कुखुरा तस्करीमा पूर्वमन्त्री मोहम्मद इस्तियाकको मामा-भान्जाको जालो, भन्सार र प्रहरीलाई सबै थाहा छ तर गर्दैनन् कारवाही

कुखुरा तस्करीमा पूर्वमन्त्री मोहम्मद इस्तियाकको मामा-भान्जाको जालो, भन्सार र प्रहरीलाई सबै थाहा छ तर गर्दैनन् कारवाही

नेपालमा कुखुराको मासुको मात्र कारोबार वार्षिक एक खर्ब ५० अर्ब बराबरको देखिन्छ। त्यसमा नेपाल-भारत खुल्ला सीमाबाट वार्षिक १५ अर्ब बराबरको अवैध कुखुरा नेपाल भित्रिने गरेको ब्यवसायी बताउँछन्। यो कुखुराजन्यको  मात्रै आँकलन  हो। भारतबाट माछासँगै खसी र राँगा-भैँसी समेत तस्करी हुने गरेको छ। यी सबैको परिणाम जोड्ने हो भने वर्षकै २५ अर्ब बराबरको मासुजन्य सामाग्री भारतबाट नेपालमा तस्करी हुने गरेको दाबी सुनिन्छ। सत्य हो त? 

उकेराले यही तस्करीको जालो केलाउन एक महिना मधेसको बाँके, रुपन्देही, सर्लाही, रौतहट, बारा र पर्साको नेपाल-भारत सीमामा स्थलगत रिपोर्टिङ गरेको थियो। रिपोर्टिङमा सङ्गठित तस्करीको जालो स्थानीयदेखि केन्द्रसम्म फैलिएको देखियो। सय रुपैयाँ बढीको सामान जफत गर्ने सुरक्षा निकायका सदस्यको तस्करीमा संरक्षण उदेक लाग्दो देखियो। आज स्थलगत रिपोर्टिङमा देखिएको बाँके जमुनाहा-रुपेडिया नाकाबाट भइरहेको कुखुरा तस्करी र संरक्षकको जालोबारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौँ :

OOO

नेपालगन्ज (बाँके) : २०८० भदौ ५ मा नेपालगन्ज भन्सार कार्यालयले कुखुराको चल्ला तस्करी गरिरहेको अवस्थामा भे १ च ३५९७ नम्बरको गाडी नियन्त्रणमा लियो। त्यो गाडी शिव पोल्ट्री फर्मको नाममा दर्ता थियो। गाडी २०८० भदौ ५ गते भन्सारमा बुझाएको तथ्याङ्कले देखायो।

त्यो गाडी सारुक रजा राईसँग जोडियो जो पूर्वमन्त्री महम्मद इस्तियाक राईका व्यावसायिक साझेदार हुन्। नेपालगन्ज बजारबाट पूर्वको मलानशाह चोक (बिर्ता) मा करिब ६० हजार अट्ने रज्जक ग्रुप प्रालि नामक कुखुरा फर्म छ यी दुवैको। नातामा भान्जा पर्ने उनको सारुक इन्टरप्राइजेज नामको कुखुरा फार्म छ। ती फार्मबाट नेपालका विभिन्न स्थानमा कुखुरा पठाउने गर्दै आएका छन्।

पूर्वमन्त्री राईले सारुकसँग आफ्नो मामा-भान्जाको सम्बन्धसँगै आफ्नो व्यवसायी साझेदार समेत रहेको स्वीकार गरे।

‘भान्जा र मेरो मामा भान्जाको सम्बन्ध मात्रै होइन। व्यवसायीक साझेदारी पनि छ। मेरो डिलर हुन सारुक रजा राई’ उनले उकेरासँग भने।

राईको कुखुरा तस्करीमा संलग्नताबारे उकेराले नेपालगन्ज भन्सार कार्यालयमा बुझ्दा भन्सारले भे १ च ३५९७ नम्बरको गाडीमा राईको मामा भान्जाले ल्याएको चल्ला सीमा सुरक्षा सुरक्षाकर्मीले भन्सारमा बुझाएको खुल्यो।

यस विषयमा थप प्रमाण जुटाउन भन्सारसँग विवरण माग गर्दा कार्यालय प्रमुख धुब्रराज विश्वकर्माले हाल मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप विवरण दिन नमिल्ने बताए।

