बीपी प्रतिष्ठानको विवादमा प्रधानमन्त्रीको प्रवेश, तत्काल समस्या समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन

बीपी प्रतिष्ठानको विवादमा प्रधानमन्त्रीको प्रवेश, तत्काल समस्या समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन

काठमाडौँ : धरानका मेयर हर्क साङपाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएपछि धेरैले आलोचना गरे। मेयरको कार्यक्षेत्र नभए पनि साङपाङले कार्कीको कार्यकक्षमा ताला लगाएर समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाए।

बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान गयो समस्यामा। उनले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ठ अर्याललाई बोलाएर प्रतिष्ठानको कार्यकारिणी समिति बैठकमार्फत शिक्षक, कर्मचारी र चिकित्सकहरूको माग सम्बोधन गर्न निर्देशन दिए।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भन्दै समस्यालाई गम्भीर रूपमा लिन निर्देशन दिए।

बीपीको समस्या अहिलेको हैन निकै पुरानो हो। तर केन्द्र समस्या समाधानमा गम्भीर नहुँदा समस्या समाधानको साटो थप गम्भीर बन्दै गयो।

पूर्व सहमति कार्यान्वयन नभएको भन्दै आइतबारबाट त शिक्षक र कर्मचारी कामै रोकेर विरोधमा उत्रँदा आकस्मिक बाहेकका सबै सेवा ठप्प भयो। तर सम्बन्धित मन्त्रालयका मन्त्री बस्नेतले चासो देखाएनन्। अनि प्रधानमन्त्री प्रचण्ड नै हस्तक्षेप गर्न बाध्य भए।

६ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया खुला गर्न माग गर्दै शिक्षक र कर्मचारी असोजमै आन्दोलित भएका थिए। एक सय ७७ चिकित्सकले त कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका थिए।

बल्ल २० कात्तिकमा आन्दोलनरत शिक्षक, कर्मचारी र व्यवस्थापन पक्षबिच ४ बुँदे सहमति भएको थियो। तर सहमति अनुसार प्रक्रिया अगाडि बढेन।

प्रतिष्ठानको तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रा.डा. प्रह्लाद कार्की २०८० असारमा कामु उपकुलपति भएका थिए।

उनी समस्या समाधानतिर भन्दा बहानातिर लागे। उनले परीक्षामा कानुनी अड्चन रहेको भन्दै आलटाल गर्न थालेपछि समस्या थप बढ्यो। उनीहरू कामु उपकुलपतिको बर्खास्तीको मागमा पुगे। समस्या बढेपछि कार्की पुस २५ बाट कार्यालयमै नगई घरबाटै प्रतिष्ठान चलाउन थाले।

प्रतिष्ठानको सिनेट सदस्य रहेका धरान उपमहानगरपालिकाका मेयर सम्पाङ प्रतिष्ठानको विवादमा प्रवेश गर्दै सोमबार कामु उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाइदिए। उनले कामु उपकुलपति कार्कीलाई तुरुन्त अस्पतालमा उपस्थित गराउन स्वास्थ्यमन्त्री बस्नेतलाई पत्र पठाए।

२ माघ, २०८०, २२:३७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।