मधेश प्रदेशको १८ करोडको सिटी स्क्यानमा ‘मिलेमतो’, स्वास्थ्यमन्त्री सिंह र उनका भाइ जोडिए खरिदमा

मधेश प्रदेशको १८ करोडको सिटी स्क्यानमा ‘मिलेमतो’, स्वास्थ्यमन्त्री सिंह र उनका भाइ जोडिए खरिदमा

काठमाडौँ : मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले निश्चित आपूर्तिकर्ताको मेसिन महँगोमा किन्न १ सय २८ स्लाइसको सिटी स्क्यानको टेन्डर निकालेको भन्दै विवाद सुरु भएको छ।

आपूर्ति केन्द्रका नेतृत्वले मेसिन उत्पादक कम्पनी ‘फिलिप्स’सँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर मिलेमतोमा टेन्डर निकालेको भन्दै उजुरी परेको छ।

मधेस प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले २०८० फागुन १० गते बिहीबार (फेब्रुअरी २२, २०२४) मा १२८ स्लाइसको दुई वटा सिटी स्क्यान मेसिन करिब १८ करोड २० लाखमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो।

त्यसको स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादकसँग मात्र मिल्नेगरि बनाएको देखिएपछि  मधेस प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उजुरी परेको हो।

खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको विषयमा उजुरी परेपछि २०८० फागुन १३ गते (आइतबार) मुख्यमन्त्रीले प्रदेश प्रमुख सचिवलाई आवश्यक कारबाही गर्ने भन्दै निर्देशन दिइसकेका छन्।

मुख्यमन्त्रीले प्रमुख सचिवलाई यस्तो निर्देशन दिएपछि प्रमुख सचिवले प्रशासनको सचिवलाई  कानुन बमोजिम प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन्।

प्रमुख सचिवले सचिव (प्रशासन)लाई लेखेको निर्देशनमा ‘यस सम्बन्धमा सम्बन्धित सचिव मार्फत निवेदनमा उल्लिखित अधिकारीहरूसँग जवाफ माग्ने र तत् सम्बन्धमा यसको विषयमा प्रचलित कानुन बामोजिमको प्रक्रिया अघि बढाउने’ लेखिएको छ।

उकेरालाई प्राप्त उजुरी अनुसार ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले गरेको सिटी स्क्यानको टेन्डरमा भइरहेको अनियमितताको विषयमा मधेस प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा फागुन १३ नै उजुरी परेको हो।

उजुरीमा ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले मिति २२ फेब्रुअरी २०२४ आइएफबी नं. एमपी-पीएचएमसी-एनसीबी-गुड्स–१३-२०८०–८१ प्रकाशित टेन्डरमा १२८ स्लाइस सिटी स्क्यान लिन सूचना आह्वान गरेको पाइएको’ उल्लेख छ।

केन्द्रले १२८ स्लाइसको सिटी स्क्यान मेसिनका लागि आह्वान गरेको टेन्डरमा मेसिन उत्पादक कम्पनी फिलिप्ससँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर उसैको नेपाली एजेन्टलाई टेन्डर दिने योजना रहेको देखिएको उजुरी पत्रमा उल्लेख छ।

‘सो खरिद ऐन विपरीत भएकाले सो कार्यमा संलग्न नि. निर्देशक (डा.) मनिष पाण्डे र बायोमेड (बायो मेडिकल) इन्जिनियर वन्दना मिश्रालाई विभागीय कारबाही गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ।

मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले फेब्रुअरी १४, २०२४ मा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

यो सिटी स्क्यान खरिदका लागि प्रिबिड बैठक फागुन २७ गते (मार्च १०, २०२४)लाई तोकिएको छ। त्यसैगरी चैत १० गते (मार्च २३, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको छ।

सिराहा प्रादेशिक अस्पताल र मलंगवा प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन राख्ने संरचना बनाउने ‘ट्रंकी प्रोजेक्ट’को काम समेत सिटीको टेन्डर पार्नेले नै गर्नेगरी यो टेन्डर आह्वान भएको हो।

