स्वास्थ्यमन्त्री बिरेन्द्रप्रसाद सिंह : बर्खास्तीको दिनमा पनि ठे‍क्कामै ध्यान, अन्तिम दुई दिनमा मात्र १५ करोडको ठेक्का आह्वान

स्वास्थ्यमन्त्री बिरेन्द्रप्रसाद सिंह : बर्खास्तीको दिनमा पनि ठे‍क्कामै ध्यान, अन्तिम दुई दिनमा मात्र १५ करोडको ठेक्का आह्वान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै फागुन २१ गते एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनको मन्त्रीमण्डल पुनर्गठन गरे।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पर्ने नै भयो। मधेश प्रदेशलाई त्यसले नछुने कुरै भएन। नयाँ सरकारको कसरतमा कांग्रेसबाट बनेका मन्त्रीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले चैत ५ गते बर्खास्त गरे।

तर, सत्ता परिवर्तन भइसक्दा समेत मधेश प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री बिरेन्द्र प्रसाद सिंहको ध्यान स्वास्थ्य उपकरण र सामग्री खरिदमै रहेको पाइएको छ।

मन्त्रीबाट बर्खास्तीमा पर्ने अन्तिम दिन समेत सिंहले प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’मार्फत हतार-हतारमा स्वास्थ्य उपकरण र सामग्रीको टेन्डर गरेको पाइएको हो।

२६ दिनमा साढे ३८ करोडको खरिद
प्रदेश मातहतको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले पछिल्लो २६ दिनको अवधिमा ३८ करोड ५३ लाख ६० हजारको उपकरण र स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको पाइएको छ।

उकेराको खोजमा केन्द्रले फागुन १० गतेदेखि चैत ५ गतेसम्म २६ दिनको अवधिमा हतार-हतार यति ठूलो रकमको टेन्डर गरेको खुलेको हो। केन्द्रले २६ दिनको अवधिमा गरेको यो टेन्डरमध्ये चैत २ र ५ गते दुई दिन मात्रै १४ करोड ९३ लाख ६० हजारको टेन्डर गरेको छ।

यो मधेश प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री सिंह बर्खास्तीमा पर्ने पक्का भएपछि भएको टेन्डर हो। त्यसअघिका दुई दिन फागुन १० र २४ गते केन्द्रले २३ करोड ६० लाखको टेन्डर गरेको थियो।

एकै दिन १२ करोड ४६ लाखको टेन्डर
प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले चैत ५ गते मात्रै १२ करोड ४६ लाखको टेन्डर निकालेको छ।

यति ठूलो रकमको टेन्डरमा ‘इन्टरनेश्नल कम्पिटिटिभ बिडिङ (आईसीबी)’ नगरी अन्तर्राष्ट्रिय कम्पनीलाई समेत खरिदमा सहभागी हुन नदिई नेपाली सप्लायर्समा मात्रै प्रतिष्पर्धामा खुम्च्याउनुले नै खरिदमा कमिसनको चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ।

केन्द्रले निकालेका यी करिब सबै टेन्डर एनसीबी अर्थात नेशनल कन्पिटिटिभ बिडिङ हुन्। केन्द्रले चैत ५ गते पाँच सेट ‘सिआर-एनेस्थेसिया वर्कस्टेशन मेसिन’ करिब दुई करोड ४६ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ।

चैत २३ गते प्रिबिड बैठक तोकिएको यसका लागि वैशाख ६ गतेसम्म टेन्डर प्रस्ताव गरिसक्नुपर्नेछ भने सोही दिन टेन्डर खुल्नेछ।

मधेश प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले २०८० चैत ५ गते चार सेट ‘मेमोग्राफी मेसिन (मेमोग्राफी मेसिन हाइ अपग्रेडेबल टु थ्रिडी)’ करिब दश करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ।

मेसिन खरिदका लागि प्रिबिड बैठक चैत २३ गते तोकिएको छ भने वैशाख ६ गतेसम्म टेन्डर प्रस्ताव गरिसक्नुपर्ने भनिएको छ। सोही दिन टेन्डर पनि खुल्नेछ।

सेटिङमा १८ करोडको सिटीको टेन्डर
केन्द्रले २०८० फागुन १० गते १२८ स्लाइसको दुई वटा सिटीस्क्यान मेसिन करिब १८ करोड २० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गर्यो। फिलिप्ससँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएको भन्दै उजुरी परेपछि यस विषयमा अहिले छानबिन भइरहेको छ।

