विश्व बैंकको ऋणमा भ्रष्टाचार , ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ पनि मिलेमतोमा किनिँदै

विश्व बैंकको ऋणमा भ्रष्टाचार , ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ पनि मिलेमतोमा किनिँदै

काठमाडौँ : स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले करिब १२ करोडमा ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को टेन्डर ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’लाई दिनेगरी खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

यो विश्व बैंकको ऋणबाट हुन लागेको खरिद हो। स्वास्थ्यका अधिकारीहरूले ऋणमा समेत मिलेमतो गरेर भ्रष्टाचार गर्न लागेका हुन्। उकेराले प्रारम्भबाटै यो टेन्डर जिएचलाई दिने तयारी गरेको विषयमा समाचार सम्प्रेषण गरेको थियो। ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’का मालिक मुकुन्द गौतम हुन्।

‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ किन्न अगाडी बढाएको खरिद प्रक्रियामा बायोमेडिकल इन्जिनियरदेखि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलगायतको मिलेमतो देखिन्छ।

पछिल्लो समय अगाडि बढिरहेका स्वास्थ्य उपकरणको खरिदमा स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा र महाशाखाको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया जोडिँदै आएका छन्।

चौरसिया मिलेमतोमा खरिद गराउने बदनाम स्वास्थ्य कर्मचारी हुन्। उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति लगायतका एक दर्जन बढी उजुरी छन्।

क्यान्सरको उपचारका लागि खरिद गर्न लागिएको उपकरणमा पनि खुल्ला प्रतिस्पर्धा गराउँदा निक्कै कम लागत पर्ने मेसिनलाई मिलेमतोमा महँगोमा किनेर सरकारी कोषमा अनियमितता गर्दै जिएच मेडिहेल्थ कसर्नसँग खरिद गर्न लागिएको हो। खरिदको प्रारम्भमा नै तीन जनाले लक्ड स्पेशिफिकेशन बनाएको प्राप्त कागजातमा देखिन्छ।

‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ परिवार कल्याण महाशाखाले सञ्चालन गर्ने कार्यक्रमसँग सम्बन्धित छ। कोल्पोस्कोप मेसिनले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्छ। यसले क्यान्सर छ छैन भनेर थाहा पाउन सकिन्छ। त्यसैगरी पाठेघरको मुखको क्यान्सरको भएको थाहा भए थर्मोकोगुलेशन मेसिनले सेकेर उपचार गरिन्छ। यो क्यान्सरको सुरुको चरणमा गरिने उपचार भएको विशेषज्ञले बताए।

व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनीको नेपाली सप्लायर्स (एजेन्ट) जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई छनोट गर्दै माघ ४ गते बिहीबार (१८, जनवरी २०२४) मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना नै जारी गरिसकेको छ।

टेन्डर प्रस्तावपछि टेन्डर पाउनका लागि प्राविधिक र आर्थिक छनोट पार  गर्नुपर्ने हुन्छ। व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक अमेरिकन कम्पनीको नेपाली सप्लायर्स (एजेन्ट) जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई छनोट गर्दै बिहीबार (१८, जनवरी २०२४) मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना गरेको हो।

आर्थिक चरणमा जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई मात्रै छनोट गरेकाले अब उसैले करिब १२ करोड ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को मेसिनको टेन्डर पाउने निश्चित नै छ। आर्थिक प्रस्ताव खोल्ने सूचनामा उल्लेख भए अनुसार माघ ११ गते (२५ जनवरी २०२४) १२ बजेलाई आर्थिक प्रस्ताव खुल्ने तोकिएको छ।

यस विषयमा उकेराले मंसिर २७ गते मिलेमतोमा जिएचलाई करिब १२ करोडमा ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को टेन्डर दिने तयारीबारे समाचार प्रकाशित गरेको थियो। विभागको सूचनाले उकेराको समाचारको पुष्टि गरेको छ। जिएच मेडिहेल्थले लाइजरको थर्मोकोगुलेशन र कोल्पोस्कोप अर्कै मेसिन उत्पादक कम्पनीको ल्याउने देखिएको छ।

विभागको महाशाखाले २०८० असोज ८ गते (२५ सेप्टेम्बर २०२३) मा १२ करोड ८० लाखमा ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

