकता मात्रै पूरा गरेको देखिन्छ।

मन्त्री भन्छन्,‘बदमासी पत्ता लगाउँछु

उकेराले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवलाई पद बहालीको दिन गरेको दाबी सम्झाउँदै मंगलबार साँझ सम्पर्क गर्न बारम्बार प्रयास गर्दा बल्ल बल्ल सम्पर्कमा आए। उकेराकर्मीले’ गेटाले अगाडि बढाएको ल्याबको मेसिनको खरिदमा प्रस्ट मिलेमतो देखिन्छ। अब के गर्नुहुन्छ?’ भनेर प्रश्न गरेको थियो।

उनले आफ्नो पालामा कुनै पनि खरिद प्रक्रिया अगाडि नबढेको तर्क गरे। उनी मन्त्री हुनुभन्दा अगाडि गेटाले खरिद प्रक्रिया अगाडि बढाएको हो। तर खरिद प्रक्रियामै रहेकाले उनले चाहेमा हस्तक्षेप गर्न सक्छन्। तर उनले त्यतातिर चासो देखाएको देखिएन।

‘मेरो पालामा कुनै टेन्डर टेन्डर कहीँ भएको छैन’ उनले उकेरासँग मंगलबार साँझ भने। उनले यो मेसिन खरिदको विषयमा आफूलाई जानकारी नभएको दाबी गर्दै बदमासी भए पत्ता लगाउने तर्क गरे।

‘पहिले नै (खरिद प्रक्रिया)भएको हुनाले मलाई यसमा जानकारी छैन,’मन्त्री यादवले दाबी गरे ,‘यसमा कुनै बदमासी भएछ भने म हेर्छु। पत्ता लगाउँछु।‘

उता गेटाका निर्देशक डा विप्लव सापकोटाले ल्याबको मेसिनको खरिदको विषयमा कुनै समस्या देखिए पुनर्विचार गरिने दाबी गरे।

लट’ मा यसरी गरिएको छ मिलेमतो

गेटा अस्पतालले २०८१ वैशाख दश (अप्रिल २२, २०२४) मा ‘लट–१’ को ‘आइसिबी नम्बर ‘७’ मा  करिब दुई करोड १० लाख ४० हजारमा ल्याबको मेसिन खरिद गर्ने गरी टेन्डर गरेको छ।

‘आइसिबी नम्बर ७’ को ‘लट–१’ का रूपमा टेन्डर भएको सो खरिदको सिरियल नम्बर ३ को टेन्डर (आइएफबी) नं. ‘जीएच-जी-आइसिबी-०७-२०८०-८१’ रहेको छ। सो टेन्डरमा सामग्रीको बारेमा लेखिएको छ,‘सप्लाई, इन्स्टलेशन एन्ड कमिशनिङ अफ ल्याबोरेटोरी इक्युप्मेन्ट्स (लट—१)’

‘लट-१’ को ‘आइसिबी नम्बर ७’ मा  रहेको ल्याबसम्बन्धी टेन्डरको प्याकेजमा दुई वटा आइटममा विभाजन गरी प्राविधिक स्पेशिफिकेशन बनाइएको छ। सो दुई आइटममध्ये प्राविधिक स्पेशिफिकेशनको ‘आइटम नम्बर १’ मा ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्रि वीथ इम्युनोएसे इन्टेग्रेटेड सिस्टम’ हुनुपर्ने उल्लेख छ। यो आइटम मेसिन उत्पादक चिनिया कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्रि वीथ इम्युनोएसे इन्टेग्रेटेड सिस्टम मेसिनको टेक्निकल स्पेशिफिकेशन चिनिया कम्पनी माइन्डरेले बनाएको एसएएल ७००० सँग हुबहु मिल्छ,’ एक जानकार बायोमेडिकल इन्जिनिरयले उकेरालाई भने।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको ‘आइटम नम्बर २’ मा ‘इन्टेग्रेटेड हेमाटोलोजी एनालाईजर वीथ फुल्ली अटोमेटेड स्लाइड मेकर एन्ड स्टाइनर’ हुनुपर्ने प्रावधान राखिएको छ।

