चौथो अंग : सम्पादकहरूले कार्यदक्षता हेरेर हात अलि कसिलो बनाउनुभएन र रिपोर्टरहरूले पनि काम गर्न जाँगर मार्नुभएन

चौथो अंग : सम्पादकहरूले कार्यदक्षता हेरेर हात अलि कसिलो बनाउनुभएन र रिपोर्टरहरूले पनि काम गर्न जाँगर मार्नुभएन

२०६९ साल वैशाखमा माछापुच्छ्रे हिमालमा आएको हिमपहिरोपछि थुनिएको सेती नदीको मुहान फुट्दा पोखरामा ठूलो जनधनको क्षति भयो।

पछि के कुरा थाहा भयो भने, यदि पोखरा विमानस्थलका कर्मचारीले सेती नदीमा बाढी आउँदैछ भन्ने कुरा सञ्चारमाध्यमलाई जानकारी नदिएको भए अझ धेरै क्षति हुनेवाला थियो। त्यहीँका स्थानीय रेडियोले बाढी आउँदैछ भनेर सूचना दिए। रेडियो सुनेर ज्यान जोगाउनेहरू धेरै थिए त्यतिबेला।

त्यस्तै २०७२ सालको गोरखा केन्द्रबिन्दु भएर आएको भूकम्पपछि रेडियोले कसरी सुरक्षित रहने?, कहाँ कति क्षति भयो?, सरकारले के गर्दैछ? भन्ने जानकारीका साथमा आत्तिएर बसेका नागरिकलाई सान्त्वना दिने काम गरिरह्यो।

एउटा उदाहरण- भूकम्पपछि हाम्रा सहकर्मीहरू पालैपालो स्टेशनमा आउँदै ‘जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित साथ बस्नुस् भागदौड गर्दा बढी क्षति हुनसक्छ’ भनेर निरन्तर बोल्यौँ। साँझतिर एकजना वृद्धले आएर भन्नुभयो तपाईंहरूको रेडियोले गर्दा यो टोलको धेरै मान्छेको ज्यान जोगियो।

भन्न खोजेको चाहिँ रेडियो भनेको सूचना प्रवाहको प्रभावकारी माध्यम हो। कसै न कसैले रेडियो खोलिरहेकै हुन्छ। काम गर्दै रेडियो बजाउने धेरैको बानी हुन्छ।

सेतीमा आएको बाढीबाट बच्न रेडियोले दिएको सूचना होस् या थप क्षति हुन नदिन भूकम्पको बेला रेडियोले गरेको आग्रह, प्रभावकारी सञ्चारमाध्यममा अझै पनि रेडियो नै हो।

विपद्मा रेडियो नै साथी 
औपचारिक रूपमा मेरो पत्रकारिता २०५७ सालदेखि शुरू भयो। धादिङ छँदा रेडियो नेपालमा बज्ने ‘हाकाहाकी’ कार्यक्रम सुन्थे। यो कार्यक्रमको नियमित स्रोता भएकाले पत्र पनि लेख्थेँ। कार्यक्रम कम्युनिकेशन कर्नरले उत्पादन गर्थ्यो भने प्रशारण रेडियो नेपालबाट हुन्थ्यो।

२०५७ सालमा काठमाडौं आएपछि भने चिठी हुलाकबाट नपठाइ आफैँ चिठी पु¥याउन अफिस गएँ। मैले मेरो नाम मिलन भनेपछि उहाँहरूले ‘तिमी धेरै र राम्रो पत्र पठाउनेमध्ये पर्छाै, हामी सँग काम गर्ने?’ भनेर सोध्नुभयो। मैले नाइँनास्ती गर्ने कुरै थिएन।

कार्यक्रम नियमित पाठक म यहि कार्यक्रममा काम गर्छु भन्ने सोचेको पनि थिइनँ। पछि कम्युनिकेशन कर्नरले उज्यालो रेडियो खोलेपछि भने यतै काम गर्न थालेँ। हालसम्म म उज्यालो नाइन्टी नेटवर्कमै आवद्ध छु। पत्रकारिताको २३ वर्षे कार्यकालमा एउटै मिडियामा काम गरिरहेको छु।

