उकेरा प्रभाव : महानगरको हस्तक्षेपमा रोकियो क्षत्रपाटी चिकित्सालयको सिटी स्क्यान र मेमोग्रामको टेन्डर, छानबिन गर्न समिति गठन

उकेरा प्रभाव : महानगरको हस्तक्षेपमा रोकियो क्षत्रपाटी चिकित्सालयको सिटी स्क्यान र मेमोग्रामको टेन्डर, छानबिन गर्न समिति गठन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निर्देशनपछि क्षत्रपाटी निःशुल्क चिकित्सालयले खरिद गर्न लागेको १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्रामको खरिद प्रक्रिया रोकिएको छ।

काठमाडौँ महानगरपालिकाको आठ करोड सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो। दुवै मेसिनको खरिदमा मिलेमतोबारे उकेरामा समाचार प्रकाशित भएपछि महानगरले खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो।

चिकित्सालयले करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी सिटी स्क्यान र मेमोग्रामको टेन्डर आह्वान गरेको थियो। सिटी स्क्यान मेसिन र मेमोग्रामको विषयमा निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी स्पेशिफिकेशन नै लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढेको थियो।

काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रियामा रहेको १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्रामको टेन्डर रोक्न निर्देशन दिएको पुष्टि गरे।

काठमाडौँ महानगरपालिकाले क्षत्रपाटी चिकित्सालयमा खरिद प्रक्रिया रहेको सिटी र मेमोग्रामको खरिद प्रक्रिया रोक्न निर्देशन दिइएको हो? भन्ने जिज्ञासामा सहायक प्रवक्ता अधिकारीले भने,‘हो।...अहिले (क्षत्रपाटीको टेन्डर) स्थगित गरिएको छ।’

उकेरालाई प्राप्त तथ्य अनुसार क्षत्रपाटी निःशुल्क चिकित्सालयले एउटा सिटी स्क्यान मेसिन र एउटा डिजिटल मेमोग्राम मेसिन खरिदमा अनियमितता देखिएको भन्दै काठमाडौँ महानगरपालिकामा उजुरी परेको थियो।

चिकित्सालयले १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर गरे पनि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा फागुन १६ गते बुधवार उजुरी परको देखिएको छ।

उजुरी परेपछि फागुन १७ गते बिहीबार महानगरले प्रशासनलाई तोक लगाउँदै क्षत्रपाटी अस्पतालमा सिटी र मेमोग्राम मेसिनको खरिदका विषयमा अध्ययनका लागि महानगरको खरिद विभागका प्रमुखको संयोजकत्वमा अध्ययन समिति गठन गर्न समेत निर्देशन दिएको थियो। सो समितिलाई सात दिन भित्र प्रतिवेदन पेस गर्न समेत निर्देशन दिएको उकेरालाई प्राप्त तथ्यमा उल्लेख छ।

काठमाडौँ महानगरका सहायक प्रवक्ता अधिकारीले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रियामा रहेको सिटी र मेमोग्रामको विषयमा अध्ययनका लागि महानगरपालिकाका खरिद प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन भएको समेत पुष्टि गरे।

छानबिनका लागि गठित त्यो समितिले खरिद प्रक्रियाको विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि मात्रै प्रतिवेदनको आधारमा खरिद प्रक्रिया के हुन्छ भन्ने निर्णय हुने उनले जानकारी दिए।

‘खरिद प्रमुखको संयोजकत्वमा कमिटी गठन भएको छ,’सहायक प्रवक्ता अधिकारीले उकेरासँगको कुराकानीमा भने,‘सात दिन भित्र उहाँहरूले प्रतिवेदन दिनुहुन्छ।’ समितिले जे प्रतिवेद दिन्छ, त्यही अनुसार अगाडी बढ्छौँ हामी।’

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले पनि क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको सिटी स्क्यान मेसिन र मेमोग्रामको खरिद प्रक्रिया रोकिएको पुष्टि गरे।

सिटी स्क्यान र मेमोग्रामको खरिद प्रक्रिया रोकिएको हो? भन्ने जिज्ञासामा अध्यक्ष डा. श्रेष्ठले भने,‘रोकिएको हो हजुर।’

