सुर्यदर्शन सहकारी प्रकरणमा पनि जोडिए उपराष्ट्रपति पुत्र दीपेश, ग्यालेक्सी टिभीको मुल्यांकन एक अर्ब २५ करोड गराएर ३० करोडको ग्यारेन्टी करार
काठमाडौँ : १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख ठगीको सञ्जालमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको छोरा तथा माओवादी विद्यार्थी नेता दीपेश पुन समेत जोडिएका छन्। सातभन्दा बढी सहकारीमार्फत बचतकर्ताको १६ अर्ब जोखिममा पारेर फरार रहेका गीतेन्द्रबाबु राईसँग पुनको अन्य सहकारीमा समेत सम्बन्ध रहेको छ।
रवि लामिछानेको नाममा समेत सहकारीमा पुलेसो कर्जा देखिएको थियो। गोर्खा मिडिया नेटवर्कको नाममा सहकारीबाट लिइएको पेस्की रकमध्ये एक करोड लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६-४४५६ खडा गरेर खाता नम्बर ४९-०७७० मार्फत पेस्की फर्छ्यौट गरिएको सहकारीको अवस्थाबारे पोखरा महानगरपालिकाले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सोही प्रतिवेदनमा पुनको विवरण समेत उल्लेख छ। प्रतिवेदन अनुसार कर्जा खाता नम्बर ११६-०००३०७१ बाट तमसुकको आधारमा दीपेश पुनको नाममा ५० लाख ऋण प्रवाह भएको देखिन्छ। ऋणको प्रयोजन खुल्दैन अनि कुनै जमानत पनि देखिँदैन। पुनको नाम सहकारीका गैर सदस्यहरूलाई प्रवाह भएको ऋणको सूचीमा समेत छ। तर सो सूचीमा लामिछानेको नाम छैन।
सुदर्शन सहकारीबाट ऋण लिएकोबारे पुनसँग जिज्ञासा राख्दा उनले यसबारेमा आफूले पनि सुनेको तर ऋण नलिएको दाबी गरे। सुर्यदर्शन सहकारीसँग नाम जोडिएपछि लामिछानेले जसरी नागरिकता दुरुपयोग भएको हुनसक्ने शङ्का गरेका थिए उनले पनि त्यस्तै तर्क गरे।
आफू विश्वासमा परेर सुप्रिम सहकारीमा सचिव बस्न राजी भएको र त्यहीबाट आफ्नो नागरिकता दुरुपयोग गरेर थाहै नदिई आफ्नो नाममा अरूले नै ऋण निकालेको हुनसक्ने पुनले दाबी गरे।
'मेरो नाममा पनि ऋण छ भन्ने सुनेपछि मैले बुझेको थिएँ। तमसुक कागजका आधारमा ऋण दिएको भन्ने छ रे। अब तमसुक भएको भए त मैले ल्याप्चे लगाएको हुँला नि,' रविकै शैलीमा उनले तर्क गरे' म संलग्न छैन। प्रमाणित भयो भने तिरौँला।'
पुन, जीवी र कुमारसँग लामै उठबस भएका विद्यार्थी नेता हुन्। जीवी र सुर्यदर्शन सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेलसँग उनको यस अगाडि पनि आर्थिक कारोबार भएको उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।
उनी जीवी समूहकै बुटवलमा रहेको सुप्रिम सहकारीमा समेत जोडिएका व्यक्ति हुन्। उनी सहकारीको सचिव थिए। उकेरासँगको कुराकानीमा पहिला राम्रै होला भनेर सचिव भएको तर पछि छाडेको उनले दाबी गरेका छन्। पुन गोदावरीमा रहेको रम्तेलको घर-जग्गा खरिदमा समेत जोडिएका थिए।