बायोमेडिकलको सरुवा गराएर सेटिङ

खरिद प्रक्रिया सुरु भएपछि केन्द्रमा भएका सरुवा र नियुक्ति र उजुरीमा गरिएको मिलेमतोको दाबी धेरै हदसम्म मिल्छ।

तीन महिनाअघि मधेस प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का तत्कालीन निर्देशक डा. नागेन्द्र यादवलाई हटाएर डा. मनिष पाण्डेलाई निमित्त निर्देशकको जिम्मेवारी दिइयो।

डा यादवलाई केन्द्रबाट हटाएर सिराहाको जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिएपछि पनि सरुवाकोक्रम रोकिएन।

आफूले चाहेकै कम्पनीको सामान किन्न बायो मेडिकल इन्जिनियर समेत सहमत नभई सम्भव हुन्न। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थायी बायो मेडिकल इन्जिनियर थिए शैलेन्द्र यादव। उनी काजमा आएका थिए। उनलाई करिब एक महिना अघि हटाएर बायो मेडिकल इन्जिनियर वन्दना मिश्रालाई ल्याइयो।

स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्रलाई सिरहाको जिल्ला अस्पतालमा पठाइयो। मिश्राले प्राविधिक स्पेशिफिकेशन बनाइन्। सोही अनुसार टेन्डर प्रक्रिया अगाडि बढ्यो। प्रिबिड मिटिङ हुनु अगाडिसम्म प्राविधिक स्पेशिफिकेशनमा राखिएको मापदण्ड फिलिप्ससँग मिल्छ।

फिलिप्सको नेपाली एजेन्ट हस्पिटेक प्राली हो। यसका प्रमुख विशाल पण्डित हुन्। यी सबै मिलेमतो पण्डितको कम्पनीलाई टेन्डर पार्न गरिएको देखिन्छ।

उनी अन्य टेन्डर मिलेमतोमा समेत तानिँदै आएका व्यवसायी हुन्। पाँच वर्षदेखि मधेस प्रदेशको स्वास्थ्य आपूर्तिको अधिकांश टेन्डर हस्पिटेकले एकलौटी पाउँदै आएको छ।

मधेस प्रदेशमा सिटी खरिदको विषयमा परेको उजुरीका सवालमा सम्पर्क गर्दा व्यवसायी विशाल पण्डितले सिटी खरिदमा आफ्नो सेटिङ नभएको दाबी गरे।

मधेस प्रदेशमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिदको विषयमा तपाईँको मेसिन उत्पादक कम्पनी विरुद्धमा उजुरी परेको रहेछ नि भन्ने उकेराको जिज्ञासामा व्यवसायी पण्डितले भने,‘पहिला कसको कम्पनी हो भनेर डिक्लियर गर्नुहोस्, अनि मलाई फोन गर्नुहोस् है। त्यो मेरो कम्पनी हैन।’

निमित्त निर्देशक डा. पाण्डेले पनि खरिद सेटिङका लागि आफू केन्द्रमा नआएको दाबी गरे। उनले तीन महिनाअघि केन्द्रमा निमित्त निर्देशक भएको पुष्टि भने गरे।

‘तीन महिना जति भयो,’उनले भने।

करिब एक महिनाअघि बायो मेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई काज फिर्ता गरेर करिब १५ दिन अघि मिश्रालाई केन्द्रमा ल्याइएको पनि निमित्त निर्देशक डा. पाण्डेले नै पुष्टि गरे।

‘(यादवलाई हटाइएको) एक महिनाजति भयो,’उनले भने,‘उहाँ हटेको करिब १५-२० दिन पछि नयाँ बायो मेडिकल इन्जिनियर (मिश्रा) आउनुभएको हो।’

प्रदेश स्वास्थ्य मन्त्रालयले स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्रलाई सिरहा जिल्ला अस्पतालमा दरबन्दी भएको ठाउँमा (काज) फिर्ता गरेर पठाएको केन्द्रका निमित्त निर्देशक डा. पाण्डेले तर्क गरे।

‘स्थायी बायो मेडिकल इन्जिनियर काजमा हुनुहुन्थ्यो,’उनले भने,‘मन्त्रालयबाट उहाँको काज सरुवा भयो।’