यो  विश्व बैङ्कको ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रोजेक्टका लागि किन्न लागिएको सामाग्री हो। विश्व बैङ्कको ऋण सहयोगलाई अन्य शिर्षकमा रकमान्तर गर्दै भइरहेको युएसजी, सिटी स्क्यान लगायत अधिकांश खरिद मिलेमतोमा भइरहेका छन्।

यो टेन्डरको प्रिबिड बैठक असोज २६ गतेलाई तोकिएको थियो। मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १५ गते तोकिएको थियो। सोही दिन नै टेन्डर खुल्ने समय तोकिएको थियो।

स्पेशिफिकेशन लक्ड गर्ने गौतम, अर्याल र सेटिङ क्विन मिश्रा

‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिदको विषय विवादमा आएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि विभागलाई पत्र पठाउँदै खरिद प्रक्रिया सम्बन्धी कागजात माग गर्दै खरिद प्रक्रिया समेत स्थगित गर्न निर्देशन दिएको थियो।

केही समय खरिद प्रक्रिया रोकियो पनि। सतर्कता केन्द्रले स्वास्थ्य सेवा विभागलाई कात्तिक १७ गते खरिदका विषयमा जानकारीका लागि पत्र पठाएको थियो।

केन्द्रले छानबिन प्रक्रिया अगाडी बढाएपछि स्वास्थ्य सेवा विभागले सतर्कतालाई कात्तिक २३ गते राय प्रतिक्रियासहित खरिद प्रक्रियामा रहेका मेसिन, औजार तथा उपकरण लगायत स्वास्थ्य सामग्रीको कागजात पठाएको देखिन्छ।

२०८० भदौ १० को विभागस्तरीय निर्णयबाट प्राविधिक स्पेशिफिकेशन तयारी समिति गठन गरी सो समितिबाट तयार भएको स्पेशिफिकेशन बमोजिम थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिनको बोलपत्र आह्वान भएको विभागले सतर्कतालाई पठाएको पत्रबाट खुल्छ।

उकेरालाई प्राप्त तथ्य अनुसार खरिद प्रक्रियामा रहेको थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिनको स्पेशिफिकेशन तीन सदस्यीय प्राविधिक स्पेशिफिकेशन तयारी समितिले बनाएको देखिन्छ।

तीन स्पेशिफिकेशन तयारी समिति सदस्यमध्ये परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीकी डा. सुमित्रा गौतम एक हुन्। उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। त्यसैगरी स्पेशिफिकेशन बनाउने अर्को सदस्यमा परिवार कल्याण महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल हुन्।

थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिनको स्पेशिफिकेशन बनाउने अर्की  सदस्य हुन्, बायोमेडिकल इन्जिनियर पद्मा मिश्रा। उनी व्यवस्थापन महाशाखामा नै कार्यरत छिन्।

बायोमेडिकल इन्जिनियर मिश्रा व्यवस्थापन महाशाखाकी करारकी कर्मचारी हुन्। उनी यसअघि पनि पटक पटक मेसिन खरिद विवादमा आइसकेकी छन्।

बायोमेडिकल इन्जिनियर मिश्रा व्यवस्थापन महाशाखाबाट खरिद हुने मेसिन, औजार तथा उपकरणको कमिसनको सेटिङमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाउन माहिर खेलाडी हुन्। चौरसियाको मुख्य सहयोगी रहेकी मिश्रा विभागको सामग्री खरिदमा प्राविधिक स्पेशिफिकेशन लक्ड गर्ने 'सेटिङ क्विन'कै रूपमा परिचित छिन्।

उकेरालाई प्राप्त तथ्य अनुसार यी तीन जनाले नै विभागको व्यवस्थापन महाशाखाको खरिद प्रक्रियामा रहेको थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिनको स्पेशिफिकेशन बनाए। तर, उनीहरूले निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाए।

उनीहरूले मेसिनको प्राविधिक पक्ष उल्लेख गर्दा टेन्डर दिन चाहेको नेपाली सप्लायर्सको निश्चित मेसिन उत्पादक कम्पनीको क्याटलग अनुसार उसैको मात्रै मिल्नेगरी लक्ड गरेर स्पेशिफिकेशन बनाएका थिए।

डा. गौतम, अर्याल र मिश्रागरी तीन सदस्यीय स्पेशिफिकेशन तयारी समितिबाट तयार भएको ‘थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिन’को स्पेशिफिकेशन अनुसार लागत अनुमान तयार गर्न सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ को उपनियम २(क) बमोजिम अन्य सार्वजनिक निकायहरूले चालु वा अघिल्ला वर्षहरूमा खरिद गरेको भए सो समेतलाई आधार लिन तीन वटा सार्वजनिक निकायबाट खरिद दर रेट माग गरेको देखिन्छ।

