स्वास्थ्यमा लुट : इटहरी अस्पतालको सिटी खरिदमा गडबड,टेन्डरको स्पेक लक गरेको खुलेपछि १५ दिन म्याद थपियो

स्वास्थ्यमा लुट :  इटहरी अस्पतालको सिटी खरिदमा गडबड,टेन्डरको स्पेक लक गरेको खुलेपछि १५ दिन म्याद थपियो

काठमाडौँ : सिटी स्क्यान मेसिन निश्चित कम्पनीलाई दिन सुनसरीको इटहरी उपमहानगरपालिकाको इटहरी अस्पतालले करिब आठ करोड ४० लाखको ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिनको टेन्डर निकाल्यो।

अस्पतालले असार २० गते (जुलाई ४, २०२४) मध्यान्ह १२ बजेसम्ममा सिटी स्क्यान मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो। सोही दिन एक बजेलाई टेन्डर खुल्ने मिति तोके पनि खरिद विवाद भएपछि टेन्डर निकाल्न सकेन।

प्रि–बिड मिटिङमा स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादनसँग मिल्नेगरि बनाएको भन्दै अन्य सप्लायर्सले विरोध गरेपछि उपमहानगरपालिकाले सिटी स्क्यान मेसिनको टेन्डर प्रस्ताव गर्ने मिति १५ दिन पर सारेर साउन चारमा पुर्याएको छ।

अस्पतालले असार १९ गते सिटी स्क्यान मेसिन बोलपत्रको म्याद थप गर्ने सम्बन्धी सूचनामा ‘स्पेशिफिकेशन रिभ्यु गर्नु पर्ने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मको लागि बोलपत्र पेस गर्ने म्याद साउन चार दिनको १२ बजेसम्म थप गरिएको’  उल्लेख छ।

उकेराको खोजमा अस्पतालले करिब पाँच करोडमा आउने सिटी स्क्यान मेसिन तीन करोड बढी मूल्यमा चिनिया मेसिन उत्पादक कम्पनी युनाइटेड इमेजिङको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएको पुष्टि हुन्छ।

उपमहानगरपालिकाका अधिकारीले युनाइटेड इमेजिङको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढाएका थिए। इटहरी उपमहानगरपालिकाको बजेटमा अस्पतालले सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडि बढाएको हो।

अस्पतालले युनाइटेड इमेजिङसँगमात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर २०८१ जेठ सात गते (मे, २०, २०२४) मा  सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो।

इटहरी अस्पतालले गरेको सिटी स्क्यान मेसिनको टेन्डर बोलपत्र नम्बर ‘आइएच/आइसिबी/०१जी/०८०/०८१’ हो। सिटीको टेन्डर कागजातमा,‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ सिटी स्क्यान मेसिन, इटहरी हस्पिटल, सुनसरी’ लेखिएको छ।

‘हामीले (प्राविधिक स्पेशिफिकेशन) बायोमेडिकल इन्जिनियरलाई पठाइदिएका छौँ,’उपमहानगरका एक कर्मचारीले आइतबार उकेरासँग भने,‘असारको बेलाले गर्दा उहाँ (बायोमेडिकल इन्जिनियर)ले समयमा (संशोधन) दिन सक्नु भएन र टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति बढाइएको हो।’

कर्मकाण्डी संशोधन की साँच्चैको?

सामान्यतया टेन्डर आह्वान गर्नुअघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ।

सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ।

सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ। टेन्डर आह्वान भएर टेन्डर प्रक्रिया अगाडी बढेपछि प्रि–बिड मिटिङ हुन्छ।

इटहरी अस्पतालको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति असार पाँच गते बुधवार एक बजे (जुन, १९, २०२४)  लाई तोकिएको थियो। तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ।

टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिन्छन्।

प्रि–बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन्।

इटहरी अस्पतालको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले पनि खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरे।

प्राविधिक स्पेशिफिकेशन भनेको कुन मेसिन, कस्तो किसिमको, कुन–कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही आधारमा खरिद गरिने कुन मेसिन गुणस्तरीय र कुन कम गुणस्तरीय भन्ने सुनिश्चित हुनसक्छ।

उकेराले प्राप्त गरेको प्रारम्भिक प्रमाण अनुसार इटहरी अस्पतालले मेसिन उत्पादन चिनिया कम्पनी ‘युनाइटेड इमेजिङ’सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो। त्यसैले अन्य सप्लायर्सहरुले स्पेशिफिकेशन संशोधनको माग गरे।

टेन्डर प्रस्ताव गर्ने अन्तिम समय लम्ब्याएकाले इटहरी अस्पतालले प्राविधिक स्पेशिफिकेशन संशोधन गरेर सबै कम्पनीको उत्पादनसँग मिल्ने मापदण्ड बनाउन पनि सक्छ। अस्पताल प्रशासनले पहिल्यै मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएकाले स्पेशिफिकेशनमा लक गरिएको बुँदा संशोधन नहुन पनि सक्छ।