केन्द्रका निमित्त निर्देशक डा. पाण्डेका अनुसार मिश्रालाई केन्द्रमा करार जागिरेका रूपमा पनि नियुक्ति गरिएको हैन। कुनै विकल्प नभएकाले मिश्रालाई निश्चित काम बापत पारिश्रमिक दिनेगरी परामर्श सेवामा काममा लगाइएको हो।

‘उहाँ (वन्दना मिश्रा)लाई करारमा पनि राखेको छैनौँ। परामर्श सेवाको लागि राखेको छौँ,’निमित्त निर्देशक डा. पाण्डेले भने,‘जे इक्यिुप्मेन्ट छ त्योहरूको लागि स्पेशिफिकेशन बनाउन परामर्शदाताको रूपमा राखियो।’

उनको यो भनाइबाट नै निश्चित कम्पनीको सिटी स्क्यान लगायतका मेसिनसँग मात्रै मिल्नेगरी सेटिङमा तयार गरिएको स्पेशिफिकेशनमा औपचारिकता पूरा गर्नका लागि हस्ताक्षर गर्न मात्रै बायो मेडिकल इन्जिनियर मिश्रालाई केन्द्रले परामर्शदाताका रूपमा नियुक्ति गरेको देखिन्छ।

त्यसो त मिश्राले नै सिटीको प्राविधिक स्पेशिफिकेशन बनाएको निमित्त निर्देशक डा. पाण्डेले पुष्टि गरे। वन्दना मिश्रा नै सिटीको प्राविधिक स्पेशिफिकेशन बनाउने समितिमा हुनुहुन्थ्यो? भन्ने उकेराको जिज्ञासामा निमित्त निर्देशक डा. पाण्डेले भने,‘हजुर, हो।’

सिटीको स्पेशिफिकेशनका विषयमा जिज्ञासाका लागि आइतबार बेलुका मिश्रालाई फोन र म्यासेज गर्दा उनी सम्पर्कमा आइनन्।

मिलेमतो मिलाउन मन्त्रीको भाइ सक्रिय

विश्वस्तस्रोतका अनुसार स्वास्थ्य उपकरण मिलेमतोमा किन्न प्रदेश स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह काठमाडौँ आएर आफैँ मेडिकल सामानका आपूर्तीकर्ताहरुसँग बैठक गरेर प्रदेश फर्किएका थिए।

उनको निर्देशनमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी सिटीको स्पेशिफिकेशन लक्ड गर्न निर्देशन आएपछि मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’का तत्कालीन निर्देशक डा. यादव र स्थायी बायो मेडिकल इन्जिनियर शैलेन्द्र यादवले अस्वीकार गरेपछि प्रदेश स्वास्थ्यमन्त्री सिंहको निर्देशनमा दुवैको सरुवा गराइयो।

यसमा मन्त्री सिंहका भाइ विजय सिंह समेत जोडिएको देखियो। उनी बुद्ध एयरको जनकपुरको स्टेसन म्यानेजर समेत हुन्। सामान आपूर्तीकर्ताहरुसँग लेनदेन लगायतका छलफलमा विजय नै सक्रिय हुने गरेको विश्वस्त स्रोतले बतायो। केन्द्रका निमित्त निर्देशक डा. पाण्डेले भने कसैलाई सेटिङ गरेर सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडि नबढेको दाबी गर्छन्।

‘सप्लायर्सहरु उहाँहरूको आफ्नो के लफडा हुन्छ हुँदैन, यस्तो गरेपछि त एउटा पनि सिटी एमआरआई खरिद नै हुँदैन,’उनले भने,‘...हामीले सबैको स्पेक त मिलाउनै सक्दैनौँ।’

केन्द्रका निमित्त निर्देशक डा. पाण्डे आफूले विशाल पण्डितलाई नचिनेको दाबी गरे। सिटी खरिद विषयमा प्रदेश स्वास्थ्य मन्त्री सिंहसँग आइतबार साँझ सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

१३ फागुन, २०८०, २२:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।