विभागले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको ललितपुर महानगरपालिका, सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट ‘थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिन’ खरिदका लागि दर रेट माग गरेको देखिन्छ।

दर रेट मागिएका यी तीन निकायमध्ये ललितपुर महानगरपालिकाबाट मात्र आर्थिक वर्ष २०७९-०८० मा थर्मोकगुलेटर खरिद भएको मूल्य प्राप्त भएको विभागले जनाएको छ।

‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ को उपनियम २(ख) बमोजिम स्थानीय बजारको प्रचलित दर भाउ लिँदा प्राप्त दर रेटमध्ये न्यूनतम दर रेटलाई आधार बनाई चालु वर्षको थर्मोकोगुलेटर र कोल्पोस्कोपको  लागत अनुमान तयार गरिएको’ विभागले जनाएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ मालसामानको लागत अनुमान सम्बन्धी व्यवस्था छ।  नियम ११ को उपनियम (१) मा सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा नियम ९ र सम्बन्धित मालसामानको स्पेशिफिकेशनको अधीनमा रहेर तयार गर्नुपर्ने उल्लेख छ।

नियमावलीको नियम ९ मा लागत अनुमान तयार गर्दा विचार गर्नु पर्ने विषयका रूपमा केही बुँदाहरू उल्लेख छन्।

त्यसैगरी नियम ११ को उपनियम २(क) मा ‘सम्बन्धित सार्वजनिक निकाय वा त्यस्तो सार्वजनिक निकाय रहेको जिल्लाको अन्य सार्वजनिक निकायले चालू वा अघिल्ला वर्षहरूमा सोही  प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत’ लाई आधार लिएर मालसामानको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी नियम ११ को उपनियम २(ख) मा ‘स्थानीय बजारमा प्रचलित दरभाउ’लाई आधार लिई मालसामानको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ।

तर, यसरी हेर्दा विभागको व्यवस्थापन महाशाखाले थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिन खरिदका लागि कानुनको छिर्दा पहिल्याएर कर्मकाण्डी प्रक्रिया पूरा गर्न मात्रै तीन वटा संस्थाबाट दर रेट माग गरेको प्रस्टै हुन्छ।

विभागको गोलमटोल जवाफ

विभागले केन्द्रलाई पठाएको जवाफमा खरिद प्रक्रियामा रहेका मेसिन, औजार तथा उपकरण लगायतका विषयमा प्राविधिक पक्षलाई लुकाउँदै प्रशासनिक पक्ष मात्रै उल्लेख गरेको छ।

खरिदमा प्रमुख समस्या नै प्राविधिक पक्षको हो। महाशाखाले प्राविधिक रूपमा निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन नै लक्ड गरेर ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ लगायत मेसिन, औजार तथा उपकरणको खरिद प्रक्रिया अगाडी बढाएको प्रस्टै छ। विभागको गोलमटोल जवाफमै चित्त बुझाएर केन्द्रले छानबिन तामेलीमा राखेकाले केन्द्रको छानबिन समेत शङ्कारहित देखिएन।

खरिद प्रक्रिया अगाडी बढाउने भनी २०८० असोज सातमा विभाग स्तरीय निर्णय भएको विभागले केन्द्रलाई लेखेको पत्रमा उल्लेख छ। 

त्यसैगरी सरकारी अस्पताल÷स्वास्थ्य संस्थाहरूमा न्यूनतम उपकरणहरूको अभावमा बिरामीलाई उपचार÷स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएकाले आम जनताहरू बाध्य भएर महँगो शुल्कमा निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको भन्दै विभागले सतर्कतालाई भावनात्मक किसिमको जवाफ पठाएको थियो।

त्यसैले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न सस्तो भन्दा राज्यले धान्न सक्ने मूल्यको टिकाउ र गुणस्तरीय उपकरण  खरिद गर्नु नै उपयुक्त हुने भन्दै विभागले सतर्कतालाई जवाफ पठाएको थियो। तर, वास्तविक विषय भने टिकाउ र गुणस्तरीय उपकरण खरिद हुनुपर्छ भन्ने विषयमा विमति नै हैन। सवाल त कमिसनको खेलमा गुणस्तरहिन मेसिन ल्याउनु हुँदैन भन्ने हो।