एकपछि अर्को बुँदामा लक्ड

उकेराको खोजमा इटहरी अस्पतालले ‘१२८’ स्लाइसको सिटी खरिदका लागि बनाएको प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदाहरूमा मेसिन उत्पादक कम्पनी युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी लक्ड गरेको पुष्टि हुन्छ।

अस्पतालले मेसिन उत्पादक चिनिया कम्पनी युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर उस्तै मेसिन बनाउने हिटाची, क्यानोन, नियोसफ्ट, फिलिप्स, जिइ र सिमेन्स जस्ता मेसिन उत्पादक कम्पनीलाई विभिन्न बुँदाबाट एकपछि अर्को गर्दै  फाल्नेगरी खरिद प्रक्रिया अगाडी बढाएको छ।

स्पेशिफिकेशनमा लक्ड गरिएको बुँदाहरु।प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदामध्ये कुनै बुँदामा कुनै कम्पनी त कुनै बुँदामा कुनै कम्पनीको मेसिनसँग नमिल्ने गरी युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको अन्तिम बुँदासम्ममा युनाइटेड इमेजिङबाहेक कुनैसँग पनि नमिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैलाई टेन्डर दिने गरी लक्ड गरेर खरिद प्रक्रिया अगाडी बढाएको प्राविधिक स्पेशिफिकेशनको प्रावधानले पुष्टि गर्छ।

बुँदा नं. ४.१’ मा हिटाची र क्यानोनलाई फालियो

स्पेशिफिकेशनमा सिटीको जेन्ट्री एपाचार ७० सेन्टिमिटर वा सो भन्दा बढी हुनुपर्ने तोकिएको छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.१’ मा ‘जेनरेटर पावर आउटपुट स्याल बी ७५ किलोवाट अर मोर’ उल्लेख छ। यो बुँदाबाट हिटाची र क्यानोनलाई फालियो।

‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिनको उत्पादक कम्पनी हिटाचीको ‘सिनेरिया भीउ–१२८’ मोडलको जेनरेटर पावर आउटपुट ७२ र क्यानोनको ‘एक्वीलियन प्राइम’ मोडलको पनि ७२ नै छ।

युनाइटेड इमेजिङको ‘युसीटी ७६०’ मोडलको जेनरेटर पावर आउटपुट भने ८० छ। हिटाची र क्यानोनलाई प्राविधिक मूल्याङ्कनमा फाल्न प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.१ लक्ड गरियो।

बुँदा नं. ४.४’ नियोसफ्ट र फिलिप्स आउट 

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.४’ मा ‘दी ग्यान्ट्री रोटेशन स्पिड फर अ ३६० डिग्री रोटेशन सुड बी ०.३५ सेकेन्ड अर लेस’ उल्लेख छ।

यो बुँदा युनाइटेड इमेजिङको मेसिनसँग लक्ड गरिएको प्रस्टै देखिन्छ। यो बुँदामा नियोसफ्ट र फिलिप्सलाई आउट गर्ने गरी स्पेशिफिकेशन बनाइएको देखिन्छ। एउटाको ०.४० सेकेन्ड छ अर्कोको ०.३७ सेकेन्ड छ। नियोसफ्ट र फिलिप्स यो बुँदाहरू पुरा हुन्न।

उकेराको खोजका क्रममा ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिनको उत्पादक कम्पनी नियोसफ्टको ‘न्युभिज–१२८’ मोडलको ग्यान्ट्री रोटेशन स्पिड ३६० डिग्रीमा रोटेशन ०.३७ सेकेन्ड र फिलिप्सको ‘इन्सेसिभ’ मोडलमा ०.४० सेकण्ड रहेको देखियो। युनाइटेड इमेजिङको ‘युसीटी ७६०’ मोडलमा ग्यान्ट्री रोटेशन स्पिड ३६० डिग्रीमा रोटेशन ०.३५ सेकेन्ड  छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.४’ बाट नियोसफ्ट र फिलिप्स फालिएको छ भने युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरिएको छ। किनकि यो बुँदामा प्राविधिक स्पेशिफिकेशनमा रोटेशन युनाइटेड इमेजिङसँग नै मिल्नेगरी लक्ड गरेर ०.३५ सेकेन्ड वा त्यो भन्दा कम हुनुपर्ने गरी माग गरियो। यो बुँदामा नियोसफ्ट र फिलिप्सको स्पेशिफिकेशन नै नमिल्ने गरी यी दुई मेसिन उत्पादक कम्पनीको उत्पादन अयोग्य हुने भयो।

बुँदा नं ४.६’ मा हिटाचीक्यानोनजिइसिमेन्सलाई फालियो

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.६’ मा ‘दी सिस्टम स्पेसल रिशोलुशन सुड बी अफ एट लिस्ट २०एलपी/सेन्टिमिटर एट ०% एमटीएफ अर बेटर’ उल्लेख छ।

