चौथो अंग : नेपालको फोटोपत्रकारिता ‘कोल्याप्स’ गरेकै डेस्कले हो, फोटोपत्रकारको के दोष?

चौथो अंग : नेपालको फोटोपत्रकारिता ‘कोल्याप्स’ गरेकै डेस्कले हो, फोटोपत्रकारको के दोष?

‘नेपाल’ म्यागेजिनमा काम गर्दा अपहरणको समाचार कभर स्टोरी थियो। यसको लागि फोटो चाहियो। तर के गर्ने? सम्पादकलाई मैले एउटा ‘कन्सेप्ट’ सुनाए। गुरुकुल नाटकका केही कलाकारलाई लिएर चोभार जाने अनि सुटिङ गर्ने। यो प्रस्ताव पास भयो। सोही अनुसार फोटो पनि खिचियो। कभरमा छापियो पनि।

म्यागेजिनको सबैै कभर स्टोरी अनुसार वास्तविक फोटो जुटाउन सकिँदैनथ्यो। अनि हामीले यस्तै प्रतिकात्मक फोटो खिच्थ्यौँ।

एक पटक मुटु रोग सम्बन्धीको स्टोरी थियो। अफिसकै एक जना ड्राइभर दाइ बोलाएर स्टुडियोमा मुटु छाम्दै अनुहार पनि कच्याकुचुक्क पारेको तस्बिर खिचाएँ। यो तस्बिर निकै मन पराइयो पनि।

फोटोग्राफी भनेको ‘एक्सपेरिमेन्ट’ पनि हो। व्यक्ति र समाजको मनोविज्ञानसँग पनि खेल्न सक्नुपर्छ। फोटो हेर्नेबित्तिकै गम्भीर पाठकले पनि बुझुन् अनि सामान्य पाठकले पनि। यसले फोटो पत्रकारको दक्षता देखाउँछ।

अहिले माध्यम फरक भयो। पेपर म्यागेजिनको ठाउँमा अनलाइन म्यागेजिन आए होलान् तर के स्टोरी अनुसार प्रतिकात्मक फोटो अथवा वास्तविक फोटो आएको छ त? छैैन।

रिपोर्टर लैजाँदा कुस्त तलब, कुस्त सुविधा दिएर लैजाने मिडियाले फोटोपत्रकारलाई त्यसरी नै ‘भ्यालु’ दिएर लगेका छन् कि गुगलबाट फोटो तानेर काम चलाएका छन्? आजको विचरणीय प्रश्न यो हो।

ज्ञानको दायरा बढाउन पढ्नैपर्छ
वीरगञ्जबाट शुरू भयो मेरो पत्रकारिता। २०६० माघ १ गते वीरगञ्जका मेयर गोपाल गिरिको माओवादीले हत्या गर्यो। उहाँको राजनीतिक विचारधारा जे भएपनि उहाँले वीरगञ्जवासीको लागि धेरै काम गर्नुभएको थियो। वडाध्यक्ष हुँदादेखि नै उहाँले धेरै राम्रो काम गर्नुभएको थियो। उहाँको लास देखियो। किन-किन मलाई उहाँको फोटो अर्काइभ गर्नुपर्छ भन्ने लाग्यो। मैले आर्यघाटसम्म पछ्याएर फोटो खिचेँ।

त्यहीँका स्थानीय पत्रकार अन्नपूर्ण पोष्टका लागि काम गर्नुहुन्थ्यो। उहाँले फोटो माग्नुभयो, मैले दिएँ। त्यो फोटो अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा छापियो। आन्दोलनको लहर नै चलेको समय थियो त्यो, मैले डिजिटल क्यामेरा र फिलिमबाट फोटो खिच्थेँ। स-साना भिडियो बनाउँथे। पहिलो पृष्ठमा फोटो छापिएपछि फोटोको कति महत्व हुन्छ भन्ने जान्ने मौका पाएँ। त्यसपछि मलाई फोटोपत्रकार नै बन्छु भन्ने भयो।

फोटो जर्नालिष्ट क्लबले तालिम गर्ने भयो। म पनि काठमाडौं आएँ। त्यो बेला फोटो पत्रकारिता भन्दा पनि फोटोग्राफी चाहिँ पढियो। तालिमपछि मिडियामा इन्टर्न गर्ने कुरा भयो। मैले कान्तिपुर रोजेँ।