रम्तेलले गोदावरीमा ८४ वर्षका माधवलाल सिंहको घर जग्गा किनेर पुरै रकम चुक्ता गरेनन्। सोही घरजग्गा दीपेशले २०७३ वैशाख ६ गते ६३ लाख ५२ हजार १ सय ६ रुपैयाँमा किनेका थिए।
पुनले २०७५ जेठ १६ गते नै सो घरजग्गा जीवीको पारिवारिक सदस्य कली घिमिरेलाई १ करोड ५३ हजारमा बिक्री गरेका थिए। यसबारे समेत उनी गोलमटोल जवाफ दिएर टार्छन्।
जीवी समूहले ग्यालेक्सी टेलिभिजन सुरु गर्नु अगाडि नागरिकखवर नामक अनलाइन समेत चलाएका थिए। पुन त्यसमा समेत जोडिएका थिए। अहिले सो अनलाइन बन्द भइसकेको छ। विश्वस्तस्रोतका अनुसार पुनको सम्बन्ध जीवी समूहको काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीमा समेत छ।
जीवी र पुनको यही निरन्तर सहकार्यले'नागरिकता दुरुपयोग गरेर थाहै नदिई ऋण निकालेको' तर्क विश्वसनीय देखिँदैन।
माओवादी विद्रोह हुँदै अहिले माओवादी केन्द्रको विद्यार्थी नेता रहेका उनी गम्भीर आर्थिक विवादमा तानिएको यो पहिलो घटना पनि हैन। सुन तस्करीदेखि नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा समेत उनी तानिँदै आएका छन्।
नक्कली शरणार्थी प्रकरणमा उनी अहिलेसम्म औपचारिक अनुसन्धानको दायरामा तानिएका छैनन्। सुन तस्करीमा उनीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको थियो। पहिलो चरणको अनुसन्धान सकाएको प्रहरीले पूरक अनुसन्धान जारी रहेको दाबी गरेको थियो। तर अनुसन्धानमा कुनै प्रगती देखिएको छैन।
तीन सय एक खातामै एक अर्ब
प्रतिवेदन अनुसार शुर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ता देखिन्छन्। उनीहरूको बचत रकममध्ये एक अर्ब ११ करोड ३४ लाख ठगी गरेको जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोग पत्रमा मागदावी लिइएको छ।
१८ हजार बचतकर्ता देखिए पनि साना बचतकर्ताको रकम भने ३४ करोड बराबर मात्र देखियो। पोखरा नगरपालिकाले अध्ययन गरेको प्रतिवेदन अनुसार सहकारीमा एक करोडमाथि बचत रहेको खाता १६ वटा फेला परेका छन्।
१० लाखदेखि एक करोडसम्म जम्मा गरेको खाताको सङ्ख्या २ सय ८५ छ। १६ वटा खातामा ३० करोड ३७ लाख थियो भने २ सय ८५ वटा खातामा ६६ करोड ७० लाख रकम जम्मा भएको देखिन्छ। सबैभन्दा धेरै १० हजार ६ सय ५४ वटा खातामा ९ सय ९९ रुपैयाँ बचत देखिन्छ जसको कुल रकम ३१ लाख रुपैयाँ हो।
सहकारीबारे अध्ययन गरिएको प्रतिवेदन अनि अभियोग पत्रका विवरणहरूले जीवी समूहले सहकारीको आवरणमा बचतकर्ताहरूको रकममाथि कतिसम्म खेलबाड गरेर व्यक्ति स्वार्थमा प्रयोग गरेका थिए भन्ने छक्क पार्ने विवरणहरू फेला पर्छन्।