शुरूवातमा रिपोर्टर भइयो। २०६४ पछि भने डेस्कमा पनि काम गर्न थालेँ। ‘कानलाई आँखा बनाउने’ अर्थात् सुनेको समाचारलाई पनि पाठकले घटनास्थलमै पुगेजसरी ‘भिज्युल’ हेरेको अनुभव होस् भन्नेतर्फ हाम्रो काम केन्द्रीत हुन्थ्यो। यही नै सिकियो रेडियोमा।

२०६२/०६३ मा जनआन्दोलन भयो। जनआन्दोलनमा शुरूमा धेरै मान्छे नै थिएनन्। राजनीतिक दलहरू जता मान्छेको भीड छ, त्यतै कार्यक्रम गर्थे। कहिलेकाहिँ रत्नपार्कमा बदाम र सुन्तला खाएर साँझ परेपछि फर्कन्थे। यसैलाई हामीले साझँ रेडियो मार्फत बजाउँथ्यौँ। धेरै पाठकले रत्नपार्क नै पुगेजस्तो भयो भनि फोन गर्नुहुन्थ्यो।

मैले काम गर्दा रेडियोको चार्म नै छुट्टै थियो। अहिले अनलाइन खुलेजस्तै जिल्लैभरी रेडियो खुल्ने लहर चलेको थियो। रेडियोले मनोरञ्जन मात्रै होइन सूचना प्रवाह, वहस र समाचार प्रदान गरेको थियो। त्यो बेला सूचना र समाचारमा सबैको पहुँच रेडियोले पुर्यायो।

२०६४ मा संविधान सभाको चुनावपछि झन् संविधान सभा भनेको के हो? यो किन चाहिन्छ? जनता आफैँले संविधान लेख्ने भनेको के हो? संविधान सभामा कसरी संविधान लेखिन्छ? के-के लेखिँदैछ? समावेशी भनेको के हो? सबैलाई अट्ने सबैलाई समेट्ने कसरी हो? यस्ता छलफल रेडियोले निरन्तर गरे।

संविधान निर्माणमा भएको ढिलाई, राज्यको शासन व्यवस्था यस्ता विषयमा रेडियोले आम नागरिकलाई जागरुक बनाए वहस मार्फत। कुन दल कुन कुरालाई स्वीकार्दैन?, उनीहरूको भनाइ के हो? संघीयताको साङ्गोपाङ्गो जानकारी पनि मिडियाले नै दिए। आम नागरिकको पहुँचको हिसाबले रेडियोले नै सबैतिर सूचना पुर्यायो भन्ने लाग्छ।

अघि पनि भनेँ, विपद्मा रेडियो साथी भएको छ। २०७२ को भूकम्प गएको बेला धेरैको साथी रेडियो नै भयो। बाढी पहिरोको जानकारी रेडियो मार्फत दिँदा धेरै प्रभावकारी भएको छ।

मिडियाको प्रमुख चुनौती सूचना छनौट!
रेडियोको चार्म घटे पनि रेडियोको आवश्यकता हटेको छैन। सूचना अरु नै माध्यमबाट थाहा पाए पनि रेडियो सुनेर ‘भेरिफाइ’ गर्ने जमात अहिले पनि छ। त्यसकारण पनि अन्य माध्यमभन्दा रेडियो धेरै विश्वसनीय छ कि जस्तो लाग्छ।

बरु रेडियोले के सूचना दिने के सूचना नदिने चुनौती भएर आइरहेको छ जस्तो लाग्छ। त्यसैले उज्यालोले यहि माघ १ गते देखि ‘कानका लागि कामका खबर’ शुरू गरेको छ। स्रोताले चाहेको र स्रोतालाई चाहिने खबरहरू हामीले दिन खोजेका छाैँ। सूचना यति धेरै छ कि के मात्रै दिने भन्ने छ।

सूचना कुन भेगको व्यक्तिलाई चाहिने हो, सोही अनुसार प्रशारण गर्नु महत्वपूर्ण हुन्छ। सबै सूचना दिनैपर्छ भन्ने छैन। मिडियाले आफूलाई कुनै विषयमा विशिष्टिकृत गर्न सक्छ। यसो हुँदा पाठक, दर्शक तथा स्रोतालाई पनि सजिलो  र सञ्चारमाध्यममा काम गर्नेलाई पनि सजिलो हुन्छ।

