उकेरा प्रभाव : कोशीमा मिलेमतोमा सिटी स्क्यान किन्ने प्रक्रिया रद्द, चार करोडको कमिसनको खेल भने कायम

उकेरा प्रभाव : कोशीमा मिलेमतोमा सिटी स्क्यान किन्ने प्रक्रिया रद्द, चार करोडको कमिसनको खेल भने कायम

काठमाडौं : सिटी स्क्यान खरिदमा भएको मिलेमतोको खुलासापछि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पुरानो टेन्डर रद्द गरेर पुन नयाँ टेन्डर आह्वान गरेको छ। 

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८० कात्तिक २४ गते (२०२३, नोभेम्बर १०) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो। कमिसनको सेटिङको पोल खुलेपछि त्यो टेन्डर रद्द गरेर पुनः माघ २८ गते आइतबार (फेब्रुअरी ११, २०२४) सो सिटी स्क्यान मेसिनको नयाँ टेन्डर आह्वान गरेको छ।

उकेराले पाँच हप्ता अघि पुस १८ गते ‘बोलपत्र खोल्ने ठाउँ नसच्याउँदा खुल्यो कोशी सिटी स्क्यान खरिदको पोल, प्रदेश स्वास्थ्य सचिवसहितको मिलेमतोमा साढे तीन करोड कमिसनको खेल’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। सिटीको टेन्डर रद्द हुनुले उकेराको समाचारको पुष्टि भएको छ।

कोशी प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो। यो मेसिनको करिब साढे चार करोडमा जडान हुने भए पनि कोशीले सिटी स्क्यान मेसिन करिब सात करोड ४३ लाख ६० हजारमा किन्न लागेको थियो।

यस अगाडि टेण्डर आव्हानमा खोल्ने ठाउँ नै नरदेवी राखेका थिए। यसले यताको स्पेसिफिकेशन जस्ताकोत्यस्तै उता लगेर मिलेमतोमा सामान किन्न लागेको पुष्टि भएको थियो। सो प्रक्रिया रद्द नगरे अनुसन्धानबाट मिलेमतो पुष्टी हुने भएपछि नयाँ टेण्डर आव्हान गरेको देखिन्छ।

तर नयाँ टेण्डरमा पनि सोही मूल्य (करिब सात करोड ४३ लाख ६० हजार) मा नै सिटी स्क्यान मेसिन खरिदका लागि पुनः टेण्डर गरिएको देखिन्छ। यसले खरिदमा नयाँ खेल भएको देखाउँछ।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्ने सिटी स्क्यान मेसिनको टेन्डर कागजातमा टेन्डर खुल्ने स्थान काठमाडौँको नरदेवी अस्पताल उल्लेख हुँदा पोल खुल्यो। टेन्डर कागजातमा लेखिएको थियो,‘मिटिङ हल अफ नरदेवी अस्पताल, काठमाडौँ।’

तर सिटीको टेन्डर खुल्ने स्थान कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने थियो। काठमाडौँको नरदेवी अस्पताल लेखिनुबाट नै सिटी खरिदमा निश्चित कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर कमिसनको सेटिङको भएको प्रस्टै देखिएको थियो।

मेसिन उत्पादक कम्पनी निओसफ्टको नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजीज प्रालि’ले काठमाडौँको नरदेवी अस्पतालमा सिटी खरिदको टेन्डर पाएको थियो।

नरदेवी अस्पतालले २०८० असार १८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै दुई लाख ८५ हजार (मूल्य अभिवृद्धि कर बाहेक) अमेरिकी डलर (यूएसडी)मा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी निओसफ्टको नेपाली सप्लायर्स (हिमालय मेडिकल टेक्नोलोजीज प्रालि)लाई टेन्डर दिएको थियो।

नरदेवी अस्पतालका तत्कालीन निर्देशक डा. प्रदीप केसीले सिटीको सो टेन्डर दिएका थिए। नरदेवीमा ६४ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भयो। नरदेवीको सिटी स्क्यान मेसिन जडान भइरहेको छ।

