आर्टिस्ट संगीको प्रसव पीडा र खुसी : छोरी भनेर देखाउनुभयो, त्यसपछि मलाई केही याद नै छैन
संगी श्रेष्ठ एक सफल भिजुअल आर्टिस्ट हुन्। तीन दशक देखि कला क्षेत्रमा जमेकी उनी प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभामा पनि संलग्न छिन्। तीन सय भन्दा बढी ग्रुप एक्जिबिसन गरेकी उनले 'सोलो एक्जिबिसन' पनि धेरै गरिसकिन्। अब नयाँ एक्जिबिसनको लागि तयारी गरिरहेकी छिन्।
पेन्टिङ सँगै स्कुलमा पढाउने, ह्याण्डीक्राफ्ट र कार्टुनिष्ट भएर काम गरेको अनुभव पनि बटुलेकी छिन्। चर्चित कार्टुनिष्ट अविन श्रेष्ठसँग विवाह गरेपछि भने उनले सबै काम छोडेर पेन्टिङमै स्थापित हुने सोचिन्।
श्रीमानको पनि मिल्दोजुल्दो फिल्ड भएको कारण आफ्नो करिअरमा अघि बढ्न उनलाई धेरै सहज भयो।
पाटनमा जन्मिएकी उनी सानैदेखि पेन्टिङमा आकर्षित भइन्। पछि पेन्टिङ पढाउने र सिकाउने क्याम्पसबारे थाहा पाएसँगै पढिन्। सँगैको साथीहरूको विवाह भएको र विवाहपछि करिअर नै रोकेको देखेकी उनलाई आफ्नो पनि त्यस्तै अवस्था आउला भन्ने निकै डर थियो।
तर, यही काम गर्दागर्दै उनको भेट अविनसँग भयो। एउटै फिल्डको भएर पनि उनीहरू नजिकिँदै गए। अनि सामान्य भेट विवाह सम्ममा पुग्यो।
यसबीचमा उनीहरू दुवैले एक अर्काको काममा मात्र नभएर व्यक्तिगत जीवनमा पनि धेरै सपोर्ट गरे। कलाबाट नै आफ्नो सम्पूर्ण जिन्दगी बिताउने सोचेको कारण केही धैर्य गर्न पर्यो।
जसको लागि उनीहरूले घर नबनाएसम्म सन्तानको अपेक्षा नगर्ने निर्णय गरे। करिअरमा रोकावट नदिनको लागि उनीहरूले दश वर्ष पछि सन्तानको इच्छा राखे।
दश वर्ष भनेको सानो समय होइन। उनीहरूले विभिन्न कुराहरू सुन्नुपर्यो। विवाहको दश वर्षपछि सन्तान जन्माउँदाको अनुभव संगीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यसरी साटिन् :
000
बिहेअघि छोरी मान्छेहरूलाई अलग्गै खालको स्वतन्त्र हुने रहेछ। अनि बिहे हुने कुरा भएपछि त्यो स्वतन्त्र गुमाउँछु कि भन्ने डर चिन्ता हुने रहेछ।
करिअर राम्रो हुँदै जाँदा बिहेको कुरा पनि आउने अनि बिहेपछि सन्तानको कुरामा अलमलिँदा मेरै धेरै साथीहरूको करिअर रोकिएको देखिरहेको थिएँ। म बिहे अगाडि नै धेरै ठाउँमा काम गर्दै आएको, मेरो सिर्जनाहरू मर्ला भनेर मलाई निकै डर थियो।
तर कामकै सिलसिलामा मेरो श्रीमानसँग भेट भयो। यही फिल्ड भएपछि मलाई बुझ्ने मान्छे पाएँ भन्ने लाग्यो। हाम्रो प्रेम विवाह, मागी विवाहमा परिणत हुन धेरै समय लागेन। सबैको सहमतिमा विवाह भयो। तर त्यसपछि हाम्रो जिन्दगीको परीक्षण हुने रहेछ।
हामीले जिरोदेखि सुरु गर्यौँ। आर्ट फिल्डबाट सबै कुरा जोड्न धेरै गाह्रो भयो। कम्तीमा पनि एउटा घर नभएसम्म हामी सन्तानको तयारी नगर्ने भनेर बस्यौँ।