उनीहरूले जुन हदसम्मको हर्कत गरेर बचतकर्ताको रकम व्यक्तिगत स्वार्थमा खर्च गरेको देखिन्छ त्यसले उनीहरू आफ्नो सहकारीबारे कहिल्यै,कसैले अध्ययनै नगर्नेसम्मको आत्मविश्वासी देखिन्छन्। फसिन्छ है भन्ने सामान्य भयमात्र भएको हदमा पनि यतिसम्मको गर्ने हिम्मत कमैले गर्छन्।
जीवीसहितका सहकारीका सञ्चालकमात्रै हैन जीवीका कम्पनीसँग जोडिएकाहरूले समेत जीवीको आडमा सहकारीमा रहेका बचतकर्ताको रकम सामान्य प्रक्रिया समेत पुरा नगरी निकालेको देखिन्छ। रकम सामान्य हैन ५० लाख माथिकै छन्।
महानगरपालिकाकाले तयार गरेको प्रतिवेदन कानुनी रूपमा झुटो प्रमाणित नभएसम्मको अवस्थामा बचतकर्ताको रकम दुरुपयोगमा जीवी संलग्न रहेको गोर्खा मिडिया प्राली, नेचर हर्ब्स, नेचरनेस्टका सञ्चालकहरू समेत संलग्न देखिन्छन्। त्यसमा दीपेश पुनजस्ताहरु पनि जोडिएको देखियो।
उनीहरूले सामान्य धितो नै नराखी ऋण प्रवाह गर्ने, प्रयोजनै नखुलाई व्यक्तिगत खाताबाट रकम निकालेझैँ सहजै सहकारीको रकम ऋणको आवरणमा प्रवाह गर्ने, घर-जग्गा खरिदको निर्णय गराएर पैसा निकाल्ने तर घर-जग्गा नकिन्ने, आफू संलग्न कम्पनी र सहकारीहरूको खातामा चाहेको बखत पैसा ट्रान्सफर गर्ने गरेको देखिन्छ।
यस्तै एक उदाहरण।
प्रतिवेदन अनुसार सहकारीको नयाँ भवन निर्माणको नाममा १३ लाख ९३ हजार सहकारीबाट निकालिएको छ। तर सहकारी संस्थाको नाममा कुनै भवन छैन। अहिले पोखरामा सहकारीको कार्यालय रहेको भवन ७ करोड २५ लाखमा किन्ने भनेर २०७८ कात्तिक १७ देखि २१ सम्म भएको साधारण सभाबाट निर्णय गरिएको छ। तर कार्यालय खरिद भएको आधिकारिक कागज छैन भने कानुनी रूपमा सो घर महेन्द्र भोटेको नाममा देखिन्छ।
उनीहरूले क्राइसिस म्यानेजमेन्ट खाता नाम दिएर खाता खोली गितेन्द्र बाबु राई र सञ्चालक हेमन्त अधिकारीको खाताबाट त्यसमा ७ करोड ८८ लाख रकमान्तर गरेर जम्मा गरेकोसम्म देखिन्छ। सहकारीबाट भवनका लागि पैसा गएको देखिन्छ। तर भवन छैन।
राइको खातामा २०७९ भदौ १ देखि २०८० साउन ३ सम्म ६ करोड ९६ लाखको अस्वाभाविक कारोबार भएको देखिन्छ।उनीहरूले २०७८ पुस ११ मा कृतिम कर्जा खाता खोलेर त्यसमा सहकारीको रकम राखी त्यसैबाट एक करोड २० लाख शेयर खातामा रकमान्तर गरेर कृतिम कर्जा खातामा रहेको रकम हिसाब मिलान गरेका थिए।
अर्को उदाहरण।
मीन बहादुर पहरीको नाममा तमसुकको आधारमा सहकारीले पटक-पटक ऋण दिएको विवरण देखिन्छ। ऋण खाता नम्बर ११६-०००४७६४ बाट २१ लाख ३० हजार दिएर एनआइसि एसियाको ब्ल्यान्क चेक राखेको विवरणमा उल्लेख छ।
त्यसबापत तमसुक समेत फेला परेको छ तर तमसुकमा कति ऋण लिएको हो रकम खुलाइएको छैन। तर आन्तरिक मेमोमा २५ लाख ऋण लिएको देखिन्छ। यो जारी भएकोभन्दा तीन लाख ७० हजार बढी हो।