एक सिनियर बायोमेडिकल इन्जिनियरका अनुसार ल्याब सम्बन्धी सामग्रीको ‘आइटम नम्बर २’ रहेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.१’ चिनिया उत्पादक कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर गेटा अस्पतालले टेन्डर प्रक्रिया अगाडी बढाएको छ। 

‘आइटम नम्बर २’ रहेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.१’ मा भनिएको छ,‘अटोमेटेड हेमाटोलोजी एनालाईजर द्याट मेजर्स एट लिस्ट ५४ रिपोर्टेबल प्यारामिटर्स (होल ब्लड) रिपोर्टिङ प्यारामिटर्स इन्क्लुडिङ ५–पार्टडिफ्रेन्सियल अफ डब्लुबिसी विथ इम्याचुर ग्रान्युलोसाइट्स, एनआरबीसी, रिटीक्युलोसाइट्स एन्ड इएसआर फ्रम सिङ्गल स्याम्पल ट्युब। अटोमेटिक स्लाइड मेकर एन्ड स्टेनर फर प्रिपेयरेशन अफ ब्लड स्मीयर।’

विशेषगरी यो बुँदामा भएको ‘... एन्ड इएसआर फ्रम सिङ्गल स्याम्पल ट्युब’ भन्ने वाक्य मेसिन उत्पादक कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर राखिएकाले उसैको नेपाली सप्लायर्सलाई टेन्डर पर्ने निश्चित भएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए।

‘आइटम नम्बर २’ रहेको प्राविधिक स्पेशिफिकेशन चिनिया मेसिन उत्पादक कम्पनी माइन्डरेले बनाएको बिसी-७००० सिरिजको मेसिनसँग हुबहु मिल्छ,’ जानकार बायोमेडिकल इन्जिनियरले भने,‘हेमाटोलोजी विथ इएसआर संसारभरमा नै केवल माइन्डरे कम्पनीले बनाएको बिसी-७००० सिरिजमा मात्रै छ। इएसआर माइन्डरेबाहेक कसैको पनि छैन।’

ल्याब सम्बन्धी यी मेसिनको प्रि-बिड मिटिङपछि सप्लायर्स कम्पनीहरूले ‘लट–२’ को माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर तयार गरिएको स्पेशिफिकेशनको आठ आइटम मध्ये इएसआर लगायत विभिन्न लक्ड भएका आइटमको बुँदाप्रति समेत असहमति जनाउँदै संशोधनको माग गरेको देखिन्छ। तर अस्पताल प्रशासन स्पेशिफिकेशन संशोधनका लागि राजी देखिएको छैन।

यसका आधारमा खरिद गरिने सामाग्रीको स्पेशिफिकेशन माइन्डरे सँगमात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड भएको ती बायोमेडिकल इन्जिनियरले जानकारी दिए। इएसआर टेस्ट प्यारामिटर भएको ती बायोमेडिकल इन्जिनियरले बताए। जुन बिना पत्तामा लक्ड गर्नकै लागि घुसाइएको उनले जनकारी दिए।

ल्याबको मेसिन खरिदको ‘लट-१’ को प्राविधिक स्पेशिफिकेशनको ‘आइटम नम्बर १’ र ‘आइटम नम्बर २’ मा भएका अन्य विभिन्न बुँदाहरूमा चिनिया मेसिन उत्पादक कम्पनी माइन्डरेसँगमात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

ल्याब सम्बन्धी यी मेसिनको प्रि-बिड मिटिङपछि सप्लायर्स कम्पनीहरूले ‘लट–१’ को आइटम नम्बर–१ को प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ४.१, ४.१५, ४.२२, ४.२६, ७.२ र आइटम नम्बर–२ को २.१, ३.१, ४.१.२, ७.२ जस्ता माइन्डरेसँग लक्ड भएका बुँदा संशोधनका लागि माग गरेको देखिन्छ। तर, गेटा अस्पताल प्रशासनले संशोधन खरिद प्रक्रिया अगाडी बढाएका छन्।