यो सिटी स्क्यान खरिदका लागि प्रिबिड बैठक फागुन २७ गते तोकिएको थियो। त्यसैगरी चैत १० गतेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो। यो सिटीको टेन्डरको संशोधन पनि भएको छ।

सिराहा प्रादेशिक अस्पताल र मलंगवा प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन राख्ने संरचना बनाउने ‘ट्रंकी प्रोजेक्ट’को काम समेत सिटीको टेन्डर पार्नेले नै गर्नेगरी यो टेन्डर आह्वान भएको हो।

सो सिटी स्क्यान मेसिनको टेन्डर मेडिकल व्यवसायी विशाल पण्डित समूहलाई नै पार्नेगरी सेटिङ गर्न करिब केही समयअघि मधेश प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का तत्कालिन निर्देशक डा. नागेन्द्र यादवलाई पण्डितकै पहलमा नै हटाएर डा. मनिष पाण्डेलाई नि. निर्देशकको जिम्मेवारी दिइएको विषयमा उकेराले यसअघिनै समाचार सम्प्रेषण गरिसकेको छ।

साढे पाँच करोडमा इएनटी अप्रेटिङ माइक्रोस्कोप र इएनटी इन्डोस्कोप
केन्द्रले २०८० फागुन २४ गते दुई सेट ‘इएनटी अप्रेटिङ माइक्रोस्कोप र इएनटी इन्डोस्कोप’ करिब पाँच करोड ४० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ।

यी सामग्री खरिदका लागि प्रिबिड बैठक चैत १३ गते र चैत २५ गतेसम्म टेन्डर प्रस्ताव गरिसक्नुपर्ने भनिएको छ। सोही दिन नै टेन्डर खुलाइने उल्लेख छ।

साढे एक करोडको एक्स-रे फिल्म
केन्द्रले फागुन २९ गते ‘एक्स-रे फिल्म’ करिब एक करोड ५२ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गर्यो। यसका लागि चैत १८ गते प्रिबिड मिटिङ बोलाइएको छ भने चैत २९ गतेसम्म टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ। सोही दिन टेन्डर खुल्नेछ।

साढे ६ लाखमा ‘ल्याब केमिकल र रिएजेन्ट’
केन्द्रले फागुन २९ गते ‘ल्याब केमिकल र रिएजेन्ट’ करिब ६ लाख ४० हजारमा खरिद गर्ने गरी आह्वान गरेको टेन्डरका लागि चैत २० प्रिबिड मिटिङ तोकिएको छ। वैशाख ३ गतेसम्म टेन्डर प्रस्ताव गरिसक्नुपर्ने यसको टेन्डर सोही दिन खुल्नेछ।

६४ लाखको एन्टि रेबिज खोप
केन्द्रले चैत २ गते रेविज विरुद्धको खोप करिब ६४ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ। प्रदेश आपूर्ति केन्द्रले सो मूल्यमा नौ हजार चार सय भायल खरिद गर्न लागेको हो।

खोप खरिदका लागि चैत १८ गतेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।

२२ लाखमा मानसिक रोगको खौषधि खरिद
केन्द्रले चैत ५ गते मानसिक रोगको औषधि करिब २२ लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ। प्रदेश आपूर्ति केन्द्रले सो मूल्यमा सिल्ड कोटेशनमा मानसिक रोगको विभिन्न औषधि खरिद गर्न लागेको हो।

यो औषधि खरिदका लागि चैत १९ गतेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।

तीन लाखमा हेपारिन र डाइलाइसर खरिद
केन्द्रले चैत २ गते नै ‘हेपारिन र डाइलाइसर’ करिब तीन लाख २० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ। एक सय वटा (युनिट) डाइलाईजर र दुई सय ८० भायल हेपारिन खरिदका लागि सो टेन्डर भएको हो।

यी सामग्री खरिदका लागि चैत २० गते प्रिबिड बैठक छ। वैशाख ३ गतेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।

यी २६ दिनमा खुलाइएका सबै टेन्डर सरकारी कोषबाट रकम खर्चिएर निकाल्ने भएकाले एनसीबी अर्थात नेशनल कन्पिटिटिभ बिडिङ हुन्। सबै टेन्डरका सम्पर्क व्यक्ति पनि एकै हुन्, मनिष पाण्डे।

१५ चैत, २०८०, ११:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।