‘२०८० भदौ ५ गते समाएको हो। हालसम्म कोही गाडी लिन आएका छैनन्। जबसम्म गाडी लिन आउँदैनन्, मुद्दा किनारा हुँदैन। त्यसैले तपाईँलाई जानकारी दिन मिल्दैन।’

भन्सारमा कार्यरत प्रहरी कर्मचारीसँग बुझ्दा सिधै राईको नाम जोडियो। भन्सारमा कार्यरत असई सन्जित केसीले पूर्वमन्त्री राई र उनका भान्जाले कुखुरा ल्याएको र सीमा सुरक्षा बलले समाएर भन्सारमा बुझाएको बताए।

‘मन्त्रीजीले शिव पोल्टी फर्मको गाडीमा चल्ला ल्याएका हुन्।  चल्ला ल्याउनेमा मन्त्रीजी र भान्जाको संलग्नता छ’ उनले भने।

यस विषयलाई थप प्रस्ट हुन हामीले कुखुरा संघका पदाधिकारीलाई समेत सोध्यौँ। उनीहरूले पनि मन्त्री र भान्जाको संलग्नता रहेको खुलाए।

‘२-४ महिनाअघि भन्सारले समाएको हो। शिव पोल्टीको नाममा रहेको गाडीमा मन्त्रीजी(पूर्व) र भान्जाको चल्ला हो’ कुखुरा व्यवसायी मन्चका अध्यक्ष धर्मराज पोखरेलले बताए।

भैँसीको व्यापारबाट कुखुरा तस्करीमा राई

२०६४ अघि महमद इस्तिहाक राईको पेसा थियो, भारतबाट भैँसी ल्याएर नेपालमा बेच्ने। यो कारोबारसँगै उनी मधेस आन्दोलनबाट राजनीतिमा सक्रिय भए। मधेसको राजनीति फाप्यो उनलाई। सांसद हुँदै मन्त्री समेत भए।

राजनीतिमा पकड बढेपछि उनले राँगा-भैँसीको कारोबार छाडेर कुखुराको कारोबारमामा लागे। नेपाल – भारत सीमा नजिकै पोल्ट्री फर्म खोलेर मिलेमतोमा भारतबाट कुखुरा नेपाल ल्याएर पोल्ट्रीमा राखेर नेपालमै उत्पादित भनेर विक्री गर्ने उनको मुख्य धन्दा देखियो।

राईले उकेरासँगको कुराकानीमा राजनीतिमा आउनुअघि आफू भैँसीको व्यापारमा संलग्न रहेको स्वीकार गरे। उनी भन्छन्, ‘मैले भैँसीको व्यापार गरेको नेपालगन्जमा बसोबास गर्ने सबैलाई थाहा छ।’

राईका भान्जा सारुक, उनले भारतबाट तस्करी गरेर कुखुरा ल्याउँदा बरामद भएको गाडी।बाँके कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष तेजमान रेसमीले समेत सांसद राइको कामै भारतबाट कुखुरा तस्करी गरेर नेपाल ल्याउने र नेपालमै उत्पादित भनेर बेच्ने रहेको बताए।

‘मैले देख्दा मन्त्रीज्यू (राई) भैँसी पारी(भारत)बाट ल्याएर बेच्ने गर्नुहुन्थ्यो। अहिले चल्ला ल्याएर पाल्ने गरेका छन्। नेपालको ह्रर्चरीबाट केही मात्रामा ल्याउने र धेरै जस्तो भारतीय चल्ला ल्याएर पाल्ने गर्छन् मन्त्रीज्यू, तपाई जसलाई पनि सोध्न सक्नुहुन्छ। त्यही भारतबाट ल्याउने क्रममा नेपालगन्ज भन्सार कार्यालयले गाडी नै समातेको छ’ उनले भने।

यस विषयमा पूर्वमन्त्री राईलाई सोध्दा उनले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरे। ‘चुनावको समयमा मेरो विरुद्ध षड्यन्त्र गरियो। यसमा मेरो संलग्नता छैन। अब दाङको ह्रार्चरीबाट ल्याउने तयारी गरिरहेका छौँ। त्यो ह्रार्चरीमा कानुनी झमेला भएकोले ल्याउन पाएका छैनौँ’ उनले दाबी गरे।