अहिले मिडियाले सबै थोक दिन खोजेका छन्, तर त्यहीअनुसारको जनशक्ति छैन। आर्थिक संकटले पार नपाइन्जेल यो समस्या हट्छ जस्तो पनि लाग्दैन। कोरोना महामारी पछिको आर्थिक संकटले अन्य क्षेत्रलाई असर पारेजस्तै मिडियालाई पनि पार्ने नै भयो।

यद्यपि सीमित श्रोत र साधनका बावजुद मिडियाले काम गरिरहेका छन्। कन्टेन्टमा रेडियोले केही मिहिनेत गर्नुपर्ने अवश्य हो तर केही थोरै रेडियोले काम त गरिरहेकै छन्। पडकाष्टले रेडियोलाई जित्यो भन्ने कुरा त्यति मिलेको जस्तो लाग्दैन मलाई।

नयाँ मिडियाले परम्परागत मिडियालाई चुनौती अवश्य दिएका हुन्, तर पुराना मिडियाको औचित्य सकिएको होइन। बरु पुराना मिडियाले आफूलाई समयअनुसार अपग्रेड गराउँदै लैजानुपर्ने देखिन्छ।

रिपोर्टर अल्छी र सम्पादक ‘कञ्जुस’ हुनु भएन
अहिले पनि रेडियोले सार्वजनिक महत्वका विषयलाई वहसमा उतारिररहेका छन्। केही वहसहरू पुरानै शैली नभएका होइनन्। संविधानपछि समृद्धिको यात्रामा जसरी गरमागरम वहस हुनुपर्दथ्यो त्यो अलि कम भएको हो की जस्तो त देखिन्छ, तर रेडियोले गर्दै नगरेका होइनन्।

स्वास्थ्य, समसामयिक राजनीति, शिक्षा, संस्कृति, अर्थका विषयमा कार्यक्रमहरू भइरहेकै छन्। हाम्रै मिडियाले पनि हप्तामा ६ दिन फरक-फरक विषयमा इश्यु उठान गरिरहेको छ।

पहिले र अहिले काम गर्नु धेरै फरक भएको छ। हातले समाचार लेख्ने पुस्तादेखि प्रविधिको उच्चतम् प्रयोग गर्ने पुस्तासम्म छ अहिले पत्रकारितामा। प्रविधिको उच्चतम प्रयोग गरेर विषयवस्तुमा ज्ञान बढाउनुपर्ने हो रिपोर्टरले तर बुलेटिन, अपडेटमै अल्झिएका छन् उनीहरू। खोजी गर्नै अल्छी गर्छन्।

सम्पादकहरू रिपोर्टर र सञ्चालकबीचको सेतु हुन्। तर, यो हुन अहिलेको आर्थिक समस्याले धेरै गाह्रो भएको छ। सम्पादकहरूले रिपोर्टरहरूको कार्यदक्षता हेरेर हात अलि कसिलो बनाउनुभएन र रिपोर्टरहरूले पनि काम गर्न जाँगर मार्नुभएन।

रिपोर्टरले सुधार्नुपर्ने भनेको भाषा पनि हो। आर्थिक संकट सधैँ रहँदैन। रिपोर्टरले आफूलाई तिखार्नु जरुरी छ। रिपोर्टरले आफूलाई तिखारेन भने आर्थिक संकट कटेपछि पनि उसले ह्यान्डसम तलब पाउँदैन। अनि आर्थिक संकट मिडियामा मात्रै होइन अन्यत्र पनि छ।

मिडियामा काम गर्याे भने खर्चै चल्दैन भन्ने अलि बढी हल्ला सुन्छु, यो होइन। मिहिनेत गरेर काम गर्ने, खर्च के मा गर्ने सोचविचार गर्ने हो भने यहि पत्रकारिता गरेर सानोतिनो परिवार सुखीसहित आफ्नै घरमा बस्न गाह्रो छैन।

पत्रकारिता भनेको प्यासन हो, गर्नेले प्यासनै पछ्याउँछन्। बहाना खोज्नेले त आर्थिकलाई नै दोष दिनु स्वभाविक हो। प्यासन भनेर विनातलब काम गर्नुपर्छ भनेको होइन।

(उज्यालो नाइन्टी नेटवर्कमा काम गर्ने तिमिल्सिना उज्यालो अनलाइनको सम्पादक समेत हुन्। उनैसँग प्रजु पन्तले ‘रेडियोको आवश्यकता’ शीर्षकमा आधारित रहेर गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

२ माघ, २०८०, १४:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।