लट’ मा यस्तो छ मिलेमतो

गेटा अस्पतालले २०८१ वैशाख मा ‘लट-२’ को ‘आइसिबी नम्बर-८’ मा  करिब एक करोड ८८ लाखमा ल्याब सम्बन्धी मेसिन खरिद गर्ने गरी टेन्डर गरेको छ। ‘आइसिबी नम्बर-८’ को ‘लट-२’ का रूपमा टेन्डर भएको सो खरिदको ‘सिरियल नम्बर ४’ को टेन्डर (आइएफबी) नम्बर ‘जीएच-जी-आइसिबी-०८-२०८०-८१’ रहेको छ। सो टेन्डरमा सामग्रीको बारेमा लेखिएको छ,‘सप्लाई, इन्स्टलेशन एन्ड कमिशनिङ अफ ल्याबोरेटोरी इक्युप्मेन्ट्स (लट—२)।’

‘लट–२’ को ‘आइसिबी नम्बर-८’ मा  रहेको ल्याबसम्बन्धी टेन्डरको प्याकेजमा आठ वटा आइटममा विभाजन गरी प्राविधिक स्पेशिफिकेशन बनाइएको छ।

ल्याबसम्बन्धी मेसिनको टेन्डरको ‘लट-२’ को ‘आइसिबी नम्बर ८’ को प्याकेजको ‘आइटम नम्बर-७’ को प्राविधिक स्पेशिफिकेशन नै चिनिया उत्पादक कम्पनी माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर यसको नेपाली सप्लायर्सलाई नै टेन्डर दिने रणनीति अनुसार गेटा अस्पताल प्रशासनले खरिद प्रक्रिया अगाडी बढाएको देखिन्छ।

आइटम नम्बर-७ मा भनिएको छ,‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाईजर विथ इएसआर एन्ड अटोलोडर।’ यो बुँदा लक्ड गरेर माइन्डरेकै नेपाली सप्लायर्सलाई आठ वटै आइटमको टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढाएको खुल्छ।

‘लट-२ को आइटम नम्बर–७ मा इएसआर राखेर माइन्डरेसँग लक्ड गरिएको छ,’ जानकार बायोमेडिकल इन्जिनियरले भने,‘इएसआर नराखेर प्याकेज नबनाएको भए अरूले पनि टेन्डरमा प्रतिस्पर्धा गर्नसक्थे। यसले त माइन्डरेबाहेक अरूले प्रतिस्पर्धा गर्नै पाएन।‘

तर, यसरी प्याकेजमा टेन्डर नगरी प्रत्येक आइटमको छुट्टा छुट्टै आइटममा छुट्टाछुट्टै सप्लायर्स कम्पनी (फर्म)ले टेन्डर प्रस्ताव गर्न सक्ने प्रावधान राखिएको भए धेरै कम्पनीले छुट्टा छुट्टै आइटमका सामग्री खरिदमा प्रतिस्पर्धा गर्न पाउँथे। जसले गर्दा एउटै कम्पनीले यो सबै टेन्डर पाउने सम्भावना हुँदैनथ्यो। अनि प्रतिस्पर्धा हुँदा कम मूल्यमा मेसिन खरिद हुन सक्थ्यो। तर, यो टेन्डरमा कम्पनीहरूलाई खुल्ला प्रतिस्पर्धाको अवसरै नदिई मंहगोमा सामान खरिद गरेर राज्य कोषको रकम दुरुपयोग गर्ने रणनीति बनाएको प्रस्ट हुन्छ।

ल्याब सम्बन्धी यी मेसिनको प्रि-बिड मिटिङपछि सप्लायर्स कम्पनीहरूले ‘लट–२’ को माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरेर तयार गरिएको स्पेशिफिकेशनको आठ आइटम मध्ये इएसआर लगायत विभिन्न लक्ड भएका आइटमको बुँदाप्रति समेत असहमति जनाउँदै संशोधनको माग गरेको देखिन्छ। तर अस्पताल प्रशासन स्पेशिफिकेशन संशोधनका लागि राजी देखिएको छैन।

ल्याबको मेसिन खरिदको ‘लट–१’ मा दुई वटा आइटमको प्राविधिक स्पेशिफिकेशन र ‘लट–२’ को प्याकेजको आठ वटा आइटम गरी १० वटै आइटममा माइन्डरेसँग मात्रै मिल्नेगरी लक्ड गरिएकाले निश्चित कम्पनीबाट उत्पादित सामान मात्र किन्नेगरी बदनियतपूर्ण रूपमा खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ। 

जेठ २२, २०८१ मंगलबार २२:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।