तर सांसद महमद इस्तिहाक राईले भनेको समय र सुरक्षा बलले समाएको समय मेल खाएन। २०७९ मंसिर ४ गते चुनाव भएको थियो। २०८० भदौ ५ मा भन्सारले राईको गाडी समाएको हो।

कुखुराको तस्करीमा कहलिएको नाका जमुनाहा– रुपेडिया

भारतीय सीमा जोडिएको बाँकेको जमुनाहा– रुपेडिया ज्युँदो कुखुरा अनि तयारी कुखुराको मासु तस्करीमा कहिलिएको नाका देखियो। आयातमा प्रतिबन्धित मासु मुख्य नाका निर्बाध रूपमा प्रवेश गर्छ। सुरक्षा निकायको चौबिसै घण्टा आँखा रहने भए पनि कुखुराको तस्करीमा कुनै बाधा परेको देखिएन।

भारतमा उत्पादित कुखुराको लागत नेपालको भन्दा सस्तो पर्छ। त्यसैको फाइदा उठाउन नेपालतिरका व्यवसायीहरूले भन्सार छलेर भारतबाट कुखुरा तस्करी गरेर नेपाली हो भन्दै बजारमा पठाउँछन्। सीमामा सशस्त्र प्रहरी अनि नेपाल प्रहरीको निगरानी छ नै। तर त्यसले तस्करीमा संलग्नहरूलाई कुनै असर परेको देखिएन।

बाँकेको वीपी चोकमा रहेको फ्रेस हाउस जसको कामै भारतबाट तस्करीको कुखुरा नेपालको बनाएर विक्री गर्ने देखियो।कसरी तस्करी गर्ने रहेछन् त ? उकेराकर्मीले कुखुरा तस्करीमा संलग्न स्थानीयको खोजी गर्यो। बाँकेमा भेटिए अटो चालक सलमान राई। उनलाई विश्वासमा लिएर ‘मलाई ३० केजीमासु चाहिएको छ, कसरी ल्याउने होला’ भनेर सोध्दा उनले अर्को अटो चालकसँग सम्पर्क गराउन रुपैडियाको मूल गेटबाट करिब एक सय मिटरभित्रको मासु पसलमा पूर्याए।

‘नेपालगन्ज बसपार्कमा ३० केजीमासु ल्याउन सकिन्छ?’ पसलमा पुगेपछि उकेराकर्मी लाई सहजै ल्याउन सकिने बताए। उनले सहजै मुख्य नाकाबाटै मासु ल्याउन गाह्रो नभएको बताए।

प्रहरीले समाएको खण्डमा पैसा नदिने बताए पनि उनी निर्धक्क थिए। ती भारतीय नागरिकले भने ‘सुबह ७ बजे नेपालगन्ज बसपार्कमै चिकेन ल्याउँगा, आप उदर सेही डेलिभरी लेना, जब आपके हातमे माल आएगा तब पेमेन्ट कर्ना।’

यो त पटके तस्करीको शैली भयो। एक साता लामो बाँके बसाइमा यस्तो तस्करी ठुलो मात्रामा सङ्गठित रूपमै हुने गरेको देखियो। त्यसका तस्करी रोक्ने जिम्मेवारी पाएका राज्यका अधिकांश निकायका पदाधिकारीको प्रत्यक्ष संरक्षण देखियो। 

तस्करीको जालोबारे खोज्नेक्रममा भेटिए खजुरीमा रहेको कर्णाली फिड प्रालिका सञ्चालक तथा बाँके कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेल। उनले सिधै यो नाकाबाट दिउसै कुखुरा तस्करी हुनु नौलो नभएको बताए। यसमा सुरक्षाकर्मीहरू समेत मिलेको उनले दाबी गरे।

‘सुरक्षा निकायलाई केही रकम दिन्छन् अनि तस्करी गरिहाल्छन्। होइन भने नाकाको मुख्य गेटबाट मासु कसरी तस्करी हुन्छ? तीन तहको सुरक्षा घेरा छ, मुख्य गेट, भन्सार कार्यालय र धम्बोझी चोक नजिक प्रहरीबिट छ। तर सहजै कुखुरा आइरहेका छन्’ उनले भने।