श्रीमानले पनि धेरै नै बुझ्नुभयो। उहाँको घरमा भाइ बाहेक हामी नै हौँ। त्यसले गर्दा त्यताबाट त मलाई केही पनि अप्ठ्यारो भएन। तर धेरैले अहिलेसम्म किन बच्चा भएन ? भनेर अनेकथरि कुरा गरे। केही समस्या होला ! अब बच्चा हुँदैन होला भन्ने सम्मको कुरा पनि सुन्नुपर्यो। त्यसबेला मलाई थाहा भयो, हाम्रो समाजले पनि हाम्रो जिन्दगीको धेरै कुरा निर्धारण गर्ने रहेछ।
तर हामीले सबै कुराहरूलाई टाढै राख्यौँ। यसको लागि श्रीमानले मलाई नबुझिदिनु भएको धेरै गाह्रो हुन्थ्यो। उहाँले मलाई एक पल पनि नराम्रो महसुस हुन दिनुभएन। बरु हामी दुवै जनाले करिअरमा फोकस गर्यौँ। धेरै प्रदर्शनी गर्यौँ। हामीले आफ्नो घर बनायौँ। अनि बच्चाको योजना बनायौँ।
डाक्टरको परामर्श अनुसार हामीले सन्तानको तयारी गर्यौँ। म गर्भवती पनि भएँ। केके गरिराख्नु पर्ने मेरो बानी छ। ठुलो-ठुलो पेन्टिङहरू पनि आफैँले उचाल्थेँ। त्यसले गर्दा मलाई गर्भवतीको समयमा केही समस्या पनि भयो।
गर्भावस्थामा के गर्ने भनेर थाहा भएन। केही भनिदिने मान्छे पनि भएनन्। श्रीमान् र म मात्र। उहाँलाई पनि खासै केही थाहै भएन।
मेरो त पेट दुख्ने र रगत समेत बग्ने भएको थियो। आत्तिएर हामी हस्पिटल गयौँ। त्यहाँ जाँदा पुरै बेड रेस्ट गरेर बस्नु भन्नुभयो। छ महिनासम्म त पुरै बेड रेस्ट गरेँ। सुतेर बसेँ। म त्यति लामो समयसम्म बेड रेस्ट गरेर बस्दा सबै श्रीमानले नै स्याहार्नु भएको हो।
ममीले माइत लान खोज्नु भएको थियो। तर श्रीमानले जे भए पनि मेरै आँखा अगाडि होस् भन्नुभयो। गर्भवती समयमा एक किसिमको डर पनि हुने रहेछ। के हुने हो, कस्तो हुने हो भनेर खुल्दुली भइराख्ने रहेछ। त्यस्तो बेला आफैलाई राम्रो-राम्रो कुरा सोच्न प्रेरित गरेँ। बेबीसँग कुरा गरेँ। तिमि राम्रोसँग आउनु पर्छ, तिमीलाई केही पनि हुँदैन भनेर आफैसँग कुरा गरिराख्थेँ।
आमा खुसी भयो भने बच्चा पनि खुसी हुन्छ भन्ने सुनेको थिएँ। त्यै भएर मैले भैरव अर्यालको किताबहरू पढ्थेँ। प्राय खुसी हुने प्रयास गरिराख्थेँ।
खानामा म त्यति धेरै नखरा गर्ने खालको होइन। घरकै खानाहरू र गुन्द्रुक खुब मन पर्थ्यो। तर त्यसबेला चैँ गुन्द्रुक पनि मन परेको थिएन। मेरो तौल पनि अत्यधिक बढेको थियो।
डेलिभरीको टाइम हुँदै गर्दा खुट्टाहरू सुन्निन थालेको थियो। पेट त निकै ठुलो भएको थियो। सबैले जुम्ल्याहा सन्तान छ कि क्या हो भन्थे।
धेरै मोटो भएपछि मलाई हिँडडुल गर्न, चल्न समेत गाह्रो भएको थियो। ढाड पनि निकै दुख्थ्यो। त्यसबेला श्रीमानले नै हो मलाई यता र उता गर्न मद्दत गरेको।