त्यस्तै २०७८ वैशाख २० मा पहरीकै नाममा ११६-०००४८०८ नम्बरको ऋण खातामा ८ लाख ३३ हजार ऋण लिएको उल्लेख छ। तर आन्तरिक मेमोमा २१ लाख ३० हजार लिएको देखिन्छ।
ओम दाना सप्लायर्सको नाममा ११६-०००४७२४ बाट १० लाख ३२ हजार ऋण गएको देखिन्छ। तमसुकमा भने २० लाख उल्लेख छ।
सामान्य प्रक्रिया समेत पुरा नगरी ऋण प्रवाह
सहकारीको विवरण हेर्दा एकल स्वामित्वको प्रालीको कारोबारमा समेत त्यति हेलचेक्र्याइँ हुने अनुमान गर्न सकिन्न। अधिकांश ऋण प्रवाहमा सामान्य प्रक्रिया समेत पुरा गरिएको छैन भने प्रवाह भएका अधिकांश ठूला ऋण असुल्न सहकारीबाट कुनै प्रयास समेत भएको देखिएन।
अधिकांश ऋणमा पुरानो कर्जा खाता बन्द गरेर प्रक्रिया पुर्याइन नयाँ कर्जा खाता निर्माण गरेको देखिन्छ। तर कर्जा भने भुक्तानी भएको छैन। उनले यस्तै शैली अपनाउँदै आफ्ना कम्पनीहरूमा सहकारीको रकम मनलाग्दी सारेका छन्।
जीवी अनि रम्तेल संलग्न रहेको नेचरनेस्ट प्रालीको नाममा ७८ लाख ८१ हजार ब्रिज लोन लिएको देखिन्छ। सो ऋण २०७७ असोज ११ मा आन्तरिक मेमोको आधारमा नवीकरण गरेको देखिन्छ। तर भुक्तानीको अवस्था खुल्दैन।
नेचर हर्ब्सको नाममा तीन पटक ५० लाख र एक-एक करोड ब्रिज लोन गरेर तीन करोड ५० लाख निकालिएको छ।
रवि लामिछानेसहितको समूह मिलेर गोर्खा मिडिया प्रालीमार्फत ग्यालेक्सी टेलिभिजन खोलेपछि सहकारीबाट सो मिडियाको नाममा समेत पटक-पटक पैसा लगेका थिए।
गोर्खा मिडियाको नाममा दुई पटक गरेर एक करोड र एक करोड ३० लाख निकालेको देखिन्छ। अर्को विवरणमा गोर्खा मिडियाको नाममा एक करोड ३० लाख र ५० लाख निकालिएको छ। आन्तरिक मेमोमा एक करोड देखिएको छ भने दोस्रोमा ऋणमा ५० लाख गोर्खा मिडिया नेटवर्ककै खातामा जम्मा भएको छ।
सहकारीबाट शेरबहादुर थकुल्ला र विपिनकुमार आचार्यको नाममा ५० लाख र एक करोड निकालेर गोर्खा मिडिया नेटवर्कको खातामा हालेको विवरण प्रतिवेदनमा छ।
२०७९ असार १२ गते भवन शीर्षकमा देखाइएको रकम मिलान गर्न शिवबहादुर गुरुङको नाममा नयाँ कर्जा खाता बनाएर रकम मिलान गरेको देखिन्छ।
सञ्चालक हेमन्त अधिकारीको बचत खातामा २०७९ असोज ४ देखि २०८० साउन ३ सम्म ९१ लाख ६१ हजार जम्मा भएको। सो रकम थानबहादुर मगर, कुमार रम्तेल र जीवीको कर्जा हिसाब मिलानमा प्रयोग भएको थियो।
अफिस बिल्डिङको नाममा खाता खोलेर आठ करोड ५० लाख जम्मा गरेर नौ जनाको कर्जा खातामा कारोबार गरिएको प्रतिवेदनमा उल्लेख छ। सो रकमबाट गितेन्द्रको ११६-४४६० मा २ करोड ८९ लाख, गीतेन्द्रको कर्मचारी पेस्की खातामा पेस्की फर्छ्यौट एक करोड ३० लाख गरेको देखियो।
त्यसैबाट रुकबहादुर गुरुङ, रमेश केसी, जितबहादुर गुरुङ, भिजन पोल्ट्री फर्म, सम्झना मानन्धर र आशिक खाँ पठानको कर्जा खातामा प्रतिव्यक्ति ६१ लाख ४५ हजार ५ सय ७१ हालेको देखिन्छ।