उनले हचुवाको तालमा सुरक्षाकर्मीमाथि आरोप लगाएका हुन् कि साँच्चै हो? सुरक्षाकर्मीको सं‌लग्नता देखाउन उनले व्यवसायीहरूले तस्करी नियन्त्रण गर्न बनाएको समितिसँगै हिँड्न आग्रह गरे। समितिको सूचनाको आधारमा सशस्त्र प्रहरीले तस्करी गरेर ल्याएको २५ किलो तयारी मासु भन्सार कार्यालय अगाडि नै बरामद गर्यो।

पूर्वमन्त्री राईको बाँकेमा रहेको कुखुराको दाना उत्पादन फ्याक्ट्री।नेपालगन्ज बिपी चोकमा सञ्चालित नसिम फ्रेस हाउसले भारतबाट ल्याएको कुखुरा धमाधम ओसारेको पाइयो। नेपालगन्ज भन्सार कार्यालय नजिक सञ्चालित आलम मिट हाउसले भारतबाट कुखुरा भन्सार छलेर नेपाल ल्याएर बेच्ने गरेको पाइयो। आलम त नेपालगन्जमा भारतबाट कुखुरा ल्याएर नेपालमा काटेर बेच्न कहलिएकै कारोबारी देखिए।

रोचक के भने अनुगमनमा पूर्वमन्त्री राईका भान्जा सारुकसमेत सँगै थिए। ब्यापारीहरुसँग कुखुरा किन तस्करी गरेको भन्नेबारे कुराकानी गर्दा उनीहरूले हाकाहाकी' मन्त्री(राई) ले त गरिरहेका छन्। हामीले किन नगर्ने' भन्दा उनी मौन सुनिरहेका थिए। 

बजारमा आधा नेपाली, आधा भारतीय कुखुरा

नेपालगन्जमा ५ सय बढी पोल्ट्री फर्म छ जसमा १० हजार जिउँदो (गोटामा) कुखुरा उत्पादन हुन्छ। नेपालगन्जमा करिब एक सय भन्दा बढी फ्रेस हाउस छन्। त्यहाँ उत्पादित कुखुरा सुर्खेत, जाजरकोट, दैलेख, मुगु, डोल्पा, हुम्लासँगै काठमाडौँसम्म पुग्ने अध्यक्ष पोखरेलले बताए।

‘देशका पश्चिमी भूभागमा यहाँ उत्पादन भएको कुखुरा जान्छ। काठमाडौँतिर पनि जान्छ। तर काठमाडौँलाई पूर्वतिरकै कुखुराले भ्याउने भएकोले अभाव भएको बेला यताबाट जान्छ। कमै जान्छ तर काठमाडौँ पनि जान्छ’ उनले भने। 

नेपालगन्जमा अनुगमन गर्दा यहाँको पोल्ट्रीमा आधा भारतीय अनि आधा मात्र नेपाली कुखुरा हुने गरेको उनी नै बताउँछन्। मञ्चका अध्यक्ष पोखरेल आधा नेपाली कुखुरा बेच्नुको कारण पनि बिल देखाउने बाध्यताले रहेको दाबी गर्छन्। 

‘नेपालको पोल्ट्री फर्मबाट ल्याएको कुखुराको परिणाम भन्दा बढीको बिल बनाउँछन्। अनुगमन आयो भने नेपाली कुखुरा हो भनेर बिल देखाउँछन् तर पोल्ट्रीमा गएर हेर्यो भने आधाभन्दा बढी भारतीय कुखुरा हुन्छन्। हामी यो पेसामा लागेकै २५,३० वर्ष भइसक्यो, नेपाली कुखुरा कुन हो भारतीय कुखुरा कुन ठम्याउन सक्दैनौ र?'उनले भने।

कृषक ऋणमा, तस्कर मालामाल

मलानशाह चोक, बिर्तामा डी एन्ड सी पोल्ट्री फर्मबाट २० वर्षदेखि कुखुरा व्यवसायीमै लागेका गोविन्द बुढा यही पेसाले ऋण लगाएको बताउँछन्। यसको कारण भारतबाट भइरहेको चल्ला अनि तयारी कुखुराको तस्करीको कारण ऋण लागेको उनले बताए।