‘सामग्रीको विशेषता, गुणस्तर, टिकाउपना, वारेन्टी मोडल आदिका आधारमा मूल्य फरक हुनसक्छ,’विभागले सतर्कतालाई दिएको जवाफको पत्रमा भनिएको छ,‘यी कुराहरू प्राविधिक ज्ञान विना सबैलाई जानकारी हुने विषय पनि हैनन्।’ यसरी प्राविधिक विषय सबैले नजान्ने भन्दै गोलमटोल जवाफ दिएर विभागले सतर्कतालाई समेत छक्क्याउन खोजेको देखिन्छ।

विभागले विज्ञ प्राविधिक कर्मचारी, सम्बन्धित औजार उपकरणका प्रयोगकर्ता, विभागका बायोमेडिकल इन्जिनियरहरूसँग विभिन्न चरणमा छलफल भएको विभागले सतर्कतालाई लेखेको जवाफमा उल्लेख छ। सोही छलफलबाट माग र आवश्यकता देखिए बमोजिमका सामग्री खरिदको लागि उपलब्ध भएसम्म सम्बन्धित औजार उपकरणका विज्ञ प्राविधिक कर्मचारी, सम्बन्धित औजार उपकरणका प्रयोगकर्ता, र विभागका बायोमेडिकल इन्जिनियर संलग्न गरिएको विभागले जनाएको छ। 

पन्छिने कोसिस गर्दै स्पेशिफिकेशन बनाउने टिम

खरिद प्रक्रियामा रहेको थर्मोकोगुलेटर र कोल्पोस्कोप मेसिनको स्पेशिफिकेशन तीन सदस्यीय प्राविधिक स्पेशिफिकेशन तयारी समिति भने आफूहरूले प्राविधिक स्पेशिफिकेशन मात्रै बनाएकाले त्यसमा समस्या भए नभएको र व्यवस्थापन महाशाखाकै जिम्मा भएको भन्दै पन्छिने कोसिस गरिरहेका छन्।

खरिद समितिको एक सदस्यले विभागको स्पेशिफिकेशन बैंकमा नै भएको स्पेशिफिकेशनको आधारमा कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिनको स्पेशिफिकेशन तयार गरेको जानकारी दिएका छन्। विभाग स्रोतका अनुसार प्राविधिक स्पेशिफिकेशन तयारी समितिले यी मेसिन खरिदका लागि तीन वटा स्पेशिफिकेशन बनाएर दिएको थियो।

‘कहीँबाट खोजेर लिएर आएको छैन। विभागको स्पेक बैंकमा गएर भिडियो कोल्पोस्कोप हान्दा जसले पनि त्यो तपाईँले पनि हेर्न मिल्छ, अरूले पनि हेर्न मिल्छ,’स्रोतले भन्यो,‘त्यस्तै गरी हामीले पनि ल यो हेर्नुहोस् भनेर हेरेको हो। त्यसमा केही बुँदाहरू कमन टाइपको हुनेगरी भन्ने हिसाबले हामीले त्यो थपेका छौँ। थपेर त्यसमध्येका पनि राम्रा खालका ३-४ वटा हेरेर सुझावका रूपमा हामीले बुझाएका हो।’

८-१० वटा स्पेशिफिकेशन हेरेर त्यसमध्ये थपथाप गरेर स्पेशिफिकेशन बनाइएको विभाग स्रोतले जानकारी दिएको छ। ‘गत वर्ष थापाथलीमा पनि आएको रहेछ,’विभाग स्रोतले भन्यो,‘उहाँहरूले  २-४ वटा प्वाइन्ट भन्नु भएको थियो, त्यो प्वाइन्ट पनि थप गरेर राखिएको थियो।’

प्राविधिक स्पेशिफिकेशन बनाउने समितिले माइन्युटिङमा कुनै कुरा अपुग भएको छ भने अपुग भएका सम्पूर्ण कुराको गुनासो आए प्रिबिड मिटिङमा समेट्न सुझाव दिइएको विभागका एक कर्मचारीले जानकारी दिए। तर, प्रि–बिड भने कर्मकाण्डी किसिमको मात्रै भएको थियो।

यसरी हेर्दा लक्ड स्पेशिफिकेशन बनाउनेमा बायोमेडिकल इन्जिनियर मिश्राकै ठुलो भूमिका देखिन्छ।

