बालेनको सत्तामा पनि भ्रष्टाचार !,  काठमाडौँ महानगरले मिलेमतोमा किन्दै ४ करोड ८० लाखको स्वास्थ्य सामग्री

बालेनको सत्तामा पनि भ्रष्टाचार !,  काठमाडौँ महानगरले मिलेमतोमा किन्दै ४ करोड ८० लाखको स्वास्थ्य सामग्री

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह निर्वाचित भएसँगै उनका अभिव्यक्तिहरूले विवाद निम्त्याए पनि आर्थिक अनियमितताबाट भने उनी टाढै रहँदै आएका थिए। त्यसमा पनि स्वास्थ्यका कर्मचारीले आफ्नै छोरीलाई अनियमित रूपमा जागिर लगाएको खुलेसँगै उनी एक्सनमा उत्रिएर बदमासीविरुद्ध कठोरता देखाए।

तर उनकै नेतृत्वको महानगरले स्वास्थ्य सामाग्री किन्ने प्रक्रियामा भने निश्चित कम्पनीको मात्र सामानको मापदण्ड मिल्नेगरी खरिद प्रक्रिया अगाडि बढाएर लगभगग एक करोड कमिसनको खेल भइरहेको प्रमाण उकेराले फेला पारेको छ।

स्वास्थ्य मन्त्रालय मातहतका निकायहरूले निकाल्ने स्वास्थ्य सामाग्री खरिदमा निश्चित निर्यातकर्तासँग मिलेर लक्ड स्पेशिफिकेशनमार्फत खरिद प्रक्रिया अगाडि बढाउनु सामान्य नै हो। मन्त्रालय मातहतका जिम्मेवार पदाधिकारीले स्वास्थ्य उपकरण खरिदमा गरिरहेका भ्रष्टाचारबारे उकेराले निरन्तर समाचार सम्प्रेषण गर्दै आइरहेको छ। विभागको मिलेमतो भएको अधिकांश खरिदमा बायोमेडिकल इन्जिनिर आशिष चौहान र पद्मा मिश्रा संलग्न देखिएका छन्।

मन्त्रालयको त्यही भ्रष्टाचारको रोग अहिले काठमाडौँ महानगरपालिकामा सरेको छ। काठमाडौँ महानगरपालिकाले २०८० माघ एक गते महानगरको सहरी स्वास्थ्य प्रवर्द्धन सेन्टर (अर्बन हेल्थ प्रमोसन सेन्टर)को लागि भन्दै करिब चार करोड ८० लाखमा स्वास्थ्य सामग्री खरिद गर्ने गरी गरेको टेन्डर प्रक्रियामा मापदण्ड निश्चित एजेन्टको सामान मात्र मिल्नेगरी बनाइएको छ।

महानगरपालिकाले ‘फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर’ सामग्री दस वटा, ‘लिड भीउ बक्स सिङ्गल फिल्म’ ३२ वटा’, ‘इसिजी मेसिन ३ च्यानल’ ३२’ वटा गरेर चार करोड ८० लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान भएको छ।

महानगरले यी सामग्री एउटै प्याकेजमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ। उकेराको खोजमा सहरी स्वास्थ्य प्रवर्द्धन सेन्टरको लागि  खरिद गर्न लागिएको सामग्रीमा करिब एक करोड बराबरको कमिसनको खेल देखिन्छ।

महानगरले सामाग्री खरिदका लागि आवश्यक स्पेशिफिकेशन बनाउन स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका बायोमेडिकल इन्जिनियर आशिष चौहानलाई बोलाएको थियो।

महाशाखाका बसेर निश्चित कम्पनीको उपकरण मात्र मिल्नेगरि स्पेशिफिकेशन बनाउन अनुभवी उनले महानगरमा पनि त्यही गरे।

डिटेक्टर सहितको यो एक्स–रे (फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर)को स्पेशिफिकेशन उनकै नेतृत्वमा बनेको थियो। बायोमेडिकल इन्जिनियर चौहान लगायत महानगरकै कर्मचारीसहितको टिमले बनाएको प्राविधिक स्पेशिफिकेशनमा मेसिनको मापदण्ड खुल्ला राखेर सबैले प्रतिस्पर्धा गर्न मिल्ने बनाइएन। निश्चित कम्पनीको उपकरण मात्र मिल्ने मापदण्डहरू राखेर लक्ड गरियो।

महानगरले खरिद गर्न लागेको ‘फिक्स्ड एक्स–रे ५०० एमए वीथ डिटेक्टर’को टेन्डर मेडिकल व्यवसायी विशाल पण्डित समूहले पाउने गरी चौहानले स्फेशिफिकेशन बनाएका छन्।

महानगरको सहरी स्वास्थ्य प्रवर्द्धन सेन्टरका लागि आवश्यक यो प्याकेजको टेन्डर भएकाले एउटा सामग्री लक्ड गरे सबै (चार करोड ८० लाखको) टेन्डर उसैले पाउँछ।