‘भारतमा चल्ला सस्तो छ, यता अलि महँगो छ। हामीले महँगोमा किनेर पाल्नुपर्छ, पाल्दा दाना, औषधीहरूको खर्च लागिहाल्छ,’ उनले भने’ ठुला व्यापारीले पारि भारतबाट चल्ला ल्याएर बेच्छन्। कतिले त हुर्किसकेको कुखुरै ल्याएर नेपाली बनाएर बेच्छन्। यसले उनीहरूकै कुखुरा सस्तो हुन्छ। हाम्रो बिक्दैन।‘

सीमाबाट हुने कुखुरा तस्करी नरोकिँदा भारतबाट आएका तस्करीको कुखुरासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा घाटाहुँदा  ऋण लागेको उनले बताए।

नेपालमा चल्ला अहिले ७० रुपैंया छ। जबकि भारतमा ६६ रुपैयाँ छ। जसको कारणले भारतमा नेपालको तुलनामा सस्तो छ। त्यस्तै, चैत्र २८ गतेको नेपालमा जिउँदो कुखुरा प्रतिकिलो २२० रुपैयाँ छ, जबकि भारतमा प्रतिकिलो १०४ आइसी अर्थात् नेपाली १७० पर्न जान्छ। एक किलोमै ५० रुपैयाँ फाइदा हुने भएकोले पनि भारतबाट ल्याउने गर्छन्। 

तस्करी लगायतका सीमामा हुने समस्या नियन्त्रण गर्न सशस्त्र प्रहरीले बोर्डर आउटरिच पोस्टहरू राखेको छ। बाँकेमा पनि सशस्त्रको संरचना नभएको हैन बाक्लै छ।

सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार बाँके जिल्लाभरि ११ वटा विओपी छन्। जयसपुर  ( जमुनाह नाकाको मूल गेट), कालाबन्जार  ( पिप्रहवा), जयसपुर  (जयसपुर),बढैया ( जानकी गाउँपालिका) ,प्रस्तावित सीमा सुरक्षा गुल्म नरैनापुर( नरैनापुर), गङ्गापुर (गङ्गापुर), खडैचा  (डुडुवा गाउँपालिका खडैचा), कटकुइया ( नरैनापुर कटकुइया), गुर्जनगौरी  (राप्ती सोनारी गाउँपालिका), बडवागाउँ ( राप्ती सोनारी), सैगोउ  ( जानकी गाउँपालिकामा सशस्त्रको विओपी रहेको छ।    

भारत रुपेडियामा नेपालतर्फ तयारी मासुजन्य पदार्थ तस्करीका लागि काटकुट पार्ने स्थान।सीमामा रहेको सशस्त्रको संरचना सक्रिय हुने हो भने तस्करी नियन्त्रणमा प्रभावकारी हुनसक्ने देखियो। तर तस्करीको अवस्थामा र स्थानीय व्यवसायीहरूको गुनासो हेर्दा कुखुरा तस्करीमा उनीहरूकै संरक्षण रहेकोमा कुनै शङ्का रहेन। 

कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले सिधै सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र तस्करहरूबीचको सेटिङमा भारतबाट नेपालतिर कुखुरा तस्करी भइरहेको दाबी गरे।

‘सब सेटिङ्गमा हुन्छ। जति कुखुरा समातिएका छन् त्यो हामीले अनुगमन गरेर यहाँ छ भनेर बोलाएपछि बरामद भएका हुन्। तस्करीको कुखुरा राखेको ठाउँ नै फेला पारेर बोलाउँदा पनि समयमा आउँदैनन्।‘

यता, सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले तस्करीमा आफ्नो सङ्गठनको सदस्यको संलग्नता नहुने दाबी समेत गर्न सकेनन्। उनले 'यदि सशस्त्रको सेटिङ तस्करी भएको भेटिएमा तत्कालै कारबाही गरिने' बताए। 

‘सशस्त्र प्रहरीको सेटिङ गरेको वा पैसा लिएको प्रमाण पाएमा हामी एक्सन लिन्छौँ। कुखुरा, चल्लाहरूकै कुरा गर्ने हो भने, हामीले देखेको खण्डमा नष्ट पनि गरिराखेका छौ। हरेक सीमा नाकामा कडाइ गर्न परिपत्र गरिसकेका छौँ’ उनले भने।

भिडियो रिपोर्ट

२९ चैत, २०८०, २१:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।