यो बुँदामा नियोसफ्ट र फिलिप्सलाई पनि मिलेको देखाउने गरी झुक्क्याउने किसिमले प्राविधिक स्पेशिफिकेशन बनाइएको देखिन्छ। तर, यो बुँदामा झुक्क्याइएको छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.६’ मा ‘दी सिस्टम स्पेसल रिशोलुशन सुड बी अफ एट लिस्ट २०एलपी/सेन्टिमिटर एट ०% एमटीएफ अर बेटर’ भन्ने बुँदा युनाईटेड इमेजिङ, नियोसफ्ट र फिलिप्स बाहेक कुनै कम्पनीको पनि स्पेशिफिकेशन मिल्ने देखिँदैन।

 ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिनको उत्पादक कम्पनी नियोसफ्टको ‘न्युभिज–१२८’ मोडलको स्पेसल रिशोलुशन २४एलपी/सेन्टिमिटर छ भने फिलिप्सको ‘इन्सेसिभ’ २०एलपी/सेन्टिमिटर छ। त्यसैगरी युनाइटेड इमेजिङको इमेजिङको ‘युसीटी ७६०’ मोडलमा स्पेसल रिशोलुशन २०एलपी/सेन्टिमिटर छ।

तर, बुँदा नं. ‘४.४’ मा ग्यान्ट्री रोटेशन स्पिडमा नै नियोसफ्ट र फिलिप्ससँग नमिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर यी दुई उत्पादक कम्पनीलाई फालिएको छ। त्यसैले बुँदा नम्बर ‘४.६’ मा नियोसफ्ट र फिलिप्ससँग पनि मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाउनुको कुनै अर्थ देखिँदैन।

प्राविधिक स्पेशिफिकेशनको यो बुँदा नम्बर ‘४.६’ मा हिटाची, क्यानोन, जिइ, सिमेन्सजस्ता मेसिन उत्पादक कम्पनीका मेसिनलाई स्वतः फ्याँकिएकाले यी चार वटा कम्पनीको मेसिनका सप्लायर्स कम्पनीले पनि सिटीको टेन्डर प्रस्ताव गर्नै पाउने अवस्था देखिएन।

‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिनको उत्पादक कम्पनी हिटाचीको ‘सिनेरिया भीउ–१२८’ मोडलको स्पेसल रिशोलुशन १७.१८ एलपी/सेन्टिमिटर, क्यानोनको ‘एक्वीलियन प्राइम’ मोडलको स्पेसल रिशोलुशन १४.५ एलपी/सेन्टिमिटर, जीइको ‘रिभोलुशन–१२८’ मोडलको स्पेसल रिशोलुशन १९.७ एलपी/सेन्टिमिटर र सिमेन्सको ‘गो.टप’ मोडलको स्पेसल रिशोलुशन १५.१एलपी/सेन्टिमिटर छ।

बुँदा  नं. ‘४.४’ मा नै नियोसफ्ट र फिलिप्सलाई फालिएको अनि बुँदा नम्बर ‘४.६’ मा ‘स्पेसल रिशोलुशन सुड बी अफ एट लिस्ट २०एलपी/सेन्टिमिटर एट ०% एमटीएफ अर बेटर’ राखिएकाले यो बुँदाबाट पनि प्रस्टै युनाइटेड इमेजिङलाई नै छनोट गर्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएको पुष्टि हुन्छ।

प्राविधिक स्पेशिफिकेशनको नं. ‘४.४’ मा नै युनाइटेड इमेजिङसँग मिल्ने तर नियोसफ्ट र फिलिप्सलाई नमिल्ने गरी स्पेशिफिकेशन बनाइएकाले नियोसफ्ट र फिलिप्सले टेन्डर नै हाले पनि प्राविधिक मूल्याङ्कनको चरणमा नै युनाइटेड इमेजिङ छनोट हुन्छ भने नियोसफ्ट र फिलिप्स फालिन्छन्।

यसरी हेर्दा  प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.४’ मा नियोसफ्ट र फिलिप्सको स्पेशिफिकेशनसँग नमिल्ने गरी प्राविधिक स्पेशिफिकेसन बनाइएको छ भने ‘४.६’ मा युनाइटेड इमेजिङ बाहेक बाँकी कम्पनीसँग नमिल्ने गरी रणनीति अनुसार प्राविधिक स्पेशिफिकेशन बनाइएको छ।

यसरी प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदाहरूमध्ये कुनै बुँदामा एउटालाई  फाल्दै कुनै बुँदामा अर्कोलाई फ्याल्दै युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर उसैलाई नै टेन्डर दिनेगरी इटहरी अस्पतालले प्राविधिक स्पेशिफिकेशन बनाएको पुष्टि हुन्छ।

स्वास्थ्यमा लुट
 

असार २२, २०८१ आइतबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।