विशेषगरी ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ मा लक्ड गरिएकाले त्यही लक्डको आधारमा करिब चार करोड ८० लाखको महानगरको स्वास्थ्य सामग्रीको टेन्डर व्यवसायी पण्डितले नै पाउने देखिन्छ।

महानगरपालिकाले खरिद गर्न लागेको ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ मध्ये विशाल पण्डित समूहले एक्सरेको डिटेक्टर दक्षिण कोरियाको पिक्सजेन कम्पनीको ल्याइदिने गरी टेन्डर प्रस्ताव गर्न लागेको देखिन्छ।

पिक्सजेन उत्पादक कम्पनीको मात्रै डिटेक्टर मिल्नेगरी लक्ड गरिएकाले विशाल पण्डित समूहलाई नै ‘फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर’ लगायत महानगरको चार करोड ८० लाखको प्याकेजको टेन्डर पर्ने देखिन्छ।

व्यवसायी पण्डित हस्पिटेक लगायत नेपाली सप्लायर्स कम्पनीका प्रमुख हुन्। उनले आफ्ना र अन्य कर्मचारी लगायतको नाममा करिब एक दर्जन फर्म दर्ता गराएको र आवश्यकता अनुसार ती फर्महरू प्रयोग  गर्छन्।

एक्स–रेको डिटेक्टर कोरियन कम्पनी पिक्स्जेनको ल्याइदिने गरी व्यवसायी पण्डितलाई टेन्डर पारिदिन स्पेशिफिकेशन बनाउने टिमको नेतृत्व गरेका चौहानले प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको देखिन्छ।

सामान्यतया एउटै कम्पनीले यस किसिमको दुई वटा मेसिन बनाउँदैन। त्यसैले यो टेन्डरमा दुई वटा सप्लायर्स कम्पनी समेत मिल्नुपर्ने अवस्था हुन सक्छ।

यस्तो अवस्था आए व्यवसायी पण्डितले दुइवटा फर्म प्रयोग गरेर महानगरको यो टेन्डर पार्न समस्या हुने कुरै भएन।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा पनि यही प्रकृतिको ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ मेडिकल व्यवसायी उमेश शर्मा र विशाल पण्डित मिलेर टेन्डर हातपार्ने तयारीमा देखिन्छन्। एक्स-रे खरिद प्रक्रियामा छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा ३२ लाखका दरले ५० वटा मेसिनको मूल्य करिब १६ करोडमा आउने भए पनि करिब दश करोड कमिसनको चलखेलमा २६ करोडमा खरिद गर्नेगरी टेन्डर आह्वान गरिसकेको छ।

विभागको व्यवस्थापन महाशाखामा पनि उनै बायोमेडिकल इन्जिनियर चौहान लगायतको टिमले प्राविधिक स्पेशिफिकेशन बनाएको हो। सो स्फेशिफिकेशन समेत निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

बायोमेडिकल इन्जिनियर चौहान लगायतको टिमले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको त्यही प्राविधिक स्पेशिफिकेशनलाई केही संशोधन गरेर महानगरको टेन्डरमा प्रयोग गरेको देखिन्छ।

चौहानले मुख्य बुँदामा सामान्य संशोधन गर्दै घुमाइफिराई दक्षिण कोरियाको पिक्स्जेन कम्पनीको डिटेक्टरसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गराएर सो टेन्डर पण्डित समूहलाई दिलाउन मिलेमतो गरेका छन्।

स्पेशिफिकेशनको बुँदा बुँदामा लक्ड

महानगरले खरिद गर्न लागेको ‘फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर फ्ल्याट प्यानल डिटेक्टर सिस्टम’ को प्राविधिक स्पेशिफिकेशनको बुँदा बुँदामा लक्ड गरेको देखिन्छ।

‘फिक्सड एक्स–रे ५०० एमए वीथ डिटेक्टर फ्ल्याट प्यानल डिटेक्टर सिस्टम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ३. १ मा ‘४० किलोवाट (केडब्लु), १०० पप्स अर बेडर’ उल्लेख गरिएको छ। यो बुँदा लक्ड गरिएको छ।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ३.३१ मा ‘सुड ह्याभ लुजलेस एइडी-एडब्लुसी टु इन्क्रिज डोज इफिफियन्सी एन्ड इमेज क्वालिटी बाई डिटेक्टिङ एक्स–रे स्टार्ट एन्ड फिनिश वी पर्फेक्ट प्रेसिसन’ लेखिएको छ।

यो बुँदा पनि लक्ड गरेको देखिन्छ। यो बुँदा पनि पिक्स्जेनसँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ३.३४ मा पनि लक्ड गर्दै ‘दी पिक्सेल मिस्चर सुड नट बी लेजर द्यान २५००×३००० पिक्सेल’ लेखिएको छ। त्यसैगरी प्राविधिक स्पेशिफिकेसनको बुँदा नं. ३.३९ मा ‘डिटेक्टर सुड ह्याभ एट लिस्ट आइपी ५४ रेटिङ अर मोर फर इन्ग्रेस प्रोटेक्शन फ्रम मस्ट एन्ड लिक्वीड लेखिएको छ। यो पनि लक्ड नै देखिन्छ।

यस्तै अन्य विभिन्न बुँदाहरू समेत लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएको छ।

महानगरको प्रवक्तादेखि स्वास्थ्यकालाई मिलेमतो 'थाहै छैन' !