त्यतिबेला कान्तिपुरमा गोपाल चित्रकारको नेतृत्वमा चन्द्रशेखर कार्की, विकास रौनियार, नरेन्द्र श्रेष्ठ, विकास कार्की जस्ता होनाहार फोटो पत्रकारहरू थिए। दिग्गज फोटो पत्रकारसँग काम सिकिन्छ अनि कसरी काम हुने रहेछ मिडियामा भन्ने बुझ्नलाई नै मैले कान्तिपुर रोजेको थिएँ। कान्तिपुरमा मैले धेरै सिकेँ।

शुरूवातीचरण  भएकाले मेरो खासै काम हुँदैनथ्यो। दैनिक पत्रिका भन्दा पनि नेपाल साप्ताहिकको टोलीसँग म नजिक भएँ। नेपाल साप्ताहिकमा धेरै फोटो चाहिन्थ्यो। त्यहाँका रिपोर्टरसँग फिल्डमा गएर धेरै फोटो खिचेँ पनि।

त्यो समय नै आन्दोलनको समय थियो। राजनीतिक फोटोले निकै प्राथामिकता पाउँथे। मेरो इन्टर्नशिप समय सकियो। प्रधानसम्पादक नारायण वाग्लेलाई भेट्न गएँ। उहाँले तिमी राम्रै फोटो खिच्दोरैछौ भनेर हौस्याउनु भयो। ‘काम गर्ने हो?’ भनेर नेपालगञ्ज पठाउने कुरा भयो।

म उत्साहित नै थिएँ। तर त्यति नै बेला राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरे। माघ १९ को घटना भयो। देशमा द्वन्द्व चर्किएको थियो। नेपालगञ्ज जोखिमयुक्त ठाउँ पनि थियो, गैयो पनि। प्राय हेलिकप्टरबाट खिचिएका युद्धका फोटाहरू प्रकाशन भइरहेको थियो त्यो समय। मलाई भने माओवादी आन्दोलनलाई नजिकबाट चियाउने मन थियो।

नेपालगञ्ज बसियो। त्यति नै बेला रोल्पा, रुकुम, कालिकोटदेखि सुदूरपश्चिम, मध्यपश्चिम र कर्णालीका अधिकांश जिल्लामा पुगियो।

तर संकटकाल लागेकाले युद्दका फोटो  छापिँदैनथ्यो। त्यो फोटोहरू मेरो अकाईभमा रह्यो। त्यतिबेला मलाई के लाग्यो भने, फोटो पत्रकारले खिचेका फोटा छापिउन् कि नछापिउन् खिचेर अर्काइभ मेन्टेन गर्नैपर्छ। त्यो जुनसुकैबेला काम आउनसक्छ।

पहिले-पहिले फोटो भन्दा बढी समाचार छापिन्थे। पछि ४० प्रतिशत फोटो र ६० प्रतिशत समाचार आउन थाले। तर, विज्ञापन राम्रो आएको बखत जतिसुकै राम्रो फोटो होस् न फोटो काटेर विज्ञापन हालिन्थ्यो।

नेपालगञ्जको बसाइपछि काठमाडौं आइयो। मोफसलका फोटो पत्रकारलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। असाइन कम नै हुन थालेपछि मैले फुर्सदको समयमा अन्तराष्ट्ररिय स्तरमा कसरी फोटो पत्रकारिता भइरहेको छ नियाल्न थालेँ। फोटो प्रर्दशनीमा भाग लिएँ। बंगलादेशमा भएको फोटो प्रर्दशनीमा ‘वार पिक्चर’मा मेरो फोटो पनि छनोट भयो। भन्न खोजेको के भने, जहाँ काम गर्दा पनि संस्थाको कामसँगै आफ्नो काम पनि गर्नुपर्ने हुन्छ।

७/८ वर्ष काम गरेपछि आफूलाई अपग्रेड गर्न र नयाँ के भएको छ भन्नेबारे जान्न भने एकेडेमिकल्ली पढ्नैपर्छ। मैले मनिला युनिभर्सटीमा एक वर्ष पढेँ। त्यहाँ पढ्दा फोटो स्टोरीबारे धेरै सिकेँ। गर्न त फोटो स्टोरी पहिलेदेखि नै गरेको हो। तर, अझ त्यसलाई फराकिलो तरिकाले बुझ्न पाइयो।