म भन्दा पनि श्रीमान् पो बढी स्ट्रेसमा हुनुहुन्थ्यो। मैले त त्यसबेला एकाएक दिन गनेर बसेँ। अब यति दिन बाँकी छ, यति दिन राम्रोसँग बित्यो भनेर ढुक्क हुन खोज्थेँ। सुरुमै समस्या भएको कारण पछि पनि समस्या नहोस् भन्नेमै मेरो ध्यान थियो।
सात महिनापछि चैँ हिँडडुल गर्न थालेँ। त्यही बेला हो म पेन्टिङबाट समेत लामो समय टाढा भएको। तर केही पाउन केही गुमाउनु पर्ने रहेछ भनेर बस्थेँ। केही गुमाएको त होइन तर पेन्टिङबाट टाढा म त्यसअघि कहिले पनि भएको थिइन ।
त्यसपछि त बेबी चल्न पनि थाल्यो। त्यो अर्कै खालको अनुभूति रहेछ। म वर्णन पनि गर्न सक्दिन। म भित्र केही चिज छ है भन्ने हुन्थ्यो।
पहिला ममीले तिमीहरू आमा भएपछि थाहा पाउँछौँ, भन्नुभएको कुरा मैले त्यसबेला याद गरेँ। पेन्टिङ त धेरै सिर्जना गरिरहेकै थिएँ, त्यसबेला चैँ आफू सृष्टिकर्ता हुँ भन्ने अनुभूति गरेँ।
म पहिला एकदम कम बोल्थेँ। कम बोल्ने बानी भएपछि सहन सक्ने क्षमता पनि बढी भएको हो कि ! म एकदम धेरै दुखिरहँदा पनि चुप लागेर बस्थेँ।
दुई/तीन दिन अघिदेखि मलाई पेट दुखिरहेको थियो। त्यसबेला व्यथा लागेको रहेछ। मलाई व्यथा लागेको भन्ने नै थाहा भएन। तर डेलिभरीको टाइम अनुसार मैले सबै तयारी गरिसकेको थिएँ। त्यै भएर हस्पिटल जान धेरै पर्खनु परेन।
बेबीले त फोहोर गरिसकेछ, अप्रेसन गरिहाल्न पर्छ भन्ने कुरा भयो। सहिद दिवसको समयमा निकै भिडभाड थियो। बेबी ठुलो भएको कारण अप्रेसन गर्नुपर्छ भनेर त अगाडि नै थाहा थियो। तर त्यसबेला अपर्झट अप्रेसनको तयारी गर्नुपर्यो। म मोटो भएको कारण ढाडमा सुई हाल्न पनि एउटाले पुगेन। दुई/तीन वटा सुई हाल्नुपर्यो। निकै दुखिरहेको थियो। तर म सहेर बसेँ।
श्रीमान् बाहिर डराइराख्नु भएको रहेछ। मलाई त जसरी हुन्छ बेबी सकुशल नै जन्मियोस् भन्ने मात्रै ध्यान थियो। शरीर लट्ठिएपछि पनि केही आवाज त सुनिरहेको थिए। पछि तपाईँको छोरी भनेर देखाउनुभयो। त्यसपछि मलाई केही याद नै छैन।
छोरी एकदम गोरी, ठुली, गुडिया जस्ती थिई। जन्मिँदा नै छोरी तीन दशमलव नौ केजीको थिइन्। जन्मिने बित्तिकै उ रोएको पनि थिइनन्। पछि पो रोएको। म भन्दा अगाडि उसलाई मेरो श्रीमान् र दिदीहरूले समाउनु भएको थियो।
हस्पिटलमा तीन दिन बसेपछि हामी घर फर्कियौँ। त्यसपछि त पुरै श्रीमान् र मैले नै सम्हालेको हो। तेल लगाउने दिदीहरू त आउनु हुन्थ्यो। केही गर्छु भनेर आँटेपछि सकिने रहेछ। श्रीमानको सपोर्ट नभएको भए मैले त्यति सहज रूपमा गर्न सक्दिन थिएँ, होला।
स्तनपान पनि हस्पिटलमै राम्रोसँग गराइरहेको थिएँ। पछि ब्लड प्रेसर हाइ भयो। अनि राम्रोसँग स्तनपान गर्न पाइनन्। श्रीमानले त्यसबेला बिदा लिनुभएको थियो। बेबी र मलाई स्याहारेर बस्नुहुन्थ्यो।