महानगरले अगाडि बढाएको खरिद प्रक्रियाबारे जानकारी लिने प्रयासगर्दा प्रवक्तादेखि स्वास्थ्य विभाग प्रमुखसम्मले थाहा छैन भनेर पन्छिए।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य सामाग्री खरिद प्रक्रियाबारे आफूलाई थाहा नभएको भन्दै महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न भने।

 ‘यो कुरा त मलाई थाहा हुँदैन। स्वास्थ्य विभागसँग (जानकारी) लिनु न,’ मानन्धरले भने।

त्यसपछि महानगरको स्वास्थ्य विभागकी निमित्त विभागीय प्रमुख सजिना महर्जनसँग जानकारी लिँदा उनले पनि खरिदमा मिलेमतो भएको भन्ने विषयमा जानकारी नभएको दाबी गरिन्।

उनले स्वास्थ्य सामग्री खरिदका विषयमा महानगरको स्वास्थ्यतर्फको खरिद हेर्ने कर्मचारी ज्ञानबहादुर ओलीसँग कुरा गर्न अनुरोध गरिन्।

‘स्पेकको कुराहरू होला। सबैकुरा उहाँ (ओली)ले हेर्नुहुन्छ,’निमित्त विभागीय प्रमुख महर्जनले भनिन्,‘प्रिबिड मिटिङमा आउनु न। हामीलाई त थाहा हुँदैन।...त्यही भएर प्रिबिड मिटिङ राखेको हो।’

त्यसपछि महानगरको स्वास्थ्य सामग्रीको खरिद हेर्ने (खरिद संयोजक) ज्ञान बहादुर ओलीसँग स्वास्थ्य सामग्री खरिदका विषयमा देखिएको मिलेमतोबारे जिज्ञासा राख्दा उनले पनि थाहा नभएको दाबी गरे।

स्वास्थ्य सामग्री खरिदको सवालमा कुनै समस्या देखिए प्रिबिड मिटिङमा स्पेशिफिकेशन संशोधन गर्न सकिने ओलीले तर्क गरे। ‘प्रिबिड मिटिङमा नै व्यापक छलफल गछौं। केही त्यस्तो रहेछ भने एमेण्डमेन्ट पनि गछौं।’

उनले महानगरमा बायोमेडिकल इन्जिनियर नभएकाले स्वास्थ्य सेवा विभागबाटै बायोमेडिकल इन्जिनियर बोलाएर विभागबाटै प्राप्त स्पेशिफिकेशन अनुसार स्वास्थ्य सामग्री खरिदको काम अगाडि बढाइएको जानकारी दिए।

‘स्वास्थ्यसँग सम्बन्धित उपकरणहरू खरिद गर्दै गर्दा हामीसँग बायोमेडिकल इन्जिनियर हुनुहुन्न,’ओलीले भने,‘स्वास्थ्य सेवा विभागलाई चिठी लेखेर त्यहाँबाट बायोमेडिकल इन्जिनियर मगाउँछौँ। स्वास्थ्य सेवा विभागबाट नै प्राप्त स्पेशिफिकेशन अनुसार नै हामी अगाडी बढ्छौँ।’

त्यसो भए स्वास्थ्य सेवा विभागबाट बायोमेडिकल इन्जिनियर आशिष चौहानलाई बोलाएर स्पेशिफिकेशन बनाउनु भएको हो? भन्ने जिज्ञासामा खरिद संयोजक ओलीले भने,‘अँ, पक्कै। त्यो पार्टमाचाहीं विभागबाट आउनु भएको थियो उहाँ(चौहान)।’

प्रिविड बैठकमा बबाल

महानगरले टेन्डरका लागि बुधबार प्रिबिड बैठक राखेको थियो। प्रिबिडमा पण्डितसहितका कम्पनीका प्रतिनिधि सहभागी थिए।

उनीहरूले स्पेशिफिकेशन लक्ड गरेर खुल्ला प्रतिस्पर्धा गर्न नै नसिकिने बनाएको भन्दै आपत्ति जनाउँदै स्पेशिफिकेशन संशोधनको माग गरेका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार स्पेशिफिकेशन लक्ड भएको भन्दै आपत्ति आएपछि महानगरका प्रतिनिधिहरू डराएका थिए। उनीहरूले स्पेशिफिकेशन संशोधन गर्ने आश्वासन दिएको स्रोतले बतायो।

२ फागुन, २०८०, १९:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।