कोशीले किन्न लागेको सिटी स्क्यानको टेन्डर कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गरेकाले टेन्डर खुल्ने स्थान कोशीको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लेखिनुपर्ने थियो। तर, निओसफ्टको नेपाली एजेन्टको सेटिङमा नरदेवीकै स्पेशिफिकेशन लगायतका कागजपत्र कोशीमा पुग्यो। उनीहरूले हेर्दै नहेरी सार्वजनिक गर्दा टेन्डर खुल्ने स्थान काठमाडौँको नरदेवी अस्पताल नै प्रकाशित भएको थियो।

यसले नरदेवीमा किनिएको सिटीमा समेत मिलेमतो गरेर निश्चित कम्पनीलाई दिएको पुष्टि त भयो नै त्यही अनुसार कोशीमा पनि मिलेमतोमा खरिद गर्न लागिएको विषय उकेराले खुलासा गरेको थियो।

सप्लायर्सले स्पेशिफिकेशनमा भएका अन्य बुँदाहरू सच्याए पनि सिटी स्क्यान मेसिनको टेन्डर कागजात (बिड डकुमेन्ट) मा टेन्डर खुल्ने स्थान सच्याउन भुलेका थिए।

यो तथ्यबाट कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मिलेमतो गरेर निओसफ्टले दिएको टेन्डरको स्पेशिफिकेशन नै सार्वजनिक गरेको  खुलेको थियो।

नियम अनुसार खरिद समिति गठन गरेर सिटी स्क्यान मेसिन खरिदका लागि कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्पेशिफिकेशन बनाउने समिति पनि गठन गर्नु पर्ने हो। तर, स्पेशिफिकेशन बनाउन गठन भएको समितिले निओसफ्टकै नेपाली सप्लायर्सले दिएको स्पेशफिकेशनलाई अनुमोदन गरेको थियो।

कोशी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहालले निओसफ्टले नै पठाएको स्पेशिफिकेशनलाई हस्ताक्षर गर्दै अनुमोदन गरेको देखिएको थियो।

यसमा खरिद शाखा प्रमुख र केन्द्रका निर्देशक समेत चुकेको प्रस्टै देखिएको थियो।

निओसफ्ट चिनिया उत्पादक कम्पनीको मेसिन हो। यो कम्पनीका नेपाली सप्लायर्स हिमालय मेडिकल टेक्नोलोजीज् प्रालि र निदान्त मेडिशोलुशन हुन्। हिमालयका मालिक अमर श्रेष्ठ हुन् भने निदानका मालिक चन्द्र बुढा हुन्।

उकेराको खोजका क्रममा विशेषगरी कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, केन्द्रका खरिद प्रमुख शम्भु साह र बायोमेडिकल इन्जिनियर दाहालको मिलेमतोमा महँगोमा सिटी खरिद गर्न लागेको प्रस्ट देखिएको थियो। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. वीरेन्द्र कुमार मण्डललाई थाहै नपाउने गरी उनीहरूले सेटिङ गरेको दाबीहरू आएका थिए।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सो सिटी स्क्यान मेसिन मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि खरिद गरिदिन लागेको हो।

उकेराको खोजका क्रममा मेसिन उत्पादक चिनिया कम्पनी निओसफ्टको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी केन्द्रले सिटीको खरिद प्रक्रिया अगाडि बढाएको देखिएको थियो।

टेन्डर आह्वान अनुसार सप्लायर्स कम्पनीले पुस १७ गते सम्ममा टेन्डर प्रस्ताव समेत गरिसकेको थियो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई वटा सप्लायर्स कम्पनीले सिटी खरिदका लागि टेन्डर प्रस्ताव गरेका थिए। तर, अन्तिम चरणमा पुगेर यो टेन्डर रद्द भएको हो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा १८ लाख ५९ हजार बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ।

सो जमानत रकमको आधारमा हेर्दा केन्द्रले औसतमा करिब सात करोड ४३ लाख ६० हजारमा खरिद गर्ने गरी सिटी स्क्यान मेसिनको टेन्डर (बोलपत्र) आह्वान गरेको देखिएको थियो।

२८ माघ, २०८०, ००:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।