त्यतिनै बेला ‘विदेशबाट लाश’ भन्ने स्टोरी गरियो। मैले विमानस्थलदेखि आर्यघाटसम्म अनि पछि विदेशबाट श्रीमान्को लाश ल्याइमाग्न आएका महिलाहरूको फोटो खिचेँ। यसले मलाई बेचैन बनायो। यति बेचैन संकटकालमा युद्धग्रस्त नेपालगञ्ज जाँदा पनि भएको थिएन। घर खेत साहुकोमा राखेर ऋण गरेर विदेश गएकाहरू बित्दा त्यो परिवारको बिचल्ली हेरिसक्नु हुँदैनथ्यो।

यस्तो फोटो कसरी खिच्ने भन्नेबारे फोटोपत्रकारले सिक्न जरुरी छ। जसका लागि अध्ययन नै चाहिन्छ। राजनीतिक, सामाजिक विषयमा फोटोपत्रकार पोख्त त हुनैपर्यो, सँगै फोटोलाई कसरी प्ले गर्ने?, अन्तर्राष्ट्रियस्तरमा के चलिरहेको छ?, भनेर पनि अपग्रेड हुन जरुरी छ।

फोटोपत्रकारहरू आफैँतिर फर्कौं
अन्तर्राष्ट्रियस्तरमा भएका फोटो प्रर्दशनीमा सहभागी हुँदै कन्फ्रेन्सहरू सुन्दै गइयो। सिनियर फोटोपत्रकारको कुरा सुन्दा आफूमा कमजोरी के छ, के सुधार गर्नुपर्छ भन्ने थाहा हुँदै जान्छ। ट्रिकी फोटो शुट र स्टोरी अनुसारको नयाँ-नयाँ एक्सपेरिमेन्ट गर्दै जानुपर्छ। मैले धेरै नै वर्कशपहरूमा पनि भाग लिएँ।

डेनिस स्कुल अफ मिडिया एण्ड जर्नालिजममा धेरै कुरा सिक्ने अवसर पाइयो। यो स्कुलले हामीजस्तो देशको लागि छात्रवृत्ति दिन्छ। त्यहाँ गएर पढेपछि अझ धेरै अन्तराष्ट्रिय अभ्यासहरू थाहा पाइयो। उनीहरुले फोटोलाई यति महत्व दिन्छन् की स्टोरी अनुसार फोटो प्ले गर्छन्। भारतीय फोटोपत्रकारहरू पनि कलात्मक र सेन्सेटिभ छन्।

फोटोपत्रकारहरूको काम घटना भएको ठाउँ गएर झ्याप-झ्याप फोटो खिच्नु मात्रै होइन, स्टोरी अनुसार कुन फोटो कसरी खिच्ने भन्ने पनि हुन्छ। फोटोपत्रकारमा गुणस्तरिय फोटो खिच्ने क्षमता, प्रतिष्पर्धात्मक भावना र स्थिरता हुनैपर्छ।

मिडियाले आफ्नो कामको महत्व बुझोस् वा नबुझोस्, काम गर्न भने छाड्न हुँदैन।

एउटा फोटो थियो, मुस्ताङको लेतेमा पहिरो गएको र त्यहि छेउमा सन्तान च्यापेर महिला उभिएको। नेपाली मिडियाले यो फोटो छापेनन् तर अवार्ड भने जित्यो।

नेपाली सम्पादकले फोटो त बुझ्लान् तर उनीहरूमा भिज्युअल सेन्स भएको देखिँदैन।एउटा फोटो नछापिएको झोँकमा सम्पादकको भिज्युअल सेन्स छैन भनेको हो की भन्ने नपरोस् म सम्पादकको भिज्युअल सेन्सबारे बसेरै बहस गर्न तयार छु।

यदि उहाँहरूमा भिज्युअल सेन्स हुन्थ्यो भने अनलाइनले फोटो छाप्ने मामिलामा क्रान्ति नै गर्न सक्थ्यो। केही परिर्वतन गर्न सक्नुभयो त? कुन अनलाइनले अथवा मिडियाले फोटो स्टोरी राम्रो छाप्छ भन्न सकिन्छ? छैन।

यसमा फोटोपत्रकारले ल्याए न हो फोटो छाप्ने भन्ने कुरा पनि आउला। फोटोपत्रकारको यसमा कुनै दोष छैन। कन्सेप्ट फोटो पत्रकारको, फोटो कुन-कुन जान्छ भनेर चाहिँ डेस्कले छान्छ अनि फोटोपत्रकारलाई दोष लगाएर हुन्छ?