पूर्व अध्यक्ष भूपेन्द्र राईले ३९ लाख ऋण प्रयोग गरेको देखिन्छ भने आइस्मा गुरुङले ३८ लाख प्रयोग गरेको देखिन्छ। हेमन्त अधिकारीले अलग्गै एक करोड ४७ लाख प्रयोग गरेको देखिन्छ।
प्रतिवेदनमा खुलाइए अनुसार सहकारीबाट २०७५ असोज ४ मा नेचरनेस्टको नाममा ५० लाख, असोज २३ मा ५० लाख, २०७७ असार १५ मा नेचर हर्ब्सको नाममा ५० लाख, २०७७ फागुन २० मा एक करोड, २०७७ चैत ३ मा एक करोड निकालिएको थियो।
२०८० भदौ ५ मा ग्रेसी स्पोनको नाममा ६५ लाख, ११६-०००३०५२ खाताबाट गोर्खा ग्रुप मल्टी इन्भेस्टको नाममा ५० लाख र खाता नम्बर ११६-०००३५१६ नेचरनेस्ट ८२ लाख तमसुकको आधारमा ऋण निकालिएको देखिन्छ।
ग्यालेक्सी मूल्याङ्कन एक अर्ब २५ करोड
बचतकर्ताले रकम फिर्ता नपाएपछि समाचार सार्वजनिक हुन थाले। रवि लामिछाने टेलिभिजन छाडेर राजनीतिमा होमिए। सुर्यदर्शनसँगै अन्य क्षेत्रमा रहेका सहकारीमा समेत रकममा सङ्कट पर्न थालेपछि जीवी समूहले अनेक जुक्ती निकाले।
त्यसमध्ये सुर्यदर्शन सहकारीमा भएको बदमासी लुकाउन जीवीले बचतकर्ताको प्रतिनिधिको रूपमा दुर्गाप्रसाद शर्मा र शिवबहादुर गुरुङ( महेन्द्र भोटे) सँग तमसुक गरे।
तमसुकमा दोस्रो पक्षका रूपमा शर्मा र गुरुङ रहेका छन् भने पहिलो पक्षको रूपमा जीवी ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालीको एक स्वामित्व भएको व्यक्तिको रूपमा उल्लेख छ।
सो सम्झौतामा सुर्यदर्शन सहकारीमा रहेको बचत सुरक्षणका लागि दोस्रो पक्षले प्रथम पक्षसमक्ष ग्यालेक्सी टेलिभिजनको शेयरबाट सुरक्षण गर्न माग गरेको र प्रथम पक्षले स्वीकार गरेको उल्लेख छ। सो अनुसार सहकारीको ३० करोड बराबरको बचत सुरक्षणका लागि ग्यालेक्सीको सेयर मूल्य एक अर्ब २५ करोड कायम गरी त्यसबाट सुरक्षित गर्ने उल्लेख छ।
जीवीले टेलिभिजनमा रहेको आफ्नो शेयर विक्री गर्न चाहेमा पनि सो रकम बराबरको शेयर तथा सम्पत्ति विक्री गर्न नपाउने सर्त उल्लेख छ। अर्को सर्तमा सहकारी सामान्य अवस्थामा चल्न थालेपछि यो करार स्वतः रद्द हुने उल्लेख छ।
असार २ गते अधिवक्ता मातृकाप्रसाद लामिछानेले मस्यौदा गरेको करारनामामा सोही दिनदेखि लागु हुने उल्लेख छ। करारमा शर्मा, गुरुङ र जीवीले हस्ताक्षर गरेका छन्। यसको आधिकारिकता पुष्ट गर्न उकेराले जीवीले आफ्नो कम्पनीहरूमा गरेको आधिकारिक हस्ताक्षर भएका कागजपत्रमा रहेको हस्ताक्षरसँग सो करारको हस्ताक्षर दाँज्दा उस्तै देखियो।
पछिल्लो समय शुर्यदर्शनमा जीवीको पक्षबाट सहजिकरणमा खटिएका केही स्रोतसँग सो करारबारे जानकारी लिँदा सो सक्कली भएको दाबी गरे।
पुष २१, २०८० शनिबार २३:५९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।