खरिद प्रक्रिया किन रोकिएको हो? भन्ने उकेराको अर्को जिज्ञासामा अध्यक्ष डा. श्रेष्ठले भने,‘तपाईँले न्युज निकालेर। सबै त्यस्तै छ, तपाईँले न्युज निकाल्नु, उताबाट त्यो (स्थगित गर्ने निर्देशन) आउनु। सबैको के हो,...एउटै सबैको साँठगाँठ छ की सबै ठाउँमा।’

महानगरले खरिद प्रक्रिया स्थगित गर्नु भन्ने निर्देशन दिएपछि स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताए। ‘तपाईँले(समाचार) निकालेको भोलिपल्ट मात्रै अहिलेलाई स्थगित गर्नु भनेर (महानगरले) गर्यो। हामीले स्थगित गरिदियौ,’अध्यक्ष श्रेष्ठले भने,‘छानबिन गर्नुपर्ने भनेर (महानगरले)लेखेको छ।...ल हुन्छ, छानिबिन गर्नु भनेर छोडिदिएका छौँ।’

उनले महानगरपालिकाले टेन्डर रोक्न निर्देशन दिनु अगाडि उकेरामा प्रकाशित समाचारबारे खण्डन पठाउँदै कुनै मिलेमतो नगरेको दाबी गरेका थिए।

उकेराले फागुन १७ गते बिहीबार क्षत्रपाटी निःशुल्क चिकित्सालयले एउटा सिटी स्क्यान मेसिन र एउटा डिजिटल मेमोग्राम मेसिन खरिदका विषयमा समाचार सम्प्रेषण गरेको थियो।

उकेराले प्राप्त गरेको प्रमाणमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले क्यानन–तोसिवाको उत्पादनको मात्र मापदण्ड पुग्नेगरि स्पेशिफिकेशन नै लक्ड गरेको खुलेको थियो।

क्षत्रपाटी निःशुल्क क्लिनिकले फागुन ११ गते सूचना प्रकाशित गर्दै फागुन १८ गते शुक्रवार तीन बजे (मार्च १, २०२४) मा सिटी स्क्यान मेसिन र मेमोग्राम मेसिनको आर्थिक प्रस्ताव खुल्ने सूचना जारी गरेको थियो। तर, महानगरले टेन्डर रोक्ने निर्देशन दिएपछि आर्थिक प्रस्ताव नखुली रोकिएको हो।

चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले आर्थिक प्रस्ताव नखोलिएको पुष्टि गरे। सिटी स्क्यान र मेमोग्रामको आर्थिक प्रस्ताव खुल्यो कि खुलेन? भन्ने जिज्ञासामा अध्यक्ष श्रेष्ठले भने,‘खुलेको छैन। छैन। नगरपालिको त्यो (स्थगित गर्ने निर्णय) भइसकेपछि हामीले गर्ने कुरै हुँदैन नि।’

चिकित्सालयले प्राविधिक प्रस्तावको चरणमा छनोट गरेर आर्थिक प्रस्तावको सूचना जारी गरेको थियो। आर्थिक प्रस्तावको चरणमा पनि छनोट गरिसकेपछि बोलपत्र स्वीकृत हुन्छ र सम्झौता हुन्छ। अनि निश्चित प्रशासनिक प्रक्रिया पुर्याइ आपूर्तिकर्ताले नेपालमा मेसिन ल्याइदिएर जडान गर्छ। त्यसैले बजेटको सिलिङभित्र प्रस्ताव भएको भए क्यानन–तोसिवाकै नेपाली सप्लायर्सलाई टेन्डर पर्ने करिब निश्चित नै थियो।

खरिद विवादकैबीच प्राविधिक स्पेशिफिकेशन नै क्यानन–तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको चिकित्सालयले प्राविधिक र आर्थिक दुवै चरणमा क्यानन–तोसिवाकै मेसिन खरिद गर्ने गरी यो फर्मलाई टेन्डर दिने अन्तिम प्रयास महानगरले स्थगित गरिदिएको छ।

चिकित्सालयले १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। यसमा महानगरपालिकाले आठ करोड रकम दिने निर्णय गरेको छ भने बाँकी अपुग रकम चिकित्सालयले नै व्यवस्थापन गर्नेछ।

यी दुवै मेसिन खरिद प्रक्रियामा निश्चित कम्पनीको उत्पादन मेसिनसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन लक्ड गरेर चाहेकै कम्पनीलाई टेन्डर पार्न मिलेमतो भएको देखिएको छ।