खासमा भन्ने हो भने, डेस्कको हस्तक्षेपले र सम्पादकमा भिज्युल सेन्स नहुनाले फोटोपत्रकारको सिर्जना मरिरहेको छ। फोटो स्टोरी कोल्याप्स गरेकै डेस्कले हो।

यद्यपि मिडियाले फोटो जसरी प्ले गरेपनि अर्काइभ राख्ने, आफ्ना सोसल मिडियाहरूमा राख्ने र फोटो प्रर्दशनीमा भाग लिने गर्नुपर्छ जसले हामीलाई तिर्खाछ।

डेस्कको हस्तक्षेप नभए फोटो स्टोरी देखिन्छ
अहिले हामी यस्तो परिस्थिति भएको देशमा छौँ, जहाँ भिज्युअल क्यान्सर हुने दर्दनाक अवस्थामा छौँ। भिज्युअल आउन त आइरहेको छ तर के साच्चै कलात्मक आइरहेको छ त?

अघि भनेँ नि- सम्पादकले फोटो नबुझ्ने, डेस्कले स्टोरी अनुसार फोटो नहालिदिने अवस्था भएकाले यस्तो भएको हो।

हामीले खिचेका फोटोहरू अक्षर नचिन्नेका लागि पनि हो, हामीले खिचेका फोटोहरू कलात्मक व्यक्तिहरूका लागि पनि हो। यो कुरा मिडियामा बस्नेले बुझ्न जरुरी छ।

अहिले धेरै मिडियामा आन्दोलन भइरहेको छ, सबैभन्दा धेरै मर्कामा फोटो सम्पादकहरू परेका छन्। उनीहरू आन्दोलनमा गएको देखेको छु। कुन चाहिँ प्रधानसम्पादक आन्दोलनमा छन्? फोटो सम्पादकको के स्थिति बनाएछौं र आन्दोलनमा जानुपर्ने स्थिति आयो?

​​​​फोटोपत्रकारले पनि मिडिया हाउसको लागि आफ्नो समय, ज्ञान आर्थिक लगानी गरेको हुन्छ, उसलाई टिक्नै नसक्ने मिडियाले बनाउन हुँदैन। नेपाली मिडियाले फोटोपत्रकारको कामलाई यति गौण ठानेको छ की नेपाली मिडियाबाट निकालिएका फोटोपत्रकारहरूको फोटो अन्तर्राष्ट्रिय पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ। यसले पनि प्रष्ट पारिहाल्छ नि!

यसको अर्थ फोटोसम्पादकको कमजोरी नै छैन भनेको होइन छ, तर त्यो कमजोरीले समग्र फोटोलाई असर परेको छ की छैन भन्ने कुरा प्रमुख हो।

कतिपय मल्टीमिडियाका प्रमुख भएकाहरूले टेलिभिजनकै शैलीमा काम गरेको देखिन्छ। यी दुवै फरक विषय हुन्। सोही अनुसार काम गर्न सक्नुपर्छ।

त्यस्तै फोटो सम्पादकहरूले जुनियरलाई काम अह्राउँदा कुनै फोटो देखाएर यो एंगलबाट खिच, यसरी काम गर भनेर दिमाग भरेर पठाउँछन्। यो गलत हो। कन्सेप्ट दिने हो फोटोपत्रकारलाई न कि एंगल। एंगल त व्यक्तिपिच्छे फरक हुन्छ नि!

फोटोसम्पादकहरू आफ्ना फोटो पत्रकारहरूको पक्षमा बोल्न डराउनु हुँदैन। मिडियामा श्रम ऐनअनुसार सम्झौता गरिन्छ, फोटोको कपिराइट, अर्काइभको रोयल्टीको विषयमा कहिँ पनि उल्लेख भएको पाइँदैन।

आफ्नो अधिकारको कुरा गर्यो भने मिडियाले निकाल्ने डरले अधिकांश बोल्न सक्दैनन्। बोल्न नसक्दा अधिकार स्थापित हुँदैन। फोटो खिच्नेदेखि, फोटोको रिर्सच गर्ने, फोटोको कोअर्डिनेट गर्नेसम्मको काम एक्लैले गर्नुपर्ने अवस्थामा छौं हामी। यस्तो भइन्जेल मिडियामा फोटो सुध्रन्छ र?