यस विषयमा प्राविधिक स्पेशिफिकेशन बनाउने मध्येकी एक सदस्य डा. गौतमले लक्ड नगरेको दाबी गर्दै भनिन्,‘स्पेक बैंकमा भएको, स्पेक बैङ्कबाट लिएर आएको तीन वटा (प्राविधिक स्पेशिफिकेशन) हामीले बुझाएको हो। कुनचाहिँ च्वाइस गर्ने त उहाँहरूको कुरा हो।’

प्राविधिक स्पेशिफिकेशन बनाउने मध्ये तत्कालीन परिवार कल्याण महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक अर्यालले ‘प्रयोग गर्ने मान्छे, त्यस सम्बन्धी ज्ञान हुने बायोमेडिकल इन्जिनियरले कार्यक्रमसँग सम्बन्धित भएर कुन सामानले काम गर्न सजिलो हुन्छ भन्ने आधारमा (प्राविधिक स्पेशिफिकेशन) बनाएको’ उकेरासँगको कुराकानीमा बताएकी छन्।

सेवाग्राहीलाई प्रयोग गर्दा त्यो सुरक्षित होस् प्रयोगकर्तालाई युजर फ्रेण्डली होस्, गुणस्तरयुक्त पनि होस् भन्ने आफ्नो सरोकार भएको तर कुन संस्थालाई टेन्डर पर्ने वा नपर्ने भन्नेसँग सरोकार नभएको उनले बताइन्।

विभाग स्रोतका अनुसार यी मेसिन खरिदका लागि दुई वटा सप्लायर्सले टेन्डर प्रस्ताव गरेका थिए। तर, एउटा सप्लायर्सको भने कोल्पोस्कोपको सवालमा छनोट हुन नसकेपछि जिएच मेडिहेल्थ मात्रै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएको विश्वस्त स्रोतले जानकारी दिएको छ। ‘दुई जना अलरेडी आएको रहेछ, प्याकेजिङ गरेर टेन्डर खोलेको भएर एउटाको कोल्पोस्कोपमा फेल भएछ,’स्रोतले भन्यो।

यसबाट नै सप्लायर्सको सेटिङको मिलेमतोमा दुई वटा फर्मबाट टेन्डर प्रस्ताव गरेको अनि एउटाको जानिजानी फेल गरेर जिएच मेडिहेल्थलाई नै छनोट चरणमा पुर्याएको देखिन्छ। प्याकेजिङको टेन्डरमा एउटा प्याकेजको टेन्डर प्राविधिक स्पेशिफिकेशनमा छनोटमा असफल हुने बित्तिकै अर्को पनि छनोट हुँदैन। कोल्पोस्कोप  र थर्मोकोगुलेटर दुवै मेसिनको प्राविधिक स्पेशिफिकेन एउटै सप्लायर्सले गरेको प्राविधिक स्पेशिफिकेशन छनोट हुनुपर्ने हुन्छ। त्यसैले नै सेटिङ अनुरूप नै जिएच मेडिहेल्थको छनोट भएको देखिन्छ।

तर, यी दुई खरिद हुने मेसिनको सङ्ख्या समेत टेन्डर कागजातमा फरक–फरक देखिएको छ। एक ठाउँमा यो रकममा कोल्पोस्कोप मेसिन सात सेट ल्याउनुपर्ने उल्लेख छ भने अर्को ठाउँमा १० सेट ल्याउनुपर्ने उल्लेख छ। यसबाट त्यही पैसामा सात सेट खरिद गर्न लागिएको हो वा दस सेट भन्ने विरोधाभास देखिन्छ।

थर्मोकोगुलेटर मेसिन भने चार सय सेट खरिदका लागि टेन्डर भएको हो। ‘कोल्पोस्कोप  र थर्मोकोगुलेटर मेसिन’ खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याउन व्यवस्थापन महाशाखाका नवनियुक्त निर्देशक डा. थापाको सक्रिय भूमिका देखिन्छ। डा. थापाले नै मेसिन खरिदका लागि नेपाली सप्लायर्स ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’लाई  प्राविधिक मूल्याङ्कनको चरणमा छनोटको निर्णय गर्दै आर्थिक छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी निर्णय गरेको देखिन्छ। उनी व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारीमा छन्।

स्वास्थ्यमा सेटिङ

 

११ माघ, २०८०, १०:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।