खरिद प्रक्रियामा महानगरका मेयर बालेन्द्र शाहका अनौपचारिक सल्लाहकार बताउने सहयोगी सुदिप ढकाल जोडिएका छन्। चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ र चिकित्सालयको व्यवस्थापन टिमको भूमिका समेत शङ्कास्पद देखिएको बारे उकेराले समाचार सम्प्रेषण गरिसकेको छ।

उकेराले प्राप्त गरेको प्राविधिक स्पेशिफिकेशन अनुसार सिटी र मेमोग्राम मेसिनको टेन्डर ‘ग्लोबल मेडिटेक प्रालि’ले पाउने गरी लक्ड गरिएको देखिएको छ। मेसिन उत्पादक कम्पनी क्यानन–तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।

यसको नेपाली आपूर्तिकर्ता ‘ग्लोबल मेडिटेक प्रालि’ हो। उसैले टेन्डर पाउनेगरि सिटी स्क्यानको प्राविधिक स्पेशिफिकेशन लक्ड भएको हो। यो प्याकेजको टेन्डर भएकाले सिटीको लक्ड गरेपछि जसलाई सिटीको टेन्डर पर्छ उसैले मेमोग्रामको पनि टेन्डर पाउँछ।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले क्षत्रपाटीले क्यानन–तोसिवाकै नेपाली सप्लायर्स धिरज थपलियासँगै खरिद गर्नेगरी सिटी र मेमोग्रामको खरिद अन्तिम चरणमा पुर्याइएको थियो। क्यानन जापानी मेसिन हो। मेसिन उत्पादक कम्पनी क्यानन–तोसिवाको नेपाली सप्लायर्स धिरज हुन्। उनका विभिन्न फर्म छन्। क्षत्रपाटीको टेन्डरमा उनको फर्म ग्लोबल मेडिटेक संलग्न छ।

मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्राली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी थपलियाकै ग्लोबल मेडिटेक प्रालिबाट टेन्डर प्रस्ताव गरेको हो।

मेट्रोनिक्स नेपाल प्रालि र ग्लोबल (इन्टरनेश्नल) मेडिटेक प्रालि दुवै थपलिया कै हुन्। थपलियाले यी दुवै आफ्ना कम्पनी भएको बताइसकेका छन्। तर, उनले उकेरासँगको कुराकानीमा स्पेशिफिकेशन लक्ड भए–नभएकोबारे आफूलाई थाहा नभएको बताए थिए।

यही कम्पनीको नेपाली सप्लायर्सले त्रिशूली अस्पतालको सिटी स्क्यानको टेन्डर तीन करोड बढी मूल्यमा करिब आठ करोडमा पर्ने गरी टेन्डर पाइसकेको छ। यो टेन्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको थियो। टेन्डर सम्झौता भए नभएको अझैँ खुल्न सकेको छैन।

क्षत्रपाटी निःशुल्क चिकित्सालयले २०८० पुस आठ गते आइतबार (डिसेम्बर २४, २०२३) मा १२८ सिटी र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। सिटी र मेमोग्राम खरिदका लागि प्रिबिड बैठक  माघ नौ गते (जनवरी १३, २०२४) लाई तोकिएको थियो।

त्यसैगरी माघ २४ गते (फेब्रुअरी ७, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।

चिकित्सालयको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरेका थिए।

यो सिङ्गल बिड हो, प्रिबिड मिटिङमा जिइ, फिलिप्स, सिमेन्स, नियोसफ्ट, हिटाची र क्यानन–तोसिवाका नेपाल सप्लायर्स पुगेको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो।

चिकित्सालयले क्यानन–तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएकाले यसको नेपाली आपूर्तिकर्ता ‘ग्लोबल मेडिटेक प्रालि’ले मात्रै सिटी र मेमोग्राफी खरिदका लागि टेन्डर प्रस्ताव गरेको प्रस्टै देखिन्छ।

चिकित्सालयले माघ २२ गते (फेब्रुअरी ५, २०२४) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ। तर, लक्ड गरिएको प्रमुख बुँदाहरू झन् बढी क्यानन–तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी संशोधन गरियो। लक्ड स्पेशिफिकेशनमा माग अनुसार संशोधन नभएपछि ग्लोबल मेडिटेक प्रालिले मात्रै टेन्डर प्रस्ताव गर्यो। अन्यले प्रस्तावै गरेनन्।

२१ फागुन, २०८०, १९:५६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।