मेरो ममीलाई डायबिटिजको बिरामी थियो। त्यै भएर माइतमा धेरै समयसम्म बसिन। जेजे सोध्न पर्ने सबै म फोनबाट नै सोध्थेँ। एक पटक छोरीको डाइपर चेन्ज गर्न खोज्दा उसले त हिक्क हिक्क गर्न थालिन्। आँखा नै पल्टाउन थालिन्। चिसोले त्यस्तो भएको रहेछ। ममीसँग कुरा भएपछि उहाँले नै के गर्ने भनेर सिकाउनुभएको थियो।
त्यसबेला आमा भनेको यस्तो हुने रहेछ भन्ने महसुस गरेँ। आफूलाई गाह्रो भए पनि बच्चाको लागि हरेक पल तयार हुने।
छोरी सानो हुँदा धेरै काम हुन्थ्यो। म त निकै अलमलिए। केही समय कामबाट ब्रेक पनि चाहिएको रहेछ। ब्रेक लिएँ। त्यसपछिको पेन्टिङमा मेरो निकै भिन्नता पनि पाउँछु। मेरो काममा पनि एकदम ठहराव, धैर्यता पाएँ। हामीले कुनै पनि काम सिरियसली गर्यो भने त्यसको फल चैँ पाउने नै रहेछौँ।
काम सँगसँगै छोरीको स्याहारमा पनि हामी श्रीमान् श्रीमतीले मिलेर ध्यान दियौँ। मैले जे जति पनि पाएँ, सबै आर्ट बाट नै पाएको हुँ।
अहिले हाम्रो छोरी सात कक्षामा पढ्दै छिन्। अहिलेको बच्चाहरूलाई धेरै अवसर र विकल्पहरू छन्। उनले पनि आर्टमै रुचि देखाई रहेकी छिन्। केही समय अघि उनकै कामको पनि हामीले प्रदर्शनी गर्यौँ। उनले पछि गएर जे गरे पनि आर्ट क्षेत्रमै केही गरोस् भन्ने लाग्छ।
उसको स्वभाव पहिला एकदम ज्ञानी थियो। जति खेर पनि चित्र बनाइराख्नु पर्ने। निकै कम बोल्थिन्। तर उ म जस्तै धेरै नबोल्ने नगरोस् भन्ने मलाई लाग्थ्यो। मलाई धेरै नबोल्ने बानिले अप्ठ्यारो परेको पनि हो।
तर अहिले छोरी निकै बोल्न पर्ने खालको छ। उमेरले गर्दा पनि होला, अहिले अलि बढी लजाउन थालेकी छिन्। उनी पेन्टिङ नगर्ने बाबाको जस्तै चित्रण बनाउने भन्छिन्। उनलाई रङ्गमा पनि हामीलाई भन्दा धेरै आइडिया छ।
मेरो पेन्टिङमा यो भएन, यस्तो हुन पर्छ समेत भन्न थालिसकिन्। अहिले मेरो धेरै साथीहरूको बच्चाहरू हुर्किसके। त्यसबेला अलि अगाडि नै हामीले पनि सोच्न पर्ने रहेछ कि जस्तो लाग्छ। तर केही पाउनको लागि केही गुमाउनु पर्ने भनेको यही नै त होला। अलि ढिला भए पनि करिअरमा हामीले आँच आउन दिएनौ नि।
मातृत्वको अनुभव गरे पछि आफ्नो कामहरूको पनि छुट्टै माया लाग्न थालेको छ। आमा भनेको नै धेरै आत्मीयता, सामिप्यता र वात्सल्ययता हुने रहेछ।
पहिला अलि हठी स्वभावको म छोरी जन्मिए पछि नरम भएको अनुभव गरिराखेको हुन्छु। आमा भएपछि आफूभन्दा अगाडि सन्तानको बारेमा सोच्ने रहेछु।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
वैशाख १६, २०८१ आइतबार २२:३१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।