इन्डियन एक्सप्रेस लगायतका भारतीय मिडियाले आफ्ना पूराना फोटो बेच्छन्, अकाईभ राम्रो छ। हाम्रो कुन मिडियासँग पुरानो फोटोको अर्काइभ छ? भन्ने बितिक्कै दिनसक्ने ल्याकत छ? हामीले भिज्युअल हिस्ट्रीलाई कसरी राख्ने हो? यसमा मिडियामा कति काम भएको छ?

सम्पादकले भिज्युअल ल्याङ्वेज नबुझ्ने डेस्कले अत्याधिक हस्तक्षेप गर्ने। डेस्कको हस्तक्षेप रहुन्जेलसम्म मिडियामा फोटो स्टोरी आउन गाह्रै छ। फोटो सम्पादकलाई डेस्कसम्पादक र सम्पादकले नियन्त्रण गरेर हो समस्या देखिएको। झन् अहिले अनलाइनमा त जस्ले न्युज पोष्ट गर्छ उसैले छान्छ फोटो।

एकपटक समीक्षा गरौँ न, कुन मिडियाले कस्ता फोटो छापेका छन् भनेर। यसैले प्रष्टै पारिहाल्छ नि! हामी आफूलाई धेरै जान्ने ठानिरहेका छौँ, तर पाठकलाई ठगिरहेका छौँ भिज्युअलको पाटोमा। यसमा मिडियाको नेतृत्वकर्ताले ध्यान दिन जरुरी छ।

फोटोपत्रकारले आफैँलाई लगानी गर्ने हो 
लाखौँ खर्चेर इक्युपमेन्ट किन्यो अनि सित्तैमा फोटो छापिँदा दङ्ग पर्यो। हामीले आफ्नो पारिश्रमिक लिनै सकेनौं वा जानेनौं। एक जना फोटोग्राफर जस्ले हिउँचितुवाको फोटो खिच्नुभयो उहाँले फोटो सित्तैमा दिनुभयो। हाम्रो मिडियाले पनि फोटोग्राफर तथा लगानीकर्ताको श्रम चिनेर रकम दिँदैन, हामी माग्दैनौं।

त्यस्तै फोटोपत्रकारले लगानी इक्युपमेन्टमा गर्ने होइन, आफूमा गर्ने हो। यात्रा, अनुसन्धान, वर्कशप र पोर्टफोलियोको लागि। इक्यूपमेन्ट त जोहो हुँदै जाने हो। सामग्री हुनुभन्दा पनि फोटो कसरी खिचिन्छ भन्ने कुराले भर पार्छ। स्मार्ट, बिज्नेस माइण्ड, र नेटवर्किङमा विशेष ध्यान दिनुपर्छ।

फोटोपत्रकार हुनुको कारण के हो? पत्रकारितालाई अथवा संस्थालाई भर्याङ बनाएर पलायन हुने नियत राख्नु चाहिँ भएन। कम्तिमा काम गरुन्जेल त्यस संस्थालाई न्याय गर्न सक्नुपर्छ। यसको अर्थ पलायन हुनुहुँदैन भनेको होइन, आफ्नो पोजिसन के हो बुझ्न जरुरी छ।

मौकामा चौका हान्ने फोटोपत्रकार, बार्गेनिङ गर्ने रिपोर्टर भयो भने प्रश्न उठाउने मिडियामाथि नै प्रश्न उठ्न थाल्छ।

अहिले जुनसुकै मिडियामा पनि सिनियर भन्दा भर्खरै काम सिक्दै गरेकालाई चाहिने भन्दा बढी जिम्मेवारी दिइएको छ। जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने मिडियाले समयमै बुझ्न जरुरी देखिन्छ।

(कान्तिपुर दैनिकमा आठ वर्ष काम गरेका खरेल अहिले फ्रिलान्सर छन्। उनैसँग ‘नेपालमा फोटोपत्रकारिता र फोटोस्टोरी’को विषयमा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

७ चैत, २०८०, १०:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।